काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् ।
उनी अमेरिकामा अवैध रकम संकलन र अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका स्रोतले जनाएको छ ।
उनी गतहप्ता अमेरिकाका पेन्सिलभेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको र स्फिलाडेल्फिया संघीय हिरासतमा रहेको बताइन्छ । गत हप्तामात्र कतार हुँदै अमेरिका पुगेका उनी अमेरिका पुगेलगत्तै पक्राउ परेका थिए ।
रास्वपा नेता मनीष झाले थापा अमेरिकन इमिग्रेसनको हिरासतमा रहेको जानकारी दिए ।
‘रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकन इमिग्रेसनको हिरासतमा पर्नुभएको जानकारीमा आएको छ,’ झाले भनेका छन्, ‘आफूले केही कानुनी प्रक्रियाहरु समाधान गर्नु छ र सो किनारा नलागेसम्मको लागि आफू केन्द्रीय सदस्यको जिम्मेवारीबाट बाहिर रहन निवेदन दिएर जानुभएको थियो।’
नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक बनेका मोहन थापा रवि लामिछानेको सहकारी ठगेको सम्पूर्ण पैसा हुण्डी मार्फत अमेरिकामा बुझ्ने गरेको आरोप लागेको थियो । रास्वपाका तत्कालीन महासचिव मुकुल ढकालले रवि गृहमन्त्री हुँदा ‘एक केन्द्रीय सदस्यले अमेरिका बसेर कमिसन र घुसको डिल गर्छन्’ भन्दै थापामाथि आरोप लगाएका थिए ।