काठमाडौँ । दक्षिण कोरियाको एउटा कम्पनीमा एक नेपाली युवकको मृत्युपछि त्यहाँ रहेका अन्य नेपालीले कम्पनी छाड्ने भएका छन् ।
सोलस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई अन्यत्र जान दिन रोजगारदाता कम्पनी सहमत भएको दूतावासले जनाएको छ ।
म्याग्दीका २८ वर्षीय तुलसी पुन मगर शनिबार मृत अवस्थामा फेला परेका थिए ।
उनी कार्यरत बङ्गुर फार्ममा कार्यरत १५ जना नेपाली त्यहाँबाट अन्यत्र जान चाहेको राजदूत डा. शिवमाया तुम्बाहाम्फेले बताइन् ।
सहमतिबमोजिम दुई साताभित्र नेपाली कामदारहरूले उक्त कम्पनी छोडिसक्ने दूतावासले जनाएको छ।
‘त्यहाँ कार्यरत अन्य नेपाली कामदारहरूले त्यस कम्पनीमा काम गर्दा अत्यधिक शारीरिक तथा मानसिक तनाव झेल्नुपरेको र आफूहरूले सो कम्पनीको काममा निरन्तरता दिन नचाहेको’ राजदूतावासले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ।
घटनापछि दूतावासले वस्तुस्थिति बुझ्न श्रम काउन्सिलर मैया कँडेलसहितको एउटा टोलीलाई उक्त कम्पनी पठायो जुन टोलीले त्यहाँ कार्यरत बाँकी नेपाली, कम्पनीका म्यानेजर र मालिक लगायतसँग जानकारी लिएको जनाएको छ।
दूतावासका अनुसार मृतकको शव शुक्रबार नेपाल पठाउने प्रक्रिया अगाडि बढाइएको छ।
नेपाली श्रमिकको मृत्युको पछिल्लो घटनापछि दूतावासले कामका सिलसिलामा कुनै गाह्रो, अप्ठ्यारो परेको खण्डमा दूतावासलाई जानकारी गराउन पुनः अपील गरेको छ।
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया गएका कामदारमध्ये विगत पाँच वर्षमा ८५ जना नेपालीको ज्यान गएको तथ्यांक छ । उनीहरूको मृत्युको एउटा कारणमा आत्महत्या पनि रहेको छ।
