काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले पढ्ने मान्छेको ज्ञानको स्तर नपढ्नेको भन्दा माथि हुने बताउनुभएको छ ।
प्रगतिशील पाठक मञ्चद्वारा २०८१ माघ २१ गते सोमबार राष्ट्रिय जनमोर्चा केन्द्र्रीय कार्यालयको सभाकक्षमा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
“अध्ययन संस्कृति र क. मोहनविक्रम सिंहको अनुभूति” विषयक परिचर्चा कार्यक्रममा विचार व्यक्त गर्दै उहाँले भन्नुभयो– ॅजसले बढी पढ्छ, उसको ज्ञानको स्तर त्यति नै माथि हुन्छ ।’
करिब एक घण्टा लामो मन्तव्यको क्रममा उहाँले मानिसको बौद्धिक स्तरको कारणले मानिसको माझमा अन्तर आउने पनि बताउनुभयो ।
अध्ययन नगर्ने मान्छेका लागि विश्व जगत् सामान्य लाग्ने बताउँदै उहाँले भन्नुभयो– ‘अध्ययन नगर्ने मान्छेले जेसुकै घटनालाई पनि सामान्य रूपमा लिन्छ तर अध्ययनशील मान्छे घटनाको गहिराइमा पुग्दछ ।’
उहाँले उदाहरणको रूपमा दैलेखको प्राकृतिक ज्वालाको प्रसङ्ग उठाउँदै वैज्ञानिकबाहेक अरूका लागि त्यो ज्वाला सामान्य परिघटनाबाहेक केही नभएको बताउनुभयो ।
अध्ययनशील व्यक्तिले मानव इन्द्रियले बोध गर्न नसक्ने ज्ञान प्राप्त गरेको बताउँदै उहाँले अध्ययन कहिल्यै पूर्ण नहुने बताउनुभयो ।
‘हामीले प्राप्त गरेका अनुभव र ज्ञान सधैँ अपर्याप्त हुन्छ’ उहाँको भनाइ थियो–’हामी सुनेर मात्र बस्ने होइन, गहिरो अध्ययनमा जानुपर्दछ ।’
महामन्त्री सिंहले मिहिनेत र रुचिमध्ये मिहिनेत नै पहिलो तथ्य भएको उहाँको भनाइ थियो ।
‘मिहिनेत र रुचिमध्ये मिहिनेत नै पहिलो हो’ उहाँले भन्नुभयो– ‘मिहिनेत गर्दै गएपछि रुचि बढ्न सक्छ ।’
उहाँले अध्ययनले मात्रै मानिसको संस्कृतिमा परिवर्तन हुने दाबीसमेत गर्नुभयो ।

कार्यक्रममा राजमो अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी, राजमो महासचिव मनोज भट्ट, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरी, राजमो केन्द्रीय सल्लाहकार आनन्द शर्मा, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्कर्मा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
मञ्चका संयोजक समीर सिंहको सञ्चालनमा अघि बढेको कार्यक्रमको विषयवस्तु प्रस्तुत गर्दै स्वागत मन्तव्य मञ्चकै सचिवालय सदस्य घनश्याम न्यौपानेले गर्नुभएको थियो ।
कार्यक्रममा जगत् वाशिष्ठ र प्राडा श्रीधर गौतमले पूरक टिप्पणी राख्नुभएको थियो ।