दाङ । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले सङ्घीयता सत्तासिन दलहरूले सत्तास्वार्थको लागि स्वीकारेको बताउनुभएको छ ।
राजमो राप्ती गाउँपालिकाको २०८१ माघ १७ गते बिहीबार आयोजनामा “सङ्घीयताले उत्पन्न सङ्कट र त्यसका विरुद्ध राजधानीकेन्द्रित आन्दोलनको प्रश्न’ विषयक अन्तरक्रियामा प्रमुख अतिथिको आसनबाट बोल्दै थापाले यो विचार व्यक्त गर्नुभएको हो ।

उहाँले अगाडि भन्नुभयो– ‘सङ्घीयता नेपाली जनताको मुद्दा नभएर विदेशी शक्तिराष्ट्रले आफ्नो स्वार्थका लागि नेपालमा थोपरेको मुद्दा हो ।
उहाँले त्यो स्वार्थ स्वीकार नगर्ने हो भने सत्ताको स्वार्थबाट विमुख हुनुपर्छ भन्ने डरले अथवा विदेशीका अगाडि आफ्नो दब्बु मानसिकताका कारण नेपाली शासकले सङ्घीयता स्वीकार गरेको बताउनुभयो ।
‘शासकहरू विदेशीको इसारा मान्ने उनको पेट भर्न जनताले कर तिर्नु पर्ने ? यो हाम्रो सबैभन्दा ठुलो बिडम्बना हो’ उहाँले भन्नुभयो ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले कार्यक्रमको विषयप्रवेश गराउँदै सङ्घीयताका लागि नेपालमा कुनै आधार नभएको बताउनुभयो ।
