काठमाडौं । अमेरिकाले एक हजार तीन सय ६५ नेपालीलाई निष्काशन गर्ने भएको छ । अमेरिकाले हालै सार्वजनिक गरेको अवैध आप्रवासीको सूचीमा उक्त संख्याका नेपालीहरू ‘निष्काशन’ मा पर्ने देखिएको हो ।
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पद सम्हालेसँगै अवैध आप्रवासीलाई आफ्नै देश फिर्ता पठाउने निर्णय गरेका थिए। सोहीअनुसार अमेरिकी अध्यागमन कार्यालयले आफ्नो देशमा बसिरहेका अवैध आप्रवासीको संख्या १४ लाख ४५ हजार पाँचसय ४९ जना रहेको उल्लेख गरेको छ । उक्त सूची नोभेम्बर २४,२०२४ सम्मको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
अमेरिकास्थित अध्यागमन कार्यालयका अनुसार अमेरिकाबाट निष्काशन पर्ने नेपालीको संख्या एक हजार तीनसय ६५ जना छ।
अमेरिकाबाट बाहिरिने आप्रवासीमा सबैभन्दा धेरै होन्डुरसका छन्। होन्डुरसका २ लाख ६१ हजार छ सय ५१ जना अमेरिकाबाट बाहिरिने सूचीमा छन्। त्यस्तै ग्वाटेमालाका दुई लाख ५३ हजार चारसय १३, मेक्सिकोका दुई लाख ५२ हजार ४४ र एल साल्भाडोरका दुई लाख तीन हजार आठ सय २२ जना छन्।
चीनका ३७ हजार नौसय आठ, भारतका १७ हजार नौसय ४० जना, अफगानिस्तानका एक हजार सातसय आठ जना, बंगलादेशका चार हजार आठसय ३७ जना, बहराईनका १७ जना छन्।