प्रदीप प्रधान ##
काठमाडौँ टेकुको पचलीमा एउटा रुखको निकै चर्चा छ । त्यही रुखमा १९९७ माघ १० गते सहिद शुक्रराज शास्त्रीलाई झुन्ड्याई मृत्युदण्ड दिइएको थियो ।
प्रत्येक माघ १४ गते सहिद दिवशको उपलक्ष्यमा त्यहाँ कार्यक्रम हुने गर्दछ । त्यहाँ सहिदका फोटामा अबिर लगाएर भाषण छाँट्छन् ।
एक जना पुराना नेताले भन्नुभयो– ‘यो रुखको धर्म हामीले पूरा गरिसक्यौँ । प्रजातन्त्र पुनःबहाली भएको छ । जनता खुसी छन् । विकास चौतर्फी भएको छ ।’
अर्का मन्त्री भइसकेका र टोपीमा हँसियाहथौडा चिह्न भएको कालो टोपी पहिरेका नेताले भन्नुभयो– ‘अब नेपालमा खेती गर्न आवश्यक छैन ।
वैदेशिक रोजगारीबाट प्रशस्त डलर भित्रिएका छन् । फाटेको गुन्यु लगाउने नेपाली आइमाईले जापानी सिफनका साडी लगाउने भएका छन् । काठमाडौँको फोहोर पानी खाने नेपाली कोक, फ्रुटी खाने भएका छन् ।’
एक जना अर्का नेताले भन्नुभयो– ‘अब त कोरियामा जस्तै जापानमा रोजगारी खोल्ने तयारीमा छौँ । जापानको माछा नेपालीले खान पाउने छन् । अब त यो रुखको कुनै अर्थ छैन । सहिदको रुख काटे पनि कुनै फरक पर्दैन । सहिदका माग पूरा भइसकेका छन् ।
भिडबाट एक जना बुढा मान्छे लौरो टेक्दै आएर भन्न थाले– ‘यो रुख काट्नुहुँदैन । यसमा यिनै विकासे नेतालाई गाड्नुपर्छ अनि बल्ल प्रजातन्त्रको मुहार देख्न पाइन्छ ।’
ती बुढा मान्छेको भनाइ सुनेर गडगडाहट ताली बज्यो । नेताहरू त्यहाँबाट टाप कसे । त्यहाँ नेताहरूको बिउ पनि भेटिएन ।