काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक यउलदाई पक्राउ गर्न गएको प्रहरी टोली रित्तो हात फर्किएको छ ।
शुक्रबार उनलाई नियन्त्रणमा लिन प्रहरी उनको निवासमामा पुगेको थियो । तर, उनको घरबाहिर जम्मा भएको भीडले राष्ट्रपति यउललाई पक्रन दिएन ।
महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यउललाई नियन्त्रणमा लिने प्रयास समर्थकको अवरोधपछि स्थगित गरिएको बीबीसीले जनाएको छ ।
‘हामी कार्यस्थलमा रहेका हाम्रो टोलीको सुरक्षाबारे संवेदनशील छौँ। हामीले आरोप लागेका व्यक्तिले कानुनी प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको पाएका छौँ । उक्त कार्य व्यापक रूपमा निन्दनीय छ’ अनुसन्धानकर्ताहरूदेवारा जारी वक्तव्यमा भनिएको छ।
यउललाई पक्राउ गर्न के गर्ने भन्ने विषयमा पुनः एक पटक छलफल गरेर मात्र तय गरिने उनीहरूले जनाएका छन्।
अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यउललाई पक्राउ गर्ने कार्यलाई स्थगित गरेपछि उनको निवासअगाडि जम्मा भएका समर्थकहरूले चाहिँ ‘हामीले जित्यौँ’ भन्दै नारा लगाएका छन्।
डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ‘मार्शल ल’ लागू गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो।

यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो।
उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागू गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
उनीमाथि देशद्रोहसहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ।
त्यस क्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ।
तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।
राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।





