एटलान्टा । अमेरिकाका उनन्चालिसौँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ ।
सबैभन्दा लामो समयसम्म बाँच्नुभएका अमेरिकी राष्ट्रपतिको डिसेम्बर २९, २०२४ आइतबार जर्जियाको सानो सहर प्लेन्समा रहेको आफ्नो घर होस्पिस केयरमा प्रवेश गरेको लगभग २२ महिनापछि निधन भएको हो ।
त्यहाँ उहाँ र उहाँकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताउनुभएको थियो । रोजालिनको २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।
‘हाम्रा संस्थापक, पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो’ कार्टर सेन्टरले सामाजिक मिडिया प्लेटफर्म एक्समा भन्यो । उहाँको आफ्नो परिवारबिच शान्तिपूर्वक निधन भएको विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोकव्यक्त गर्दै विश्वले एक “असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी” गुमाएको र आफूले एक प्रिय मित्र गुमाएको बताउनुभयो ।
बाइडेनले आइतबार साँझ कार्टरको बारेमा कुरा गर्दै यसलाई “दुखद दिन” तर “अविश्वसनीय मात्रामा राम्रा सम्झना फिर्ता ल्याउने” भन्नुभयो । ‘म जिमी कार्टरसँग ५० वर्षभन्दा बढी समयदेखि समय बिताउँदै आएको छु’ बाइडेन भन्नुभयो ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गर्नुभएको थियो ।
जनवरी ९ मा राष्ट्रियशोक
अमेरिकाले जनवरी ९ लाई कार्टरको सम्मानमा राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । राष्ट्रपति बाइडेनले कार्टरको सम्झनामा सो घोषणा गर्नुभएको हो ।
बाइडेनले ह्वाइट हाउसमा जारी गरेको घोषणामा भन्नुभयो– ‘म अमेरिकी जनतालाई त्यस दिन आआफ्नो पूजास्थलमा भेला हुन आह्वान गर्दछु र त्यहाँ राष्ट्रपति जेम्स अर्ल कार्टर जुनियर (जिम्मी कार्टर) को स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्न आह्वान गर्दछु ।’ (एजेन्सी)