नागपुर (भारत) । भारतको नागपुरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सातौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
मध्यदक्षिण क्षेत्रीय समितिअन्तर्गत पर्ने सो समितिको सम्मेलन डिसेम्बर २९, २०२४ का दिन हिस्लाप कलेजमा सम्पन्न भएको हो ।
सम्मेलनको घोषणासभामा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेल हुनुन्थ्यो ।
कार्यक्रममा मन्तव्य राख्दै उहाँले मूल प्रवाहले भारत प्रवासमा रहेका नेपालीलाई सचेत गराउँदै उनीहरूमाथि आइपर्ने हरेक प्रकारका समस्या समाधान गर्दै आइरहेको दाबी गर्नुभयो ।
‘सङ्गठन नै एक मात्र ताकत र माध्यम भएकाले हरेक व्यक्ति सङ्गठित हुनुपर्दछ’ उहाँले भन्नुभयो ।
फरक प्रसङ्ग उठाउँदै उहाँले मूल प्रवाह सामाजिक सङ्गठनका साथै जनतन्त्र र जनजीविकासित जोडिएर देशभित्र चल्ने आन्दोलनलाई आर्थिक, नैतिक र भौतिक सहयोग र समर्थन गर्दै आइरहेको बताउनुभयो ।
सङ्घीयता, भ्रष्टाचार जस्ता समस्याका कारण नेपाली जनताको स्थिति झन्पछि झन् खराब हुँदै गएको बताउँदै उहाँले नेपाल जस्तो आर्थिक रूपमा पिछडिएको मुलुकमा सङ्घीयता बोझ हुने र थेग्न नसक्ने हुँदा खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म आयोजना गरेको सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनलाई सफल पार्न सम्पूर्ण प्रवासी नेपालीसित आग्रह गर्दछौँ ।’
केन्द्रीय सदस्य भीमबहादुर थापाको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा क्षेत्रीय समितिका सदस्य विजय विष्ट, रक्तिम विभागकी क्षेत्रीय संयोजक माया थापा, विद्यार्थी सङ्घ क्षेत्रीय समितिकी कुसुम क्षेत्री, पास्टर मङ्गल पुन, बर्धा नगर समितिका अध्यक्ष शेरबहादुर खड्का, सामाजिक कार्यकर्ता भरत थापालगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको अध्यक्षता रूपलाल जिएमले, सञ्चालन तेजबहादुर पुनले र स्वागत रक्तिम परिवार तथा मङ्गल पुनले गर्नुभएको थियो ।
सम्मेलनमा रक्तिम परिवारद्वारा जनचेतनामूलक सांस्कृतिक कार्यक्रम प्रस्तुति गरिएको थियो ।
यसअघि, सम्मेलनको उद्घाटन डिसेम्बर २६ का दिन केन्द्रीय सदस्य भीमबहादुर थापाले गर्नुभएको थियो । रूपलाल जिएमको अध्यक्षता, मङ्गल पुनको सञ्चालनमा अघि बढेको बन्दसत्रमा अतिथिहरूको आसन ग्रहण र सहिदको सम्माननमा भावपूर्ण श्रद्धाञ्जलीपछि ईश्वर पुनले स्वागत गर्नुभएको थियो ।
अध्यक्षमा पुन
सम्मेलनले ईश्वर पुन अध्यक्ष रहननुभएको ११ पूर्ण तीन वैकल्पिक र तीन सल्लाहकार गरी १७ सदस्यीय मूल प्रवाहको नागपुर नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः प्रेमबहादुर थापा, इन्द्रलाल जिएम, अशोक शर्मा, मङ्गलबहादुर पुन तथा सदस्यमा वीरबहादुर पुन, ललितजङ्ग चन्द, तेजबहादुर पुन, किसन पुन, होमबहादुर जिएम र रूपलाल जिएम रहनुभएको छ ।
मन्जु घर्ती, भानु बुढाथोकी र मीना पुन वैकल्पिक सदस्य रहनुभएको सो समितिको सल्लाहकारमा जैकला पुन, महिमा पुन र बसन्त पौडेल रहनुभएको छ ।
