सियोल । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलमाथि महाभियोग लगाइएको दुई सातापछि उहाँका समर्थक र विरोधीले शनिबार विरोध प्रदर्शन गरेका छन् ।
गत डिसेम्बरको सुरुमा सैनिक शासन लागु गर्न खोजेपछि युनको पक्ष र विपक्षमा व्यापक प्रदर्शन भएको छ र यसले देशलाई दशकौँयताकै सबैभन्दा खराब राजनीतिक सङ्कटमा धकेलेको छ ।
युनको महाभियोग प्रक्रिया पूरा गर्न र उहाँलाई न्यायको कठघरामा ल्याउन माग गर्न अस्वीकार गरेपछि सांसदहरूले शुक्रबार युनको स्थानमा कार्यवाहक राष्ट्रपति बन्नुभएका हान डक–सोमाथि महाभियोग लगाएका थिए ।
युन र हानको भाग्यको फैसला संवैधानिक अदालतले गर्ने हो तर दुवै खेमाका प्रदर्शनकारीले यसबिचमा दबाब जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
युनलाई महाभियोग लगाउने संसद्को निर्णयलाई कायम राख्ने वा नराख्ने भन्ने विषयमा अहिलेका छ जना न्यायाधीशले निर्णय गर्न सक्ने भए पनि असहमति जनाउने मतले उहाँलाई पुनर्बहाली गर्ने छ ।
विपक्षीले हानले नौ सदस्यीय बेन्च भर्नका लागि थप तीन जना मनोनित व्यक्तिलाई अनुमोदन गरोस् भन्ने चाहन्थे, जुन उहाँले गर्न अस्वीकार गर्नुभएको थियो । यसले गर्दा दुवै पक्ष गतिरोधमा परेका थिए ।
दोस्रो महाभियोगले अर्थमन्त्री चोइ साङ मोकलाई कार्यवाहक राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकामा नियुक्त गरेको छ । यसले देशलाई अनिश्चितताको शिकार बनाएको छ ।
हानजस्तै चोइले पनि नयाँ न्यायाधीशको नियुक्ति स्वीकार गर्न विपक्षीको दबाबको सामना गर्नुपर्ने छ । यदि उहाँले अस्वीकार गरेमा उहाँले पनि महाभियोगको सामना गर्नु पर्ने अवस्था आउनसक्छ । (रासस/एएफपी)