मेक्सिको सिटी । मेक्सिकोका अधिकारीले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।
अधिकारीहरूले अमेरिकी सीमानजिकैको एसेन्सन नगरपालिकामा १२ ओटा कङ्काल भएका ११ ओटा चिहान फेला पारेको राज्य अभियोजकको कार्यालयले विज्ञप्तिमा बताएको हो ।
यो खोज डिसेम्बर १८, १९ र २० मा भएका खोजीकार्यका क्रममा गरिएको थियो’ विज्ञप्तिमा भनिएको छ– ‘पहिचान नखुलेका कङ्काल र प्रमाण सियुडाड जुआरेज सहरको फरेन्सिक मेडिकल सर्भिसको प्रयोगशालामा स्थानान्तरण गरिएको छ ।’
चिहुआहुआ वर्षौंदेखि लागुऔषध तस्करी र अमेरिकामा आप्रवासीको तस्करीको मार्गका रूपमा सङ्गठित अपराधसँग जोडिएको हिंसाबाट प्रभावित छ ।
आधिकारिक तथ्याङ्कअनुसार सन् १९५२ देखि अहिलेसम्म तीन हजार ९२७ व्यक्ति बेपत्ता भएका छन् । हिंसाबाट सबैभन्दा बढी प्रभावित राज्यहरू जालिस्को र तामाउलिपासमा सोही अवधिमा प्रत्येकमा १३ हजारभन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।
आधिकारिक तथ्याङ्कअनुसार सन् २००६ मा सरकारले मानव बेचबिखनसँग लड्न सेना परिचालन गरेदेखि मेक्सिकोले लागुऔषधसँग सम्बन्धित हिंसामा चार लाख ५० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । (रासस/एएफपी)