• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘कामरेड जलजला’ उपन्यास लेख्नुको दृष्टिकोण वा अभिप्राय


  •   सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    (२०८१ पुस ५ गते धनगढीमा जनशिक्षा गृहले “कामरेड जलजला” उपन्यासबारे राखेको समीक्षा कार्यक्रममा प्रस्तुत मन्तव्य)

    जनशिक्षा गृहले ‘कामरेड जलजला’ उपन्यासबारे समीक्षा कार्यक्रम राख्नुभएकोमा मैले यो कार्यक्रमका आयोजकप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु ।

    प्रस्तुत उपन्यास कुन प्रकारको छ ? त्यसबारे मैले केही बताउनु उचित हुने छैन र त्यसबारे मैले पाठक र समालोचकको मतको प्रतीक्षा गर्ने छु । त्यसपछि नै यो उपन्यासको वास्तविक मूल्याङ्कन हुन सक्ने छ तैपनि त्यो उपन्यास लेख्नुको पछाडि मेरो कुन दृष्टिकोण वा अभिप्रायले काम गरेको छ ? त्यसबारे मैले केही प्रकाश हाल्ने प्रयत्न गर्ने छु ।

    मार्क्सवादी–लेनिनवादी दर्शनले यो मान्दछ कि कुनै पनि व्यक्ति वा चिजबारे अध्ययन गर्दा त्यसलाई त्योसित जोडिएका सबै चिजका सन्दर्भमा वा समग्र रूपमा बुझ्ने प्रयत्न गर्नुपर्दछ । त्यस सन्दर्भमा हेगेलले यो भनेका छन् कि विश्वका सबै चिज एकार्कासित सम्बन्धित हुन्छन् । लेनिनले पनि भनेका छन्– प्रत्येक व्यक्ति विश्वमा अन्तर्निहित हुन्छ र विश्व प्रत्येक व्यक्तिमा अन्तर्निहित हुन्छ । यो उपन्यासलाई पढेपछि थाहा हुने छ कि त्यही दार्शनिक पद्धति यो उपन्यासमा पनि अपनाउने प्रयत्न गरिएको छ ।

    जस्तो कि उपन्यासको शीर्षकबाट पनि थाहा हुन्छ, उपन्यासकी मुख्य पात्र ‘जलजला’ नै हुन् । उनी एउटी व्यक्ति नै हुन् तर जस्तो कि माथि उल्लेखित हेगेल र लेनिनको भनाइबाट प्रस्ट हुन्छ, कुनै पनि व्यक्ति साधारणभन्दा साधारण व्यक्ति पनि विशुद्ध रूपमा व्यक्ति मात्र हुँदैन, ऊ एउटा पूरै संसार हुन्छ† ऊ पूरै संसारमा मिलेको हुन्छ र साधारण संसार ऊभित्र समाहित हुन्छ । त्यसैले कुनै व्यक्तिलाई यथार्थ रूपमा बुझ्नका लागि उसको सम्पूर्ण विश्वसितको सम्बन्धलाई बुझ्नुपर्ने आवश्यकता हुन्छ । त्यसरी नै कुनै व्यक्तिलाई वास्तविक रूपमा बुझ्नु सम्भव हुने छ । निश्चय नै त्यस प्रकारको ज्ञान पनि कहिल्यै पूर्ण हुने छैन किनभने कुनै व्यक्ति र विश्वका बिचको सम्बन्धमा यति धेरै आयाम हुन्छन् र त्यसमा यति धेरै जटिलता हुन्छ, त्यसलाई कहिल्यै पनि पूर्ण रूपमा ज्ञान प्राप्त गर्नु सम्भव हुँदैन । द्वितीय, संसारका प्रत्येक व्यक्ति, कुनै पनि चिज वा विश्व वा उनीहरूका बिचको सम्बन्ध लगातार गतिशील हुन्छ । त्यसैले कुनै एउटा समयमा प्राप्त ज्ञान अर्को समयमा उही रूपमा कायम रहँदैन । त्यसैले संसारको कुनै पनि विषयमा वा कुनै पनि समयमा प्राप्त हुने ज्ञान सधैँ अधुरो वा अपर्याप्त हुन्छ । त्यही नियम प्रस्तुत उपन्यासबारे पनि लागु हुन्छ ।

    उपन्यासको प्राक्कथनको पहिलो वाक्यमा नै लेखिएको छ : ॅकामरेड जलजला विश्वमा अन्तर्निहित छन् र सम्पूर्ण विश्व पनि उनमा अन्तर्निहित छ ।’ त्यसैले कामरेड जलजलाबारे लेखिएको यो उपन्यासमा उनलाई सम्पूर्ण विश्वको सन्दर्भमा बुझ्ने वा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । प्रत्येक व्यक्तिको विश्वसित सम्बन्ध हुन्छ । त्यसैले त्यो व्यक्तिबारे ज्ञान प्राप्त गर्नका लागि त्यसलाई विश्वको परिप्रेक्ष्यमा नै बुझ्नुपर्ने आवश्यकता हुन्छ । उपन्यासमा त्यही प्रयत्न गरिएको छ तर निश्चय नै त्यसरी प्राप्त गर्ने ज्ञान पनि कहिल्यै पूर्ण हुँदैन तैपनि यो उपन्यासमा त्यो दिशामा अधिकतम प्रयत्न गरिएको छ । त्यसैले जलजलाबाट सुरु भएको यो उपन्यासले नेपालमा मात्र होइन, भारतका कैयौँ स्थान र युरोपका कैयौँ देश, संसारका कैयौँ महाद्वीप र महासागर तथा सुदूर अन्तरिक्षसम्मको, यहाँसम्म कि अहिलेको ज्ञात ब्रह्माण्डको परिभ्रमण गर्नेबाहेक अज्ञात विश्वको पनि परिकल्पना गर्दछ ।

    त्यस प्रकारको परिभ्रमण वा परिकल्पनाको सन्दर्भमा प्रस्तुत उपन्यासले सर्वप्रथम भारतको कुमाउँको विस्तृत रूपले चर्चा गर्दछ । उपन्यासको पहिलो भाग कुमाउँसित नै सम्बन्धित छ र अन्तमा त्यो रोल्पाको थबाङमा आएर टुङ्गिन्छ । त्यसरी कौसानी र थवाङ उपन्यासका दुईओटा बिन्दु हुन् ।

    उपन्यासले नेपालका कैयौँ स्थान र विषयको विशेष अध्ययन गर्ने प्रयत्न गरेको छ । त्यस सिलसिलामा खास गरेर काठमाडौँ उपत्यका र त्यहाँका स्वयम्भूनाथ, पशुपतिनाथ र अष्टमातृका, नवलपुर र दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यता, कपिलवस्तु, रुपन्देहीको बौद्धकालीन सभ्यता र सुदूरपश्चिमको प्राग्एतिहासिक र मध्यकालीन इतिहास र संस्कृतिसमेतको अध्ययन गर्ने प्रयत्न गरिएको छ । उपन्यासले थारू, मगर र खस जस्ता नेपालका प्राग्एतिहासिक जातिको इतिहासको अध्ययन गर्नेतर्फ पनि विशेष कोसिस गरेको छ ।

    उपन्यासको सातौँ भाग पूरै नै युरोप महाद्वीपसँग सम्बन्धित छ । उपन्यासमा त्यो महाद्वीपलाई दर्शन, क्रान्ति र बलिदानको महाद्वीपको रूपमा उल्लेख गरिएको छ । त्यो महाद्वीप साम्राज्यवादको महाद्वीप पनि हो र त्यो महाद्वीपका कैयौँ देशले संसारका कैयौँ देशमा साम्राज्यको विस्तार गरेका छन् तर अर्कातिर, त्यो महाद्वीपले संसारभरि नै राजतन्त्र र सामन्तवादका विरुद्ध प्रजातान्त्रिक सङ्घर्ष, पुराना अन्धविश्वासका विरुद्ध पुनर्जागरणको उद्घोष, पुँजीवादका विरुद्ध समाजवादका लागि सङ्घर्ष वा मार्क्सवादी–लेनिनवादी दर्शन र कम्युनिस्ट आन्दोलनको सूत्रपात पनि गरेको छ । त्यही प्रकारले उपन्यासमा युरोप महाद्वीपको राजतन्त्र, पुँजीवाद वा फासिज्मसमेतका विरुद्ध महान् बलिदानको इतिहास पनि चर्चा गरिएको छ । दर्शन, कला र साहित्यको क्षेत्रमा पनि त्यसको देन अतुलनीय रहेको छ ।

    अहिलेको सुदूरपश्चिम र कर्णाली प्रदेशलाई पहिले सम्मिलित रूपमा कर्णाली प्रदेश नै भनिन्थ्यो । यो उपन्यासमा कर्णाली वा सुदूरपश्चिमको उल्लेख गर्दा सम्मिलित रूपले पहिलेको कर्णाली प्रदेशलाई नै बुझ्नुपर्ने छ । उपन्यासमा कर्णाली प्रदेशलाई पनि विशेष रूपले चर्चा गरिएको छ । सर्वप्रथम ता त्यो प्रदेशमा प्राग्एतिहासिक महत्त्वका कैयौँ महत्त्वपूर्ण स्थान छन् । तिनीहरूमध्ये कर्णाली नदी र रारा ताल विशेष रूपले उल्लेखनीय छन् । कर्णाली नदी हिमालय अस्तित्वमा आउनुभन्दा पहिले विद्यमान टेथिस महासागरको समयदेखि बग्दै आएको प्राग्एतिहासिक नदी हो । त्यही प्रकारले रारा ताल पनि टेथिस महासागरको अवशेषको रूपमा रहेको ताल हो । पाल्पाको तिनाउ नदीको तिरको जङ्गलमा रामापिथेकसको बङ्गाराका अवशेष पाइएका छन् भने दाङदेउखुरीको उपत्यकामा ढुङ्गेयुगप्न मानवको बस्ती भएका प्रमाण फेला परेका छन् । त्यही प्रकारले बर्दियाको राक्षस तालमा पनि ढुङ्गेयुगीन कालका औजार प्राप्त भएका छन् । त्यस आधारमा सम्पूर्ण कर्णाली प्रदेशमा ढुङ्गेयुगीन मानव बस्ने गरेका त थिएनन् ? त्यो प्रश्न उठाउने ठाउँ छ । निश्चय नै त्यो अध्ययन र अनुसन्धानको विषय हो । कतिपय विदेशी वा नेपाली स्रोतकर्ताको अथक प्रयत्नबाट कर्णाली प्रदेशको प्राचीन इतिहाससम्बन्धी कैयौँ जानकारी प्राप्त भएको छ । सम्मिलित रूपमा कर्णाली प्रदेश वा अहिलेको कर्णाली र सुदूरपश्चिम दुवै प्रदेशको अध्ययन–अनुसन्धानपछि नेपालको प्राचीन इतिहासको एउटा ठुलो र गौरवमय खजाना प्राप्त हुने कुरा निश्चित छ । उपन्यासमा त्यस प्रकारको सम्पूर्ण सम्भावनाबारे चर्चा गरिएको छ ।

    उपन्यासमा सुदूरपश्चिमको इतिहास त्यहाँका जाति र जनजाति वा उनीहरूको संस्कृतिबारे विस्तृत रूपले प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यस सिलसिलामा त्यहाँको मध्यकालीन इतिहास, पुराना ऐतिहासिक स्थान, मष्ट पूजा, मतवाली क्षेत्री, देउडा नाच, ढाल नाच, हुड्का नाच, चोपाउँदो नाच, चाँचडी नाच, धामी नाच, डोली नाच, मुगाली नाच, थारूका विभिन्न नृत्य, सुदूरपश्चिमका अन्य विभिन्न संस्कृति आदिको पनि उल्लेख गर्ने प्रयत्न गरिएको छ ।

    सुदूरपश्चिममा बृहत् रूपमा प्रचलित मष्ट पूजा एउटा प्राग्एतिहासिक महत्त्वको प्रचलन हो । नेपालमा खसहरू मेसोपोटामिया र बेबिलोनदेखि कुमाउँ–गढवाल हुँदै पश्चिमको बाटो नेपालमा आएका हुन् । उनीहरूको मष्ट पूजा त्यही बेलादेखि नै चल्दै आएको परम्परागत प्रचलन हो यद्यपि समयको विकासका साथै त्यसमा कैयौँ परिवर्तन वा विकास हुँदै आएका छन् । प्रारम्भमा मष्ट पूजा एउटा प्राकृतिक पूजा मात्र थियो र त्यसलाई एउटा ढुङ्गाको रूपमा मात्र पूजा गरिन्थ्यो तर पछि त्यो पूजाको दैवीकरण र मानवीयकरण हुँदै गयो । स्थानविशेषअनुसार त्यसमा नयाँ नयाँ कथा जोडिँदै गए । त्यसैको परिणाम हो कि अहिले कर्णाली प्रदेशमा मष्टसम्बन्धी कैयौँ कथा प्रचलित छन् । उपन्यासमा मष्ट पूजाबारे विस्तृत रूपले प्रकाश हालिएको छ ।

    सुदूरपश्चिमको एउटा महत्त्वपूर्ण पक्ष मतवाली क्षेत्रीको पनि हो, जसलाई जुम्लामा पावई पनि भन्ने गरिन्छ । उनीहरूको मुख्य विशेषता यो हो कि खसहरूको हिन्दुकरण भएर तागाधारी बन्ने क्रममा उनीहरू त्यो प्रक्रियामा सामेल भएनन् र उनीहरूले जनै लगाएनन् । उनीहरूले आÇनो परम्परागत रीतिरिवाज वा पूजाको विधिलाई पनि पूर्ववत् कायम राख्ने प्रयत्न गरिरहे । उनीहरूको त्यस प्रकारको विधिलाई ‘छेका’ भन्ने गरिन्छ । तिनीहरूका बेग्लाबेग्लै नाम छन्† जस्तै कि मैया बोलाउने छेको, मूल छेको, रैलो सभाइ छेको, देउको छेको, मनचुत्याको छेको, देउको खुसेको छेको आदि । तिनीहरूमा प्रयोग गरिने छेका वा तिनीहरूको भाषा पनि नेपाली भाषाको भन्दा बेग्लै र उत्कृष्ट प्रकारको छ ।

    उनीहरूका ती छेका वा थेगाहरू खस जातिको प्राचीन इतिहाससित सम्बन्ध भएको हुन सक्दछ । तिनीहरूको गहन मानव शास्त्रीय अध्ययन हुन सकेमा खस जातिको प्राचीन इतिहाससम्बन्धी कैयौँ रहस्य प्रकाशमा आउन सक्दथ्यो होला ।

    उपन्यासमा सांस्कृतिक दृष्टिकोणले सुदूरपश्चिममा कति धेरै विविधता छ र त्यो दृष्टिकोणले कति धेरै सम्पन्न छ ? त्यसमाथि पनि प्रकाश हाल्ने प्रयत्न गरिएको छ । त्यहाँ नयाँ दुलहीसित सम्बन्धित चोपाउँदाको नाच पनि धेरै नै प्रसिद्ध छ ।

    मुगु जिल्लाको मुगाली नाच पनि कर्णालीको एउटा प्रसिद्ध नाच हो । कर्णाली प्रदेशमा मागल, चुडकिला, पडेली, चाचडी, भारत, दोहरी, तुलसा आदि गीत तथा खेतीपाती र पशुपन्छीसम्बन्धी कैयौँ गीत पनि प्रचलित छन् ।

    कर्णाली प्रदेशमा विभिन्न पौराणिक कथा वा ऐतिहासिक घटनाको आधारमा कैयौँ गाथा बनाएर तिनीहरूलाई गाउने गरिन्छ, जसलाई भारत भन्ने गरिन्छ । त्यस प्रकारका गाथामा साइमल साइको चाँचडी, राराको पैकेलो, सोभन राईको विलाप, काशिराजको पैकेलो, लाटी देउतीको पडेली आदि विशेष रूपमा उल्लेखनीय छन् ।

    कर्णाली प्रदेशमा ठुलो सङ्ख्यामा लोककथा पनि पाइन्छन् । त्यस प्रकारका कथाहरू जनजीवनसित नै सम्बन्धित हुन्छन् यद्यपि तिनीहरूमा कल्पनाको पनि ठुलो मात्रामा प्रयोग गरिएको हुन्छ । त्यस प्रकारको कथामा सृष्टिसम्बन्धी कथा विशेष रूपमा उल्लेखनीय छ । संसारका सबै भागका जाति, धर्ममा सृष्टिसम्बन्धी बेग्लाबेग्लै धारणा पाइन्छन् र त्यसबारे बेग्लाबेग्लै प्रकारका वर्णन पाइन्छन् । त्यही प्रकारले कर्णाली प्रदेशमा सृष्टिसम्बन्धी एउटा बेग्लै प्रकारको कथा छ र प्रस्तुत उपन्यासमा त्यसको उल्लेख गरिएको छ । त्यो कथामा लेखिएअनुसार पहिले संसारमा कुनै मानिस थिएन । भगवान्ले सृष्टि गर्ने विचार गर्दा संसारको आधा भागको जिम्मा माछालाई दिए । माछाले त्यो जिम्मा लिन स्वीकार गरेपछि भगवानले धुपी, पिपल, गाई, देवदास, सल्ला र घोडालाई साक्षी राखे । धुपी, पिपल र देवदारले राम्ररी साँची बसे तर गाई, घोडा र सल्लाले भने अलि कुरा बङ्गाए । त्यसपछि भगवानले पिपल, ढटेलो (जुम्लामा पाइने वनस्पति विशेष), धुपी र देवदारलाई दीर्घायु र सुख, समृद्धिको आशीर्वाद दिए । गाई, घोडा र सल्लालाई आधा सराप र आधा वरदान दिए । बढ्दै गएका मान्छेहरूले माछा खान थाले । माछामाथिको भार मान्छेमाथि पर्न थाल्यो । मान्छेहरू दिनप्रतिदिन विवेकहीन हुँदै गयो ।

    मैले पढेको कर्णाली प्रदेशको सृष्टिसम्बन्धी कथामा त्यति मात्र छ । त्यसबाट कति बुझ्ने र त्यसबाट के अर्थ निकाल्ने त्यो कुराको जिम्मा मैले पाठकमाथि नै छाडिदिन्छु अथवा त्यसबारे तपाईंबाट बढी जानकारी प्राप्त हुन सकेमा म कृतज्ञ हुने थिएँ ।

    सङ्क्षिप्तमा, जस्तो कि उपन्यासको शीर्षकका साथै कोष्ठमा लेखिएको छ, प्रस्तुत उपन्यास ‘प्रेमको कथा र विश्वको दर्शन’ हो । उपन्यासको अध्ययन गरेपछि प्रष्ट हुने छ । त्यसको प्रधान पक्ष विश्वको दर्शन नै हो । प्रेम पनि समाजबाट अलग कुरा होइन र समाजकै एउटा अङ्ग हो । समाजका सबै चिज दर्शनसित जोडिएका हुन्छन् र त्यसैले प्रस्तुत उपन्यासमा प्रेमको जे जति चर्चा गरिएको छ त्यो पनि दर्शनद्वारा नै ओतप्रोत छ तैपनि उपन्यासको प्रधान पक्ष दर्शन नै हो ।

    जस्तो कि उपन्यासको प्राक्कथनमा स्पष्ट गरिएको छ । विश्वका सबै चिज एकार्कासित घनिष्ट रूपले जोडिएका छन् । त्यसैले उपन्यासले संसारका सबै चिजलाई समष्टि रूपमा अध्ययन गर्ने वा प्रस्तुत गर्ने प्रयत्न गरेको छ, जसमा सुदूरपश्चिमका कर्णाली नदी र रारा ताल तथा मष्ट पूजा र देउडा नाच, थारू नृत्य पनि आउँछन् । समाज र इतिहासको अर्को महत्त्वपूर्ण पक्ष के हो भने तीमध्ये कुनै पनि स्थिर रहँदैनन् । तिनीहरूमा जान वा अन्जान रूपमा सधैँ द्वन्द्व वा परिवर्तन भइरहन्छ । त्यो द्वन्द्वको क्रममा समाजको एउटा पक्षले अहिले जे जस्तो छ, त्यसलाई कायम राख्ने प्रयत्न गरिराख्दछ र त्यसका लागि पूरा शक्ति लगाउँछ तर त्यसका बाबजुद समाज सधैँ निम्न स्तरबाट उच्च स्तरमा अगाडि बढिरहन्छ । त्यही समाजको प्रगतिशील धारा हो । उपन्यासले त्यही प्रगतिशील धारालाई अगाडि बढाउने प्रयत्न गरेको छ ।

    हामीले लाखौँ वर्षको कुरा नगरौँ, हजार वा सयौँ वर्षको मात्र कुरा गर्ने हो भने पनि समाज निम्न स्तरबाट माथि नै उठेको देखिन्छ । त्यो गतिलाई जति तीव्र गति दिन सकियो, समाजको त्यति नै बढी विकास हुन्छ । दर्शन, राजनीतिक पार्टी वा साहित्यले पनि त्यो गतिलाई तीव्रता दिने प्रयत्न गर्नुपर्दछ र यो उपन्यासको मुख्य लक्ष्य त्यही रहेको छ तर समाज कहिल्यै पनि द्वन्द्वबाट मुक्त हुँदैन र त्यसैले अवश्य पनि यो उपन्यास पनि द्वन्द्वबाट मुक्त छैन । यो उपन्यासमा तपाईंले दुवै प्रकारका पात्र पाउनु हुने छ । एकथरी पात्रले समाजको विगतलाई अग्रगतिमा अगाडि बढाउनका लागि पूरा प्रयत्न गरिरहेका छन् भने अर्कातिर, कैयौँ यस्ता पात्र पनि छन्, जसले समाजको पिछडिएको विचार वा संस्कृतिको प्रतिनिधित्व गर्दछन् । त्यसरी यो उपन्यास पनि द्वन्द्वबाट मुक्त छैन तैपनि उपन्यासको मुख्य जोड प्रगतिशील दिशातिर नै छ र त्यसले एउटा यस्तो भविष्यको परिकल्पना गर्दछ, जो पूरै स्वतन्त्र, सुन्दर र सुखी हुने छ । खालि नेपाल मात्र होइन, सारा संसारबारे त्यही प्रकारको उद्देश्य राख्दछ । त्यो उद्देश्यमा प्रस्तुत उपन्यास कति सफल भएको छ : त्यो कुरा पाठक र समालोचकले नै बताउन सक्नुहुने छ ।

    म मुख्य रूपले एउटा राजनीतिक कार्यकर्ता नै हुँ । मेरो गत साढे सात दशकको जीवन राजनीतिमा नै बितेको छ । मेरो राजनीतिक उद्देश्य विद्यमान समाज व्यवस्थालाई बदलेर त्यसका ठाउँमा एउटा स्वतन्त्र र सुखी समाजको निर्माण गर्ने नै हो । मैले नेपाल मात्र होइन, सम्पूर्ण संसारबारे नै त्यही प्रकारको सपना देख्दै आएको छु तर त्यो कार्य सम्पूर्ण समाज समष्टि रूपमा अगाडि बढेपछि नै सम्भव हुने छ ।
    गत साढे सात दशकको नेपालको र सम्पूर्ण विश्वको इतिहास हेर्ने हो भने त्यो दिशामा ऐतिहासिक सफलता प्राप्त भएका छन् तर त्यस प्रकारका सफलता द्वन्द्वबाट मुक्त छैनन् । नेपाल र सारा संसारको इतिहास सर्सरी हेर्ने हो भने पनि त्यो कुरामा कुनै शङ्का रहन्न । आज पनि एकातिर, समाजलाई अगाडि बढाउन चाहने र अर्कातिर, पछाडि फर्काउन चाहने शक्तिको बिचमा नेपालमा र विश्वस्तरमा नै ठुलो द्वन्द्व चलिरहेको छ । राजनीतिक क्षेत्रमा अग्रगामी शक्तिलाई अगाडि बढाउन प्रगतिवादी शक्तिले पूरा शक्ति लगाउनुका साथै साहित्य र संस्कृतिको क्षेत्रमा पनि त्यो आन्दोलनलाई अगाडि बढाउनका लागि पूरा प्रयत्न लगाउनुपर्दछ । त्यही दिशामा मैले गत सात दशकदेखि नै लगातार साहित्यको साधना गर्दै आएको छु र त्यही दिशामा प्रस्तुत उपन्यास मेरो एउटा नयाँ पाइला हो ।

    तपाईंहरूले दिने शुभकामना, समर्थन र सहयोगले मलाई आफ्नो उद्देश्यतिर, वर्तमान समाजलाई बदलेर त्यसका ठाउँमा एउटा स्वतन्त्र, सुखी र सुन्दर समाजको निर्माणका लागि थप ऊर्जा प्रदान गर्ने छ भन्ने मैले आशा र विश्वास गरेको छु ।

    सोमबार, पुष ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.