भीष्म जोशी #
प्रिय झोला
तिमीलाई पहिलोपटक बोक्दा
जति धेरै खुसी मिलेको थियो नि
त्यो आनन्द कहिल्यै
किन घटेन ?
किनकि तिमीसँगको मेरो पहिलो सम्बन्ध
बिर्सियौ कि ताजै छ
काठको त्यो पाटी
कमेरोको मसीको त्यो रङ
छोडेर तिमीलाई अँगाल्दा
अलि अलि कमेरोसितको
बिछोडको पीडाले पनि
सताएको कहाँ थियो र ?
तर कमेरोको त्यो मसी
निँगालाको त्यो कलम
रमभासको डोरी
अनि सल्लाको त्यो पाटी
त्यो छिट्टै छुट्यो
तर प्रिय झोला
तिमीसँगको “कक्षा–२” देखिको साइनो
अझै किन छुटदैन ?
किन ? के ? कस्तो ? शक्ति छ तिमीभित्र
तिमीले तारा बाजि लै लै.. देखि
सेक्सपियरको हेमलेटसम्म ।
सुकरातको हेमलकदेखि
होप फिल्डको एआईको पुस्तकसम्म
अनि हाम्रो सगरमाथाको नाम राख्ने
जर्ज एभरेस्टदेखि उनका नाति
एआईका गड फादर हिन्टनसम्मका
पुस्तक बोक्दै छौँ
कृष्णको गोपिनीका कथादेखि
शिवको लीलासम्बन्धी कथाका किताब
कति बोक्यौ कति ?
टिएस इलियट, इ.इ. कमिङ्स, डेरिडा, फुको, नित्से,
कान्ट, रोला बार्थ, बेकेट, फ्रायड कति बोक्छौ कति..
तर थाकेनौँ
भ्रतिहरी, वेदव्यास, याज्ञबल्क्य, जनक, गार्गी, अष्टाबक्र
जिनियस आइन्टाइन, ब्रुनो, ग्यालिलियो ग्यालिली
कडा पिताको अनुशासित छोरो हिटलर
सिङ्गो युरोप हल्लाउने नेपोलियन
राजामहाराजाका कथा त कति बोक्यौ कति ?
सिङ्गो जनक्रान्तिका असफल साहसिक क्रान्ति
लेनिनको “राज्य र क्रान्ति“
मार्क्सको “पुँजी”
अनि एङ्गेल्ससहितको “कम्युनिस्ट घोषणापत्र”
यी सबै सिलसिलेबार बोक्यौँ
जनताका दुःख समेटिएको गोर्कीको “आमा”
वुभाको “सेकेन्ड सेक्स”
फ्रान्सका राजा लुई चौधौँको त्यो सानसौकतको कथा
रुसो, भोल्टेयर र दिदेरो
सबै बोक्यौ
कति बोक्छौ ?
के तिमी थाक्दैनौ
किन थाक्नु नि हौ
अझै केन्द्रमा रहेको “मानव”
यसको समग्र हितको चिन्ता बोक्दै छौ
प्रिय झोला
अहिले हकिङ्स, ट्युरिङ, कर्जवैल, किसिङ्जरले
तिमी भरिएका छौ
न्यानोबट, रोबटका यथार्थ झोलाभरि छन्
प्रसव वेदनामा छटपटिएका छन नि है
भित्रभित्रै गुम्सिसक्यौ
समय आइसक्यो–समय यही हो
बाहिर निकालुन् हो
ॅकमरेड’ भन्दै छन् तिनीहरूले
अब हाम्रो मस्तिष्क र जिउ दुबै मिलिसक्यो
मान्छे जस्तै
चार्बाकको भौतिक दर्शनले भने जस्तै
अब मानव मस्तिष्क
तिमीमा प्राण भर्दै छ
कृत्रिम मानवको जन्म
मानव मस्तिष्कबाट हुँदै छ
तर त्यो तिम्रो प्रिय अब जन्मने साथी
त्यो मानव हरेक कुरामा
तिमीभन्दा हजारौँ गुणा बढी
शक्तिशाली र सम्पन्न हुँदै छ
तर प्रिय “झोला”
तिमीले त्यो बेला अनि त्यतिखेर
तिम्रो र मेरोबिचको सम्बन्ध नटुङ्याउनू ल
त्यति बेला झन ्धेरै तिम्रो खाँचो
पर्ने छ मलाई
तिमीले नैतिकताका, इमानको,
साथित्वको र “बसुधैव कुटुम्बकम्” को ध्वजा
झन् बलियो गरी उठाउनुपर्ने छ
त्यो बेला तिम्रो जिम्मेवारी र कर्मको भारी
झन् बोझिलो हुने छ
बोक्नु ल
कमेरोको मसी
सल्लाको काठको पाटी
र निँगालाको त्यो कलम बोके झैँ
२०८१ पुस ४ गते
अनामनगर, काठमाडौँ