पुना (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले देशको विकासमा जनताको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।
डिसेम्बर १५, २०२४ का दिन मूल प्रवाह पुना पूर्व नगर नगर समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
‘आज विकासित मानिएका देशहरू पनि पहिले गरिब नै थिए । त्यहाँका जनताको कडा परिश्रमले ती देशको विकास भएको हो’ उहाँको भनाइ थियो ।
आर्थिक उन्नति र विकासको लागि श्रमजीवी जनशक्ति आवश्यक हुने बताउँदै उहाँले देशको उन्नतिको बाधक रहेका साम्राज्यवादी शक्ति नेपाललाई आत्मनिर्भर बन्न नदिन अनेकौँ सन्धिसम्झौता गरेको बताउनुभयो ।
उहाँले थप्नुभयो– ‘साम्राज्यवादीहरू नेपालको युवालाई देशबाट पलायन गराइरहेका छन् । यसरी देश विकासमा जनताको भूमिका महत्त्वपूर्ण हुन्छ ।’
युवाहरूको वैदेशिक पलायनको लागि साम्राज्यवादीहरू मात्रै जिम्मेवार नभएर देशका आफूलाई ठूला पार्टी भनाउँदा र सत्तामा पुगी सत्ताको रसास्वादन गरेका दलहरू पनि उत्तिकै जिम्मेवार रहेको उहाँको भनाइ थियो ।
‘विदेशमा नेपालीको अवस्था, भारतलगायत खाडी मुलुक, मलेसिया आदि देशमा अत्यन्तै नाजुक छ । युरोप अमेरिका आदि देशमा गएकाहरू पढेलेखेका युवाहरू झन् राष्ट्रियता नै परित्याग गरी पलायन भइरहेका छन्’ खनालले अगाडि भन्नुभयो– ‘देशमा साम्राज्यवादी र उनका दलालको ब्रह्मलुट मौलाइरहेको छ । भ्रष्टाचारका रिकार्ड तोड्न प्रतिस्पर्धा गरेका छन् ।’
“प्रवासी नेपालीको मताधिकार एवम् समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौँ, भारतस्थित नेपालीको हकहित र सामाजिक सुरक्षाको लागि सङ्गठित बनौँ” मूल नाराका साथ सो प्रथम सम्मेलन सम्पन्न भएको हो ।
अध्यक्षमा राम बाजी
सम्मेलनले राम बाजीको अध्यक्ष रहनुभएको १५ पूर्ण पाँच वैकल्पिक र पाँच सल्लाहकार गरी २५ सदस्यीय पुना पूर्व नगर समिति चयन गरेको छ ।
समितिमा उपाध्यक्ष जनक भुल, सचिव अरुण ताम्राकार, सहसचिव दीपक कार्की र कोषाध्यक्ष चक्रबहादुर विक रहनुभएको छ ।
त्यस्तै, सदस्यमा दिलिप विश्वकर्मा, धनबहादुर विक, खेमबहादुर राउत, प्रकाश बुढाथोकी, नवीन महतरा, तेजबहादुर विक, कालु भूल, विजय विक, रामप्रसाद अवस्थी र उज्ज्वल भुल रहनुभएको छ ।
वैकल्पिक सदस्यमा बेलसिंह परियार, दीपक अवस्थी, सिवी विक, रोहित शर्मा र चन्द्र विक रहनुभएको सो समितिको सल्लाहकारमा प्रकाश जेठारा, खिमलाल भण्डारी, रवि थापा, दीप विक र कविता शर्मालाई चयन गरेको छ ।
महिला विभागमा कविता शर्मा
सम्मेलनले कविता शर्मा संयोजक रहनुभएको १३ सदस्यीय नगर महिला विभाग गठन गरेको छ ।
समितिको अन्य सदस्यहरूमा लक्ष्मी विश्वकर्मा, जुलु भुल, मीना खनाल, पदमा देवी, मीना विक, नरू परियार, लक्ष्मी परियार, सिर्जना भट्टराई, दीपा अधिकारी, नरू नेपाली, सरस्वती नेपाली र एक स्थान रिक्त रहेको छ ।
नवनिर्वाचित समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द थापाले गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता धनबहादुर विकले र सञ्चालन दीपक अवस्थी गर्नुभएको थियो भने स्वागत दिलिप विकले गर्नुभएको थियो ।
सम्मेलनको घोषणासभामा केन्द्रीय सदस्य टङ्क कुँवर, क्षेत्रीय अध्यक्ष श्याम तरामु, केन्द्रीय सांस्कृतिक विभागका बोम सिँजापती, क्षेत्रीय महिला विभागकी सुनिता पुन, पुना पश्चिम नगर समितिका रामचन्द्र केसी, रायगढ नगर समितिका भीमा थापा र मुम्बई नगर समितिबाट चन्द्रसिंह नेपालीको पति आतिथ्य एवम् शुभकामना मन्तव्य रहेको थियो ।
