काठमाडौं । दार्चुलाको ब्यास गाउँपालिका १ स्थित छाङरुमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले बुधबार बोर्डर आउट पोष्टको उद्घाटन गर्नुभयो ।
Advertisement
भारतले सीमा मिचेर सडक निर्माण गरेको छाङरुमा बोर्डर आउट पोस्ट स्थापना गर्न एआईजी थापासहितको टोली बुधबार छाङरु पुगेको हो ।
नेपाली सेनाको हेलिकोप्टरमा दुई पटकमा गरेर खलंगाबाट टोली छाङरु गएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । छाङरुको बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको कमान्डमा २५ जना सशस्त्रको टोली रहनेछ । यो पोस्ट भारतले सडक निर्माण गरेभन्दा १३ किलो मिटर तल पर्छ ।
सोही क्षेत्रमा नेपाल प्रहरीको पनि ९ जनाको टोली रहने छ । त्यो टोली पनि बुधबार नै हेलिकोप्टरमा त्यहाँ पुगेको छ ।



