वासु नेपाली ##
सगरमाथाको शिर अनि बुद्धको देश भन्दै भजाउन लागेको युगौँयुग भइसक्यो । के बुद्धपछि यो देशमा कोही सपुतको खाँचो परेन या तिम्रो पालो आएन ? वीर पुर्खाले लडेर बनाएको वीरता अनि स्वाभिमानको गफ हाँक्छौ । प्रकृतिले दिएको उपहार हो मेरो देश भनेर फुर्ती छाँट्छौ ।
एक्काइसौँ शताब्दीमा तिमीले त्यस्तो के सिर्जियौ आजका तिमीहरूले गर्ब गर्नका लागि ? हे नेपाली भाइ, साँच्चै भन त, तिमी जन्मिएको के लागि ?
बिहान उठेदेखि बेलुका नसुतेसम्म फेसबुकमा विद्वता छाँटिरहन्छौ ? फलानाले यसो गर्दिनुपर्थ्यो तर अर्कै गर्यो । मैले दिएको अर्ति मान्नुपर्थ्यो, ढिस्कानो गर्यो । मेरो आवाज सुनेन† रोदन बुझेन† आज्ञाकारी बनेन भन्छौ । हुनु के पर्थ्यो ? हुन किन सकेन ? सोध्दा अलमलमा छौ । त्यसो भए तिमी आफै भन त, हे नेपाली भाइ साँच्चै तिमी जन्मिएको केका लागि ?
तिमी पढ्यौ, जागिरले धानेन । विदेश पस्यौ, दुःखले छोडेन । पढेको केलाई अनि तिमीले जानेको के रे ? भन्दै छौ तिम्रो पीडा तिम्राले सुनेनन् अनि राज्यले देखेन । म अलि मेसो पाउदिनँ । बुझाइदेऊ त कसैलाई, जहाँ जन्मियौँ, त्यहाँ अभाव थियो । जहाँ हुर्कियौ, त्यहा खाँचो थियो । जहाँ छौ त्यसमा सुखी छैनौ । जे छ त्यसमा सन्तुष्ट छैनौँ ।
खोजेको तिमीले के थियो ? जानेर तिमीले के थाहा पायौ ? अरूले गरेकोमा खुसी छैनौ । जे भइरहेको छ, त्यहाँ निश्चिन्त छैनौ । तिमीले खोजेको पाएका छैनौ । जे पाएका छौ, त्यहाँ भविष्य देखेका छैनौ । तिमीले कहिल्यै आफूलाई सोधेका छौ ? अँ झ् साँच्चै म जन्मिएको केका लागि ?
पहिले पढिन्थ्यो यो बन्छु र ऊ बन्छु भन्नका लागि । आजकल पढिन्छ र रिजल्ट आएपछि आफैलाई थाह लाग्छ, योग्य भएछु फलानो देशको लागि । कुनै परदेशको टुङ्गो लाग्छ । अभिभावकले सन्तोषको सास फेर्छ । यएरपोर्टमा आएर बिदाइका हात हल्लाउँछ । खादा लाउँदै मायाका दुई थोपा आँसु चढाउँछ, बिहेमा कन्यादान गर्दा आफ्नो कर्तब्य पूरा गरेको जसरी ।
उमेर ढल्दै जान्छ । शरीर गल्दै जान्छ । सहाराको खाँचो पर्छ अनि पनि ऊ फर्किदैन । जीवनको उत्तरार्द्धमा एकार्कातिर फर्केर सोध्छन्– हामीले सन्तान पायौँ कसका लागि ? हुर्कायौँ कसका लागि ?
परदेशमा टहल्छौ; अपेरासँगै तस्बिर लिन्छौ; विकास र विलास हैर्दै र्याल काड्छौ; एकदुई थान फोटो अपडेट गर्छौ र सोध्छौ- म जन्मेको देश पनि यस्तै हुन्छ कहिले ?
तितो पोख्छौ, कसैले स्वाद पाउँदैन । आगो ओकल्छौ, कोही डढ्दैन । हुँकार छोड्छौ, कसैले सुन्दैन । आक्रोश देखाउँछौ, कोही पनि डराउँदैन । तिमी चिनिन सकेनौ कि तिमीलाई कसैले पत्याएन या तिमीलाई होस छैन, तिमी उभिएको सहर नै तिम्रो हैन ? नभए भन त तिमी जन्मिएको केका लागि ?
हिजो हाम्रा पुर्खा लड्दैमा मरे । बाजे स्वाभिमानी हुदैमा मरे । बा गरिबीसँग लडेर आफूलाई सके । अभापसँग जुधेर आमा मेटिइन् । चाडबाडमा मिठो खान र राम्रो एकसरो लाउन पाउँदा गर्वले छाती फुलाएर मरे । अहिले तिमी यो दुनियामा यो पनि रहेछ; यस्तो पनि हुँदो रहेछ† यस्तो पनि पाइँदो रहेछ; यस्तो पनि भोगेँ मैले; देखाउदै आफ्नो देशमा नपाएको आक्रोश पोखिरहेछौ । सर्वत्र बर्बराउँदै भौतारिरहेछौ । भन त साँच्चै तिमी जन्मेको केका लागि ?
सुख अनि भविष्य खरिद गर्न यसरी नै दौडिरह्यौ भने भोलिको पुस्ताका लागि तिमी पनि कसैका हजुरबा हुने छौ; कसैका बा हुने छौ; कसैका पुर्खा हुने छौ; त्यति बेला तिम्राहाम्रा सन्ततिले हामीलाई चिन्न न यहाँ हाम्रो जवान बोल्ने समुदाय हुने छ, न हाम्रो वीरताको इतिहास पढाइने छ, न हाम्रा सङ्घर्षको अभिलेख रहने छ, न जन्मथलोको पहिचान बाँकी रहने छ । जब तिनीहरूले हामीलाई तिमी को हौ भनेर सोध्ने छन्, अनि हामी आफ्नै आत्मालाई सोध्न बाध्य हुनै छौँ– हामी बाच्यौ कसका लागि ?
हे नेपाली युवा, तिमी जन्मेको केका लागि ? साँच्चै आजका हामी जन्मेको केका लागि ?