काठमाडौं । अखिल नेपाल प्रगतिशील लेखक संघले नेपालको भूमिमा सडक बनाउने भारतको कार्यप्रति विरोध प्रकट गरेको छ । अध्यक्ष डा. गोविन्दप्रसाद आचार्यले सोमबार विज्ञप्ति प्रकाशित गरी अतिक्रमणविरुद्ध चलिरहेका आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतले लिम्पियाधुरादेखि लिपुलेकसम्मको जमिन नेपालको हुँदाहुदै नेपालको भूमिमा सडक बनाउने कार्य गरेको छ । अखिल नेपाल प्रगतिशील लेखक संघले भारतीय साम्राज्यवादको त्यसप्रकारको कार्यको घोर विरोध र भर्त्सना गर्दछ ।
नेपाल सरकारले यसप्रति ध्यान पुर्याएको देखिंदैन र यस विषयलाई आलटाल गर्ने काम गरिरहेको छ । नेपालले यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ र कुटनीति वा वार्ताका माध्यमबाट नेपालको भूमि फिर्ता लिने काम गर्नुपर्छ ।
भारतीय साम्राज्यवादले नेपालको सार्वभौमिकता र स्वतन्त्रतामाथि पटकपटक आँच पुर्याउँदै आएको छ । भारतीय साम्राज्यवादको त्यसप्रकारको व्यवहारको नेपाली जनताले विरोध गर्दै आएका छन् । अहिले पनि जनताको जुन ऐक्यवद्धता देखिएको छ, त्यो स्वागतयोग्य छ ।
देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षा गर्नका लागि नेपाल सरकारको ध्यान आकर्षण गराउँदै सम्पूर्ण देशभक्त जनताको देशभक्ति आन्दोलनमा अखिल नेपाल प्रगतिशील लेखक संघ ऐक्यवद्धता प्रकट गर्दछ ।’