• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

त्रिवि टिचिङ अस्पतालमा चार दिन


  •   मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
  • प्रकाश थापामगर ##

    Advertisement

    स्वास्थ्य सतर्कताको बारेमा मलाई पारिजात, सोभियत लेखक निकोलाई आस्त्रोभस्की र गाउँले जीवनले प्रेरणा दिएको ठान्दछु । पारिजात र निकोलाई रोगको सामना आन्तरिक शक्तिले गर्नुपर्ने बताउँथे । एक अर्थमा हो पनि । आन्तरिक शक्तिद्वारा रोगको सामना गर्नुको विकल्प छैन ।

    जे जति स्वास्थ्यविज्ञानले उपचार उपलब्ध गराएको छ, त्यसको उपयोग मानव समुदायले गर्दै आएको छ । त्यसका बाबजुद अझै पनि थुप्रै रोगको उपचार पत्ता लगाउन बाँकी छ । यसबिचमा नयाँ रोग जन्मिएका पनि छन् । यस सन्दर्भमा एउटा प्रवृत्ति बदलिएको मानिन्छ : पहिले नसर्ने रोगले अत्यन्त कम मानिसको मृत्यु हुन्थ्यो, अहिले नसर्ने रोगले धेरै मानिसको मृत्यु हुने गरेको छ । सर्ने रोग नियन्त्रण गर्नमा धेरै सफलता मिलेको छ । कोरोना महामारीको जसरी र जुन तीव्र गतिमा भ्याक्सिन तयार गरियो, त्यसबाट मानव समुदायले अभूतपूर्व रूपमा स्वास्थ्यविज्ञानको क्षेत्रमा प्रगति गरेको थाहा लाग्दछ ।

    यस सन्दर्भमा एउटा तथ्य स्मरण गरौँ । लियो ह्युबरमनले आफ्नो पुस्तक “मनुष्यको भौतिक सम्पदा” मा लेखेका छन्– युरोपमा महामारीका बेला एउटा रोगी मानिसको कपडा कुकुरले सुँघ्यो । त्यो कुकुर त्यही ठाउँमा तड्पिएर मर्‍यो । त्यसको तुलना अहिले स्वास्थ्यविज्ञानले गरेको प्रगतिसँग गरौँ, त्यसबाट मानव समुदायले गरेको प्रगति कति धेरै तीव्र छ भन्ने स्पष्ट हुन्छ ।

    आफ्नो जीवनकालमा पारिजात र निकोलाईका अनुभवबाट प्रेरणा लिएर मैले सकेसम्म स्वास्थ्यको सवालमा हतोत्साही हुने तरिका अपनाइनँ । त्यसबाहेक गाउँघरका किसान पृष्ठभूमिबाट आएका कारण स्वास्थ्य समस्या आइपर्दा नहडबडाउने मनोविज्ञान ममा छँदै थियो ।

    हामी गाउँमा देख्न सक्दछौँ, शरीरमा थुप्रै चोटपटक, यहाँसम्म कि दीर्घरोगका बाबजुद मानिसहरू काम गरिरहेका हुन्छन् । मेरो गुल्मी कालीगण्डकीस्थित गाउँमा मानिसहरू अझै पनि भन्ने गर्दछन्– ‘मन्टै काटियो भने बल्ल काम गर्न छोड्ने हो, नत्र काम गर्न छोड्ने होइन ।’ २०४९ सालमा म भारततिर लाग्नुभन्दा अघि मेरो पनि तरिका उही थियो ।

    आज पनि गाउँघरका मानिसहरू कैयौँ स्वास्थ्य समस्या बोकेर बाँचिरहेका हुन्छन् । उनीहरूका लागि सामान्य प्राथमिक स्वास्थ्य परीक्षणको सुविधासमेत उपलब्ध छैन । रक्तचापको उनीहरू वास्ता गर्दैनन् वा भनौँ, त्यसको बारेमा उनीहरूलाई जानकारी नै हुँदैन । जब हृदयघात हुन्छ, उनीहरू भन्ने गर्छन्– ‘देउताले बान हान्यो र फलानो ठहरै भयो’ । त्यसमध्ये कतिपय प्यारालाइसिस भएर अपाङ्ग बन्छन् । फेरि पनि अन्धविश्वासका कारण देवीदेवता, पाप, पूर्वजुनीको फल जस्तालाई दोष दिन्छन् ।

    सहरको जीवनशैली भने फरक छ । सहरमा दुईचार घरैपिच्छे औषधी पसल हुन्छन् । उनीहरूले विशेषज्ञ डाक्टरको व्यवस्था गरेका हुन्छन् । त्यहाँ विभिन्न स्वास्थ्य परीक्षणको व्यवस्था हुन्छ । त्यसैले पनि होला, सहरका मानिसहरू ज्वरो आयो भने पनि त्यसको कारण खोज्दै औषधी पसल वा अस्पताल धाउँछन् ।

    गाउँघरमा भने त्यस्तो हुन्न । त्यसको अनुभवी म आफै छु । २०४९ सालभन्दा अघिका प्रत्येक वर्ष साउनको धानरोपाइँ सकिँदानसकिँदै गाउँघरका प्रायः सबैले तीव्र कामज्वरोको सामना गर्दथ्यौँ । करिब एक हप्तासम्म हामी त्यसको प्रकोपमा पर्दथ्यौँ । सिटामोल कहाँ पाउँनु ? पित्तमारी, रानीसिङ्काको तितो झोल वा गाईको गहुँत हाम्रो औषधी हुन्थ्यो वा विभिन्न बिरुवा मुन्टा र जडिबुटी मिलाएर बनाएको झोल खान्थ्यौँ । एक हप्तापछि मात्र हामी सहज अवस्थामा फर्किन्थ्यौँ । कहाँको रगत/दिसापिसाब परीक्षण वा भिडियो एक्सरे ? त्यसमध्ये कमजोर शरीर भएका वा ६० नाघेकाहरू त्यो कामज्वरो झेल्न सक्दैनथे र उनीहरूको जीवनलीला समाप्त हुन्थ्यो ।

    आज पनि कैयौँ गाउँघरको अवस्था यस्तै छ । म पनि त्यही पृष्ठभूमिबाट आएको व्यक्ति हुँ । त्यसैले त्यो पृष्ठभूमिबाट बनेको मनोविज्ञानले मलाई अझैसम्म छोडेको छैन ।

    केही महिनाअघि मेरो पेटको दायाँपट्टिको तल्लो भागमा दुखाइ देखा परेको थियो । मलाई लाग्यो, त्यसको एक दिनअघि मैले घरै बनाएको पिरो चट्नी र गहुँको बाक्लो रोटी खाएको थिएँ । त्यसैले यस्तो भएको होला भन्ने लाग्यो । त्यति बेला हल्का ज्वरो पनि आएको थियो । औषधी पसलमा गएर पेटको ब्याक्टेरया सङ्क्रमणसम्बन्धी औषधी लिएर खाएँ । ज्वरो आएकाले साथमा सिटामोल पनि खाएँ । त्यसको दशओटा खुराकले मेरो पेटदुखाइ सकियो ।

    पन्ध्र दिनघि फेरि त्यस्तै दुखाइ त्यही भागमा देखा पर्‍यो । संयोगवश त्यसभन्दा अघिल्लो साँझ एउटा सिङ्गै हरियो खुर्सानी खाएको सम्झेँ । त्यसैले पहिले जस्तै पेटमा सङ्क्रमण भएको होला भन्ने अनुमान लगाएँ । पुनः त्यही औषधी सेवन गरेँ तर यसपालि भने त्यो दशओटा खुराकले काम गरेन । पुनः एकपटक औषधी पसल पुगेँ र अलि कडा औषधी मागेँ । ती पसले भाइले अर्को औषधी दिएर भने– ‘यो औषधीको पहिलो खुराक खाएर पनि काम गरेन भने अस्पताल जानुहोला’ । यसपटक त्यो औषधीले पनि काम गरेन । साथमा पेनकिलर औषधी (फ्ल्याक्सन) खाएपछि आठ घण्टा आराम हुन थाल्यो । मेरो जिम्मामा रहेको अनलाइन र साप्ताहिक पत्रिका त छँदै थियो, त्यही बेला थप अन्य प्रकाशनको जिम्मा पनि थपियो ।

    यी काम सिध्याएर अस्पताल जाउँला भन्ने सोच बनाएँ, तबसम्म भदौ ३१ गतेको मिति नाघिसकेको थियो । नजिकै रहेको बुढानीलकण्ठ–१० मा रहेको नगर अस्पताल पुगेँ । त्यहाँका डा. प्रशान्त ज्ञवालीले केही औषधी लेख्नुका साथै तीन प्रकारका रगत परीक्षण, दिसा परीक्षण, पिसाब परीक्षण र भिडियो एक्सरे गर्ने प्रेस्क्रिप्सन लेखिदिनुभयो ।

    असोज १ गते काठमाडौँ उपत्यकामा इन्द्रजात्रा अर्थात् सार्वजनिक बिदा । अघिल्लो दिन २ बजे नै फोन गरेर सोध्दा खुल्छ भनिएको राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशाला (टेकु, काठमाडौँ) पनि त्यस दिन बन्द रहने भएछ । असोज १ गते टेकु पुग्दा प्रयोगशाला बन्द थियो । असोज २ गते फेरि त्यही ठाउँमा पुगेर रगत, दिसा र पिसाबको परीक्षण भयो । भिडियो एक्सरे महराजगञ्जस्थित क्लिनिकमा गरियो ।

    अरू चारओटा परीक्षणका रिपोर्ट सामान्य आए तर भिडियो एक्सरे रिपोर्ट भने गम्भीर थियो । मेरो एपेन्डिक्स सुन्निएर १४.८ एमएम भएको थियो भने त्यो पाकेर २.७ सिसि पिप जमिसकेको थियो ।

    भिडियो एक्सरेको रिपोर्ट लिएर पुनः नगर अस्पतालमा डा. प्रशान्त ज्ञवालीकहाँ पुगेँ । उहाँले तुरन्तै त्रिभूवन विश्वविद्यालय टिचिङ अस्पतालमा पुगेर सर्जनलाई देखाउन निर्देशन दिनुभयो । त्यति बेलासम्म भने मेरो दुखाइ कम भइसकेको थियो । त्यसैले इमर्जेन्सी (आपतकालीन) वार्डमा भर्ना हुन आवश्यक ठानिएन । त्रिवि टिचिङ अस्पतालकै ई.एच.एस. (एक्सटेन्डेट हस्पिटल सर्भिस) मा असोज २ गते ग्यास्ट्रोसर्जरीका डाक्टर नबस्ने जानकारी पाइयो ।

    भोलिपल्ट २०८१ असोज ३ गते अर्थात् दशौँ संविधान दिवस । राष्ट्रिय बिदा परे पनि त्यो दिन ई.एच.एस. खुलै थियो, बरु दुई घण्टा अगाडि नै । हामीले डाक्टर नचिनेर ग्यास्ट्रोसर्जरीको सट्टा न्युरोसर्जरीका डा. मोहनराज शर्माको टिकट काटेका रहेछौँ तर भद्र र शिष्ट डा. शर्माले आफ्नो टिकट फिर्ता गरेर ग्यास्टोसर्जन डा. अभिषेक भट्टराईलाई देखाउन भन्नुभयो । त्यसका लागि डा. शर्मालाई धन्यवाद दिँदै डा. भट्टराईलाई भेट्यौँ ।

    डा. अभिषेक भट्टराईले तत्कालै अस्पताल भर्ना भएर पिप फाल्नुपर्ने अन्यथा गम्भीर अवस्था हुने बताउनुभयो । तत्कालै उहाँले एनेक्स–१ का डा. कमललाई फोन पनि गरिदिनुभयो ।

    अब सुरु भयो, मेरो जीवनको पहिलो अस्पताल बसाइ । हामी तत्कालै एनेक्स–१ पुगेर डा. कमलसँग भेट्यौँ । वार्डमा त्यति बेला बेड खाली रहेनछ । डक्टरहरूले केही बेर प्रतीक्षा गर्न भने तर त्यसो गर्नु हामीले उचित ठानेनौँ । जानकारी लिँदा डबल क्याबिनमा बेड खाली रहेको जानकारी मिल्यो । डबल क्याबिनको एउटा बेड २४ घण्टाको १,५०० रुपियाँ पर्दथ्यो । यता, वार्डमा बेड ३०० रुपियाँ मात्र तर स्वास्थ्यको गम्भीरतामाथि ध्यान दिँदै त्यही क्याबिनको एउटा बेड नम्बर ५१३ बी बुक गर्‍यौँ । मलाई थाहा थियो, यस्तै एपेन्डिक्सलाई बेवास्ता गर्दा समाजसेवी भावनाका डा. सुरेश वाग्लेको केही वर्षअघि एपेन्डिक्स क्यान्सरबाट असामयिक मृत्यु भएको थियो । त्यतिखेर मलाई लाग्यो, डा. वाग्लेको योगदानको सम्मानमा बनाइएको “सुरेश वाग्ले क्यान्सर स्मृति भवन” मेरै अगाडि उभिएर मलाई धन्यवाद दिइरहेको थियो, यस निर्णयका लागि ।

    अस्पतालको प्रक्रिया पूरा गरेर बेडमा पुग्न मलाई केही घण्टा लाग्यो । असोज ३ गते करिब ५ बजेतिर म बेडमा पुगेँ । त्यसपछि असोज ६ गते ५ बजेसम्म सोही बेडमा भर्ना भइयो । त्यस क्रममा करिब १,१०० मिलि लिक्विड, दैनिक दुईओटा भ्याक्सिन र दैनिक तीनपटक (प्रत्येकपटक एक ग्राम) सिटामोल मेरो शरीरभित्र प्रवेश गरे । रेसिडेन्ट डाक्टर, फ्याकल्टी टिमका डाक्टर, नर्स र कर्मचारीहरूको सेवा राम्रो रह्यो । वार्डमा खासगरी रेसिडेन्ट डाक्टर र नर्सको बढी काम हुँदो रहेछ । उहाँहरूले मसहितका बिरामीको हेरचाह गर्ने, स्वास्थ्य तथ्याङ्क राख्ने र आवश्यक सल्लाह दिने काम गरिरहनुभयो ।

    जहाँसम्म अस्पतालको सेवामा सुधारको प्रश्न छ, त्यस्ता धेरै सुधारको आवश्यक हुने नै भए । यसलाई हामीले सापेक्ष रूपमा बुझ्नुपर्दछ । जुन देशको सरकार, राजनीतिक पार्टी, कर्मचारीतन्त्र वा राज्यसंयन्त्रमा तमाम विकृति छन्, त्यसको प्रभाव अस्पतालमा पर्ने नै भयो । अवश्य पनि महत्त्वपूर्ण विषय व्यवस्थापनको हो । थोरै साधनस्रोतमा अधिकतम सेवाप्रवाह कसरी गर्ने ? चुनौतीको प्रश्न यो हो । त्यसका साथै समस्या बजेटको पनि छ । हाम्रो राज्यले सरकारी स्वामित्वको स्वास्थ्य क्षेत्रको सट्टा मेडिकल माफियालाई पोस्दै आएको तथ्य लुकेको छैन । त्यसका विपरीत सरकार आफैले गुणस्तरीय, सर्वसुलभ स्वास्थ्य सेवाका साथै तत्कालका लागि स्वास्थ्य बिमालाई प्रभावकारी रूप दिनुपर्ने देखिन्छ ।
    टिचिङ अस्पतालको हकमा न्यून स्रोतसाधनका बाबजुद व्यवस्थापकीय पाटोमा ध्यान दिइनुपर्दछ । हुन त टिचिङको व्यवस्थापन त्यति नराम्रो छैन । फेरि पनि व्यवस्थापकीय कुशलतामा टिचिङ अस्पतालले पनि ध्यान दिनुपर्दछ । बिरामीका सुझावलाई सकारात्मक रूपमा लिने तरिका अपनाइनुपर्दछ ।

    यसपटकको छोटो अस्पताल बसाइमा परिवार र मसम्बद्ध पार्टीका साथीहरूको महŒवपूर्ण सहयोग रह्यो । जीवनसँगिनी चन्द्रा र छोराहरू सँगै हुने नै भए । कोही गुल्मी त कोही भारतको फरिदावाद भएका आमा, भाइ, बुहारी, मामामाइजू, जेठान, सालीसहित सिङ्गो परिवारले पलपलमा मेरो स्वास्थ्यबारे जानकारी लिइरहे । आवश्यक सहयोग गर्दै रहे । हरिकान्त शर्मा र रमेश पौडेलले भर्ना हुन सघाउनुभयो । सहकर्मी गोविन्द शर्माले भोलिपल्ट अस्पतालमै पुगेर प्रत्यक्ष सहयोग गर्नुभयो । त्यसका साथै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दिदी दुर्गा पौडेल, राजमो नेता आनन्द शर्मा, राजमो कोषाध्यक्ष मधु क्षेत्री, राजमो केन्द्रीय सचिव घनश्याम न्यौपाने, राजमो केन्द्रीय सदस्य मेघनाथ विष्ट, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल (छैठौं) का पूर्व अध्यक्ष कृष्ण अधिकारीलगायत धेरैले फोनमार्फत सान्त्वना दिनुभयो । डा. चूडा ढकाल, रामदेव पाण्डे, लोकेन्द्र पौडेललगायत मित्रहरूले सामाजिक सञ्जालमार्फत चासो व्यक्त गर्नुभयो ।

    मानिसको जीवन प्रकृतिको उपहार हो । सम्पूर्ण जीवजन्तु प्रकृतिका अतिथि जस्तै हुन् । अन्ततः सबै यसै धर्तीमा विलीन हुनुपर्दछ । जबसम्म मानिस यस पृथ्वीमा रहन्छ, तबसम्म निरन्तर सङ्घर्ष र अन्तरक्रियामा रहिरहनुपर्ने हुन्छ । रोगसितको सङ्घर्ष पनि जीवनको लागि सङ्घर्षकै एउटा भाग हो । त्यसका साथै जीवनको उत्तरार्ध चुनौतिपूर्ण हुन्छ । त्यति बेला शरीरको प्रतिरोधात्मक क्षमता कमजोर भएर जान्छ । त्यसैले ब्याक्टेरिया र भाइरसको आक्रमणसामु शरीरले हार मान्दछ । डाक्टरका अनुसार मेरो एपेन्डिक्स पनि ब्याक्टेरिया आक्रमणको एउटा तरिका थियो । यस्ता सङ्घर्ष प्रत्येक व्यक्तिले गर्नुपर्ने हुन्छ । अझै ५० वर्षको उमेरपछि यस्तो सङ्घर्ष अरू बढेर जान्छ । यो सङ्घर्षमा तल्लो पुस्ता र सिङ्गो समाजले साथ दिनुपर्ने हुन्छ । त्यसका लागि राज्यपक्षले नै आवश्यक व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

    पुँजीवादी देशहरूले स्वास्थ्य बिमाको समुचित व्यवस्थापन गरेर राम्रो गरेका छन् । हामीले पनि त्यसबाट पाठ सिक्न सक्दछौँ, स्वास्थ्य बिमामा सबैलाई सामेल गर्न प्रतिव्यक्ति आय बढाउनुपर्ने हुन्छ । सरकारले एकातिर प्रतिव्यक्ति आय बढाउन उत्पादन, स्वरोजगारी र रोजगारी बढाउनुपर्दछ भने अर्कोतर्फ, स्वास्थ्य बिमाका साथै राज्यले नै यस क्षेत्रमा दायित्व बढाएर लैजानुपर्दछ ।

    नेपाली जनताको सरदर आयु बढेको छ । त्यसको अर्थ स्वास्थ्य क्षेत्रमा सुधार भइरहेको छ भन्ने नै हो । त्यसका साथै स्वास्थ्य क्षेत्रमा असन्तुलन र अव्यवस्था पनि छ । खास गरी काठमाडौँमा डाक्टर, नर्स नै बेरोजगार छन् भने गाउँपालिकामा एम.बी.बी.एस. डाक्टर राख्ने गरिएको छैन । आधुनिक स्वास्थ्य परीक्षण गाउँमा छैन भन्दा पनि हुन्छ । उच्च रक्तचाप र ज्वरो परीक्षण गर्ने व्यवस्था विश्वका विकसित देशमा निःशुल्क र सर्वसुलभ भइसक्दा हामी त्यसबाट टाढै छौँ । फलस्वरूप मानिसमा आकस्मिक स्वास्थ्य समस्या उत्पन्न हुँदा अकालमा ज्यान गुमाइरहेको अवस्था छ । त्यसैले देशमा विकेन्द्रीकरणको अभ्याससँगै पालिकास्तरमा यी विषयमा ध्यान पुर्‍याउनुपर्ने आवश्यकता छ ।

    मानिसको जीवन के हो ? त्यो बुझ्न प्रत्येक व्यक्ति एकपटक अस्पतालमा पुग्नैपर्दछ, खासगरी इमर्जेन्सी वार्डमा पुगौँ । त्यहाँको जीवनमरणको दृश्यबाट जोकोहीले मानव जीवनको विशिष्टता अनुभव गर्ने छ । हामी असोज ४ गते राती ११ः३० तिर भिडियो एक्सरे गर्न इमर्जेन्सी वार्डमा पुगेका थियौँ । त्यहाँ आएका बिरामीको अवस्था हेर्दा हामीलाई त्यहाँबाट भिडियो एक्सरे नगरेरै फर्कौं जस्तो लागेको थियो तर त्यतिखेर अन्तै त्यो परीक्षण गर्नु सम्भव थिएन । इमर्जेन्सीका केही बिरामीलाई पालो दिएर पछि मात्रै मेरो भिडियो एक्सरे भएको थियो ।

    हाम्रो क्याबिननजिकै सी.आई.सी.यू. थियो । त्यहाँका बिरामीको अवस्था पनि भयावह थियो । दिनदिनैजसो सेतो कपडाले बेरिएका मानिसको शव अस्पतालबाट डिस्चार्ज हुन्थ्यो । मानिसको शोकरुवाइले जोकसैलाई भावविह्वल बनाउँथ्यो । चिकित्सकले परीक्षण गर्दागर्दै मानिसका सास बन्द हुन्थे । यी सबै दृश्य देख्दा लाग्दथ्यो, जीवन केही होइन, कुनै पनि बेला हामी छैनौँ । निजी सम्पत्तिका लागि ‘तेरोमेरो’ भन्नु व्यर्थ छ । सम्पत्तिको घमण्ड गर्नु त झनै व्यर्थ हो । आखिर धनीका लागि बेग्लै औषधी र परीक्षणको व्यवस्था आजसम्म छैन । त्यसैले जति समय मानव जीवन रहन्छ, त्यति बेलासम्म आफू जस्तै अन्य मानिसको पक्षमा काम गर्ने प्रयास गरौँ । जीवनलाई यसरी सार्थक बनाऔँ, जसले गर्दा हाम्रो देहावसान हुँदा हामी जस्तै मानिसको आँखामा आँसु टिलपिल गरोस् ।

    अन्तमा, त्रिवि टिचिङ अस्पतालको जेनेरल सर्जरी विभागका प्रमुख डा. प्रदीप वैद्य, फ्याकल्टीका प्राडा प्रसन कङ्साकार, डा. अभिशेक भट्टराई, डा. ललिजन अवाले, रेसिडेन्ट डाक्टरहरू डा. अर्जुन, डा. कमल, डा. रन्जित, डा. सागर, डा. विकास, डा. राजेश, डा. दिवेश र डा. सुमितसहित सम्पूर्ण नर्स र कर्मचारी तथा बुढानीलकण्ठ नगर अस्पतालका डा. नरेश ज्ञवालीप्रति धन्यवाद व्यक्त गर्न चाहान्छु ।

    २०८१ असोज ८ गते मङ्गलबार
    बुढानीलकण्ठ–१०, काठमाडौँ

    मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.