प्रकाश थापामगर ##
हातमा नाम्लो र कम्मरमा खुर्पेटो भिरी
पुग्नै आँटेको थिएँ
हतारिँदै हतारिँदै देउरालीनेर
बजे जस्तो लाग्यो टिकटिके फोन घनाघन
“बुबा दर्शन !”
रहेछ जेठो छोराको फोन
सात समुद्रपारि क्यानडाबाट
“ह्याप्पी फादर्स डे”
कर्कराउँदो सुनियो अर्को आवाज
“सञ्चै छौ बाबु”
स्वाँ स्वाँ गर्दै भए पनि भनेँ अलि बेरमा
“आजको दिन पनि कता हान्निनुभा’छ र ?
आराम गर्न नछाडेर”
क्यानडाको बोलीले रङ देखायो
“क्यार्नु त बाबु”
“गाईभैंसीलाई फादर्स डे थाहा छैन”
भदौरे मास, हरियाली पाखा
लाग्छ, प्रकृतिलाई बैँस चढेको छ
सपक्सपक् काटेँ घास
पुग्यो भारी एकैछिनमा
फर्किंदो पाइला चालेँ एकनास
मनमा खेल्न थाल्यो “फादर्स डे”
आखिर छोराको माया
बाबुप्रति
बिर्सेको रहेनछ सात समुद्रपारिबाट पनि
गदगद भएँ मनमनै
घाँसको भारी फालेँ फ्याट्ट थारोमा
“कुशेऔँसीको शुभकामना बुबा”
झसङ्ग भएँ
थियो आवाज कान्छो छोराको
गोठको भकर्राबाट
“आज भकर्रा सोहोर्नुपर्यो भनेर
म त गइनँ बुबा घास काट्न
दिउसो जानुपर्ला”
कान्छो छोराको थियो सफाइ
कुशेऔँसीमा मेरो आशिर्वाद–
“हुन्छ भरे काटे पनि
पहिला यो भकर्रा सोहोर्नुपर्ने नै थियो
यी भैँसीको गुन तिर्नैपर्छ
दुध र गोबर दिएको गुन”
ढाका टोपीले पुछ्दै पसिना
खेल्न थाले मनमा कुरा
“ह्याप्पी फादर्स डे” कि कुशेऔँसी ?
दुवै छोरा : कोखीको घाहा
“ए बुढा चिया खान आऊ
बाबुलाई पनि बोलाऊ”
एकाएक घन्कियो बुढीको आवाज
मनमा भने घन्किरहे छ :
“ह्याप्पी फादर्स डे” कि कुशेऔँसी ?
२०८१ भदौ १७ गते सोमबार
बुढानीलकण्ठ–१०, काठमाडौँ