खगेन्द्रा विष्ट ##
श्रद्वेय बुबा
मेरो सेवाढोग !
बाह्रैमासे शिरमा सिउरिने
छिरबिरे त्यहीँ ढाका टोपी
अनि
निलो रङले कालो रूपधारण गरेको
त्यहीँ झुत्रो स्टकोट र
त्यस्तै खाले झुत्रो दौरासुरुवाल नफेरिकन
सन्तानको सिङ्गो जीवनको काचुली फेर्नकै लागि
सदैव तत्पर रहने मेरो बुबालाई
मुटुभरिको माया
अनि जीवनभरीको सम्झना
मेरो पुजनीय बुबा
म सन्चै छु
आँखामा नौरङ्गी सपना लिएर
सास्ती र सुस्केरामा च्यापिएको बिपनामा जिउँदै
लथ्राकलुथ्रुक परेको थकित
अनि गलेको शरीर
रातदिन गरेर पिरोल्ने
त्यो मनको पीडाका माझमा
क्षणिक हर्षोल्लासले प्रदान गर्ने
हामी सन्तानप्रतिको
चरम भरोसा र विश्वासको आशमा
साह्रोगाह्रो सास लिएर
हजुर पनि
कुशल मङ्गल नै हुनुहुन्छ भन्ने
अपेक्षा गरेको छु
त्यही झुत्रो जुहारी पनि फाटिसक्यो बुबा
विस्तारैविस्तारै
उमेरले नि नेटवर्क काटेसक्यो बुबा
पहिले हामीलाई जुत्ता दिलाई
आफूले एकथरी चप्पलमा
अर्को थरी फित्ता जोड्नुहुन्थ्यो
हाम्रो सुखद भविष्यको मिठामिठा कल्पना गर्दै
फराकिला सपनाका कित्ता कोर्नुहुन्थ्यो
अहिले बेसाहारा झैँ हुनु भा’को छ
छोराछोरी सम्झीसम्झी रुनु भा’को छ
त्यहीँमाथि
खरको छानो गल्यो भन्ने था पाएँ
स्याहार नपाई दुहुनो भैँसी ढल्यो भन्ने था पाएँ
दाइ मुग्लान, भाउजू अन्तै गइन रे भन्ने सुन्छु
आमा पनि टिबी र दमको रोगी भइन् रे भन्ने सुन्छु
हराभरा सय मुरीको खेत बाझै भा’का छन् रे झ्
गाउँका युवाजति सबै परदेश गा’का छन् रे झ्
यस्तो बिडम्बना सुनेपछि साह्रै मन पाक्यो बुबा
त्यै भएर एउटा चिठ्ठी लेख्न मन लाग्यो बुबा
त्यो पारी गाउँको रिट्ठे काका पनि
साँझबिहान गर्दै
ठुल्ठुला आँखा टर्दै
हाम्रै घरको दैलो कुर्छन् अरे झ्
घरी अगाडि, घरी पछाडि सर्दै
घौरीको लट्ठी पछार्दै बाघ झैँ घुर्छन् अरे झ्
आँखा नतरुन् पनि कसरी ?
अति नगरुन् पनि कसरी ?
मेरो चिठी पाएपछि
अर्कोपटक रिट्ठे काका
हाम्रो घरमा आएपछि
जसरी नि घर फिर्छु भन्ने सुनाइदिनु होला
ऊ बेलामा
हजुरले लिएको दुई पैसाको सापटी ऋण
सावाँब्याज गरि तिर्छु भन्ने सुनाइदिनु होला
मेरो पुजनीय बुबा
आज कुशे औशी
अर्थात् बुबाको मुख हेर्ने दिन रे झ्
तर दुनियाँ चटक गरेर
नचाहिँदो नाटक गरेर
अरूलाई देखाउनकै लागि
मठमन्दिर पूजाआजा गरी
एकैछिनको लागि
हजुरलाई फूल, टीका र मिठाइले
परिबन्धन पारेर
हर खुसी दिए झैँ गरी
हजुरका फोटोलाई क्यामेराले कैद गर्दै
एकैदिनका लागि मात्र
सार्वजनिक गरेर
शुभकामना दिन मन पटक्कै छैन मलाई
किनकि म
हरदिन, हररात, हरपल
मेरो दिलको भित्तामा विशेष ओत बनाई
सजिएर बसेको हजुरको तस्बिरसँग बाचा गरी
नजिकैबाट हजुरका पीडा हरपल नियाल्ने सुरमा
हजुरप्रतिको मेरो अभिभारा पूरा गर्छु भन्ने आतुरमा
हामीलाई खुसी राख्न दाउमा परेका ओठका ती हासोलाई
कुनै पनि बहानामा फर्काउने छु भन्ने प्रतिबद्धता गर्दै
एक मैदानमा उत्रिएको सन्तान हुँ
त्यसैले मेरो भविष्यलाई उज्ज्वल बनाउन
हजुरले गरेको निस्वार्थ योगदानलाई पूर्ति गरेपछि हेर्नु
मेरो निद्राको मझेरीमा मिठामिठा सपना भर्न
कैयौँ रात ब्युझिएर अनिँदो भएको त्यो आँखामा
मिठो निद्रा भरेपछि हेर्नू
गरिबीको खडेरीमा मेरै पेट भर्नलाई
सयौँ छाक खाली बस्ने हजुरको पेटमा
सन्तुलित र सन्तुष्ट भोजन छरेपछि हेर्नू
अनि जुन दिन
मेरै खुसीले हत्या गरेको
हजुरको मुहारको कान्तिलाई जिउदो बनाउने छु
त्यही दिन
बुबाको गदगदिलो, हसिलो र चम्किलो मुख हेरी
यथार्थ खुसी
उच्च कामना अनि
अधिक माया खनाउने छु
हो, त्यसै दिन
अवश्य पनि
“ह्याप्पी फादर्स दे” मनाउने छु
उहीँ हजुरको
प्राणभन्दा प्यारो सन्तान