काठमाडौँ । मोहनविक्रम सिंहद्वारा लिखित बहुप्रतिक्षित उपन्यास “जलजला” को सम्पूर्ण काम पूरा भई यही वर्षको मङ्सिरमा विमोचन हुने बताइएको छ ।
उहाँकी पत्नीसमेत रहनुभएकी राष्ट्रिय जनमेर्चाका उपाध्यक्ष दुर्गा पौडेलले २०८१ भदौ १५ गते शनिबार एक प्रेसनोट जारी गर्दै सो जानकारी दिइएको हो ।
प्रेसनोटमा उहाँद्वारा लिखित पाँचओटा उपन्यास हराएको तथा सयमध्ये एउटा “त्यो” कथा मात्रै बाँकी रहेको सन्दर्भ उल्लेख गरिएको छ ।
सो उपन्यासको अङ्ग्रेजी संस्करणको अनुवाद भइरहेको स्मरण गर्दै पौडेल त्यसको हिन्दी संस्करणको योजना रहेको पनि उल्लेख गरिएको छ ।
दुई खण्ड, आठओटा भाग, ७० ओटा परिच्छेद र २७२ अङ्कमा विभाजित सो उपन्यासमा करिब चार लाख ९२ हजारजति शब्द रहेको उहाँले जानकारी दिनुभएको छ ।
उपन्यासको प्रकाशन काठमाडौँको फिनिक्स प्रकाशनले गर्ने भएको छ ।
यस्तो छ प्रेसनोट :
“तपाईंहरूलाई यो बताउँदा मलाई धेरै खुसी लागेको छ कि कमरेड मोहनविक्रम सिंहको “कामरेड जलजला” को सम्पूर्ण कार्य आज समाप्त भएको छ र अब त्यो प्रेसमा जाने छ । मङ्सिरमा त्यो उपन्यासको विमोचन हुने छ ।
उक्त उपन्यास मोहनजी को छैटौँ उपन्यास हो । उहाँले आफ्नो पहिलो उपन्यास “बुढा बा” २०१२ सालमा पाल्पा जेलमा बस्दा लेख्नुभएको थियो । अर्को उपन्यास पनि त्यही सालमा त्यही समय पाल्पा जेलमा नै लेख्नुभएको थियो । त्यो बेला उहाँले करिब १०० ओटाजति कथा पनि लेख्नुभएको थियो । उहाँको पाल्पा जेलबाट प्युठान र सल्यान जेलमा चलान हुँदा ती सबै रचना पाल्पाको एक जना व्यापारी मित्रलाई राख्न दिनुभएको थियो तर उनले पार्टीका मान्छेका कागज राख्दा खतरा हुन्छ भन्ने सोचेर ती सबै रचना नष्ट गरिदिएछन् । उहाँका रचनाको त्यस प्रकारको दुःखान्त इतिहासको पृष्ठभूमिमा उहाँले करिब सात दशकपहिले लेखेको एउटा कथा “त्यो” मात्र उहाँका सबै हराएका रचनाको एक मात्र प्रतिनिधिको रूपमा विद्यमान छ । करिब एक दशकपहिले त्यो कथा क. जीवन शर्माद्वारा सम्पादित “रातो लालटिन” मा प्रकाशित भएको थियो भने गत साउनमा त्यो कथा गोरखापत्रको प्रकाशन “मधुपर्क” मा प्रकाशित भएको थियो ।
२०१८ सालमा तौलिहवामा गिरफ्तार भएपछि उहाँले एउटा उपन्यास “ओखरकोट” लेख्नुभएको थियो । त्यो उपन्यासको सम्पूर्ण विषयवस्तु ओखरकोट गाउँसम्म नै सीमित थियो । त्यो उपन्यास पूरा गर्न उहाँलाई करिब चार वर्ष लागेको थियो । उहाँलाई तौलिहवा जेलबाट भैरहवा जेलमा चलान गर्ने बेलामा उहाँले आफ्ना अरू कैयौँ रचनासहित त्यो उपन्यास पनि तौलिहवाका आफ्ना एक जना मित्र का. टेकबहादुर पन्थीलाई राख्न दिनुभएको थियो । उहाँ जेलबाट छुट्दा पन्थीको मृत्यु भइसकेको थियो । पछि उहाँले तौलिहवा गएर वा उहाँको परिवारसित सम्पर्क गरेर त्यो उपन्यासको पाण्डुलिपी खोज्न धेरै प्रयत्न गर्नुभयो तर त्यो उपन्यास प्राप्त हुन सकेन ।
२०२५ सालतिर काठमाडौँको हनुमान ढोकाको खोरमा बस्दा उहाँले “बुढा बा” शीर्षकले नै अर्को उन्यास लेख्नुभएको थियो । जेलबाट छुट्दा उहाँले त्यो उपन्यासको पाण्डुलिपीसँगै लिएर आउनुभएको थियो । उहाँले आफ्ना सबै पुस्तक र रचनासहित त्यो उपन्यास पनि आफ्नै गाउँको एक जना भाइकहाँ राख्न दिनुभएको थियो । २०३५ सालको निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्था विरोधी आन्दोलनको बेलामा प्युठानमा ठुलो दमन र धरपकडसमेत भएको थियो । त्यो बेला आफ्ना घरमा पनि तलासी हुन्छ कि भन्ने डरले उहाँको भाइले उहाँका सबै पुस्तक र रचना जङ्गलको एउटा ओढारमा लगेर फालिदिएछन् । ती सबै त्यही नष्ट भए र त्यो उपन्यास पनि नष्ट भयो ।
पहिले बनारसमा बस्दा उहाँले एउटा उपन्यास “तारा” लेख्नुभएको थियो । काठमाडौँ आउदासम्म पनि त्यसको पाण्डुलिपी सँगै थियो तर पछि दर्जनौँ पल्ट डेरा सर्दा त्यो उपन्यास कतै हरायो र पछि पत्ता लाग्न सकेन । त्यसरी उहाँका पहिलेका पाँचओटै उपन्यास विभिन्न प्रकारले नष्ट भए । त्यो करिब सात दशकको कालको पाल्पा जेलमा लेखिएको एउटा कथा “त्यो” मात्र अब सुरक्षित छ । त्यसरी त्यो कथा उहाँले पहिले लेखिएका सबै उपन्यास वा कथाको एक मात्र जीवित प्रतिनिधि हो ।
एक पल्ट त्यो उपन्यासका टाइप गरेका सबै पाण्डुलिपी हराएका थिए । ती पाण्डुलिपी कसैले चोरी गरेको थियो वा कतै हराएका थिए ? त्यो कुरा कहिल्यै थाहा हुन सकेन तर कम्प्युटरमा त्यो उपन्यासका सामग्री सुरक्षित रहेकाले त्यो उपन्यास पहिलेका पाँचओटा उपन्यास जस्तै नष्ट हुन पाएन ।
जे होस्, अब त्यो उपन्यास पूरा भएको छ र आगामी मङ्सिरसम्म त्यो प्रकाशन हुने छ भन्ने मैले विश्वास गरेकी छु ।
त्यो उपन्यास प्रकाशित भएपछि उहाँले त्यसलाई अङ्ग्रेजी र हिन्दीमा प्रकाशित गर्ने विचार गर्नुभएको छ । त्यो उपन्यासको अङ्ग्रेजी अनुवादको कार्य भइरहेको छ । अहिलेसम्म त्यसका छओटा भागको अनुवाद पूरा भइसकेको छ र अहिले सातौँ भागको अनुवादको काम भइरहेको छ । उहाँले त्यो उपन्यासलाई हिन्दीमा पनि अनुवाद गर्ने विचार गर्नुभएको छ तर त्यसको अनुवादका लागि करिब नेरु ८ लाख लाग्ने अनुमान गरिएको छ । उहाँले कतैबाट सहयोग वा निर्ब्याजी रूपमा सापटी लिएर त्यो रकम जुटाउने प्रयत्न गर्दै हुनुहुन्छ । पैसाको व्यवस्था भएपछि त्यो उपन्यासलाई हिन्दीमा अनुवाद गर्न दिनुहुने छ ।
त्यो उपन्यासमा कैयौँ वास्तविक पात्रको पनि चर्चा गरिएको छ । त्यस प्रकारका वास्तविक पात्रहरूमा वी.पी. कोइराला, गणेशमान सिंह, मोहनविक्रम सिंह, निर्मल लामा, जयगोविन्द शाह, चित्रबहादुर केसी, खम्बासिंह काजी, रश्मिराज नेपाली, गढवालका चन्द्रसिंह गढवाली, कुमाउकी सरला बहन, बिमला बहुगुना, सुन्दरलाल बहुगुणा, राधा बहन, बाबुराम आचार्य, लैनसिंह बाङ्देल, सत्यमोहन जोसी, बालकृष्ण पोख्रेल, लक्ष्मीप्रसाद देवकोटा, पारिजात, सुकन्या, भक्तपुरका लीलाभक्त मुनकर्मी, चन्द्रनर सिंह, जीवन शर्मा, लक्ष्मी गुरुङ, सिद्धिमान खड्का, काले कामी, लिले कामी, तुसाराका यदु गिरी, भेषमान गिरी, ठाकुर गिरी, टिमुरचौरका झुपबहादुर, ओखरकोटका मोहनसिंह, जुठे कामी, भीमप्रसाद श्रेष्ठ, हेरमी, गोकुल सिंह, सत्तल सिङ, जगत् बहादुर, थिर्ग बहादुर, टुन्टे दमाई, सोभे कामी, काभ्रारुखे साइली आमा, पिपलटारीकी साइली भाउजू, मिठी, खिम विक्रम, हेमराज पण्डित, अनिरुद्र शर्मा, कपिलवस्तुका शिव पौडेल, ददिराम आचार्य, दुर्गा पौडेल, गायत्री पौडेल, हर्के र हमाने, टीका बहादुर, रुपन्देहीका बद्रे आलम, जलजलाकी आमा प्रभा, बाबा बेदवराज ढकाल, कान्ता, बनारसकी शान्ति देवी, गोरखपुरकी कुन्ती देवी, गोविन्द टन्डन र भोविलाल, थवाङका वर्मन बुढा र तुलकुमारी, गेजवाङका श्यामबहादुर थापा र लंकबहादुर थापा आदिका नाम पनि उल्लेखित छन् ।
निश्चय नै ती सबै वास्तविक पात्रलाई उपन्यासमा औपन्यासिक रूपमा नै चित्रण गरिएको छ । उपन्यासमा करिब पाँच सयजति पात्र छन् ।
त्यो उपन्यास दुई खण्ड, आठओटा भाग, ७० ओटा परिच्छेद र २७२ अङ्कमा विभाजित छ । उपन्यासमा करिब चार लाख ९२ हजारजति शब्द छन् । त्यो उपन्यास तयार गर्न उहाँलाई करिब २२ वर्ष लागेको छ । पहिले धेरै पल्ट त्यो उपन्यास प्रकाशित हुने कुरा चलेको थियो तर विभिन्न प्रकारका अवरोध, परिस्थिति, पार्टी कामको व्यस्थता तथा लेखकले त्यो उपन्यासमा कैयौँ पल्ट थपघट वा संशोधन गर्दै जानुपरेकाले समेत त्यो प्रकाशित हुन धेरै नै ढिलो भएको थियो ।
यो उपन्यासको कालावधि २०४१ सालमा समाप्त हुन्छ । त्यसैले यो उपन्यासमा उल्लेख गरिएका पात्र वा घटनाहरू त्यही सालसम्म मात्र सीमित रहेका छन् ।
अन्तमा, अब लामो प्रतिक्षापछि यही सालको मङ्सिरसम्म त्यो उपन्यास प्रकाशित हुने छ भन्ने हामीलाई पूरा विश्वास छ ।”
दुर्गा पौडेल
मोवाईल नं. : ००९७७–९८५११९८८१०
इमेल : paudeldurga21@yahoo.com