सम्झना पौडेल ##
हाम्रो समाजमा वर्गविभेदसँगै लैङ्गिक विभेदको स्थिति कहालीलाग्दो छ । महिला परिवारबाटै विभेदको शिकार हुनुपर्दछ । यदि परिवारको सहयोग भयो भने पनि समाजले झनै ठुलो विभेदपूर्ण व्यवहार देखाएर हतोत्साहित पार्ने र कुनै पनि क्षेत्रमा अगाडि बढ्नबाट रोक्ने बरु चुलोचौकोमा सीमित गराउने गर्दछन् । अरू काममा महिला विरुद्ध पुरुष मात्र होइन, महिला पनि बढी अग्रसर देखिन्छन् । त्यसो हुनुमा समाजमा व्याप्त पितृसत्तावादी सोच र संस्कृतिले काम गरेको छ । त्यस प्रकारको विभेदको प्रत्यक्ष भोगाइ म आफैले पनि भोगेको छु ।
घट्ना २०५८ सालको हो । जागिर खाने मेरो रहरले गर्दा समाजमा केही नयाँ काम सिक्नुपर्यो भन्ने लाग्यो । त्यस सिलििलामा अटोमेकानिक्स विषय लिएर काम सिकेपछि पक्कै पनि रोजगारी पाइन्छ, नत्र स्वरोजगार त भइन्छ किनकि हातमा सिप त हुन्छ भन्ने परिवारको सल्लाह र स्वयम् म पनि सहमत भएँ ।
यो समाजमा महिलाले गाडी (सवारी) बनाउने काम त्यति सजिलो थिएन भने म गाउँमा जन्मेर जामा लगाउने, दुईचुल्ठी बाट्ने, गाउँमा हुर्केकी केटी† सर्टपाइन्ट, जुत्ता (बुट) लगाएर गाडीमुनि कालो मैलो हुन सजिलो पक्कै थिएन । घरपरिवारको सहयोग र हौसलाले अगाडि बढेकी थिएँ ।
मबाहेक त्यो संस्थामा महिला केही कोही थिएनन् । प्रशिक्षक र प्रशिक्षार्थी सबै पुरुष हुनुहुन्थ्यो । ती सबै पुरुषका बिचमा काम गर्दा धेरै चुनौतीको सामना गरेकी थिएँ । भर्खरै जस्तो लाग्छ, समाजका महिलाहरूले ‘यसको पति विदेश छन् रे ! छोराछोरीको आमा भएर पनि दिनभर केटाहरूसित काम गर्ने गर्दछे । कस्ती रहिछे ?’ भनेको सुनेँ । घर गएर धेरै रोएँ । अब म जान्नँ; काम पनि गर्दिनँ; अरू काम छैन र, अरू काम गर्छु भन्ने सोचेँ ।
घरमा धेरै सम्झल्काउँदै भन्नुभयो तिम्रापछि म छु, महिले यति सहयोग गर्दा पनि सक्दीनौ र ? अरूको कुरा सुनेर आफुलाइृ कमजोर बनाउने होइन, तिमी यो समाजका महिलाका कुरा पछि लाग्ने होइन, आफ्नो लक्ष्य पुरा गर्नुपर्छ ।
अर्को दिन संस्थामा (तालिम सिक्ने स्कुल) गएर कुनामा बसेको थिएँ, एकातिर सर्टपाइन्ट लगाउँदा लाज लागेको थियो । अर्कोतिर, हिजोका केही कुरा सम्झिरहेकी थिएँ । त्यसै समय प्रशिक्षक आएर हाजिरी गरी आफ्नो विषय पढाउन थाल्नुभयो । पढाइसकेर बाहिर निस्कँदा बल्ल मलाई देख्नुभयो । म लाजले कुनामा बसेकी थिएँ । कुनामा निहुरिएर बसेको देख्दा सरले उभिएर मलाई हौसला दिन थाल्नुभयो– ‘समाजमा बेग्लै काम सिकेर समाजमा उदाहरण देखाऊ । केको लाज मानेकी छ्यौँ ? हाम्रो पालामा पनि इलेक्ट्रिक सिक्ने महिला थिए । उनीहरू बच्चा लिएर आउथे । तिमीभन्दा बुढा बुढाले त सर्टपाइन्ट लगाउँछन्, यही धागो कारखानामा काम गर्नेले । तिमी राम्रोसित पढ ।’
त्यो कुरा मेरा लागि धेरै हौसला बन्यो । त्यसपछि त काममा पनि म धेरै अगाडि हुन्थेँ । पढ्दा पनि अगाडिकै बेन्चमा बस्थेँ । सबै कुरामा अघि बढ्दै गएँ । काम धेरै सिकेँ । पढाइसकेर काम गर्न थालेँ ।
काम गर्दा साइकल चलाएर जानेआउने गर्थें । बाटोमा एक जना पाका बुबासित जम्काभेट भयो । उहाँ उखुबारीमा पानी लगाएर आउँदै हुनुहुन्थ्यो । उहाँ पाको उमेरको भएको कारण मैले सधैँ नमस्कार गर्थें । आज पनि साइकल रोकेर ‘बुबा नमस्कार’ भनेँ । उहाँले नमस्कार फर्काउँदै ‘यो उमेरमा पनि के घन ठटाउन जानुहुन्छ नानी’ भन्नुभयो ।
मलाई साह्रै अपमान गरे जस्तो लाग्यो ? मेरो अनुहारमा रिसका आकृति झल्के तर पनि आफूलाई समाल्दै ‘बुबा तपाईं कति वर्षको हुनुभयो भनेर प्रश्न गरेँ । उहाँले ‘किन नानी ? म ६० वर्षको भएँ’ भन्नुभयो । मैले नम्र भएर भनेँ– ‘तपाईं ६० वर्षको भएर पनि उखुमा पानी हालेर आउनुभयो, हैन र ? सक्ने काम त सबैले गर्नुपर्छ ।’
अझ म त अरू पनि भन्थेँ होला, त्यहाँ मानिसहरूको जमघट भयो । उहाँ नबोल्दै अर्का एक जनाले प्वाक्क भन्नुभयो– ‘उहाँहरू त अरिङ्गालको गोलो हो, चलाउनु हुँदैन’ । यति भन्दै उनीहरू एकआपसमा कुरा गर्न थालेँ । म साइकल लिएर त्यहाँबाट आफ्नो कामतिर लागेँ । अब मलाई त्यस्ता घट्नाले त्यति पिर पार्न छाडेँ ।
अझै धेरै काम सिक्ने सिलसिलामा ग्यारेजमा जानुपर्ने त्यहाँ पनि विभेदपूर्ण व्यवहार गर्छन् । गाडीमुनि सुतेर काम गर्नपर्छ । तिमीले सक्दिनौँ, पम्प मात्र बनाउने ठाउँमा जाऊ । ग्यारेजमा भाषा पनि नराम्रो बोल्दछन् भनी प्रशिक्षकले भन्नुभयो ।
यहाँनेर पनि मलाई कस्तो कस्तो लाग्यो । ‘मभन्दा कति ख्याउटेहरूले सक्ने, महिलाले नसक्ने हुन्छ र सर ? म त अलराउन्डर काम गर्ने हो’ मैले भनेँ ।
एउटा ग्यारेजमा पैसा नपाउने गरी काम गर्न जाने निधो भयो । त्यहाँ गएर काम गर्न थालेँ । त्यहाँ मेरो नामै मिस्त्रीदिदी भयो । त्यहाँ जो गाडी बनाउन आउँछन्, मेरो मुखमा हेर्दै तपाईंको गाडी कुन हो भन्छन् । म मिस्त्री हुँ भन्दा उनीहरू एकआपसमा कुरा गर्दै मैले गरेको काम हेर्थे । मैले गरेको काम पाको हुन्थ्यो । त्यहाँको अरूलाई पनि सिकाउथेँ । दैनिक बनाउन ल्याइएका गाडीका समस्या पहिचान गरी काम गर्थें ।
एक दिन एक जना गाडिसाहुले कति तलब पाउनुहुन्छ भनेर सोधेँ । म चुपचाप ग्यारेजको साहुलाई देखाएर दाइलाई सोध्नुस् भनेँ । ग्यारेजका साहुले काम हेर्दै छु, कामको चित्त बुझेपछि दिन्छु भने । गाडिसाहुले चर्को स्वरमा भने– ‘उहाँ यो फिल्डमा आउनु नै ठुलो कुरा हो । हामीसित बरु २००, ३०० रुपियाँ बढी लिनू तर उहाँलाई तुरुन्तै आजैबाट पैसा दिनू ?’
ती गाडिसाहुले यसो भन्दा म निकै खुसी भएँ । मेरो अनुहारमा चमक आयो । लामो सास फेरेँ । मेरो परिश्रमको मूल्य कति हो ? त्यो त थाहा भएन तर उनले गरेको त्यो कुराले भने मलाई किनै साहस र हौसला प्रदान गर्यो । उनैको गाडीमा म आधा बाटोसम्म आएँ । उनले किनै महत्त्वपूर्ण कुरा गरे । यो काम नछोड्नू, पैसा म दिलाउँछु भनेर भन्नुभयो उहाँले । खुसी हुँदै घर आएँ । ती सबै कुरा अभिभावकसित सुनाएँ ।
अब त म प्राविधिक भइसकेँ । अरूलाई सिकाउन थाले । प्राविधिक शिक्षालयमा राख्ने निधो गरेर निवेदन दिएँ । ग्यारेजमा भन्दा शिक्षालयमा राम्रो हुन्छ, सबै सिकाउँछु भनी प्राविधिक शिक्षालयमा बस्न तयार भए तर त्यहाँ पनि धेरै चुनौतीसित जुध्नुपर्यो ।
अब त मैले सिकाएका प्रशिक्षार्थीहरू कोही स्वरोगार भए । धेरैलाई म आफैले सोरुममा टाटा, ह्युन्डाई, मारुती धेरैमा काम लगाइदिए तर राजनीतिका कारण केही मानिसले ‘हामीले दिएको हो तपाईंलाई जागिर’ भन्न थाले । यसरी सामाजिक राजनीतिक हिसाबले हस्तक्षेप हुँदै थियो । त्यही भएर होला, निडर भएर जवाफ दिन्थेँ– म जस्ता महिला ल्याउनू, म भर्खरै राजीनामा दिन्छु । मेरो सिपलाई राख्नुभएको हो । के भन्नुभएको हो ? यस्तो भन्न मिल्छ ?। त्यसपछि कुनै दिन कसैले मेरो अगाडि केही भन्ने हिम्मत गरेनन् ।
म त एउटा पात्र मात्रै हुँ । मैले समाजमा भएको चित्र मात्र उतार्न खोजेँ । परिवारको पूरै सहयोग पाएर समाजमा केही गर्छु भन्ने समाज बुझेकी मलाई त यति धेरै चुनौतीको सामना गर्नुपर्यो भने अझै सोझासिधा महिलाको हालत हाम्रो समाजमा कस्तो होला ?
पुरुषप्रधान समाजले महिलाका लागि निश्चित काम छुट्याएको छ । ती काम खासगरी निरश, अनुपादक र कठिन प्रकृतिका हुन्छन् । मैले भने साहसका साथ पुरुषले गर्ने काम सिकेँ र त्यसमा पोख्त पनि भएँ । त्यस क्रममा मैले व्यहोरेका कठिनाइका बेग्लै फेहरिस्त होलान् । त्यसका बाबजुद मुख्य कुरा महिलाले पाएको सफलता हो ।
मेरो आफ्नो जीवनको उदाहरणबाट यो तथ्य पुष्टि हुन्छ, महिलाहरू पुरुषको तुलनामा कुनै पनि क्षेत्रमा कमजोर हुँदैनन्, कमजोर बनाएको पुरुष प्रधान समाजले हो । त्यसकारण महिला मुक्तिको सुरुआतका लागि सर्वप्रथम महिला आफैमा विद्यमान हीनभावना परित्याग गर्नुपर्छ । फ्रेडरिक एङ्गेल्स आफ्नो प्रशिद्ध कृति “परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पति” मा लेख्नुभए झैँ जबसम्म महिलाहरू घरायसी कामबाट बाहिर निस्केर सार्वजनिक क्षेत्रमा भाग लिन्नन्, तबसम्म महिला मुक्तिको प्रारम्भसमेत हुनेछैन । ठिक त्यसैगरी महिलाहरू हरेक सार्वजनिक क्षेत्रमा सहभागी हुनुपर्दछ, तब मात्रै महिला मुक्तिको सुरुआत हुने छ ।