हेम बिजी ##
वैशाख महिनाको तातो सडकमाथि उभिएर रामलालहरू नब्बे दिनदेखि नारा लगाई रहेका थिए–
“सहकारी ठगी जेल कोच”
“अर्बौं ठगेर गर्यो मोज”
“हाम्रो पैसा फिर्ता गर”
“आइज सरकार वार्ता गर”
रामलाल जस्ता हजारौँहजार जनताको आन्दोलन र आक्रोश थेग्न नसकेर सरकार बाध्य भएर एउटा सहकारी ठगलाई समातेर छानबिन समितिलाई बुझायो ।
३५ दिनपछि सहकारी रकम ठगीसम्बन्धी छानबिन समितिले सरकारलाई छानबिन प्रतिवेदन पनि बुझायो ।
प्रतिवेदनमा लेखिएको थियो– “छानबिन समिति यो निष्कर्षमा पुग्यो कि सहकारी रकम ठगीमा आरोपित व्यक्तिको स्वास्थ्य जाँच गर्नुपर्ने छ । आरोपित व्यक्तिको स्वास्थ्य जाँचमा पिसाब रातो र रगत सेतो देखिएमा उक्त व्यक्ति सहकारी रकम ठगी ठहरिने छ ।”
छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले सहकारी ठगीमा समातिएको उक्त व्यक्तिको स्वास्थ्य जाँचको लागि सहकारी रोगी बनाएर अस्पताल पठायो।
एक साताको स्वास्थ्य जाँचपछि अस्पतालले सरकारलाई स्वास्थ्य जाँचको रिपोर्ट पठायो । रिपोर्टमा उल्लेख गरिएको थियो– “सहकारी रोगीको पिसाब रातो र रगत सेतो देखिएन ।”
सरकारले अस्पतालको रिपोर्ट अध्ययनपश्चात अर्बौं सहकारी रकम ठगी गरेको सहकारी रोगी व्यक्तिलाई छोडिदियो ।
रकम ठगी गर्ने व्यक्तिलाई सरकारले छोडेकोमा राजधानीको सडकमा रामलालहरूको आवाज र आक्रोश अझै बढिरहेकै थियो ।
नारा थपिँदै गएका थिए–
“सरकार जनताको माग सुन”
“सहकारी ठग पक्रेर थुन”
रामलालहरूको आन्दोलन सडकमा जारी नै थियो । सहकारी ठगको पिसाब रातो र रगत सेतो हुनुपर्नेमा किन सामान्य मान्छेको जस्तै पिसाब सेतो र रगत रातो आयो । सबैमा कौतुहल छाएको थियो । धेरै दिनपछि बल्ल थाहा भयो, छानबिन समितिका अध्यक्ष, अस्पतालका सञ्चालक र स्वास्थ्य जाँच गर्ने डाक्टर सबैमा व्यावसायिक नाता रहेछ ।