सुवाश जिसी ##
हरेक वर्ष
वर्षा आउँछ
वर्षाले नै
गरिबको चामल बगाउँछ
पोलेर खाने मकै बगाउँछ
निमेक गर्नेको मानो बगाउँछ
दुखीको पसिनाको थातथलो वगाउँछ
बगाउँछ, जिन्दगीका सम्पूर्ण रहर र सपनाहरू
त्यसपछि यता सुरु हुन्छन्
असली नेताका धन्दाहरू
गरिबको चामलसँग साट्न आइपुग्छ्न्
राहत र उद्धारका चटकहरू
चिलेसा लागेका कनिका बोकेर
आइफोनवाट खिच्छन् लाइक बटुल्ने तस्बिर
उजाड घरको आँगनमा पुग्छन्
चढेर हेलिकप्टर र चिल्ला कार
अनि बाँड्छन् दुई हातका त्रिपाल
सरम र घिन नभएपछि
चिलेसासँग बेचिँदो रहेछ इज्जत
नग्न, सर्वाङगभएपछि
ढाक्दो रै’नछ त्रिपालले लाज
राज्यसत्ता र प्रचारको भोक लागेपछि
वर्षाले जुराइदिन्छ यिनिहरूलाई अवसर
गरिब, पीडित र दुखीका आँसुहरू
ती केवल साधन रहेछन्
फेसबुक, टिकटक र रिलहरूमा
भ्युज बढाउने असली माल
नेता हुन पनि आइरहनुपर्छ
हरेक साल अविरल वर्षा
र त तिनै नेताअभियन्ताहरू
कहलिन्छन् समाजका असली समाजसेवी
र जित्छन् तिनैले अर्को चुनाव
र फेरि लुट्छन गरिबको अर्को सपना
यसरी नै चल्छ गरिबीको दुष्चक्र
दारिमचौर, प्युठान
२०८१ साउन ११