प्युठान । प्युठानमा ‘सहिद मित्रमणी–टंक स्मृति प्रतिष्ठान’ भवन बन्ने भएको छ । प्रतिष्ठानले मल्लरानी गाउँपालिका–४ खलंगामा तीन तले भवन निर्माणको सुरुवात गरेको हो ।
प्युठान जिल्लाका पूर्व जिविस सभापति एवं राष्ट्रिय जनमोर्चाका केन्द्रय सदस्य तथा प्रदेश ५ का अध्यक्ष बोमबहादुर खत्रीले बुधबार भवनको शिलान्यास गर्नुभयो ।
सांसद दुर्गा पौडेललको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत ५० लाख रुपैयाँ बजेटबाट भवन निर्माण प्रारम्भ गरिएको हो । क्रमागत रुपमा निर्माण गरिने तीन तले भवनको भुइँतला यसै वर्ष बनाउने र बाँकी थप्दै जाने लक्ष्य रहेको पूर्व सभापति खत्रीले बताउनुभयो ।

तस्बिरः लोकेन्द्र सुनारको फेसबुकबाट
भुइँतलामा सभाहलसहित शौचालय हुनेछ भने माथिल्ला दुई तलामा कार्यालय प्रयोजनका कोठाहरु रहनेछन् ।
राष्ट्रिय जनमोर्चाको नाममा रहेको जग्गा प्रतिष्ठानले ३५ वर्षका लागि लिजमा लिएर भवन निर्माण गर्न लागेको खत्रीले जानकारी दिनुभयो ।
मित्रमणी आचार्यले विद्यार्थी आन्दोलनका क्रममा २०४२ सालमा सहादात प्राप्त गरेका थिए भने टंक आचार्य २०४६ सालको जनआन्दोलनका सहिद हुन् । दुवै सहिदको स्मृतिमा ‘मित्रमणी–टंक स्मृति प्रष्ठिान’ गठन भएको हो । प्रतिष्ठान विभिन्न सामाजिक कामहरुमा सक्रिय छ ।