काठमाडौं । बाह्रखरी डटकमका पत्रकार केशवराज जोशीलाई प्रहरीले दुर्व्यवहार गरेको छ । बिहीबार बानेश्वरबाट थापाथलीस्थित कार्यालय जाँदै गदाँ बानेश्वर चोकमा भिडियो खिच्दै गर्दाको अवस्थामा प्रहरीले पत्रकार जोशीलाई दुर्व्यवहार गर्नुका साथै पत्रकार परिचयपत्र खोसेर १० मिनेट होल्डमा राखेका थिए ।
पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यस किसिमको ज्यादतीले प्रेस स्वतन्त्रतामा आघात पुगेको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
यसैगरी वैशाख १७ गते नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा अनलाइन खबर डटकमका सम्वाददाता सुवास पण्डितलाई लक्षित गरी अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगगिशील जनस्वास्थ्यकर्मी संगठनलगायतले विज्ञप्ति निकालेर धम्क्याएको घटनाप्रति पनि महासंघको ध्यानाकषर्ण भएको छ । चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री बाहिरिएको र खर्च प्रक्रियामा अनियमितता भएको विषयमा समाचार प्रकाशित भएपछि पण्डितलाई यस किसिमले धम्की दिइएको महासंघ चितवन शाखाले जनाएको छ ।
महासंघले पत्रकारमाथि भएका दुर्व्यवहार धम्कीका घटनाप्रति आपत्ति जनाएको छ । साथै, कोरोना भाइरस (कोभिड १९) को उच्च संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा सम्भावित जोखिमको ख्याल नगरी नागरिकलाई सुसूचित गराउने पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सबै पक्षबाट सहज र सुरक्षितढंगबाट काम गर्ने वातावरण बनाउन कार्यमा सघाउन महासंघले सम्बन्धित सबैमा आग्रह गर्दछ ।

