• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

के तिमीले एसइईमा बधाई पाएनौ ?


  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    एसइईमा ग्रेड एकदमै कम आयो । यो कारणले तिमीलाई बधाई दिने कोही भएनन् तर तिमीले पिर लिने काम नगर किनकि तिमी धेरै बुद्धिमान र परिश्रमी छौ । तिम्रो मजदुर बाबासँग ग्यारेजमा काम गर्दै गर्दा तिमीले गाडी बनाउने सिप सिकिसकेका छौ । तिम्रो गरिब आमासँग खेतबारीमा दुःख गर्दा गर्दै तिमीले अन्न फलाउने ज्ञान जानिसकेका छौँ ।

    तिमीलाई थाहा छ, तिम्रा साथीहरूलाई उनीहरूका आमा, बा, दाजु अथवा दिदीले साँझबिहान कति किताब पढ्न लगाउँथे । घोक्न लगाउँथे तर तिम्रो घरमा भने तिमीलाई यसरी पढ्न लगाउने कोही भएनन् । तिम्रा आमालाई खालि खेतबारीको मात्रै चिन्ता थियो । तिमीलाई भन्दा बढी गाई बाख्रालाई माया गर्ने बाध्यता थियो । यसो नगरे एक आङ लाउन र एक गास खान जुट्दैनथ्यो । तिम्रो बाबालाई खालि उही ग्यारेजको मात्रै पिरलो थियो । तिमीलाई पढ भन्ने तिम्रा कोही दाज्युदिदीहरू थिएनन् ।

    सायद तिमी गरिब किसानको परिवारमा जन्मेका थियौ । त्यसैले तिम्रा आमाबुबाले ठुलो खर्च गरेर राम्रा भनिने बोर्डिङ स्कुलमा पढाउन सकेनन् होला । कोचिङ, ट्यिुसन भनेर अथाह पैसा लुट्ने शैक्षिक माफियालाई पैसा बुझाउन सकेनन् होला । परिणामस्वरूप तिमीले तिम्रा साथीहरूले जस्तै घोकन्ते विद्यामा लीन हुने मौका पाएनौ अर्थात तिमीले किताब कण्ठ गर्ने समय पनि पाएनौ ।

    तिम्रो घरको यो संस्कारले तिमी यति इमान्दार र सोझो भयौ कि तिमीले तिम्रो स्कुलमा अरू तिम्रा साथीहरूले जस्तै परीक्षामा चिट चोर्ने कुरा सोच्न पनि सकेनौ । परीक्षामा बसेपछि जानेका कुरा लेख्यौ । नजानेको कुरालाई छाडिदियौ । सायद तिमी तिम्रो स्कुलको सबैभन्दा इमान्दार विद्यार्थी बन्यौ ।

    मलाई लाग्छ तिमीले जे गर्‍यौ, एकदम ठिक गर्‍यौ । आज इमान्दारीतामा रहेर जुन ग्रेड तिमीले हासिल गरेका छौ, त्यो चाहे जतिसुकै कम किन नहोस्, तिम्रो जीवनमा यसैको सबैभन्दा बढी महत्त्व छ ।

    तिमी आफैले भन त, कण्ठ गरेका शब्द तिम्रो दिमागमा कति दिन वा वर्षसम्म रहन सक्छन् ? चिट चोरेर प्राप्त गरेको ए प्लस ग्रेडले तिमीलाई जीवनमा के दिन सक्छ ? घोकेर लेख्नु र चिट चोरेर लेख्नु दुवैको स्तर एउटै हो भन्ने कुरा तिमीले समयमा नै बुझ्यौ अनि तिमीले यी दुवै कार्य गरेनौ । त्यसैले तिम्रो रिजल्टमा ग्रेड एकदमै कम आयो ।

    यो कम ग्रेडले तिम्रो जीवनलाई कुनै फरक पार्नेवाला छैन भन्ने कुरा तिमीले बुझ्न जरुरी छ । किताब घोकेर वा चिट चोरेर ए प्लस लिएका तिम्रा साथीहरूले यदि भविष्यमा जागिर पाएनन् भने उनीहरूको निम्ति जीवन जिउने आधार नै भत्किए जस्तै हुने छ तर तिमीले जागिर नपाउँदा पनि केही फरक पर्ने वाला छैन । जागिर नपाए पनि तिम्रो जीवन जिउने आधार कदापि भत्किने छैन । तिमीले सानैदेखि तिम्रा बाबासँग ग्यारेजमा सिकेको गाडी बनाउने सिप तिमीबाट कहिल्यै टाढा हुने छैन । त्यो सिप तिम्रो जीवन जिउने आधार मात्रै होइन, त्यसैमा तिमीले थप बुद्धि जोड्न सक्यौ भने तिमी रकेट बनाउन सक्ने वैज्ञानिक बन्न सक्छौ । राइट दाज्युभाइको कुरा त तिमीले सुनेकै हौला । उनीहरू पनि एक साइकल मर्मत गर्ने ठाउँमा काम गर्दै जाँदा जहाज उडाउने वैज्ञानिक बनेका थिए ।

    जीवन जिउन सक्ने तिमीसँग विकल्पै विकल्प छन् । तिमीले सानैदेखि तिम्रा गरिब आमासँग खेतबारीमा सिकेका अन्न फलाउने ज्ञान पनि कम्ती महत्त्वको छैन । यो ज्ञान तिमी जीवित रहँदासम्म तिम्रो दिमागबाट कहिल्यै मेटिने छैन । तिमीले यसैमा थोरै मात्र दिमाग र परिश्रम जोड्यौ भने तिमीले फलाएको अन्न भारत, चिन र अमेरिकाले किन्न बाध्य हुने छन् ।

    तिम्रो स्कुले जीवनमा अभावको कारणले र गरिबीको कारणले गर्दा तिमीले राम्ररी पढ्न र लेख्न नसकेका हुन सक्छौ । यसैको कारण तिमी आफू पढ्ने कक्षामा सबैभन्दा कमजोर विद्यार्थीको रूपमा चिनिएका हुन सक्छौ । कक्षामा तिमीले अङ्ग्रेजी फरर पढ्न र बोल्न पनि सकेनौ होला । गणितको हिसाब नजानेर हैरान पर्‍यौ होला । तिम्रा शिक्षकले सोधेको प्रश्नको उत्तर दिन नसेर तिमी रातोपिरो भयौ होला । उस्तै गरेका निम्छरो शिक्षकले तिमीलाई कडा खालका सजाय दिएर हैरान पारे होलान् । हिजो आज एसइईमा तिम्रो ग्रेड कम देखेर तिम्रा शिक्षक र तिम्रा आफन्तीले तिमीलाई बुद्धु भनेर तिम्रो खिल्ली उडाइरहेका होलान् ।

    समाजले र यो दुनियाँले तिमीलाई यसरी अपमान गर्नु स्वाभाविक छ तैपनि तिमीले कत्ति पनि हिम्मत नहार । तिमीले महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको नाम त सुनेकै हौला । उनी पनि सुरुमा त तिमी जस्तै थिए । जब उनी सानो थिए, त्यस बेला उनलाई पनि सबैले बुद्धु नै भनेर जिस्काउँथे । उनले शिक्षकले गरेको प्रश्नको उत्तर दिन सक्दैनथे । उनका गणित शिक्षकले त झन् उनलाई “सात जुनीसम्म पनि गणित सिक्न सक्दैनौ” भनेर घोषणा नै गरिदिएका थिए । यो सुनेर उनी मनमनै खुबसँग रोए अनि आँसु बगाए तर उनले हिम्मत कहिल्यै हारेनन् । अन्ततः उनले परीक्षाको ग्रेडको आधारमा होइन, आफ्नै बलबुतामा, आफ्नै खुबी र क्षमता अनि हिम्मतको आधारमा “सापेक्षताको सिद्धान्त” प्रतिपादन गरेर उनी विश्वविख्यात बन्न पुगे । तिमीलाई यो समाजले बुझ्न सकेको छैन । नबुझेर तिमीलाई बुद्धु र मूर्ख भनिरहेको छ तर तिमी बुद्धु र मूर्ख कदापि हुँदै होइनौ । तिमीले हिम्मत गर । आँट गर । तिमी यो देशको अल्बर्ट आइन्स्टाइन हौ ।
    अभावको कारण र गरिबीको कारण पढ्न पाएन भनेर तिमीले कुनै टेन्सन नल्याऊ । सबैभन्दा ठुलो कुरा भनेको मनबाट पैदा हुन इच्छा शक्ति हो ।

    के तिमीले अमेरिकाका विख्यात राष्ट्रपति अब्राहम लिङ्कनको नाम सुनेका छैनौँ र ? मलाई लाग्छ, तिमीले पक्कै पनि अब्राहम लिङ्कनको बारेमा थाहा पाएकै हुनुपर्छ । पेटभरि खान नपाउने र आङभरि लगाउन नपाउने एक गरिब किसान परिवारमा अब्राहम लिङ्कनको जन्म भएको थियो । उनलाई सानैदेखि आफ्ना श्रमजीवी आमाबाबुसँग खेतीको काम गर्नुपरेको थियो । जङ्गल फाँडेर दाउरा बेच्ने काममा जोतिनुपरेको थियो । कामको चर्को बोझले गर्दा लिङ्कनले जिन्दगीमा नियमित रूपमा र राम्रोसँग स्कुलमा पनि पढ्न पाएनन् । यस्तो दुःखको दिनमा पनि लिङ्कन आफैले यति धेरै स्वाध्यायन गरे कि उनको यही अध्ययनले कुनै स्कुल वा विश्वविद्यालयको परीक्षाको ग्रेड हासिल नगरेरै अमेरिका जस्तो विशाल देशको विख्यात राष्ट्रपति हुन पुगे । त्यसैले तिम्रो गरिबी तिम्रा लागि एक सुनौलो अवसर हुन सक्छ । तिमीमा भएको अभाव तिम्रो लागि भयानक उर्जा हुन सक्छ । त्यसैले तिम्रो मनमा असीम इच्छाशक्ति सिर्जना गर । तिमी यो देशको अब्राहम लिङ्कन पनि हौ ।

    म तिमीलाई पटक पटक भन्न चाहान्छु कि तिमीले परीक्षामा फर्स्ट डिभिजन नलिए पनि, ए प्लस नलिए पनि पटक्कै चिन्ता नगर किनकि परीक्षामा फर्स्ट डिभिजन नलिए पनि, ए प्लस नलिए पनि विश्वमा ठुला र साहसिक कार्य गरेर जीवन बिताएका वा संसारका अगाडि अनुपम नमुना बनेकाको लामै सूची तिमीले देख्न सक्छौ ।

    मोहनदास करमचन्द गान्धीको जीवनी पनि तिमीले पढेकै हौला । उनी महात्मा गान्धीको नामले विश्वमा प्रख्यात छन् । स्कुले कालमा उनी पनि साधारण श्रेणीकै विद्यार्थी थिए । संस्कृत, अङ्ग्रेजी र रेखागणित जस्ता विषयको उनलाई ठुलो डर हुन्थ्यो । उनले चोरीचाकरी गरेर कहिल्यै फर्स्ट हुने प्रयत्न गरेनन् बरु उनले पढाइमा, काममा र आचरणमा कडा परिश्रम गरे । उनको यही परिश्रम, लगनशीलता र सत्यनिष्ठ आचरणले स्कुलमा फर्स्ट हुने, बोर्ड फस्ट हुने र टप टेनमा आउने सबैलाई पछाडि पारेर विश्वमा नयाँ अग्रता हासिल गरे । त्यसैले तिम्रो एसइईमा कम ग्रेड भएर के भो त ? तिमीले परिश्रम गर । तिमीले लगनशीलता र सत्यनिष्ठ आचरण अपनाऊ । तिमी यो देशको गान्धी हौ ।

    आफ्नो ग्रेड कम आएको कारण तिमी किन निराश र हतोत्साही बन्छौ ? परीक्षामा ग्रेड कम आएकै कारण तिमी यो विश्वमा हतोत्साही र निरास हुनुपर्ने कुनै कारण छैन ।

    तिमीले महान् साहित्यकार तथा प्रख्यात शिक्षाशास्त्री लियो टल्सटायको बारेमा पनि पक्कै सुनेको हुनुपर्छ । उनले स्कुल, क्याम्पस र विश्वविद्यालयलाई मात्र सम्पूर्ण ज्ञानको स्रोत ठान्ने हाम्रो पिछडिएको मानसिकतालाई मुखभरिको जवाफ दिएका छन् । उनले स्कुल, क्याम्पस र विश्वविद्यालयभन्दा बाहिर पनि अथाह ज्ञानको स्रोत हुन्छ भन्ने बुझेर बिचैमा विश्वविद्यालय छोडेका थिए । उनले विश्वविद्यालय मात्रै छोडेनन्, यसको साथसाथै उनले स्वाध्यायनमार्फत विस्तृत र गहन रूपमा जीवन र जगत्को अध्ययन गरी यसैको आधारमा महान साहित्यकार एवम विख्यात शिक्षाविद् बने ।

    स्कुल, क्याम्पस र विश्वविद्यालबाट प्राप्त हुने ज्ञानको अलावा बाह्य समाज र जनताका बिचबाट प्राप्त गरिने ज्ञानको कति महत्त्व हुन्छ भन्ने कुरा बुझ्नका लागि छुट्याउनै नमिल्ने अरू पनि कयौ दार्शनिक, नेता तथा साहित्यकार छन्, उनीहरूका जीवनीबाट तिमीले जीवन जिउनका लागि अथाह प्रेरणा लिन सक्दछौ । यसको लागि तिमीले भियतनामी क्रान्तिका नायक होची मिन्ह, चिनियाँ क्रान्तिका नायक माअेत्सेतुङ, अक्टोबर क्रान्तिका योद्धाहरू लेनिन तथा स्टालिन, कम्युनिस्ट दर्शनका प्रणेता कार्ल मार्क्स र फ्रडेरिक एङ्गेल्स, प्रख्यात साहित्यकारहरू म्याक्सिम गोर्की, लुसुन आदिका जीवनी तिमीले खोजी खोजी पढ्नैपर्छ किनकि तिमीले परीक्षामा कम ग्रेड लिएको कारण तिमी जस्तो बुद्धिमान र परिश्रमी विद्यार्थीलाई बुद्धु र मूर्ख भनी अपहेलना गर्ने यो सामन्ती तथा बुर्जुवा समाजलाई बदल्नु छ ।

    मानिसलाई कि मालिक बन्न सिकाउने, कि नोकर बन्न सिकाउने, ठग्न चोर्न र भ्रष्टाचार गर्न प्रेरित गर्ने यो गन्दा शिक्षाप्रणालीमा आमूल परिवर्तन गर्नुछ । जबरजस्ती किताबका पाठ कण्ठ गरेको आधारमा होइन, कला र सिपको आधारमा बधाई पाउने शिक्षाप्रणालीको विकास गर्नुछ ।

    यसरी तिमी साँच्चै नै निराशा र कुण्ठाबाट जुरुक्क उठेर अगाडि बढ्नुछ भने जीवन र जगत्लाई बुझ्ने र बदल्ने सबभन्दा उत्तम सिद्धान्तलाई आत्मसात गर । तिमीलाई थाहै छ, राज्यले हाम्रो देशको स्कुलमा पढने विद्यार्थीलाई यस्तो जीवनोपयोगी सिद्धान्तबाट वञ्चित गराउँदै आएको छ । उसले त सारा स्कुललाई राष्ट्रनिर्माता तथा क्रान्तिकारी जनशक्तिको उत्पादन होइन, केवल नोकर र मालिक बन्ने विभेदयुक्त जनशक्ति उत्पादन गर्ने कारखाना जस्तै बनाइरहेको छ । वास्तवमा तिमीलाई स्कुलमा जबरजस्ती सामन्तवाद र पुँजीवादको सिद्धान्त रक्षा गर्ने कारिन्दा बनाइरहेको छ । यसैले वर्तमान राज्यसत्ताले, वर्तमान शिक्षाप्रणालीले तिमीलाई अनावश्यक बोझ बोकाइरहेको छ । अनावश्यक दुःख र पीडा दिइरहेको छ । यो बोझबाट र यस प्रकारको दुःख र पीडाबाट तिमी साँच्चै मुक्त हुने हो भने मैले माथि भने जस्तै तिमीले संसारको सबैभन्दा उत्तम सिद्धान्तलाई आत्मसात गर्नै पर्छ । त्यो उत्तम सिद्धान्त भनेको मार्क्सवादी–लेनिनवादी सिद्धान्त हो । यो सिद्धान्त तिम्रो स्कुलमा पढाइने पाठ्याक्रमहरूमा खोजेर तिमीले पाउने छैनौ, न त तिम्रा शिक्षकले नै तिमीलाई यो शिक्षाको बारेमा बुझाउन नै सक्छन् किनकि यो शोषण र वर्गीय विभेदमा आधारित सामान्तवाद र पुँजीवादलाई अन्त्य गर्ने सिद्धान्त हो । तिमी र तिम्रा साथीहरूलाई अनावश्यक बोझ र पीडाबाट मुक्त बनाउने सिद्धान्त हो । तिमी र तिम्रा साथीहरूलाई नोकर या मालिक बनाउने होइन, एक आत्मनिर्भर र सभ्य मानिस बनाउने सिद्धान्त हो । त्यसैले तिमी वर्तमान स्कुल र क्याम्पसको पढाइमा कमजोर भएका कारण कुनै पनि पश्चाताप गर्दै नगर ।

    तिमीले टाइसुटको ड्रेसमा झोलाभीर किताब कलम बोकेर आधा जिन्दगी बिताउनुपर्ने स्कुल र विश्वविद्यालयभन्दा अझ बढी महत्त्वको स्कुल र विश्वविद्यालय त अर्कै छ । त्यो हो– तिमी आफू हुर्किरहेको समाज, तिमी आफू बाचिरहेको गाउँ । तिमीले स्कुलमा गएर ठुला ठुला किताब अध्ययन गरेर वा कण्ठ गरेर मात्र हुँदैन, तिमीले तिम्रो गाउँ र समाजको अध्ययन व्यापक गर्नुपर्छ । तिमीले तिम्रो गाउँ र समाजमा रहेका मानिसका वर्गीय चरित्रको व्यापक अध्ययन गर्नुपर्छ । यो कुरा तिमीलाई मैले भनेको होइन । यो कुरा त एक विश्वप्रसिद्ध चिनिया नेता माओत्सेतुङले भनेका हुन । उनले आफ्नो देशको मुहार बदल्नका लागि तिमी जस्ता स्कुल तथा विश्वविद्यालयका विद्यार्थीलाई स्कुल र विश्वविद्यालयबाट गाउँसमाजमा गएर त्यहाँको विस्तृत अध्ययन गर्ने र गराउने अभियान नै चलााएका थिए । यसबाट पनि हामीले सहजै बुझ्न सक्छौँ कि हाम्रो विश्वविद्यालय भनेका गाउँ र समाज पनि हो । यही गाउँ र यही समाजबाट तिमीले ठुला ठुला सम्भावनाको खोजी गर्नुछ ।

    तिमीले पढिसकेपछि तिम्रो घरको गरिबी अन्त्य हुने शिक्षाप्रणालीको खोजी गर्नुछ । तिमीलाई थाहै होला, तिमी जस्ता कैयौँ विद्यार्थी बिए, एमए पास गरेका छन् तर उनको गरिबी मेटिएको छैन । यो कस्तो शिक्षा हो, जुन शिक्षाले तिमी जस्ता विद्यार्थीको गरिबी मेटाउन नसक्ने ? यो प्रश्नको उत्तर खोज्नु छ । यो कस्तो शिक्षा हो, जुन शिक्षामा बिए, एमए पास गरेर पनि विदेशी गल्लीमा चौकीदारी गरेर र भाँडा माझेर बाँच्नुपर्ने ? आफ्नै देशमा बाच्न सक्ने इलम किन दिँदैन यो शिक्षाले ? तिमीमा अन्तरनिहित कला, सिप र प्रतिभालाई चिन्न नसक्ने समाज र दुनियालाई तिमीले मुखभरिको जवाफ दिनुछ । यसको लागि तिमी यो देशको मार्क्स र एङ्गेल्स बन्नुछ । तिमी यो देशको माओ र होची मिन्ह बन्नुछ । लेनिन र स्तालिन बन्नुछ । तिमी यो देशको गोर्की र लुसुन बन्नुछ ।

    शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.