समष्टि बुढामगर ##
२०८१ साल असार १ गतेका दिन म साहित्यिक पदयात्राकोलागि सबेरै उठे । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले आयोजना गर्ने यो साहित्यिक पदयात्राका अघिल्ला कार्यक्रममा पनि मेरो सहभागिता रहँदै आएको थियो । त्यसैले नयाँ कुरा सिक्न र अनूभुति गर्नका लागि यो साहित्यिक पदयात्रा निकै नै महत्त्वपूर्ण र फलदायी भएका कुरा मैले अघिल्ला कार्यक्रमबाट पनि महसुस गरिसकेकी थिएँ ।
आज साहित्यिक पद यात्राको छैटौँ शृङ्खला थियो । आजको शृङ्खलामा हामी पुग्ने ठाउँ कस्तो होला ? कस्ता साथी भेटिने होलान् अनि ती साथीका कस्ता कस्ता सिर्जना सुन्न पाइने होला भन्ने कल्पनामा हराउँदै म कोठाबाट निस्किएँ ।
आजको साहित्यिक पदयात्रामा बुढानीलकण्ठबाट डाँडागाउँ हुँदै विष्णुद्वारसम्म पदयात्रा गर्ने र यसका लागि बिहान ८ बजे नै सबै लेखक, कलाकार तथा साहित्यकारहरू बुढानीलकण्ठ मन्दिर प्राङ्गणमा जम्मा हुने जानकारी प्राप्त भएको थियो । सोही जानकारीअनुसार म बल्खुबाट गाडी चढेर समयमा नै बुढानीलकण्ठ पुगेँ ।
बुढानीलकण्ठको मन्दिरमा पुग्दा त्यहाँ पूजा गर्ने भक्तजनको भिड लागिरहेको थियो । हातमा पूजासामग्री लिएका महिलापुरुषको सडकदेखि मन्दिरसम्म लामो लाइन देख्दा ती मानिसलाई आजको वैज्ञानिक युगले गिज्याए जस्तो लाग्यो । संसार कहाँदेखि कहाँ पुगिसक्यो तर हाम्रो नेपाली समाजमा भने अझै पनि रूढिवाद र अन्धविश्वासको सागरमा चुर्लुम्म डुबेका मानिस यत्रतत्र धेरै नै देख्न पाइन्छ ।

यति बेलासम्म साहित्यिक पदयात्राका लागि त्यो स्थानमा कोही पनि आइपुगेका रहेनछन् । निर्धारित समयमा त्यहाँ पुग्ने म पहिलो भएछु । त्यसैले मन्दिर परिसरभित्र बस्ने ठाउँमा गएर साथीलाई पर्खिबसेँ । त्यहाँ श्रद्धालु भक्तजन कोही पूजा गरिरहेका थिए; कोही भजन गाइरहेका थिए भने कोही नाचिरहेका थिए । यो दृष्य देखेर मसोँचमग्न भएँ । सोचेँ, यी मान्छेहरूको चेतना कहिले फेरिने होला ? यिनीहरूको दिमागमा प्रगतिशील सोच कहिले पलाउने होला ? यिनै मानिसको दिमाग नबदलिएसम्म देश बदलिने कुरा असम्भव छ । यिनै मानिसले वैज्ञानिक विचारलाई स्वीकार नगर्दासम्म राज्यसत्ताको चरित्र फेरिने छैन । त्यसैले क्रान्तिका लागि पहिला यी मानिसको दिमागमा वैज्ञानिक सोँच आउन जरुरी छ ।
यस्तै सोच्दै थिएँ, एक्कासि अनौठो दृष्यतर्फ मेरो नजर पर्यो । मन्दिरको सिँढीमा थुप्रै अशक्त, अपाङ्ग मान्छेहरू हात थापेर माग्न बसेका थिए तर कुनै पनि भक्तजनले ती अशक्त, अपाङ्ग मानिसमाथि दयाभाव देखाएको देखिएन बरु ती असहायलाई बेवास्ता गर्दै ती धार्मिक मानिसले भित्र रहेको ढुङ्गाको मूर्तिलाई मिठा खानेकुरा र फलफूल चढाइरहेका थिए । यसरी धर्म र अन्धविश्वासमा मानवता हुँदो रहेनछ भन्ने कुरा त्यहाँको दृश्यले स्पष्ट देखाइरहेको थियो ।
यति बेला मैले त्यो मूर्तिमा चढाइएको फलफूल र खानेकुरा कता जाँदो रहेछ अर्थात् कसले उठाउँदो रहेछ भनेर हेरिरहेको थिएँ, ठिक यसै बेला समीर सर त्यहाँ आइपुग्नुभयो । यसपछि घनश्याम सर पनि आइपुग्नुभयो । यसैगरी क्रमशः अरू साथीहरू पनि आइपुग्नुभयो । त्यसपछि हामी त्यो मन्दिरको समग्र दृष्यलाई त्यहीँ छाडेर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ ।
मलाई आजको साहित्यिक पदयात्रा पहिलेको भन्दा विशेष लागिरहेको थियो किनकि आजको साहित्यिक पदयात्रामा बुबाको पनि सहभागिता रहेको थियो । बुबा यसपटक काम विशेषले काठमाडौँ आउनुभएको थियो । कला, साहित्य भनेपछि हुरुक्कै हुनेमध्य बुबा पनि एक हुनुहुन्छ । रुकुम जिल्लाको साहित्यिक उन्नयनमा बुबाले महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको छ । रुकुम हुँदा म पनि सधैँ बुबासँगै साहित्यिक कार्यक्रममा जाने गर्दथे । यसपछि अध्ययनको सिलसिलामा म काठमाडौँ आइसकेपछि सम्भव भएसम्म म यहाँको साहित्यिक कार्यक्रममा जोडिँदै आएको छु । यसरी काठमाडौँ आएदेखि आज पहिलो पटक फेरि पहिलोपटक बुबासँग यस्तै साहित्यिक कार्यक्रममा हिँड्न पाउँदा पुराना दिनको याद मेरो मस्तिष्कमा पुनः प्रतिबिम्बित भएर आए ।

त्यसैगरी, आजको साहित्यिक पदयात्रामा कतिपय चिनेका अनुहार नै थिए भने कतिपय नयाँ साथीहरू जोडिनुभएको थियो । कोलाहल, धुँवाधुलो र ठुला ठुला भवनले पुरिएको सहरलाई छाडेर जङ्गल पसेका हामी उकालोको रमाइलो गोरेटो बाटोलाई पछ्याउँदै अगाडि बढ्यौँ । बाटोमा अग्ला अग्ला सल्लाका रुखहरूलाई शीतल हावाले यताउति हल्लाइरहेको दृश्यले मन प्रफुल्लित भइरह्यो ।
केही समयपछि हामी सल्लाको घना जङ्गलको बिचमा रहेको रमणीय चौरमा पुगेर विश्राम गर्यौँ । त्यहाँ हामी सबै गोलबन्द भएर बसेपछि समीर सरले अन्पाद्वारा सञ्चालित यस साहित्यिक पदयात्राको उद्देश्य र महत्त्वको बारेमा प्रकाश पार्नुभयो । यसका साथै आजको यस साहित्यिक पदयात्रालाई कसरी सफल पार्न सकिन्छ भन्नेबारेमा केही नियम र निर्देशनसहितको भनाइ राख्नुभयो ।
यसपछि हाम्राबिचमा परिचय कार्यक्रम अगाडि बढ्यो । सहभागी सबैले एकार्काको बिचमा परिचय गर्यौँ । साथै घरबाट लिएका फलफूल खाँदै हामी फेरि उकालो लाग्यौँ ।
यो साहित्यिक पदयात्रामा बाह्र/पन्ध्र वर्षका बालस्रष्टादेखि लिएर साठी/पैसट्ठीसम्मका लेखक, कलाकार र साहित्यकारको सहभागिता रहेको थियो । यसैले आजको पदयात्रा निकै रमाइलो थियो । शनिबार भएकाले घुम्न आएका अरू पनि थुप्रै समूह ठाउँठाउँमा रमाइलो गरिरहेका भेटिन्थे ।
त्यसै क्रममा हाम्रो समूह डाँडागाउँनजिकै रहेको एउटा दुबेचौरमा पुग्यो । यो ठाउँमा बसेर हामीले खाना खाने सल्लाह गर्यौँ । खानका लागि हामी सबैले घरबाटै आआफ्नो खाना बोकेर ल्याएका थियौँ । यसरी बोकेर ल्याएको खानेकुरा एकै ठाउँमा सङ्कलन गर्यौँ । कसैले रोटी, कसैले सेलरोटी, कसैले तरकारी अचार जस्ता विभिन्न किसिमका खानेकुरा ल्याएका रहेछौँ । यसरी ल्याएको खानेकुरा रमाइलो तरिकाले बाँडिचुडी खाएपछि हाम्रो यात्रा अझै उकालोतर्फ बढ्यो ।
वास्तवमा आज हामी हिँडिरहेको क्षेत्र शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्र पर्दो रहेछ । अलि माथि पुगेपछि बाटोमा सैनिक पोस्ट भेटियो । यहाँदेखि माथितिरको भूगोल अवलोकन भ्रमणमा जानका लागि प्रतिव्यक्ति रु १०० टिकट लाग्दो रहेछ । यहाँदेखि माथितिर जानुपर्दा गितार, मादल, हार्मोनियम, बासुरी जस्ता बाजा पनि लैजान निषेध गरिएको रहेछ । तसर्थ हामीसँग भएको यी सबै बाजा त्यही पोस्टमा राख्यौँ र सबैले सय सय रुपैयाको टिकट लिएर विष्णुमति द्वारको गन्तव्यतर्फ अगाडि बढ्यौँ ।

शनिबार भएकाले विष्णुमति द्वार हेर्न जानेहरूको आवातजावत निकै बाक्लो थियो । जङ्गलको बाटो भएकाले विश्राम गर्नका लागि पनि उपयुक्त ठाउँ खासै बनाइएको रहेनछ । हामी विष्णुमति द्वार अनि यस आसपासको मनोरम प्रकृति, यहाँको कलकल बग्ने कञ्चन जल, शीतल पवन आदिको अद्भुत आनन्दमा निकै बेर हराउँदै र रमाउँदै समय बितायौँ ।
समयको पाबन्दीले हामीलाई अत्याइरहेको थियो । तसर्थ प्रकृतिको सुन्दर छटाभित्र अरू रमाउने इच्छा हुँदाहुँदै पनि हामी त्यहाँबाट फर्किन बाध्य थियौँ ।
यति बेला हामी ओरालो पछ्याउँदै सैनिक पोस्टमा आइसकेका थियौँ । त्यहाँबाट हाम्रा बाजा फिर्ता लियौँ र बिहान बसेकै चौरमा आइपुग्यौँ । त्यो चौरको वरिपरि अग्ला अग्ला रुखहरू रहेका थिए । चौर शान्त र निकै ठुलो थियो । त्यही चौरमा बसेर आजको साहित्यिक पदयात्राको विशेष कार्यक्रम सुरु भयो ।
सुरुमा हामीसँग बचेका खानेकुरा खायौँ । यसपछि भने हामी औपचारिक कार्यक्रमतर्फ अगाडि बढ्यौँ । मन्तव्य, रचना वाचन, नृत्य जस्ता विविध प्रस्तुतिसहित करिब दुई घण्टाको समयलाई हामीले सार्थक तुल्याउने प्रयत्न गर्यौँ ।
यसै सन्दर्भमा मलाई पनि एउटा कविता वाचन गर्ने अवसर प्राप्त भएको थियो । आज सरकारले नेपाली युवाका लागि विदेश जाने बाटो खनिरहेको छ । नेपाली युवालाई विदेश लखेट्ने बाटो खन्नुभन्दा आफ्नै देशमा युवालाई काम गरेर बाच्ने आधार तयार गर सरकार भन्ने भावमा मैले आफ्नो कविता रचना गरेकी थिए ।
साना बालस्रष्टाहरूको प्रस्तुतिले मन लोभ्याएको थियो भने ठुला र परिपक्व लेखक तथा साहित्यकारको ओजपूर्ण भनाइले जीवनमा केही गर्नुपर्छ भन्ने प्रेरणा प्रदान गरेको थियो ।
यसरी आज भएको साहित्यिक पदयात्राले एउटा सुन्दर गन्तव्यस्थलको अवलोकन मात्रै गराएन, यसले थप नयाँ र प्रगतिशील विचार पनि दिमागमा भरिदियो ।
अन्त्यमा नेपालको पश्चिम क्षेत्रतिरको प्रख्यात संस्कृति बोकेको देउडा भाकामा हामी सबै गोलबन्द भएर नाच्दै रमाइलो गर्यौँ । कार्यक्रम समापन हुँदै गर्दा क्रान्ति चेतले ओतप्रोत नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर कामरेड मोहनविक्रम सिंहद्वारा रचित “इन्कलाव जिन्दावाद झ्” बोलको कालजयी जनवादी गीत घन्कायौँ ।
यति बेला त्यो चौरवरिपरि झ्याउँझ्याउँ झ्याउकिरीका आवाज गुञ्जन थालिसकेको थियो अर्थात् ती झ्याउकिरीले हामीलाई समयले नेटो काटिसकेको जानकारी गराइरहेका थिए । तसर्थ करिब ७ बजेतिर थकित तर प्रफुल्लिी शरीर लिएर हामी सबै फेरि अर्को साहित्यिक पदयात्राको सातौँ शृङ्खलामा जोडिने वाचा गर्दै काठमाडौँको व्यस्त सहरमा प्रवेश गर्यौँ । 