• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

समस्या र चर्को धुपसँग नहारेको रक्तिमको कर्णाली सांस्कृतिक अभियान (संस्मरण)


  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    केही समयअगाडि रक्तिम सांस्कृतिक अभियानले कर्णाली सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीको यो निर्णयलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ म सुर्खेत आइपुगेको थिएँ । सुर्खेतमा धेरै साथीसँग भेटघाट भयो । साथीको आआफ्नै समस्या थिए । भेटघाटमा हरेक साथीहरूले केही न केही समस्या सुनाइहाल्नु हुन्थ्यो† मानौँ साथीहरूका समस्या सुन्नकै लागि म रुकुमबाट सुर्खेत आएको हुँ । कतिपय साथीका समस्या गम्भीर थिए भने कतिपयका रोचक ।

    एक जना साथीले आफूलाई एउटी पत्नी आवश्यक परेको सुनाउनुभयो । आफ्नी पत्नी बिरामी परेर बितेको पनि दुई वर्ष भइसकेको रहेछ । पत्नी बितेपछि घरमा ठुलो समस्या परेको, छोराछोरी पढाउन लेखाउन, घरव्यवहार चलाउन अप्ठ्यारो परिस्थिति सिर्जना भएको, घरमा ऋण लागेको—यस्तै थुप्रै समस्या भएको सुनाउनुभयो उहाँले । यी समस्या समाधान नगरेसम्म पार्टी सङ्गठनमा काम गर्न गाह्रो हुने कुरा गर्नुभयो ।

    वास्तवमा उहाँको कुरा ठिकै पनि थियो तर पार्टीसङ्गठनले उहाँको यो व्यक्तिगत समस्या समाधानको जिम्मा लिने परिस्थिति थिएन । यस्तो अवस्थामा घरव्यवहार, साहुको ऋण र छोराछोरीलाई बेवास्ता गरेर पार्टीसङ्गठनमा काम गर्नु पनि अप्ठ्यारै विषय हो । त्यसैले “एक दुई वर्षलाई पार्टीसङ्गठनमा कुनै पनि कामको जिम्मा नलिनुस् । साहुको ऋण तिर्ने, केटाकेटीको पढाइलेखाइमा ध्यान दिने र सम्भव भएसम्म राम्रो जीवनसाथी पाइएमा बिहे गर्ने काम गर्नुस् । यसपछि विस्तारै पुनः पार्टीसङ्गठनमा जोडिनुहोला” मैले साथीलाई यही सुझाव दिएँ ।

    यसपछि अर्का पुराना कामरेडको जटिल समस्याले मेरो मनमा कयौँ प्रश्न उब्जिए ।

    रुकुमबाट सुर्खेत झरेका बेला प्रायः मेरो खाने बस्ने ठाउँ भनैकै ती पुराना कामरेडको घरमा हो । विगत पञ्चायती कालदेखि नै पार्टीसङ्गठनको राजनीतिमा होमिएका ती पुराना कामरेडको समस्या पनि कम्ती कडा थिएन । उहाँको एकातिर स्वास्थ्य समस्या थियो भने अर्कोतिर ऋणको ठुलो समस्या थियो । वास्तवमा सारा जिन्दगी पार्टीसङ्गठनमा समर्पण गर्नाले रित्तिएको उहाँको घरको अवस्था निकै नै नाजुक थियो । कामरेडको पत्नी बिहान उठेदेखि पिठोका प्याकेट बनाएर बजार बेच्न लैजानुहुन्थ्यो । दिनभरी कुनै बैङ्कको वचत सङ्कलन गर्न दुकान दुकान घुम्नुहुन्थ्यो । यसैबाट आएको दुईचार पैसाले कामरेडको सारा घरव्यवहार चलाउनुपर्दथ्यो ।

    यसरी घरव्यवहार चलाउनलाई नै कृषि विकास बैङ्कबाट कुनै समयमा कामरेडले पाँच लाख ऋण लिनुभएको रहेछ । यसपटक त्यही कृषि विकास बैङ्कले उहाँलाई आपतमा पारिरहेको थियो । यसैले उहाँले कर्णाली सांस्कृतिक अभियानको योजना बनाउन भनी बस्ने भनिएको बैठकमा समय दिन गाह्रो भयो । जीवनमा आइपर्ने यस्तो विघ्न अप्ठ्यारोमा पार्टीकाममा समय दिन नसक्नु स्वाभाविक नै थियो तैपनि सबै कुरा मिलाएर उहाँ बैठकमा उपस्थित हुन आइपुग्नुभयो ।

    साँझपख पुनः मेरो बास उहाँकै घरमा भयो । “यी हेर्नुस्, यस्तो चिठी आएको थियो” ती पुराना कामरेडले भित्तामा झुन्ड्याइएको झोलाबाट कृषि विकास बैङ्कले लेखेको एउटा चिठी निकालेर देखाउनुभयो । मैले चिठी हेरेँ । चिठीमा लेखिएको थियो– “सात दिनभित्र साँवाब्याज चुक्ता नगरे तपाईंको घरजग्गा लिलामबिक्री गरेने छ ।”

    “बल्ल बचियो । आज पैसा जुटाउन नसकेको भए सिधै सडकमा पुगिने रहेछ । दुनियाँले मेरो घरपरिवारको विजोग देख्ने रहेछ । हाम्रो पार्टीका साथीहरूको अवस्था सबैको नाजुक छ । सबै विरोधीले नै ऋण दिए” कामरेडले मलिनो अनुहार पार्दै पीडा पोख्नुभयो ।
    “के गर्ने हामी सबै कार्यकर्ताको समस्या यस्तै छ । वेदनाको बिचमा पनि तपाईंहामीलाई टिक्नुपरेको छ” मैले उहाँलाई सहानुभूति दिने प्रयास गरेँ ।

    अर्का, एक जना साथीको समस्या अलि फरक किसिमको थियो । उहाँ शिक्षक जागिरबाट अवकाशप्राप्त साथी हुनुहुन्थ्यो । पुर्ख्योली घर कालीकोट भए पनि उहाँले सुर्खेतमा बसाइँसराइ गर्नुभएको थियो । शिक्षक भएकाले बेलैमा घरघडेरी जोड्नुभएको रहेछ । शिक्षकबाट अवकाशप्राप्त गरिसकेछि उहाँ पूर्ण रूपमा पार्टीसङ्गठनका काममा जोडिनुभएको थियो ।

    “छोराबुहारीले राम्रो गर्न सकेन । बुहारी त झन् आजभोलि हामीसँग बोल्न पनि छाडिसकी । के के हो के के, अनेक काममा हात हालेर सुरुमा ठुलो ऋण लगाए । छोराबुहारीलाई सङ्कटबाट उकास्ने विचार आयो । त्यसैले छोराबुहारीले लाएको लाखौँ ऋण मैले तिरिदिएँ । अहिले पनि यिनीहरूले ठुलो ऋण लाएका छन् भन्ने सुन्दै छु । पटक पटक यसरी छोराको ऋण तिर्नलाई सम्भव पनि छैन । अहिले छोराको न खानाको ठेगान छ, न बस्नाको ठेगान छ । एउटा बोर्डिङ स्कुलमा पढाउँछु भन्छ । त्यसको पनि अवस्था के हो ? केही थाहा छैन । साँझ साँझ दोहोरी साँझमा काम गर्न जान्छु भन्छ । रक्सी खाएर अबेर फर्केको देख्छु । कमसेकम उसले स्वास्थ्यको ख्याल गरे पनि हुने । यता, आमाबाउको ढङ्ग गतिलो नभएपछि नातीहरूको भविष्य पनि के हुने हो ? साह्रै चिन्ता लागेको छ । सकिन्छ भने छोरालाई सम्झाइदिनु पर्‍यो” वास्तवमा यी साथीको यो समस्या पनि निकै गम्भीर नै हो ।

    त्यो छोरो केवल उहाँको छोरो मात्रै थिएन, ऊ पार्टीसङ्गठनको एउटा जिम्मेवार ठाउँमा बसेको पार्टी कार्यकर्ता पनि थियो । त्यसैले ऊसँग मेरो भेट भयो र कुराकानी पनि भयो ।

    “दिउँसो स्कुलमा पढाउछु । साँझ दोहोरी साँझमा काम गर्न जान्छु । स्कुल पढाएबापत महिनामा चालिस हजारजति मिल्छ । दोहोरी साँझले महिनामा पाँच हजार दिन्छ । सङ्गठनमा समय दिन नसक्नुमा मेरो पारिवारिक समस्या यति जटिल छ कि यसैको कारणले म सङ्गठनमा समय दिन सक्दैन । के गर्ने ? महिनाको चालिस/पैतालिस हजार आम्दानीले के पो हुन्छ र ? चालिस/पचास लाख ऋण छ” त्यो साथीको छोराले पनि कहालिलाग्दो समस्या सुनायो ।

    “यी यो प्रेसरको औषधी खानुपरेको छ । बाआमालाई मेरो यो पीडा सुनाएर पनि अर्थ छैन । आमाबाले मेरो चिन्ता नगर्ने होइन, गर्नुहुन्छ तर अब उहाँहरू स्वयम् बुढेसकालतिर लागिरहनु भएको छ” उसले प्रेसरको औषधी खाँदै भन्यो ।

    ऊसँग यस्तै कुरा हुँदै थियो । सरर्र एउटा चिल्लो गाडी हामी बसेको ठाउँ अगाडि आएर रोकियो । त्यो वाणिज्य बैङ्कको गाडी रहेछ । बैङ्कका कर्मचारीले खामबन्दी पत्र उसको हातमा ठमाइदिए ।

    “निर्धारित समयमा हजुर आफै बैङ्कमा आएर साउँब्याज चुक्ता गर्नुहोला” भन्दै उनिहरू त्यहाँबाट हिँडे ।

    “हुन्छ” भन्दै उसले टाउको हल्लायो ।

    “यी हेर्नुस्, यो बैङ्कमा दश लाख ऋण छ” उसले बैङ्कको चिठी देखाउँदै भन्यो ।

    “धैर्य गर्नुस, नआत्तिएर समस्या समाधान गर्ने कोसिस गर्नुस्” मैले उसलाई यत्ति कुराबाहेक अरू कुरा केही भन्न सकिनँ ।

    यसैगरी सुर्खेतमा अर्का पुराना साथीकहाँ पनि म बास बस्न गएँ । उहाँ पनि पार्टीको जिम्मेवार साथी नै हुनुहुन्थ्यो । उहाँ पनि समस्यारहित हुनुहुन्नथ्यो । उहाँका पनि छोराहरू कलेज पढ्थे । घरमा उहाँको मेडमले दुईचारओटा बाख्रा पालेको देखिन्थ्यो । अरू आम्दानीको स्रोत पनि केही थिएन । उहाँमा विगत केही समयदेखि स्वास्थ्य समस्या देखा पर्दै आएको थियो ।

    “युरिक एसिड बढेर जोर्नी सुन्निएर दुख्ने, थाइराइड, मृगौलाको अप्रेसन आदिको उपचारमा पैसा खर्च भइरहने, स्वास्थ्य ठिक नभएपछि पार्टीसङ्गठनमा काम गर्नलाई भने जस्तो समय मिलाउन सकिएको छैन” उहाँको घरमा बास बस्न गएको अवसरमा उहाँको पनि समस्या सुन्नुपर्‍यो ।

    कसैलाई ऋणको समस्या, कसैलाई स्वास्थ्यको समस्या, कसैलाइ घर चलाउने समस्या, कसैलाई केहीको कसैलाई केहीको—यस्तै यस्तै अनेकौँ समस्यामा जेलिएका हामी पार्टीका सबै नेताकार्यकर्ता सायद समस्याविहीन कोही पनि छैनौँ । देशैभरि यस्तो समस्याको चाङले थिचिएका हामी कार्यकर्ताबाट सोचे जस्तो काम कसरी पुरा हुन सक्छ ? समस्या नै समस्याले जेलिएका हामी कार्यकर्ता जीवनपर्यन्त कसरी टिक्न सक्छौँ ? कसरी बाँच्न सक्छौँ ? आज हाम्रो पार्टीमा लामो त्याग र सङ्घर्षपश्चात पनि कार्यकर्ताहरू पलायन हुने, निष्किृय हुनु भनेकै यिनै समस्यासँग सामना गर्ने सामर्थ्य नहुनुको परिणाम पनि एक हो ।

    एउटा कार्यकर्ता उत्पादन गर्न पार्टीलाई बिसौँ वर्ष लाग्छ तर उसका सामु पहाड जस्तै विकराल समस्या ठडिएको हुन्छ । यसै समस्यको चाङमा पुरिएर उसलाई पलायन हुनुपर्ने बाध्यता आइलाग्छ । एउटा कार्यकर्ता पलायन हुनु भनेको पार्टीको ठुलो सम्पत्ति क्षति हुनु हो । आज पार्टीले हजारौँपटक यस्ता क्षति ब्यहोरिरहनु परेको छ । यो वास्तममा गम्भीर सोचनीय कुरा हो ।

    जहाँ जाऊँ, जुन साथीलाई भेटौँ, त्यहाँ समस्याबिनाको साथी, समस्याबिनाको ठाउँ पाउने भन्ने कुरा असम्भव जस्तै थियो । सुर्खेत आएको दिनदेखि मैले जति साथी भेटे, ती साथीहरू केही न केही समस्याले जेलिएको भेटेँ । मेरो समस्या छैन भन्ने साथी एक जना पनि भेटिएनन् । जे होस्, यिनै समस्यामा पिल्सिएका साथीका बिचबाटै कर्णाली सांस्कृतिक अभियान अगाडि बढाउनु चुनौतीको सगरमाथा चढ्नु जस्तै कुरा थियो तैपनि जस्तोसुकै चुनौतीलाई पनि पन्छाएर हामीलाई अगाडि बढ्नु थियो । त्यसैले पार्टीको निर्णय र योजनाबमोजिम राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका अध्यक्ष पूर्णबहादुर शाही र म सुर्खेत उपत्यकाभन्दा बाहिर रहेको लेकबेसी नगरपालिकाअन्तर्गत रहेको लेकफर्सातर्फ लाग्यौँ ।

    योभन्दा पहिले पनि म दुईपटक आइसकेको गाउँ थियो लेकफर्सा । यसपालि म लेकफर्सालाई तेस्रोपटक भेट्दै थिएँ । वैशाख–जेठको चर्को गर्मीमा निधारबाट बगेको पसिना पुछ्दै छोटे भन्ने स्थानबाट साथीभाइ भेट्न सुरु गर्‍यौँ । त्यहाँ युवा साथीहरू दोहोन थापा, सोहोन थापा, रक्तिमका पूर्व कलाकारहरू मीरा थापा, सीता थापा र भक्तबहादुर रानालगायतका साथीसँग भेटघाट भयो । यसै क्रममा कम्युनिस्ट आन्दोलनका पुराना व्यक्तित्व मोति मिदुन बुबालाई पनि भेट्यौँ । उहाँको स्वास्थ्य अवस्था राम्रै भए पनि बुढेसकालले उहाँको जिउ पूर्ण रूपमा जीर्ण भइसकेको देखिन्थ्यो । योभन्दा अगाडि भेट्दा उहाँसँग दोहोरो कुरा भएको थियो तर यसपालि भने उहाँको मात्रै एकहोरो कुरा सुन्न हामी बाध्य थियौँ किनकि हिजोआज उहाँले कान सुन्न छोडिसक्नु भएको रहेछ ।

    पूर्ण सर र म साँझपख धनबहादुर पुनको घरमा बास बस्न आइपुग्यौँ । उहाँ र उहाँको परिवारले हामीलाई न्यानो आतिथ्य प्रदान गर्नुभयो ।

    पछिल्लो दिनदेखि बिहान र साँझ रक्तिमको सांस्कृतिक प्रशिक्षण सुरु गर्‍यौँ । नृत्य प्रशिक्षणका लागि अर्घाखाँचीबाट विजय भाइ आइसकेका थिए । प्रशिक्षार्थी भाइबहिनीहरू बिहान ५ बजेतिर प्रशिक्षणमा भाग लिन्थे भने दिउँसो स्कुलतिर जाने गर्दथे । त्यसैगरी स्कुल छुट्टी भइसकेपछि साँझ ६ बजे उनीहरू पुनः प्रशिक्षणमा जोडिन आइपुग्दथे ।

    पूर्णबहादुर सर त्यहाँको स्थानीय पार्टीको बैठक बसालेर पुनः जिल्लाको बैठक बसाल्न सुर्खेततिर फर्किनुभएको थियो । म भने यतै प्रशिक्षणतिरै काम गर्न थालेँ ।

    बिचबिचमा पूर्ण सर र मेराबिचमा कर्णाली सांस्कृतिक अभियानको बारेमा फोनबाट सल्लाह चलिरहन्थ्यो । जिल्लाका कतिपय साथीहरू कर्णाली सांस्कृतिक अभियान सञ्चालन गर्ने कुरामा निराशा व्यक्त गर्नुहुन्थ्यो । “यस्तो कार्यक्रम गर्न सकिन्न । गाह्रो छ । खर्च धान्न सकिन्न” उहाँहरू भन्नुहुन्थ्यो ।

    जिल्लाको पार्टी बैठकमा पनि कतिपय साथीहरूले यस्तै निराशाजनक कुरा गरेको पूर्ण सरले मलाई रिपोर्टिङ गर्नुभयो । यसरी कर्णाली सांस्कृतिक अभियान कार्यक्रम जुन हामीले निकै नै महत्त्वपूर्ण कार्यक्रम गर्दै थियौँ, यस्तो महत्त्वपूर्ण कार्यक्रममा जिल्लाका कतिपय पार्टी कार्यकर्तामा जुन उत्साह देखिनुपर्दथ्यो, त्यो नदेखिँदा भित्रभित्रै मेरो मनमा पनि निराशा पैदा भइरहेको थियो ।

    यसैबिचमा दुई दिन हल्का पानी पर्‍यो । घाउँघरतिर किसानको खनजोत सुरु भयो । मकै छर्ने काम उठ्यो । “यस्तो खेतीपातिको समयमा कार्यक्रम गर्दा समस्या हुन्छ कि ?” कतिपय साथीहरूले खेतीपातिको कामलाई पनि बहाना बनाउन थालेको देखियो । साथीहरूका अनेकौँ बहानाबाजीको बिचमा पनि कर्णाली सांस्कृतिक अभियानको कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पूर्णबहादुर सर भने दृढ आत्मविश्वास लिएर अगाडि बढिरहनु भएको थियो ।

    यता, लेकबेसीतिरका सर्वसाधारण जनवर्गका साथीहरूले पार्टीसङ्गठनप्रति देखाएको गहिरो माया र आस्था गौरव गर्नलायक थियो तर सङ्गठन परिचालनको भावना भने विस्तारै खस्किँदै गएको मैले अनुभूति गरे । यस्तो हुनुमा त्यहाँका अलि पढेलेखेका, बुद्धिजीवी र सङ्गठनको नेतृत्व गर्न सक्ने स्तरका साथीहरूको कमजोरी हो भन्ने मैले महसुस गरेँ । सक्षम योग्य साथीहरू बढी गफ र कम काममा दिन बिताउनाले सङ्गठन परिचालनको अवस्था खस्किँदै गएको हो कि भन्ने मनमा लाग्यो ।

    लेकबेसीमा बस्दै गर्दा त्यहाँ मलाई दुई प्रकारका बैठकको अवलोकन गर्ने अवसर मिल्यो । पहिलो हाम्रो पार्टीको बैठक र अर्को सहकारीको बैठक ।

    हाम्रो पार्टीको बैठक बसाल्न त्यहाँका साथीहरूलाई फलामको चिउरा चपाउनु जस्तै कठिन भएको थियो । बैठक बसाल्नका लागि साथीहरूलाई करिब तीन दिन प्रयास गर्नुपर्‍यो । तीन दिनको दिनमा पनि बल्लबल्ल कोरम पुगाएर बैठक सञ्चालन गर्नुपरेको थियो । यस्तो हुनुको कारण समितिका साथीहरूमध्य कसैको मल बोक्ने काम, कसैको हलो जोत्ने काम, कसैको बिहेमा जाने काम, कसैको शुद्धरीमा जाने काम—यस्तै यस्तै अनेकौँ काम देखियो । यी काम छोडेर बैठकमा साथीहरू आउन नसकेको कुरा बैठक आयोजना गर्ने साथीहरूले बताउनुभएको थियो ।

    ठिक यसै समयमा आयोजित सहकारी बैठकको दृष्य भने बेग्लै थियो । हाम्रै साथीहरूले नेतृत्व गरेको र हाम्रै साथीहरूको बाहुल्यता भएको यो बैठकमा सहभागीको सङ्ख्या टन्न देखिन्थ्यो । यो बैठकमा आउने मानिसलाई न हलो जोत्ने कामले रोकेको थियो, न मल बोक्ने कामले बाधा पुर्‍याएको थियो ।

    यी दुई बैठकले के देखायो भने कुनै काम गर्नलाई हामीमा त्यो कामप्रति सही दृष्टिकोण र दृढ इच्छाशक्ति चाहिँदो रहेछ । पार्टीको कार्यक्रममा सामेल हुनलाई हामीमा सुस्पस्त दृष्टिकोण र दरिलो इच्छाशक्ति चाहिँदो रहेछ । सही दृष्टिकोण र दरिलो इच्छा शक्ति नभएपछि व्यक्तिले अनेकौँ बहाना सिर्जना गर्दो रहेछ । सायद कतिपय साथीमा यही दृष्टिकोण र इच्छाशक्तिको अभाव भएर हुन सक्छ, मिलाएर गर्न सकिने कामलाई समेत मिलाउनै नसकिने बहाना बनाएर पार्टीकामलाई तर्काएको देखियो नत्र सहकारीको बैठकमा उपस्थित हुन सक्ने मान्छे पार्टीको बैठकमा किन उपस्थित हुन सक्दैन ?

    यति हुँदाहुँदै पनि कर्णाली सांस्कृतिक अभियानलाई सफल बनाउन लेकबेसीका पार्टी शुभेच्छुक जनसमुदायको अतुलनीय योगदान रह्यो । आफ्ना छोराछोरीलाई रक्तिमको सांस्कृतिक प्रशिक्षणमा भर्ना गराए । देश र जनताको भाकामा नाच्नगाउनलाई छुट दिए । प्रशिक्षण अवधिभर खानबस्नको राम्रो व्यवस्था मिलाइदिए । मोति मिदुन, प्रेमबहादुर ठाडा, प्रेम ज्ञामी, धनबहादुर पुन, कर्णबहादुर ठाडा, मोहोन थापा, पार्वती ठाडा, टेकबहादुर खाम्चा, भूपेन्द्रबहादुर नेपाली, हीराबहादुर ठाडालगायतका साथी र उहाँका घरपरिवारले पालैपालो खाना खुवाउनुभयो । बास बसाउनुभयो । वास्तवमा यो वर्गीय मायाको उच्च नमुना थियो । उहाँहरूको यो मायाले त्यहाँ रहुञ्जेली घरको सुख बिर्साइदिएको थियो ।

    यसरी लेकबेसीको लेकफर्सामा हप्तादिन रक्तिमको प्रशिक्षण सञ्चालन भएपश्चात जेठ १ गते देखि रक्तिम सास्कृतिक अभियान केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिको सहयोगमा अभियान अगाडि बढाउने निश्चित गरियो ।
    यसै कार्ययोजनाअनुरूप रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिको सहकार्यमा कर्णाली सांस्कृतिक अभियान कार्यक्रम–२०८१ सुर्खेत जिल्लाको विभिन्न स्थानमा सम्पन्न गरियो । “प्रगतिशील तथा जनवादी संस्कृतिलाई आत्मसात गरौँ, कर्णाली सांस्कृतिक अभियान सफल पारौँ” भन्ने मूल नाराका साथ प्रारम्भ गरिएको यो कार्यक्रमको उद्घाटन गुर्भाकोटको मेहलकुनामा भएको थियो भने समापन वीरेन्द्रनगर सुर्खेतस्थित चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सभाहलमा भएको थियो ।

    गुर्भाकोट नगरपालिकाको बोटेचौर, मेहलकुना, शिवनगर, कृष्णनगर चोक, भेरीगङ्गा नगरपालिकाको जहरेबजार र छिन्चुबजार लेकबेसी नगरपालिकाको दशरथपुर, कल्याण र गँगते, वीरेन्द्रनगर नगरपालिकाको ढुलियाबिट, बुलबुले कृषि हातबजार, गोदाम लाइन र मुख्य बजार, पञ्चपुरी नगरपालिकाको दुलालथाई, बड्डीचौर र बाबियाचौर, चौकुने गाउँपालिकाको गुटु विशालबजार र बिजौरालगाएतका १८ भन्दा बढी स्थानमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

    अभियानमा सहभागी कलाकारहरूमा प्रेमिला ज्ञामी राना, निखिल ज्ञामी राना, प्रभास ज्ञामी राना, विनिता ठाडा राना, प्रविता ठाडा, दीपशिखर ठाडा, ग्रिस ठाडा, दीपिका ठाडा, मिमोचन ठाडा, दिबु पुलामी, भावना गुरुङ, फूलमाया खाम्चा, अस्मिता फौजा, र नृत्य प्रशिक्षक विजय घर्तीलगायतका हुनुहुन्थ्यो ।

    सुर्खेत जिल्लाको पूर्वी भागमा सञ्चालित कर्णाली सांस्कृतिक अभियानमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, राजमो कर्णाली प्रदेशका सचिव विष्णु शर्मा, सदस्य जितबहादुर घर्ती, नेकपा (मसाल) का सुर्खेत जिल्ला प्रवक्ता मोहोन थापा, राजमो सुर्खेतका अध्यक्ष गोविन्दप्रसाद सुवेदी, सदस्यहरू पार्वती ठाडा, भूपेन्द्र नेपाली, राजमो लेकबेसीका कर्णबहादुर ठाडा, दीपा ठाडा, टेकबहादुर घर्ती, प्रेम गुरुङ, प्रेम ज्ञामी, अम्बी ठाडा, हीरा ठाडा, कमला ठाडा, समरबहादुर ठाडा, इन्दु पुलामी, नगेन्द्र थापालगायतको सहभागिता रहेको थियो ।

    त्यसैगरी, पश्चिम भागमा सञ्चालित कर्णाली सांस्कृतिक अभियानमा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष जीवन शाही, अखिल नेपाल युवक सङ्घ सुर्खेतका जिल्ला सदस्य चोहोन मिदुन, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेशका सदस्य धर्मराज उपाध्य, प्रदेश सदस्य पदमसिंह कामी, जिल्ला सदस्य विष्णुबहादुर शाही, राजमो पञ्चपुरीका शशिराम कँडेल, गोविन्द शाहीलगायतका नेताकार्यकर्ता सहभागी हुनुहुन्थ्यो ।

    २०८१ वैशाख २० देखि ३० सम्म लेकबेसीमा सञ्चालन गरिएको सांस्कृतिक प्रशिक्षणपश्चात जेठ १ देखि ८ गतेसम्म जारी यस अभियानको स्थायी टोलीमा १३ जना कलाकारसहित रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको तर्फबाट म गिरीप्रसाद बुढा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य पिनु थापा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका सदस्य कटक शाही, अखिल नेपाल किसान महासङ्घ सुर्खेत जिल्लाका अध्यक्ष प्रेम ठाडासहित हामी १८ जना रहेका थियौँ ।

    अभियानमा “ए साथी”, “रातो लालटिन”, “ज्वालामुखी”, “खोलानालाले”, “चट्टानको झिल्को”, “शिशिर चिर्ने”, “फूल फुल्ने छ”, “बढ्दै जाऊ”, “नेपाली माटामा फूल रोपौँ यसपालि”, “कम्युन संस्कृति” लगायतका गीतमा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा सांस्कृतिक सभा, जनभेटघाट, पर्चा वितरण, आर्थिक सङ्कलन, सदस्यता वितरणलगायतका कार्य गरिएको थियो ।

    कर्णाली सांस्कृतिक अभियानको लागि एकातिर पार्टिका साथीहरूका अनेकौँ समस्या र अर्कोतिर जेठमासको चर्को धुप चुनौती बनेर उभिएको थियो । तन्तलापुर घाम नभनी हामी कार्यक्रमस्थलमा पुगेर कार्यक्रम सुरु गर्थ्यौं । हामी चढेको गाडीलाई गुडाउनका लागि र अभियान टोलीमा सामेल साथीहरूको भोकप्यास मेटाउनको लागि साना व्यपारी र अन्य जनसमुदायको बिचमा व्यानर थापेर दुईचार पैसा जोहो गर्नुपर्ने हाम्रो बाध्यता थियो । त्यसैले हरेक कार्यक्रम स्थलमा एकातिर हामीले सांस्कृतिक कार्यक्रमसहितको सभा गर्दथ्यौँ भने अर्कोतिर पसल पसल पुगेर आर्थिक सङ्कलन पनि गर्दथ्यौँ ।

    हाम्रो अभियानमा विमोचन ठाडा, भावना गुरुङ, दिवु पुलामी र फूलमाया खाम्चा जस्ता साना उमेरका बालकलाकार पनि सामेल थिए । यी साना बालकलाकारलाई हाम्रो साथमा देख्दा कतिपय स्थानका बुर्जुवा बुद्धिजीवीलाई एलर्जी लागे जस्तो पनि हुने गरेको थियो । उनीहरू भन्ने गर्दथे– “यस्ता साना केटाकेटीलाई नचाउँदै हिड्नु ठिक भएन । बालबालिकाको प्रयोग भयो ।”

    उनीहरूको यो निम्छरो विचारले ग्रसित भनाई सुन्दा मलाई भित्रैदेखि हाँसो उठ्ने गर्दथ्यो । यो मामिलामा मेरो प्रष्ट मत के छ भने बालवालिकालाई कुनै असल कार्यका लागि सिर्जनशील कार्यमा अगाडि बढाउने कुरा कदापि गलत हुन सक्दैन । बालबालिकालाई देश, जनता र समाजको वास्तविकता बुझाउनका लागि हामीले गर्ने प्रयास कदापि गलत हुन सक्दैन । हामीले त बालबालिकालाई देश, समाज, परिवार र जनताप्रति उत्तरदायी बन्ने कुरा सिकाइरहेका हुन्छौँ । यो काम सिकाउनका लागि शान्तिपूर्ण र चेतनामूलक अभियानमा उनिहरूलाई सामेल बनाउने कुरा बालबालिकाको प्रयोगअन्तर्गत कदापि पर्दैन ।

    यस्ता कार्यक्रममा सहभागी बन्ने बालबालिकाप्रति चिन्ता राख्ने कथित बालअधिकारवादी वा बुद्धिजीवीले सामन्ती बुर्जुवा वर्गले बालबालिकालाई कसरी विकृत बनाइरहेको छ ? त्यतातर्फ ध्यान दिदा राम्रो हुन्छ भन्ने म ठान्दछु । गाउँसहरका गल्लीकुनामा लुकिछिपी चुरोट, भाङधतुराको कुलतमा फसिरहेका अनेकौँ बालबालिका छन् । सहरका कैयौँ होटलमा कमला हातले भाडा माझिरहेका कैयौँ बालमजदुर छन् । भर्खरका चिचिला नानीहरू डिस्को डान्समा अस्लिल, छाडा र पाश्चात्य गीत गाउन र नाच्न सिकिरहेका छन् । मठमन्दिर र भजन मण्डलीमा सामेल गराएर उनीहरूको दिमागमा रूढिवाद र अन्धविश्वास भरिदिँदै छन् र ज्ञानविज्ञानसँग जोडिएका वैज्ञानिक सोचबाट विमुख बनाइँदै छन् । ती कुरातर्फ ध्यान दिन र आवाज उठाउन नसक्ने तर असल र सिर्जनशील कार्यमा सहभागि बालबालिकाप्रति प्रश्न उठाउनु भनेको कथित बालअधिकारवादी बुद्धिजिवीको नितान्त पूर्वाग्रही सोचबाहेक अरू केही थिएन ।

    उनीहरूको यो पूर्वाग्रही सोचले हामीलाई प्रभाव पार्ने कुरै थिएन किनकि हामी हाम्रो अभियानमा सामेल बालबालिकाप्रति धेरै नै सचेत, जिम्मेवार र संवेदनशील थियौँ । वास्तवमा हामी गर्वसाथ के भन्छौँ भने बालअधिकारसम्बन्धी हाम्रो दृष्टिकोण ती कथित बालअधिकारकर्मीको भन्दा कैयौँ उच्च स्तरको छ ।

    हाम्रो यो कर्णाली सांस्कृतिक अभियानमा बालकलाकार मात्र थिएनन् । नौजवान युवा कलाकारको पनि उपस्थिति थियो । साथै पाका र परिपक्व पुस्ता पनि साथमा थियो । वास्तवमा यो अभियानमा तीन पुस्ता सँगसगै एकसाथ हिँडिरहेको थियो ।

    रुकुम जिल्ला जस्तो चिसो पहाडमा जन्मेर हुर्केको मलाई सुर्खेततिरको गर्मीले केही मात्रामा असर पारिरहेको थियो । मेरा लागि कर्णाली सांस्कृतिक अभियानको प्रधान दुस्मन नै गर्मी हो जस्तो लाग्ने गर्दथ्यो । हामी सुर्खेत जिल्लाको जति जति पश्चिमतिर लाग्ने गर्दथ्यौँ, त्यति त्यति मलाई गर्मी बढ्दै गएको अनुभूति हुने गर्दथ्यो । पश्चिमको पञ्चपुरी पुगेको बेला धर्मराज उपाध्याय सरले अभियान टोलीका साथीहरूलाई आफ्नै घरमा लगेर खाना खुवाउँदै गर्दाको टन्टलापुर घाम बिर्सिनसक्नु थियो । गुटुबजारको एउटा होटेलमा बास बस्दाको रातमा भोगेको गर्मी त झन् असह्य थियो । हाम्रो रिजर्भ गाडीका गुरु र खलासी भाइहरू खाना खाइसकेपछि आफ्नै गाडीको हुतमा गएर सुते । अभियानका सबै साथीहरू व्यवस्था गरिएबमोजिम कोठा कोठामा सुत्न गए । पूर्ण सर र म पनि एउटा पलङमा गएर पल्टियौँ तर मलाई पटक्कै निद्रा लागेन । पसिनाले शरीर निथ्रुक्कै भएको थियो । गर्मीको कारण शरीरमा आलस्य र छट्पटी पैदा भइरह्यो ।

    गर्मी सहन नसकेर रातको एक बजेतिर झोलामा रहेको पातलो बर्को लिएर म घरबाट बाहिर निस्किएँ । बाहिर हल्का हावा चलिरहेको थियो । करिब पाँचदश मिनेटजति खुला सडकमा यताउति गरिरहेँ । रात सुनसान थियो । यस्तैमा नजिकैको एउटा चिया पसलअगाडिको भागमा चौडा खालको चारखुट्टे बेन्चमा मेरो नजर पर्‍यो । त्यो पातलो बर्कोले मुख छोपेर त्यही बेन्चमा उत्तानो परेर पल्टिएँ । हल्का शीतलको कारणले शरीरलाई आनन्द मिलेर होला, थाहै नपाई कुन बेला म त्यहीँ निदाएछु ।

    “को हो यहाँ सुतेको ?” कुनै लोग्ने मान्छेको कर्कश आवाजले म ब्युझिएँ । अनुहार छोपेको बर्को हताएर बाहिर हेरेँ । उज्यालो भइकेको रहेछ ।

    एकाबिहानै मलाई यसरी ब्युझाउने मान्छे त्यै चिया पसलको साहुजी रहेछन् । “म यो कार्यक्रमको मान्छे हुँ । गर्मी भएकाले यहाँ यसो ढलेको थिएँ, यहाँ निदाएछु” मैले उसलाइ भने ।
    “अब उठ्नुस्, आँगन बढार्नुपर्छ” पसलेले उठाएपछि म साथीहरूकहाँ आए । यसरी यो रातको गर्मीले मेरो मस्तिष्कमा गहिरो छाप पार्‍यो ।

    बिहान अभियान टोलीलाई कर्णाली प्रदेश समितिका सदस्य पदम विकले खाना खुवाउन आफ्नो घर लग्नुभयो । खाना खानुपूर्व उहाँको घरनजिकै रहेको रमणीय पँधेरोमा गएर नुहाउँदा असीम आनन्दको अनुभूति भयो । यसपालि करिब तीन वर्षपछि यो सुन्दर धारामा दोस्रोपटक नुहाउने अवसर मिलेको थियो ।

    यसरी कर्णाली सांस्कृतिक अभियानले पश्चिमतिरको कार्यक्रमलाई अनेक अनुभूतिका साथ सम्पन्न गरेपश्चात हामी चढेको गाडीले पूर्वतर्फ आफ्नो पाङ्ग्रा घुमायो ।

    जेठ ७ गतेको साँझ उक्त गाडीले हामीलाई शशिराम कँडेलज्यूको घरमा ल्याइपुर्‍यायो । थकाइ र गर्मिले जिउ गलेको थियो । शशिरामज्यूको बुढाबुढी हाम्रो टिमका लागि खाना पकाउन कस्सिनुभयो । उहाँको घरमा खानेपानीको हल्का समस्या रहेछ । उहाँलाई घरको अन्य कामको चटारो पनि रहेछ । त्यसैले साँझपख खाना पकाउने काममा हामी सबै जुट्यौँ । कलाकार भाइबहिनीहरूले तरकारी केलाउन थाले । मेरो दालभात पकाउने काम भयो । खाना तयार भइसकेपछि घरबेटीको छतमा बसेर पूर्णबहादुर सर र मैले त्यहाँ उपस्थित सबैलाई पालैपालो सैद्धान्तिक प्रशिक्षण दिने काम गर्‍यौँ अनि रमाइलो गर्दै साँझको खाना खायौँ ।

    साँझको खानापश्चात शशिरामज्यूले हामीलाई विभिन्न ठाउँमा सुत्ने व्यवस्था मिलाइदिनु भयो । मेरो भने आजको सुताइ पनि सन्तोषजनक भएन । सुरुमा म कलाकार भाइहरूसँग माथिल्लो गोठको बार्दलीमा गएर सुतिरहेको थिएँ । “यहाँ अरूलाई सुताउनुपर्ने भयो, तपाईं तल जानुपर्ने भयो” भन्दै मलाई उठाइयो । घोर निद्रामा परेको म उठेर आँखा मिच्दै तल्लो घरको बार्दलीमा पुगे । त्यहाँ पूर्ण सर, पिनु थापा, कटक शाहीलगायतका साथीहरू सुतिरहनुभएको थियो । म पूर्ण सरको छेउमा गएर पल्टिए । त्यहाँ भर्खर मात्रै आँखा चिम्म हुन थालेको थियो, एक्कासि ठुलो हुरीबतास चल्यो । हामीलाई त्यहाँबाट पनि उठेर भाग्नुपर्ने भयो । हामी सबै उठेर बार्दलीबाट भित्र कोठामा गएर सुत्यौँ । त्यसपछि निद्रा खासै लागेन । यस्तै गरेर त्यो रात बित्यो ।

    अर्को दिन बिहानै दुलालथाई गएर सांस्कृतिक प्रस्तुति देखायौँ । गर्मीको पनि कति कुरा गर्नु ? यस्तै गर्मीबिचमा विष्णुबहादुर शाहीले आफ्नो घरमा हाम्रा लागि खानाको जोहो गर्नुभयो ।

    त्यसै दिन हाम्रो टिम सुर्खेत बास आयो । पछिल्लो दिन सुर्खेत बजारमा कर्णाली सांस्कृतिक अभियानको कार्यक्रम गरेपश्चात साँझपख चित्रबहादुर केसी अध्ययन प्रतिष्ठानको सभाहलमा जम्मा भएर कर्णाली सांस्कृतिक अभियान कार्यक्रम–२०८१ को पहिलो चरणको कार्यक्रम समापन गर्‍यौँ ।

    सुरुमा यो कार्यक्रम हुन्छ कि हुन्न, चलाउन सकिन्छ कि सकिन्न भन्ने असमञ्जसमा हामीलाई निकै छट्पटाहट भयो । यसै छट्पटाहटको बिचबाट हामीलाई अगाडि बढ्नुपरेको थियो । आँट गरेर हामी केही साथीहरू अभियानमा सहभागी भयौँ । वास्तवमा अभियानमा सहभागी हामी सबैका लागि यो एउटा सङ्घर्षको अभ्यास पनि थियो ।

    यस्ता अभ्यास हामीले हजारौँ गर्न सक्नुपर्छ । यस्ता अभ्यास हामी जति धेरै गर्न सक्छौँ, त्यति धेरै हामी परिपक्व र अनुभवी बन्न सक्छौँ । दुःखकष्ट र कठिनाइ झेल्न सक्ने क्रान्तिकारी तागत बटुल्न सक्छौँ । ‘सकिन्न’ भन्ने हीनताबोधको मैलो पखालेर ‘सकिन्छ’ भन्ने आत्मविश्वास र हिम्मत बोक्न सक्यौँ भने संसार बदल्ने शक्ति हाम्रै पाखुरामा छ ।

    यसपटकको कर्णाली सांस्कृतिक अभियान पनि हामीले ‘सकिन्छ’ भन्ने आत्मविश्वासका साथ सुरु गरेका थियौँ र गर्‍यौँ पनि । पार्टी र क्रान्तिप्रति गहिरो आस्था बोकेका थुप्रै साथीको सामूहिक शक्तिले अन्ततः जेठमासको चर्को धुपलाई पनि पराजित गरेरै छाड्यो र कर्णाली सांस्कृतिक अभियानको जित भयो । यदि साथीहरूको समस्या बिचमा अल्मलिन थालेको भए अर्थात् ‘सकिन्न’ भन्ने हीनताबोध लिएर बसेको भए हामी बसेको बस्यै हुने थियौँ होला ।

    यो ऐतिहासिक अभियानमा धेरै जनसमुदायले पसिना मिसाएका छन् । राष्ट्रिय जनमोर्चा सम्बद्ध स्थानीय नेताकार्यकर्ताले योगदान दिएका छन् । कार्यक्रमप्रति चिन्ता र चासो राख्दैे राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासीज्यूले बेलाबेलामा सल्लाह सुझाव र दिनुभएको थियो । यो कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान सुर्खेतका करिब पन्ध्र जना कलाकारले उल्लेखनीय योगदान दिएका छन् । रक्तिमका नृत्य प्रशिक्षक विजय घर्ती, अखिल नेपाल जनजाति सम्मेलनका पूर्व केन्द्रीय सदस्य पिनु थापा, अखिल नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष प्रेमबहादुर ठाडा, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका सदस्य कटकबहादुर शाही, राष्ट्रिय जनमोर्चा कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाहीलगायतका साथीहरू कार्यक्रम अवधिभर खट्नु भयो । आंशिक रूपमा खट्ने अरू पनि धेरै साथी हुनुहुन्थ्यो ।

    यसरी कर्णाली सांस्कृतिक अभियान कार्यक्रमका सम्पूर्ण सहयात्री साथीका बहुरङ्गी तस्बिर आँखामा सजाउँदै म भेरी नदीको किनारैकिनार मध्यपहाडी राजमार्ग भेटाउन २०८१ जेठ १० गतेका दिन सुर्खेत जिल्लाको सुन्दर फाँटबाट बाहिरिएँ ।

    सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.