समष्टि बुढा ##
प्रगतिशील लेखक सङ्घको राष्ट्रिय परिषद् बैठक र अन्तर्राष्ट्रिय काव्यसङ्गोष्ठी २०८१ सालको जेठ महिनामा हुने सूचना आएदेखि नै यो महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुनका लागि मेरो मनमा तीव्र इच्छा जागृत भइरहेको थियो । यसै क्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष समीर सिंहले पनि यो कार्यक्रममा छुट्नुहुँदैन भनी फेसबुक म्यासेन्जरमार्फत सूचना दिएर ममा अझ बढी उत्साह थपिदिनुभयो ।
प्रलेसको कार्यक्रम, त्यसैमाथि नेपालको प्रख्यात पर्यटकीय स्थान इलाम जिल्लाको श्रीअन्तुडाँडामा हुने भनेपछि मन त्यसै खुसी थियो । घरमा बुबाआमासँग सल्लाह गरेर म यात्राका लागि तयार भएँ ।
काठमाडौँबाट जाने सम्पूर्ण टोली जेठ १० गते बिहान ५ बजेभित्र कोटेश्वरमा भेट हुने सल्लाह भएको थियो । म साँझबाट नै झोला तयार गरेर बसेँ । मेरा लागि यो नयाँ अनुभूति थियो ।
१० गते बिहानै समीर सरसँग फोन सम्पर्क गर्दै म कोटेश्वर पुगेँ । त्यहाँ पुगेर म इलाम जानका लागि तयारी अवस्थामा राखिएको गाडीमा चढेँ । गाडी चढेपछि यताउता नजर घुमाएर हेरेँ । त्यहाँ समीर सरबाहेक सबै अनुहार मेरा लागि नयाँ थिए ।
सबै जना भेला भइसकेपछि हामी अठार जनाको टोली काठमाडौँबाट इलामका लागि प्रस्थान गर्यौँ । बिस्तारै गाडीले गति लिँदै थियो । नयाँ ठाउँको यात्रा भएकाले मनमा अनेकौँ कौतुहलता सिर्जिरहेको थियो । नयाँ ठाउँको अनुभूति सँगाल्ने अवसर मिलेकोमा एकातिर म प्रफुल्लि मुद्रामा थिएँ भने अर्कोतर्फ म चुपचाप थिएँ । म चुपचाप किन थिएँ भने त्यहाँ प्रायः सबै पाको व्यक्तिहरू हुनुहुन्थ्यो, ती पनि सबै अपरिचित र नयाँ । उहाँहरूको अगाडि म भर्खरकी आलोकाँचो नै थिएँ । त्यसैले बोल्नु पनि के बोल्नु ? पछि क्रमशः एकार्कासँग विस्तारै सबैमाझ परिचय हुँदै गयो ।

जे होस्, यो यात्रा मेरा लागि रोचक बन्दै जान थाल्यो । मेरो उमेर समूहमा मबाहेक अरू कोही नहुनु पनि एउटा रोचक पक्ष नै थियो । सायद म सबैभन्दा कम उमेरको भएकाले पनि हुनुपर्छ, पाका र अग्रज सरम्याडमका हरेक कुराकानी र प्रस्तुतिमा मेरो ध्यान आकर्षित भइरहन्थ्यो । अग्रज सरम्याडमले विचारमूलक खालका र सुनौँ सुनौँ लाग्ने ज्ञानगुनका कुरा गर्दै रमाइलो वातावरण बनाइराख्नु भएको थियो ।
हामी चढेको बस कहिले घुम्ती, कहिले उकालो, कहिले ओरालो, कहिले गर्मी, कहिले कोशीको तिरैतिर हुँदै निरन्तर अगाडि बढिरह्यो । म भने कहिले अग्रजका कुरा सुन्दै त कहिले झ्यालबाहिर आँखाले पुग्ने ठाउँसम्मका नवीन र सुन्दर दृष्य अवलोकन गर्दै हराइरहन्थेँ ।
अन्तमा हामी करिब करिब रातिको ९ बजेतिर इलामको श्रीअन्तु डाँडामा पुग्यौँ । त्यहाँ हाम्रा लागि होमस्टेमा बस्ने व्यवस्था रहेछ ।

दिनभरिको लामो यात्राको थकाइले राति राम्रो निद्रा पर्यो । ११ गते मोबाइलको घन्टीले मात्रै ब्युझिन पुगेँ । कार्यक्रममा आउनुभएका सबै पाहुनाहरू श्रीअन्तुडाँडामा रहेको भ्युटावरमा सूर्योदय हेर्नका लागि जाँदै हुनुहुँदो रहेछ । म पनि हतार हतार गर्दै हातमुख धोएर बाहिर निस्किए । बाहिर मिर्मिरे उज्यालो भइसकेको थियो । समिर सर मलाई बाहिर कुरेर बसिराख्नु भएको रहेछ । त्यसपछि हामी सँगै उकालो लाग्यौं । रुखका बिचमा रहेको बाटो एकदम सुन्दर थियो । भ्युटावर जानका लागि घोडसवारी पनि रहेछ तर हामी हिँड्दै वरपरको दृश्य हेर्दै अघि बढ्यौँ । बाटोमा अरू मान्छे पनि तलमाथि गर्दै थिए, केही भेटाउन हतार भए जसरी ।

हामी भ्युटावर पनि पुग्नु र सूर्य पनि उडाउनु एकै समयमा भयो । अलिकति ढिला भएको भए त्यो मनमोहक दृश्य हेर्न छुट्ने रहेछ तर त्यस्तो भएन । यो मेरा लागि एउटा सुनौलो बिहानीभन्दा पनि कम थिएन । त्यसपछि सबै जना मिली फोटा खिचेर नजिकैको पसलमा बसी भक्का पनि खायौँ ।
भक्का मैले पहिलोपटक खाएको थिएँ । चामलबाट बनेको त्यो भक्का पातमा राखेर हामीलाई दिइएको थियो जुन एकदमै फरक स्वादको थियो । त्यसपछि हामी गफ गर्दै होमस्टेतर्फ फर्कियौँ ।

परिषद् बैठक दिउँसोको समयमा सुरु भयो । बैठकमा विभिन्न विषयमा छलफल भए । विभिन्न विषयमा आलोचना पनि भए तर अन्तिममा हामी सबै प्रगतिशील लेखकहरू समाज परिवर्तनका लागि सदैव एकताबद्ध भई अझ धेरै सक्रिय हुने निष्कर्षमा पुग्यौँ ।
बैठक सकिएपछि हामी बसेको होमस्टेमाथिको चियाबगान हेर्न म माथितिर लागेँ । अत्यन्तै सुन्दर दृश्य, फरक फरक जराबाट चियाका बोट पलाएका भए पनि माथि एकनासले झ्याङ्गिएका थिए, जसले गर्दा चियाको बगान अझ सुन्दर देखिएको थियो । यो चियाको बगान हेर्दै गर्दा मैले कल्पना गरेँ, हामी यो यात्रामा सरिक प्रगतिशील लेखकहरू ठिक यस्तै चियाको बगान जस्तै छौँ । हामी फरक फरक बोटबाट उम्रिएका छौँ तैपनि सबै मिलेर प्रगतिशील लेखक सङ्घ नामको सुन्दर बगान तयार पारेका छौँ ।
घाम अस्ताउँदै गर्दा सिर्सिर बतास लाग्यो । उक्त सिर्सिरे बतासले त्यो ठाउँमा सुनमा सुगन्ध मिसाउँदै ल्यायो । एकक्षण भए पनि त्यो सिर्सिरे बतासमा मन भुलाउँदै म तल फर्किएँ ।
आजको दिन त्यहाँ आउनुभएको सिर्जना दिदीको जन्मदिन परेकाले साँझ शुभकामना आदानप्रदान कार्यक्रम राखिएको रहेछ । सबै जनाले आफ्नो रचना प्रस्तुत गर्दै शुभकामनाका माला गाँसिदिनुभयो । मैले पनि एउटा कविता सुनाउने मौका पाएँ । यसरी आजको सबै कार्यक्रम सकियो । भोलि फेरि बिहानै श्रीअन्तुडाँडाको अलि तल रहेको पोखरीमा जाने सल्लाह भयो । त्यो पोखरी कस्तो होला भन्ने कौतुहलतासहित म आनन्दको निद्रामा पुगेँ ।

१२ गते बिहानै नयाँ ठाउँ हेर्ने उत्साहले हो कि आफै निद्रा खुल्यो । त्यसपछि तयार भएर हामी पोखरीतिर लाग्यौँ । पोखरी वरपरको शान्त र रमणीय दृश्यले हिजो बेलुका सुत्दै गर्दा उन्पन्न भएको मेरो मनको कौतुहलता मेटिदियो । केही समयपछि त्यो सुन्दर पोखरीलाई त्यहीँ छाडेर हामी त्यहाँबाट फर्कियौँ । यो मेरा लागि अर्को सुनौलो अवसर थियो । बिहानको सुरुआटमा नै यसरी प्रकृतिसँग रम्न पाउँदा मनमा उज्यालो छाएको महसुस भयो ।
करिब करिब बिहान ८ बजेबाट अन्तर्राष्ट्रिय काव्यसङ्गोष्ठी सुरु भयो । कार्यक्रमको पहिलो भागमा कार्यपत्र प्रस्तुत भए । त्यसैगरी, दोस्रो भागमा सबै जनाले आफ्नो रचना प्रस्तुत गर्नुभयो । मैले पनि काठमाडौँबाट पोको पारेर ल्याएको कविता वाचन गर्ने अवसर पाएँ । कार्यक्रमको बिचमा इलामका स्थानीयले लाखेनाच र नेवारी नाचको प्रस्तुति पनि दिनुभएको थियो । काठमाडौँमा हेरेको नेवारी नाचभन्दा त्यहाँको अलि फरक थियो । यो पनि मेरा लागि नयाँ अनुभव नै भयो । यसरी यो दिन पनि एकदमै फलदायी भयो ।
कार्यक्रमका लागि आउनुभएका कतिपय साहित्यकारहरू १२ गते नै फर्किसक्नु भएको थियो तर हामी काठमाडौँबाट आएको टोलीले दार्जलिङसम्म भ्रमण गर्ने सल्लाह गरेका थियौँ । सोहीअनुरूप हामी १४ जनाको टोली १३ गते बिहानै दार्जलिङका लागि यात्रा सुरु गर्यौँ ।

नेपालको सिमानाभन्दा बाहिरको यो मेरो पहिलो यात्रा थियो । त्यसैले पनि यो मेरो जीवनका लागि नौलो अनुभूति रह्यो ।
हामी गाडीबाट रोकिँदै बिचबिचमा ठाउँहरू अवलोकन गर्दे, फोटा लिँदै अगाडि बढ्दै गर्यौँ । करिब करिब ९ बजे पुगेको दार्जिलिङमा हामी करिब दुई घन्टा लामो जाममा परेका थियौँ तर पनि पहाडमा चिटिक्क मिलेका घरले हामी सबैको मन लोभ्याइदिएको थियो ।
बेलाबेलामा ओहोरदोहोर गर्ने रेल पनि मैले जीवनमा पहिलोपटक देख्न पाएँ । यस्तो लामो रेल चढ्न पाए कस्तो हुन्थ्यो होला ? मनमा प्रश्न उठेको थियो तर हाम्रो रेल चढ्ने कार्यक्रम नभएकाले मनमा उठेको प्रश्न मनमै रहिरह्यो ।

दार्जिलिङ निकै नै सुन्दर थियो, झन्डै झन्डै मेरै जन्मस्थान मुसिकोट खलङ्गा जस्तै । अलिकति सिँगार्न सक्ने हो भने रुकुम पश्चिमको मुसिकोट क्षेत्र पनि दार्जिलिङभन्दा कम छैन । यसरी दार्जिलिङ हेर्दै गर्दा त्यो ठाउँले मेरो रुकुम पश्चिमको मुसिकोट खलङ्गालाई सम्झाइदिएको थियो ।
जे होस्, मलाई दार्जिलिङको अरू सबै सुन्दर लाग्यो तर त्यहाँको सडक अलि अव्यवस्थित लाग्यो । साँघुरो रोड, त्यसै माथि अव्यवस्थित व्यापार र ट्राफिकले गर्दा त्यहाँ आउने पर्यटकले दुःख पाइरहेको मैले महसुस गरे । हामीलाई बास बस्नका लागि झापा फर्किनुथियो । त्यसैले हामी धेरै नअल्मलिकन भानुचोक, चियाबारी, बतासियालगायतका ठाउँ घुमेर फर्किएका थियौँ ।
झापामा हामीसँगै काठमाडौँबाट जानुभएका केशु मेडमको घरमा बसेर हामी जेठ १४ गते काठमाडौँतर्फ लाग्यौँ ।
यो यात्राको सुरुवातमा नयाँ लागेका पाका अनुहार अहिले मेरो लागि परिचित भइसकेका थिए । यसरी यो यात्राबाट फर्किदै गर्दा मनमा छुट्टै आनन्द लागिरहेको थियो । पाका मान्छेसँगको यो सहयात्रा मेरो लागि सबैभन्दा मूल्यवान अवसर थियो । “आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको” भनेर पहिलेका मान्छेले त्यसै भनेका रहेनछन् ।
यसपटकको पाका मान्छेसँगको सङ्गतले गर्दा धेरै कुरा जान्न, सुन्न र अनुभव गर्ने अवसर मैले पाएँ । त्यसैमाथि सबैले मप्रति देखाउनु भएको मायाले अझै ममा ऊर्जा थपिदियो । निरन्तर अघि बढ्ने हौसला पनि भयो । प्रगतिशील भावसँग सुन्दर प्राकृतिक दृष्यमिश्रित यो यात्रा मेरो जीवनकै सुन्दर र अविस्मरणीय यात्रा भयो ।
