काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सरकारले प्रस्तुत गरेको आ.व. २०८१–८२ को नीति तथा कार्यक्रमको विरोध गर्दै त्यससम्बन्धी छलफललाई बहिष्कार गरेको छ ।
२०८१ जेठ १३ गते आइतबार प्रतिनिधि सभा बैठकमा राजमो अध्यक्ष चित्रबहादुर केसीले विरोध व्यक्त गर्दै छलफल बहिष्कार गर्नुभएको हो ।
अध्यक्ष केसीले मन्तव्य राख्दै भन्नुभएको थियो– “सहकारीलाई ठगी गरेर मुलुकलाई बर्बाद पार्नेहरूलाई सत्तापक्षले जोगाउन जुन खालको षड्यन्त्र गरिराखेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो† गणतन्त्रमाथिको आक्रमण हो । त्यसकारण सत्ताधारीको यो जुन दुर्दशा छ, यसमा राष्ट्रिय जनमोर्चाले घोर विरोध गर्दछ र यो नीति तथा कार्यक्रमलाई समर्थन गर्दैन, विरोध गर्दछ ।”
सभामुख देवराज घिमिरेले राजमो अध्यक्ष केसीको छलफल बहिष्कार प्रस्तावलाई जबर्जस्ती मतदानमा लगेको घोषणा गरेका थिए तर अध्यक्ष केसीले उक्त मतदानमा भाग लिनुभएको थिएन ।
‘मैले सरकारको नीति तथा कार्यक्रमलाई बहिष्कार गरेको हुँ’ यस सम्बन्धमा अध्यक्ष केसीले भन्नुभयो– ‘म मतदानमा सहभागी भइनँ, सभामुखले जबर्जस्ती प्रक्रियामा लगेका हुन् ।’
संशोधन प्रस्ताव राख्नेलाई बोल्न रोस्ट्रममै बोलाइने र मतदान हुँदा आफ्नो पक्षमा ‘हुन्छ’ भन्ने गरिने स्मरण जनाउँदै उहाँले युगदर्शनसित भन्नुभयो– ‘यत्रो सहकारी ठगलाई बचाउने सरकारको नीति तथा कार्यक्रमप्रति हाम्रो विरोध छँदै छ, राष्ट्रिय जनमोर्चाले त्यो छलफलमा सहभागी भएन । तपाईंले देख्नुभयो नि, मैले मतदानमा ‘हुन्छ’ पनि भनिनँ ।’
उहाँले जोड दिएर भन्नुभयो– ‘आजको सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय जनमोर्चाले बहिष्कार गरेको हो ।’
(नोट : पहिले प्रकाशित यस समाचारलाई थप स्प्ष्ट पारिएको छ ।)