वीरेन्द्रनगर । सुर्खेतमा एक सय पचपन्नौँ लेनिन जयन्ती तथा छयहत्तरौँ नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाइएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतिथ्यमा २०८० वैशाख १० गते सोमबार सुर्खेतस्थित राजमोको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै उपाध्यक्ष शर्माले कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताउँदै त्यसमा रूपान्तरण गर्न नेकपा (मसाल) ले तीन अभियान सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का केदार कँडेल र खडक केसी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र्र) का खडानन्द लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मोहन बडुवाल, नेपाल कम्युनिस्ट पार्टीका तुलाराम सी र प्रगतिशील लेखक सङ्घका रगवीर सुनारले मन्तव्य राख्नुभएको थियो ।

राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी, राजमो कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर शाही, राजमो जिल्ला अध्यक्ष गोविन्दप्रसाद सुवेदी, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिव भानुभक्त भारती, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हीरालाल नेपाली, प्रगतिशील साहित्यकार पृथ्वीबहादुर सिंहसमेतको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा अवधारणापत्र अध्यक्षता ग्रहण गर्नुभएका नेपाल कम्युनिस्ट पार्टी (मसाल) जिल्ला प्रवक्ता मोहन थापामगरले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन लालबहादुर नेपाली गर्नुभएको थियो ।
