• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

रजहर प्राकृतिक चिकित्सालयमा आठ दिन


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • कृष्ण अधिकारी##

    Advertisement

    गत पुस २८ गते नवलपुर जिल्लामा सङ्गठनको काम सकेर साँझ बास बस्न रजहर प्राकृतिक चिकित्सालयमा पुगे । त्यो दिन साँझ परिसकेकोले उपचार हुने कुरा भएन तर उपचारका लागि भने आजै भर्ना भएर उपचार पुस्तिका प्राप्त गरेँ । बस्नका लागि ११ नं. कोठा निश्चित भयो । खानाका लागि चार/पाँच दिनलाई पुग्ने गरी १,३५० रुपियाँको कुपन प्राप्त गरेँ । त्यहाँ खानाका लागि बेलुका ५ बजे नै मेस खुल्ने र ६.३० बजेसम्म बन्द पनि भइसक्ने हुनाले मैले आफ्नो झोला कोठामा राखेर मेसतर्फ लागेँ ।

    त्यहाँको खाना एक प्रकारको औषधी नै हो भन्ने मान्यताअनुसार नै खानाको प्रकार तयार गरिने रहेछ । बेलुको खानामा दुई थरी तरकारी, रोटी, दलिया वा भात, अचार र सलाद । बिहान १० बजेको खानामा दाल र साग थप हुने रहेछ । दुध खान मिल्नेका लागि बिहानैबेलुका चिकित्सालयमै पालिएका गाईको स्वादिलो दुध पाइने रहेछ । एक छाकका लागि बढीमा १०० रुपियाँको कुपनले पुग्दो रहेछ।

    पुस २९ गते बिहान ७ बजे एक गिलास जमराको जुस पिएर दैनिकी सुरु भयो । बिहान ७:३० बजे नै डाक्टर बिरामीको चेकजाँचका लागि आइपुग्दा रहेछन् । प्राकृतिक उपचारतर्फ निर्देशक डा. विनोद पौडेल र सहायक निर्देशक डा. आजाद पुरीले र फिजियोथेरापीतर्फ डा. सागर खनालले हेर्नुहुने रहेछ । त्यस दिन डा. आजाद पुरीले मेरो जाँच गर्नुभयो ।

    म योभन्दा अगाडि पनि दुईपटक यहाँ आइसकेको थिएँ तर तीन/चार दिनभन्दा बढी बसेको थिइनँ । यसपटक भने ढाड र खुट्टाको दुखाइ अलि बढी भएर उपचारका लागि आएको थिएँ ।

    यहाँ आएर जाँच गर्दा ब्लडप्रेसर पनि बढी नै अर्थात् १००/१७० देखियो । डाक्टरले प्रेसर हटाउनका लागि बिहान नियमित लौकाको जुस पिउन सिफारिस गर्नुभयो । साथै उपचारका लागि बिहानको पहरका लागि पेटमा नर्मल माटोपट्टी, आँखापट्टी, एनिमा, पत्रपोटली र तातो पानीमा खुट्टा डुबाउने उपचार । दिउँसोको पहरका लागि कम्मरमा तातो माटोसेक, हटवाटर ब्यागले ढाडसेक र कम्मरमा स्टिमसेकका लागि उपचार सिफारिस भयो ।

    यहाँको उपचारपद्धति सुरुमा पत्यारै नलाग्ने खालको देखिन्छ । लगभग सबै प्रकारका बिरामीको लागि उस्तै उस्तै प्रकारको उपचार पद्धति हुन्छ । म पनि आठ दिन बस्दासम्म पनि पहिलो दिनकै जस्तै उपचार दैनिक दोहोराइयो । थप उपचारमा पूर्ण शरीर मालिस, कमरपट्टी, भाइभर मसाज, पाउडर मसाज थप भए । स्टिम बाथ र फिजियोथेरापीको उपचार मैले लिन पाइनँ ।

    विशेषत: पञ्चतत्त्व (पृथ्वी, जल, वायु, अग्नि र आकाश) ले उपचार गर्ने पद्धतिलाई नै प्राकृतिक उपचार पद्धति भनिँदो रहेछ । रोगको कारण शरीरमा फोहोर जम्मा भएर हो; फोहोर सफा गर्न सबैका लागि एकै प्रकारको उपचार पद्धतिले मदत गर्दछ भन्ने विश्वास गरिँदो रहेछ ।

    प्राकृतिक उपचारका विधि
    प्राकृतिक उपचारमा आउने महिला र पुरुषका लागि यहाँ छुट्टाछुट्टै उपचार कक्ष रहेका छन् । उपचार कक्षमा ठुलो कराहीमा माटो पकाइरहेको, किटलीमा पानी उम्लिरहेको, माटोको कराहीमा थोरै तेल राखेर एउटा कपडाको टालोमा विभिन्न जडिबुटी राखेको पोको सेकाइरहेको देख्न सकिन्छ ।

    १. नर्मल माटोपट्टी र आँखापट्टी
    झन्डै एक इन्च मोटो, १२ इन्च लम्बाइ र छ इन्च चौडाइको नर्मल माटोपट्टी बनाएर पेटमा लगाइन्छ । त्यस्तै, आँखामा पनि सानो माटोपट्टी लगाइन्छ । यो विधि आँखाका लागि १० मिनेटको र पेटका लागि २० मिनेटको हुन्छ ।

    २. एनिमा
    यो पेट सफा गर्ने विधि हो । प्राय: नर्मल माटोपट्टीपछि एनिमा लगाइन्छ । लगभग एक लिटरजति पानी एनिमा पेटमा राखेर भित्तामा झुन्ड्याइन्छ । बिरामीलाई बेडमा सुताइन्छ र एनिमा पेटको पानी पाइपद्वारा गुद्द्वारमा छिराइन्छ । पाइप गुद्द्वारमा छिराएपछि पानी क्रमश: पेटमा पास हुन्छ । हल्का पेट दुखे जस्तो बिरामीले महसुस गर्दै जान्छ । पानी पूरै पेटमा पास भएपछि बिरामी तुरुन्त ट्वाइलेट जानुपर्ने अवस्था हुन्छ । कब्जियत भएर दिसा नलागेकालाई पनि यसले दिसा खुलाउन मदत गर्दछ । पेटमा पास भएको पानीसहितको दिसा लागेपछि पेट निकै हलुका महसुस हुन्छ ।

    ३. हट फुटपाथ
    यो विधि तातोपानीमा खुट्टा डुबाउने विधि हो । प्रेसर, खुट्टादुखाइ, प्यारालाइसिस आदिका बिरामीलाई प्राय: नियमित गराइन्छ । कोही कोहीलाई पहिला तातोपानीमा र फेरि चिसो पानीमा दोहोराएर पनि गराइन्छ । यो विधि २० मिनेटको हुन्छ ।

    ३. तातो माटो सेक
    कराहीमा पाकिरहेको माटोलाई अगाडि बनाएको माटोपट्टी जस्तै एउटा सफा टालोमा तातो माटोको पट्टी बनाइन्छ र सुतेर ढाडमा लगाइन्छ । यो प्राय: ढाड दुख्ने बिरामीका लागि प्रयोग हुन्छ । यो निकै पोल्ने हुँदा केही बाक्लो कपडा पट्टीमा राखेर सेक लिइन्छ । यो पनि २० मिनेटको हुन्छ ।

    ४. पत्रपोटिली
    विभिन्न जडिबुटी मिश्रित कपडाको पोको बनाएर उक्त पोको थोरै तेल राखेर तातिरहेको माटे कराहीमा तताउँदै शरीरको विशेषत: दुख्ने भागलाई सेकाइन्छ । ढाडका बिरामी, घुँडा दुख्ने बिरामी, प्यारालाइसिसका बिरामीलाई यो विधि प्रयोग गरिन्छ ।

    ५. भाइब्रो मसाज
    सानो हाते भाइब्रो मेसिनमा विद्युत् प्रवाह गराई शरीरको दुखाइ भएको भागलाई भाइब्रो मालिस गरिन्छ । उक्त भागले रिल्याक्स महसुस गर्दछ । दुखाइ कम गर्न र वजन घटाउन पनि यसले मदत गर्दछ ।

    ६. पूर्ण शरीर मालिस
    यो शरीरको तेल मालिस हो । अनुभवी व्यक्तिबाट शरीरका एक एक अङ्गमा क्रमश: मालिस गरिन्छ । कसैकसैलाई हात वा खुट्टामा बढी नै दुखाइ छ भने ती अङ्गमा दैनिकजसो पनि मालिस हुन्छ । पूर्ण शरीर मालिस भने हप्तामा बढीमा दुईपटकसम्म गरिन्छ । यसले शरीरमा स्फूर्ति ल्याउँछ ।

    ७. पाउडर मसाज
    यो पनि केही ठुलो भाइब्रो मेसिनमा विद्युत् प्रवाह गराएर शरीरमा पाउडर छर्किंदै शरीरको पूर्ण भाइब्रो मालिस गर्ने विधि हो । यसले शरीरका भित्री नशा र अङ्गलाई भाइब्रो दिन्छ । शरीरले रिल्याक्स महसुस गर्दछ । विशेषत: प्यारालाइसिसका बिरामी, ढाड दुख्ने बिरामी र मोटोपना घटाउन पनि यसले मदत गर्दछ ।

    ८. कम्मरपट्टी, छातीपट्टी, खुट्टा र हातपट्टी
    शरीरका विभिन्न भागको दुखाइअनुसार यो पट्टी बाँधिन्छ । एक बित्ता चौडाइ र करिब दुई मिटर लम्बाइको उनको पट्टी लगलग त्यही बराबरको कोराको पट्टी हुन्छ । कोराको पट्टीलाई पानीमा भिजाएर निचोरेर पहिला बाँधिन्छ । त्यसपछि उनको पट्टी बाँधिन्छ । यसले शरीरको खराब रगतलाई शुद्ध पार्ने विश्वास गरिन्छ । यो पट्टी बाँधेर आधा घण्टासम्म आराम गर्नुपर्छ । यसले रक्त शुद्ध गराई शरीरको दुखाइ हल्का बनाउँछ ।

    ९. जलनेती
    हल्का नुन राखेर मनतातो पानीलाई जलनेती जगबाट पानी एक नाकबाट प्रवेश गराई अर्को नाकबाट निकाल्ने विधि जलनेती हो । कोरोनाका बेला लगभग सबै बिरामीलाई यो विधि प्रयोग गरेको बताइन्छ । कोरोना कालमा यो अस्पतालले सयौँ बिरामीलाई शत्प्रतिशत निको पारेको दाबी गरिएको छ । जलनेतीको प्रयोगले पिनास र रुघा निखार्न मदत गर्छ ।

    १०. पूर्ण शरीरमा माटोलेप
    यो शरीरभरि माटो दल्ने विधि हो । जाडो याममा यसको प्रयोग हुँदैन । गर्मी याममा शरीरभरि माटो दलेर आधा घण्टासम्म बिरामीलाई घाम तपाइन्छ । यसको प्रयोगले शरीर चिलाउने, शरीरको एलर्जी, वजन घटाउन आदिलाई मदत गर्छ । यो विधिले शरीरमा चिल्लोपन ल्याइदिन्छ ।

    १०. ठुलो आन्द्रा सफा गर्ने विधि
    आँत वा पेटमा रोकावटको स्थिति पैदा भई बिमार सञ्चित हुन नदिन चिकित्सकको निगरानीमा विशेष तयारीपछि मलद्वारबाट रबरको नल प्रवेश गराई मेसिनबाट ठुलो आन्द्रा सफा गर्ने पद्धतिको पनि यहाँ प्रयोग हुन्छ । यी बाहेक वाष्पस्नान, योगाथेरापी, आहार/उपवास चिकित्सा, फिजियोथेरापी, अकुपञ्चर/अकुप्रेसर आदि विधिको प्रयोग यहाँ हुन्छ ।

    पेटका बिरामी, ढाड, कम्मर, गर्धन दुख्ने, एलर्जी, दम, पिनास, बाथ, युरिक एसिड बढेका, हाड खिइएको, नशा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, छालाका समस्या भएका र अत्यधिक मोटोपना भएकाले यहाँबाट अत्यधिक स्वास्थ्यलाभ लिइरहेको देखिन्छ ।

    एक महिनापहिले ढाडको समस्याले ह्विलचेयरको सहारामा चल्नुपरेको बताउने ३६ वर्षीय रौतहटका मोहनप्रसाद दाहाल र उस्तै ढाडको समस्याले एक महिना पहिले ह्विलचेयरमै आएकी २९ वर्षीय स्याङजाकी शान्ति काफ्ले अहिले आफै हिडेर उपचार कक्षमा जान सक्ने भएकाले आफूहरू उपचारबाट उत्साहित भएको बताउँछन् ।

    बिरामीमैत्री वातावरण
    यो चिकित्सालयको सबभन्दा महत्त्वपूर्ण विशेषता भनेको यहाँका हरेक तहका कर्मचारीबाट बिरामीमैत्री वातावरण प्राप्त गर्नु हो ।

    डाक्टरले बिरामीसँग गर्ने परामर्श निकै सरल र मैत्रीपूर्ण । उपचारमा खटिने कर्मचारीमा पनि सहयोगी भावना, बिरामीलाई सजिलोसँग उपचार गराउन सक्दो कोसिस गर्ने व्यवहार । मेसमा काम गर्ने दिदीबहिनीमा पनि मिठास बोली । आहा ! कति राम्रो घरायसी वातावरण । महिनादिन बिताउँदा पनि हप्ता दिन लागे जस्तो हुने । यहाँभित्रको प्राकृतिक वातावरण पनि अत्यार नलाग्ने खालको छ ।

    शरीरको सर्भिसिङ गर्न रजहर आउनुपर्छ

    हामीले जसरी घरको सफाइ दैनिक नभए पनि हप्तामा एक दिन गरेकै हुन्छौँ, आफ्ना साधन बाइक, गाडी आदि छ भने नबिग्रेको भए पनि भोलिका दिनमा नबिग्रियोस भनेर तीन/चार महिनामा वर्कसपमा लगेर सर्भिसिङ गराउँछौँ तर आफ्नो महत्त्वपूर्ण शरीरलाई भोलिका दिनमा स्वस्थ रहोस् भनेर कहिल्यै सोच्दैनौँ ।

    अत: गम्भीर बिरामी परेर अस्पताल जानुभन्दा बिरामी नहुँंदै कम्तीमा शरीरलाई वर्ष वा दुई वर्षमा एकपटक शुद्धीकरण गर्न जरुरी रहेछ । यसो गर्नु भनेको शरीरको सर्भिसिङ गर्नु जस्तै रहेछ । मेरो योपटकको आठ दिनको रजहर बसाइले शरीरको हल्का वर्कसपमा लगेर सर्भिसिङ गरे जस्तै अनुभूति भयो ।

     

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.