• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

चितवनको प्रशिक्षण, कपिलवस्तुको भैलो र निरुत्तरित प्रश्न


  •   शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
  • गिरीप्रसाद बुढा ##

    Advertisement

    पहिला जनताबाट सिक्नुपर्छ अनि बल्ल जनतालाई सिकाउन सकिन्छ । जनताबाट हामीले धेरै कुरा सिक्न बाँकी छ । यसका लागि कम्युनिस्ट पार्टीको एक इमानदार कार्यकर्ता बनेर निरन्तर जनताको बिचमा गइरहनुपर्दछ । यसरी निरन्तर जनताको बिचमा गएर पार्टीसङ्गठनको काम गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित हुँदै यसपटक म चितवनमा सञ्चालित रक्तिम सांस्कृतिक अभियानको पाँचदिने प्रशिक्षण कार्यक्रम तथा कपिलवस्तुमा सञ्चालित पाँचदिने देउसीभैलो कार्यक्रममा सहभागी हुने अवसर पाएको थिएँ ।

    नढाँटी भन्ने हो भने दसैँतिहारको बेला मलाई घरमा बस्नुनपरे हुन्थ्यो भन्ने लाग्छ । पुराना संस्कार, रूढिवाद, टिकोटालो, पशुपन्छीको बलि, पूजापाठ, नयाँ लुगा, गरगहना र सम्पत्तिको प्रदर्शन जस्ता करिब पन्चानब्बे प्रतिशत जीवन अनुपयोगी गतिविधि देखेर वाक्क लाग्ने गर्दछ । पारिवारिक सम्बन्ध स्थापित गर्ने, टाढाका आफन्तीका बिच भेटघाट गर्ने जस्ता केही थोरै प्रतिशत सकारात्मक कुरा—जो अरू समयमा पनि हुने गर्दछ—को आवरणमा पन्चानब्बे प्रतिशत सामन्ती र रूढिवादी संस्कृतिसँग सम्बन्धित क्रियाकलापसँग सम्झौता गर्नुपर्ने सामाजिक दबाबको कारण दसैँतिहार मेरा लागि वितृष्णा बन्दै आएको छ ।

    दसैँतिहारको नाममा राज्यले र यहाँका सिङ्गो जनताले करिब महिनादिनको समय निरर्थक यापन गरेको देख्दा साह्रै दु:ख लाग्ने गर्दछ तैपनि तिहारभित्र रहेको देउसीभैलोको संस्कारलाई प्रगतिशील रूपान्तरणका साथ सदुपयोग गर्ने दृष्टिकोणअनुसार नेपालका केही वामपन्थी सङ्गठनले प्रगतिशील तथा जनवादी देउसीभैलो कार्यक्रमको आयोजना गर्दै आएको पाइन्छ ।

    यही मान्यताबमोजिम रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिले चितवनको पाँचदिने प्रशिक्षण लगत्तै यस वर्षको देउसीभैलो कार्यक्रम कपिलवस्तु जिल्लामा सञ्चालन गर्ने निर्णय गरिसकेको थियो । यो निर्णयले यसपटकको तिहारमा मलाई घर छोड्ने राम्रो वातावरण मिलेको थियो ।

    देउसीभैलोभित्र अनुबन्धित रूढिवाद, विकृति, विसङ्गतिलाई पन्छाएर प्रगतिशील देउसीभैलो कार्यक्रम सञ्चालन गर्दा प्रगतिशील विचार जनताको घरदैलोसम्म पुग्ने, सांस्कृतिक प्रस्तुतिमार्फत नयाँ पुस्तामा क्रान्तिकारी चेतको विकास हुने, सङ्गठनको विकास हुने आदि उपलब्धि हामीले प्राप्त गर्न सक्ने भएकाले तिहारभित्र गरिने प्रगतिशील देउसीभैलोको विशेष महत्त्व रहेको छ । त्यसैले तिहार अवधिभरि कपिलवस्तु जिल्लामा रहने मानसिकताका साथ म यसपटक घरबाट निस्किएको थिएँ ।

    यसै सिलसिलामा एक दिन एक रातको अत्यासलाग्दो रात्रिबसको यात्रामार्फत कात्तिक १३ गते बिहान म चितवनको नामी सहर नारायणघाट बजारमा ओर्लिएँ । विशेष गरी कलाकारको पाँचदिने प्रशिक्षण कार्यक्रममा सैद्धान्तिक प्रशिक्षण दिने प्रशिक्षकको रूपमा म यहाँ आइपुगेको थिएँ । अरूको बुझाइमा म प्रशिक्षकको रूपमा देखिए पनि मेरो भित्री अन्तर्य भने म आफैले केही सिक्ने, अनुभव गर्ने र साङ्गठनिक कार्यमा सक्रिय रहने नैै थियो ।

    एक दिन एक रातको बस यात्रा सकेर ढङ्मगिँदै नारायणघाट बजारमा पाइला राख्दै गर्दा मेरो पहिलो भेट रक्तिमको बागमती प्रदेश समितिका अध्यक्ष देवी शर्मासँग भयो । उहाँ रक्तिमको बागमती प्रदेश समितिका अध्यक्ष हुनुहुन्थ्यो । रक्तिमको प्रदेश कार्यक्रम भएकाले सुरुमा म उहाँको सम्पर्कमा आएको थिएँ । उहाँले मेरा लागि खानाको व्यावस्था आफ्नै घरमा गर्नुभएको रहेछ ।

    दिउँसो राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा गयौँ । त्यहाँ जिल्ला पार्टीको बैठक रहेछ । त्यसैले पनि उक्त कार्यालयमा राजमो नेताहरू डम्बर पुरी, अमरबहादुर क्षेत्री, शालिकराम सापकोटा, यादवविलास पन्थीलगायतका जिल्लाका धेरै कामरेडसँग भेटघाट हुने मौका जुर्‍यो ।

    साँझ कृष्ण केसीको घरमा बास बस्ने सल्लाह भयो । कृष्ण केसीको आफ्नै गाडी रहेछ । गाडी चढाएर साँझपख उहाँले मलाई आफ्नो घर लैजानुभयो । घरअगाडिको गेटमा गाडी रोकेर उहाँले भन्नुभयो– “यै हो मेरो झुपडी ।”

    मैले उहाँले देखाएको घर हेरेँ । उहाँले झुपडी भनेको त्यो घर खासमा झुपडी थिएन । एउटा सुन्दर महल थियो । गाडी, महल साथीको राम्रै व्यवस्था रहेछ—मैले मनमनै सोचेँ ।

    एउटा प्रतिक्रियावादी समाजमा यस्तो हुनु स्वाभाविक नै हो । हामी एउटै सङ्गठनमा रहेका साथीको सबैको अवस्था एकैनास छैन । हामी कोही अलि धनी छौँ । कोही अलि गरिब छौँ । कसैलाई अलि बढी दु:ख छ । कसैलाई अलि बढी सु:ख पनि छ । कसैको पारिवारिक अवस्था अलि कष्टपूर्ण र सङ्घर्षमा गुज्रिरहेको छ त कसैको कम कष्ट र सङ्घर्षमा जीवन बितिरहेको छ ।

    प्रतिक्रियावादी व्यवस्थाको विशेषताअनुसार हामीमा धेरैथोरै आर्थिक असमानता भएता पनि हामी फेरि एउटै उद्देश्यमा आबद्ध छौँ । एउटै सङ्गठनमा काम गरिरहेका छौँ । हामी सबैले मिलेर सकेसम्म सर्वहारावर्गीय सम्बन्ध र चरित्र स्थापित गर्ने बाटोमा अगाडि वढिरहेका छौँ । हाम्रै साथीको बिचमा पनि कोही गरिब भएर पनि सर्वहारा दृष्टिकोणको विकास अलि कम भएको पाइन्छ । कोही अलि धनी भएर पनि सर्वहारा दृष्टिकोणको विकास अलि राम्रो भएको पाइन्छ । त्यसैले यो प्रतिक्रियावादी समाजको घेरा तोडेर सङ्गठित हुँदै गरेको हाम्रो सङ्गठनमा साथीको मूल्याङ्कन उसको निजी सम्पत्तिको आधारमा होइन, उसमा भएको सर्वहारा दृष्टिकोण र चरित्रको आधारमा गर्नुपर्दछ भन्ने लाग्दछ ।

    यो कोणबाट हेर्दा कृष्ण केसी सही मान्छे हुनुहुँदो रहेछ भन्ने लाग्यो । उहाँको त्यो ठुलो घर, उहाँको त्यो गाडी काम गर्दै जाँदा परिस्थितिवश जोडिन पुगेको स्वाभाविक सम्पत्ति थियो ।

    कृष्णजीको घरमा एक रात बिताउँदै गर्दा उहाँको बारेमा मैले के बुझेँ भने उहाँलाई यो महल र गाडीको सुखसुविधाको प्रेमभन्दा उहाँको पार्टी र सङ्गठनप्रतिको प्रेम बढ्ता गाढा रहेछ । परिआउँदा जुनसुकै बेला पनि पार्टीसङ्गठनको लागि अगाडि बढ्न उहाँ तयार बन्नुहुँदो रहेछ ।

    कृष्ण केसीसँगको एक रात बसाइपश्चात कार्यक्रमका लागि तयार पारिएको ब्यानरलगायतका सामग्री बोकेर उहाँकै गाडीमा हामी प्रशिक्षणस्थलमा आइपुग्यौँ ।

    एउटा नयाँ बन्दै गरेको राम्रै भवन रक्तिमको प्रशिक्षणस्थल थियो । अग्लो र ठुलो जिउ भएको एक जना मान्छेले बन्दै गरेको भवनको गेटमा उभिएर हामीलाई स्वागत गर्नुभयो । उहाँ नै त्यो घरको मालिक हुँनुहुदो रहेछ ।

    परिचयको क्रममा उहाँले भन्नुभयो– “मेरो नाम मनोज केसी । यो घरको निर्माण कार्य पूरा भएको छैन । त्यसैले यो प्रशिक्षण कार्यक्रममा केही असुविधा हुन सक्छ तपनि कुनै अप्ठ्यारो नमानेर कार्यक्रम गर्नुहोला । यो घरमा उपलब्ध सामान के चाहिन्छ प्रयोग गर्नुहोला ।”

    यसरी खुला हृदयका साथ रक्तिमको पाँचदिने प्रशिक्षणलाई सिङ्गो घर सुम्पेको कुराले सुरुमै म मनोजजीप्रति आकर्षित बन्न पुगेको थिएँ ।

    यति राम्रो सुविधासम्पन्न घरमा कार्यक्रम गर्न पाउनु रक्तिम बागमती प्रदेशका निम्ति सुअवसरको कुरा थियो ।

    अब नियमित हाम्रो प्रशिक्षण चल्न सुरु भयो । त्यो सुन्दर भवनको छतमा हरेक बिहान रक्तिमको जोसिलो क्रान्तिकारी सङ्गीतको धुनमा शारीरिक अभ्यास हुन्थ्यो । नृत्य प्रशिक्षण चल्थ्यो । दिउँसो गायनका साथै सैद्धान्तिक, वैचारिक प्रशिक्षण पनि हुने गर्दथ्यो । साँझ सुत्नुपूर्व दिनभरिको हाम्रो क्रियाकलापको समीक्षा हुन्थ्यो ।

    खान, बस्न र सुत्नका लागि हामीलाई कुनै समस्या थिएन । मेसको राम्रो व्यवस्थापन थियो । स्थानीय साथीहरू पालैपालो मेसमा खटेर स्वादिस्ट खाना र नास्ता तयार पार्नुहुन्थ्यो । विशेष गरी टीकाराम सुवेदीलगायतको टिमले मेसमा विशेष भूमिका खेलेको देखिन्थ्यो ।
    तेस्रो दिन बिहान पनि हाम्रो समयतालिकाबमोजिम हामी मिठो क्रान्तिकारी सङ्गीतको तालमा त्यो सुन्दर भवनको छतमा उफ्रिँदै पसिना निकाल्दै थियौँ, यस्तैमा त्यहाँ एउटा रोचक घटना घट्यो ।

    हामी भवनको सबैभन्दा माथिल्लो तलामा सङ्गीतको धुनसँगै उफ्रिँदै थियौँ । त्यसै बेला तल्लो तलाको बरन्डामा भएको हल्लाखल्लाले हाम्रो ध्यान खिच्यो । हामी उफ्रिन छाडेर एक क्षण तलतिर हेर्‍यौँ । तल बरन्डामा प्रशिक्षण व्यवस्थापनमा खटिरहनुभएका साथीहरूको बिचमा एक अधबैँसे व्यक्तिले निकै नै सान देखाइरहेका थिए ।

    उनी चर्काे चर्काे स्वरमा बोल्दै भनिरहेका थिए– “म यहाँको स्थानीय मान्छे । यो कार्यक्रमले टोलमा डिस्टर्ब भयो । कसको अनुमतिमा तपाईंहरूले यहाँ कार्यक्रम राखेको ?”

    औला ठड्याउँदै उनी साथीहरूको बिचमा आफ्नो रवाफ देखाउँदै थिए । साथीहरू संयमित भएर उनलाई सम्झाइरहनु भएको थियो तर उनी मानिरहेका थिएनन् ।

    सम्झाउँदा पनि नमानेपछि हाम्रा साथीहरूले पनि उनीसँग अलि ठुलो स्वरले बोल्नुपर्ने भयो । हाम्रा साथीहरूमध्ये एक जना साथी अगाडि बढ्नु भयो र उसले जस्तै गरी औँला ठड्याउँदै ठुलो स्वर लगाएर बोल्नुभयो– “तपाईं हाम्रो यो कार्यक्रममा कसको अनुमति लिएर आउनुभयो ? को हो तपाईं ? हामी पनि स्थानीय हौँ । बुझ्नुभयो ?”

    यसरी इँटाको जवाफ पत्थरले दिएपछि उनी अलि मत्थर भयो र लुसुक्क कार्यक्रम स्थलबाट बाहिरिए ।

    पछि मैले हाम्रो कार्यक्रमस्थल नजिकै बस्ने मानिसलाई हाम्रो कार्यक्रमले तपाईंहरूलाई डिस्टर्ब भयो कि ? भनेर सोधेको थिएँ । “होइन हामीलाई त झन रमाइलो लागिरहेको छ । केको डिस्टर्ब हुनु ?” स्थानीयले हामीप्रति सकारात्मक भाव देखाएका थिए ।

    “अनि एक जना युवाले त डिस्टर्ब भयो भनेर गुनासो गर्नुभएको थियो त ?” मैले त्यो युवाको बारेमा पनि जिज्ञासा राखेको थिएँ ।

    “खै त्यसैलाई भयो होला डिस्टर्ब” स्थनीयको पनि त्यो युवाप्रति खासै सकारात्मक भाव देखिएको थिएन । हाम्रो यो कार्यक्रम देखेर, हाम्रो यो गीतसङ्गीत सुनेर त्यो युवालाई किन यतिविघ्न जलन भएछ कुन्नि ? निकै समयसम्म यो प्रश्न मेरो मनमा खेलिरह्यो ।

    जे होस्, अनेकौँ अनुभूतिका साथ चितवनको पाँचदिने प्रशिक्षण कार्यक्रम सफल भयो । प्रशिक्षणमा प्यारो भाइ विजय घर्ती, मेस्मा पुन र प्रयास थापाले कुशलतापूर्वक नृत्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभयो भने रक्तिमका केन्द्रीय उपाध्यक्ष मोहराज चालिसे र प्रदेश अध्यक्ष देवी शर्माले गायनसम्बन्धी अभ्यास गराउनुभएको थियो । सैद्धान्तिक प्रशिक्षणअन्तर्गत रक्तिमका महासचिव हेमराज आश्रमले दिनुभएको सङ्गीतसम्बन्धी प्रशिक्षण र चन्द्र सापकोटाले दिनुभएको समसामयिक राजनीतिसम्बन्धी प्रशिक्षणले प्रशिक्षार्थीको विशेष ध्यान आकर्षण गरेको थियो ।

    हाम्रो यो पाँचदिने प्रशिक्षणको समयावधि निकै छोटो थियो तथापि यो प्रशिक्षणले दिक्षा, कृति, शीतल, अञ्जली, प्राप्ति, विश्वास, दिप्सन, विष्णु, प्रगति, नमुना, प्रवीण, सुजिता, दुर्गा, प्रकृतिलगाएतका नवीन अनुहारलाई हाम्रो सांस्कृतिक अभियानमा जोडिदियो ।

    प्रशिक्षणको अन्तमा नारायणघाटस्थित चौबिसकोठी चोकमा २०८० कात्तिक १७ गते जाजरकोट र रुकुमपश्चिममा भूकम्पबाट मृत्युवरण गरेका मृतकप्रति श्रद्धाञ्जली अर्पण गदै सम्पन्न गरिएको सडक सांस्कृतिक कार्यक्रमको विशेष महत्त्व रह्यो ।

    सडक सांस्कृतिक कार्यक्रम समापन हुँदै गर्दा साँझ परिसकेको थियो । साँझको बास कहाँ हुने भन्ने कुराको टुङ्गो लागेअनुसार सूर्य थापा र जितबहादुर थापा दुई दाजुभाइले हेमराज आश्रम, मेस्मा पुन, विजय घर्तीसहित हामी चार जनालाई आफ्नो घर लगेर जानुभयो ।

    पहाड बागलुङबाट चितवन झरेका ती दुई दाजुभाइको पनि पार्टीप्रतिको आस्था र विश्वास साँच्चै उच्च कोटिको थियो । जितबहादुर थापाकी जीवनसँगी पुष्पा थापालगायत उहाँहरूको समग्र परिवारले पार्टी र पार्टीका कार्यकर्तालाई देखाएको प्रेमभाव वास्तवमा नै लोभलाग्दो थियो । उहाँहरूले हामीलाई सधैँ सम्झना रहने गरी मिठो सुँगुरको मासु र खाना खुवाएर पाहुना मान्नुभयो ।

    यसरी यसपटकको मेरो चितवन बसाइँ समापन भयो । प्रशिक्षणको क्रममा भेटिएका थुप्रै अरू नेताकार्यकर्ता तथा शुभेच्छुक साथीका वर्गीय अनुहार मानसपटलमा कैद गर्दै मेरो यात्रा कपिलवस्तु जिल्लातर्फ सोझियो ।

    “यसपटकको हाम्रो देउसीभैलो कस्तो हुने होला ?” घरीघरी यही प्रश्न मेरो मनमथिङ्गलमा लगातार दोहोरिरहन्थ्यो । भैलो कार्यक्रमका लागि कलाकार कसरी जुटाउने होला ? कार्यक्रमको सञ्चालन कसरी हुने हो ? यिनै अनेकौँ समस्याको चिन्ता बोकेर म बुटवल पार्टी कार्यालयमा आइपुगेँ ।

    कार्यालयमा वामपन्थी नेता सुरेश थापासँग मेरो भेट भयो । उहाँसँगै रक्तिम केन्द्रीय समितिको भैलो कार्यक्रमसम्बन्धी सामान्य कुराकानी भयो । कुराकानीको क्रममा उहाँले मलाई भन्नुभयो– “तपाईं कपिलवस्तु जानु मात्र पर्छ । भैलो खेल्ने वातावरण बनिहाल्छ ।”

    यसरी सुरेश थापाले दिएको हौसला बोकेर म कपिलवस्तु पुगे । म त्यहाँ पुगेपछि रक्तिम जिल्ला समितिको बैठक बस्यो । भैलो कार्यक्रमकै लागि अरू पनि बैठक बसे । यसै क्रममा किसान नेता शिव पौडेल, राजमो नेता दधिराम आचार्य, राजमो कपिलवस्तु जिल्ला अध्यक्ष रामप्रसाद बेलबासे, अन्य नेताहरू केहरसिंह पुन, मीना पोखरेललगायतका धेरै साथीसँग भेटघाट भयो । यसरी रक्तिम केन्द्रीय समितिको आयोजनामा हुने भनिएको भैलो कार्यक्रमको व्यवस्थापन कपिलवस्तु जिल्ला पार्टीले गर्ने निर्णय भयो । नभन्दै सुरेश थापाले भने जस्तै भैलो कार्यक्रमका लागि वातावरण बन्न थाल्यो ।

    कपिलवस्तुको भैलोको लागि रक्तिमको केन्द्रबाट उषा तारामी, मञ्जु परियार, थुमराज ढुङ्गाना, दीपक पन्थी र विकास विष्ट आउने सल्लाह भइसकेको थियो । पछि उषा तारामीजीको गुल्मीतिर काम परेकाले उहाँ आउन सक्नुभएन । बाँकी साथीहरू भने निर्धारित समयमा नै कपिलवस्तु आइपुग्नुभयो ।

    यसरी केन्द्रका कलाकार साथीहरू जम्मा भएपछि जिल्लाका कलाकार साथीको बिचमा हामीले तीनदिने भैलो तयारीको प्रशिक्षण चलायौँ ।

    यो तीनदिने भैलो तयारी प्रशिक्षण कार्यक्रमको सन्दर्भमा राजमो कपिलवस्तुका जिल्ला सचिव केरसिंह अदैको भूमिका उल्लेखनीय रह्यो किनकि हामीले उहाँकै घरमा आश्रय लिएर तालिम चलायौँ । यसका अतिरिक्त रक्तिमका जिल्ला अध्यक्ष बेगम बुढालगायत अन्य स्थानीय साथीले पनि सक्दो भूमिका खेल्नुभयो । प्रशिक्षणको क्रममा केरसिंहजीसँग हाटबजारमा बोरा थापेर तरकारी माग्दै गरेको क्षण, मिलमा पुगेर चामल मागेको क्षण, बिचमा बेस्सरी घुँडा दुखेर शरीर अस्वस्थ बनेको क्षण—यी सबै क्षण मेरा लागि अविस्मरणीय क्षण बन्न पुगे ।

    कात्तिक २६ गतेदेखि हाम्रो देउसीभैलो कार्यक्रम सुरु भयो । कुनै पनि कार्यक्रमको प्रभावकारिता मापन सङ्गठनकै आधारमा हुन सक्छ । कपिलवस्तुको साङ्गठनिक अवस्थाको आधारमा यसपालिको देउसीभेलो कार्यक्रम सन्तोषजनक नै रह्यो ।

    हाम्रो भैलो कृष्णनगर पुग्यो । चन्द्रौटा आसपासमा घुम्यो । वाणगङ्गा छिचल्यो । बजार, गल्ली, चोक र गाउँ यत्रतत्र रक्तिममय बन्यो । यो रक्तिम केन्द्रीय समितिको देउसीभैलो कार्यक्रमको सानदार सफलता थियो ।

    यो सफलताको पछाडि कपिलवस्तु जिल्लामा सङ्गठनको सकारात्मक र अनुकरणीय योगदान रह्यो । वास्तवमा हाम्रो साथमा कलाकारहरूलाई सही सांस्कृतिक विचारधाराले निर्देशन गर्ने सिङ्गो पार्टी पङ्क्ति छ र त रक्तिम छ । हाम्रो अघिपछि सधैँ सधैँ रक्तिमलाई माया गर्ने जनसमूहको ठुलो शक्ति छ । यसैले त रक्तिमको गौरवमय अस्तित्व कायम छ ।

    रक्तिम सांस्कृतिक अभियान पार्टी प्रतिबद्ध सांस्कृतिक सङ्गठन हो । यसैले पार्टीसङ्गठनको निर्देशनमा चल्न सक्ने प्रतिबद्ध अनुशासित कलाकार बन्नु रक्तिममा सङ्गठित कलाकारको मुख्य विशेषता बन्नुपर्दछ ।

    यसपटकको कपिलवस्तुको देउसीभैलो कार्यक्रममा सहभागी कतिपय कलाकर्मी भाइबहिनीहरू सिकारु भएकाले पनि हाम्रो अनुशासनको पक्ष सोचे जस्तो नहुनु स्वाभाविक थियो तैपनि यस भैलो कार्यक्रममा सहभागी सबै कलाकार भाइबहिनीले जुन योगदान दिए, जुन अनुशासनमा रहेर आफ्ना प्रस्तुति दिन प्रयास गरे—त्यो ठुलो कुरा थियो ।

    रक्तिमका केन्द्रीय सदस्य दीपक पन्थीको नेतृत्वमा निर्माण भएको नृत्यटोलीले यसपटकको भैलो कार्यक्रमलाई भव्य बनाएको थियो ।

    उक्त नृत्यटोलीमा सहभागी विकास, टिना, सन्जिलालगायतका सबै भाइबहिनीका नृत्यकला वास्तवमै प्रशंसायोग्य थियो । टिना, सन्जिला, पूजा, सावित्री, विनिता, बिहान, साजन, भावना, सुशान्तलगायतका उदीयमान कलाकारहरू कपिलवस्तु जिल्लाका मात्रै होइन, देशकै चम्किला नक्षत्र हुन सक्ने छन् ।

    यस भैलो कार्यक्रमले गहुँगोरो अलि अग्लो शारीरिक कद भएको एक नवयुवालाई मेरो निकट ल्याइदियो । उनी अखिल (छैठौँ) का केन्द्रीय सदस्य पनि रहेछन् । उनको नाम रहेछ रिसब आचार्य ।

    “तपाई धेरै सोझो मान्छे हुनुहुन्छ” आचार्यले एकैक्षणमा मेरो विशेषता पहिचान गर्न भ्याएका थिए ।

    उनी भैलो कार्यक्रमलाई सफल पार्न स्वत:स्फूर्त सक्रिय भएका थिए । उनले भैलो अवधिभर उद्घोषकको भूमिका पनि निर्वाह गरे ।

    उनको जोश, जाँगर र उत्साहले मलाइ निकै नै प्रभाव पार्‍यो । उनको यो उत्साह, उनको यो जाँगर सधैँ सधैँ क्रान्तिप्रति प्रतिबद्ध रहन सकोस् । सधैँ सधैँ पार्टीप्रति प्रतिबद्ध बन्न सकोस । उनीप्रति मेरो यो शुभेच्छा रहेको छ किनकि आचार्य जस्ता जोसिला र ऊर्जावान् युवाहरू पार्टीकै अमूल्य सम्पत्ति हुन् ।

    यसपालि कपिलवस्तुमा सञ्चालित रक्तिमको भैलो कार्यक्रम केवल भैलो मात्रै थिएन, भैलो सँगसगै जनताको बिचमा जनवादी गीतसङ्गीतको प्रचार पनि भइरहेको थियो । गीत र सङ्गीत मात्रै होइन, यसपटकको भैलोमा अभिनय विधाले पनि स्थान प्राप्त गरेको थियो । रक्तिमका केन्द्रीय सदस्य मानबहादुर नेपाली, रोल्पाली कलाकार विकास विष्ट तथा युवा व्यक्तित्व रिसव आचार्यको अभिनयले जनताको मन तानेको थियो ।

    यसरी रक्तिमको भैलो कार्यक्रमको सुखद अनुभूति गर्दै गर्दा यो मनमा एउटा तितो अनुभूति नराम्ररी गड्न पुग्यो ।

    म चितवनवाट कपिलवस्तुको भूमिमा पाइला राख्दै गर्दा त्यहाँ बेग्लै भाषा र बेग्लै भेषभूषामा सजिएका जनसमुदायको नौलो समाज देख्ने अवसर प्राप्त भयो । तिनैले तरकारी बेचिरहेका थिए । तिनैले खेत जोतिरहेका थिए । तिनैले ठेलागाडीमा व्यापार गरिरहेका थिए । साना साना घरमा, झुपडीमा तिनै समुदायको अनुहार देखिन्थ्यो । हाम्रो देशको भाषा अर्थात् नेपाली भाषा अप्ठ्यारो गरी उच्चारण गर्दथे ।

    पुर्खौंदेखि मधेसको माटोमा नेपाली भावना रोप्दै आएका यी मानिसलाई नै मधेसी भनेर चिनिदो रहेछ । मधेसी समुदायभित्र पनि केही मुट्ठिभर शोषक, जालिफटाह छन् होला तर मेरो नजरमा तिनै मधेसी समुदायको अनुहार प्रतिबिम्बित हुन पुग्यो, जो श्रमजीवी छन्; इमान्दार छन्; चुसिएका छन्; अशिक्षित छन् ।

    ती श्रमजीवी भएर पनि, उत्पीडित वर्गका भएर पनि हाम्रो क्रान्तिको उद्देश्यबाट टाढा छन् । जनमुक्तिको हाम्रो यात्रामा उनीहरू सामेल देखिदैनन् बरु उल्टै उनीहरू दलाल पुँजीपति र प्रतिक्रियावादी शक्तिको माकुरिजालमा फसिरहेका छन् । हर चुनावमा उनीहरू किनिन्छन्, बेचिन्छन् । उनीहरूका अवचेतन परिस्थितिबाट प्रतिक्रियावादीहरू अधिकतम फाइदा लिइरहन्छन् । यसको असर हाम्रो पार्टीलाई परिरहेको छ । हाम्रो क्रान्तिको यात्रालाई परिरहेको छ । एक क्षण यसो हेरौँ त, आज उनीहरूकै बाहुल्यता भएको जिल्लामा चल्दै गरेको हाम्रो कार्यक्रममा एउटा पनि मधेसी अनुहारको कार्यकर्ता देख्न सकिन्नँ । वास्तवमा हाम्रा लागि यो भन्दा ठुलो दु:ख अरू के हुन सक्छ र ?

    मलाई के लाग्यो भने जबसम्म मधेसका बहुसङ्ख्यक शोषितपीडित मधेसी समुदायमा हामीले बोकेको क्रान्तिकारी उद्देश्यप्रति जागरण आउँदैन; जबसम्म ती समुदाय हामीले उठाएको क्रान्तिकारी झन्डामा गोलबन्द हुन सक्दैनन्; तबसम्म नेपाली क्रान्तिको अभिभारा प्रभावकारी रूपमा अगाडि बढ्न सक्ने छैन । त्यसैले मधेसी समुदायभित्र हामी हाम्रो सङ्गठनलाई विस्तार गर्ने कोसिसलाई अरू बढाएर लैजानुपर्दछ । उनीहरूको बिचमा क्रान्तिकारी चेतनाको बिगुल फुक्नुपर्छ ।

    जे होस्, मेरा लागि यसपालिको भैलोले नयाँ अनुभूति दिलायो । “हाम्रो भैलो टिममा यदि बहुसङ्ख्यक मधेसी कार्यकर्ताको सहभागिता हुन्थ्यो भने हाम्रो भैलोको स्वरूप कस्तो हुन्थ्यो होला ?” भैलो खेल्दै गर्दा मेरो मानसपटलमा ठोक्किन आएको यो निरुत्तरित प्रश्नसँगै यसपालिको हाम्रो देउसीभैलो कार्यक्रम समापन हुन पुग्यो ।

    यसरी चाहे चितवनको पाँचदिने प्रशिक्षण कार्यक्रममा होस, चाहे कपिलवस्तुको पाँचदिने भैलो कार्यक्रममा होस्—यी दुवै ठाउँमा हाम्रो पार्टीप्रति आस्था राखेर र हाम्रो सङ्गठनलाई माया गरेर खुला हृदयका साथ हामीलाई खान दिने, बस्न दिने प्रिय कामरेडको योगदानले मलाई थप कर्तव्यको भारी बोक्न प्रेरित गरिरह्यो ।

    अन्तिम दिन अर्थात् भैलो समापनको दिन सबै साथिभाइसँग छुट्टिएर एक्लै रुकुमतिर लाग्दै गर्दा मनमा निस्याइलोपन छाएको थियो तैपनि हामी कहिले एक्लै हुन्छौँ, कहिले सहयात्रीसँग हुन्छौँ । चाहे सहयात्रीसँग होस्, चाहे एक्लै होस्, यात्रा निरन्तर चलिरहनुपर्छ, यात्रा रोकिनुहुन्न ।

    शुक्रबार, मङि्सर २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.