प्रमोद मिश्र ##
नेपालमा लोकतन्त्रलाई अहिले दुईतर्फबाट खतरा भइरहेको देखिन्छ : एउटा– नेपालका पुराना दलको रवैयाबाट र दोस्रो– दक्षिणपन्थी (राजावादी र हिन्दु राष्ट्रवादी) बाट । हुन त लोकतन्त्र जहिले पनि सङ्कटमै हुन्छ किनभने यसमा विभिन्न किसिमका स्वतन्त्रता भएकाले वादविवाद, सहमति–असहमति भई नै राख्छ जसले गर्दा लोकले यसलाई सधैँ मलजल र हिफाजत गरिराख्नुपर्ने हुन्छ ।
दुई सय ३० वर्ष पुरानो, संसारकै सबैभन्दा पाको अमेरिकी लोकतन्त्रमा पनि एउटा जाबो ट्रम्प आउँदा त सङ्कट आइलाग्यो र अहिले पनि ट्रम्प आउने सम्भावनाले अमेरिकी त्रसित छन् र ट्रम्प निवारणका उपाय खोजिराखेका छन् भने नेपाली शिशु लोकतन्त्रको के कुरा गर्नु ? यहाँ त झन् दल र आम नागरिक चनाखो भइराख्नु आवश्यक छ ।
लोकतन्त्रमा दलहरू सर्वेसर्वा हुन्छन्, कानुन र संविधानभित्र रहेर । चुनावमा तिनीहरूको जितहारले राज्यलाई दिशानिर्देश गरिराखेको र राज्यव्यवस्थालाई अगाडि बढाइराखेको हुन्छ । २०४६ सालमा बहुदल आएपछि र खास गरी २०७४ सालको गणतान्त्रिक संविधान लागु भएपछि लोकतन्त्रको आधारशिला मानिने दल र तिनका शीर्ष नेता स्वाभाविक रूपमा सर्वेसर्वा भए तर दलगत स्वार्थमा परेर वा दलका शीर्ष नेताको मनपरीले गर्दा आर्थिक अपारदर्शिता, गाउँदेखि केन्द्रसम्म भ्रष्टाचार, राज्यका सबै अङ्गको अति दलीयकरण निर्बाध रूपमा बढेर गयो । एउटा दलको भक्त हुनु भनेको सानाठुला अपराधबाट इम्युनिटी पाउनु जस्तै भयो ।
राजतन्त्रमा मिडियालाई पोल खोल्ने छुट थिएन तर अहिले नेपाली मिडिया दक्षिण एसियामै सबभन्दा बढी स्वतन्त्र छ । स्वतन्त्र मिडियाले दलको बेथितिको पोल खोलिराख्यो तर दलहरूले कान ठाडा पारेनन् । एक कानले सुन्ने, अर्को कानले उडाउने गरिराखे । यसले गर्दा आम जनता वाक्कदिक्क भएका छन् । सरकारी निकायका कसैले गलत काम गर्दा कसैको डरत्रास छैन, सानो काम पर्दा पनि सरकारी अड्डाअफिसका कर्मचारीले सर्वसाधारणलाई अनेक टन्टा लगाएर घुमाउने बिचौलिया नलगाएको खण्डमा । अरूको त के कुरा गर्ने, अख्तियारका प्रमुखदेखि कर्मचारीसम्म जसले अनियमितताको निगरानी गरी दोषीलाई दण्डसजाय दिने दायित्व बोकेका थिए, भ्रष्टाचारी ठहरिए† जेल गए† भागाभाग भए ।
स्थापित दलमा नेतृत्व परिवर्तनको कुनै खाका छैन । तीन दसकदेखि तिनै घिसेपिटेका असफल नेतृत्व कुर्सीमा टाँसिइराखेकै छन् । नेताहरूले पार्टीलाई परिवारको जागिर बनाइराखेकै छन् । बेथिति, कुशासनमाथि गजधम्म आसन जमाइराखेकै छन् । कार्यकर्ताहरू आँखा चिम्लेर नेताका पिछलग्गु भएका छन्, आफ्नो व्यक्तिगत स्वार्थका लागि । यस्तोमा राजावादी, हिन्दु राष्ट्रवादी विकल्पका रूपमा किन नजागुन् ?
संसारका कतिपय मुलुकमा राजतन्त्र छ र कतिपयमा पुन:स्थापना पनि नभएको हैन । बेलायतमा तीन सय साठी वर्षपहिला ओलिभर क्रामवेलको तानाशाहीपछि राजालाई बोलाइयो भने स्पेनमा झन्डै पचास वर्षअघि फासिस्ट फ्रान्सिस्को फ्र्याङ्कोको सन् १९७५ मा मृत्यु भएपछि राजालाई फेरि बोलाइएको थियो, राष्ट्राध्यक्ष हुनका लागि तर जहाँ राजालाई हटाएर गणतान्त्रिक लोकतन्त्र व्यवस्था अपनाइएको छ, त्यहाँ राजतन्त्र फर्केको यस पङ्क्तिकारलाई थाहा छैन । त्यसैले नेपालमा लोकतन्त्र शैशवावस्थामा भए पनि यस मुलुकको विविधता, सामाजिक बनोट एवम् राजवंशका राजा र तिनका भारदारले गर्दा पनि राजतन्त्र फर्किने सम्भावना छैन ।
राजावादीको कोकोहोलोलाई अनर्गल प्रलाप पनि भन्न सकिन्छ तर आम नेपालीले यी राजावादी र यिनका राजा को हुन् ? यिनले अतीतमा के गरे ? अतीतको प्रमाणका भरमा भोलि आए नै भने के गर्लान् भनी विचार गर्नुपर्छ । यिनले के गर्लान् भन्ने कुरा आफ्नो हालिमुहाली हुँदा यिनले के गरे भन्नेबाट थाहा हुन्छ । भलै “असिल् हिन्दुस्थाना” को काल्पनिकीमा अनेक प्रपञ्च र हत्याहिंसा अपनाएर भए पनि पृथ्वीनारायणले साम्राज्यविस्तार गर्न होस् वा एकीकरण गर्न नेपाल मुलुक स्थापना त गरे तर उनीपछिका शाहवंशीय राजाहरू को कस्ता थिए ? तिनको के देन थियो भन्ने वास्तविकता बाबुराम आचार्यको “अब यस्तो कहिल्यै नहोस्” पुस्तकबाट थाहा हुन्छ जुन कुरालाई तिनले नारायणहिटी हत्याकाण्डबारे लेखेर अद्यावधिक गर्नै पाएनन् । शाहवंशका राजा कोही बौलाहा (रणबहादुर), कोही बहुलाउपद्रवी अनि वंशहन्ता (दीपेन्द्र), कोही निरंकुश (महेन्द्र अनि ज्ञानेन्द्र), कोही निकम्मा र पानिमरुवा (गीर्वाणयुद्ध, राजेन्द्र, सुरेन्द्र), कोही विलासी र जनताले ल्याएको प्रजातन्त्रमा आफ्नो स्वार्थका लागि खेलवाड गर्ने (त्रिभुवन) ।
यस दसपुस्ते शाहवंशमा शाह राजाकै अकर्मण्यताले कोतपर्व, भण्डारखाल पर्व, १०४ वर्षको क्रूर राणाशासन, वंशनाश हुने नारायणहिटी दरबार हत्याकाण्ड भए र नेपाल मध्ययुगीन अविकसित मुलुक भएर रहिरह्यो । रैती, प्रजा र जनताले अनेकन् दु:ख पाए र यिनका पहिलेका हिमायतीको निरन्तर षड्यन्त्र, हत्याहिंसाको इतिहास पनि लुकेको छैन ।
अहिलेकाहरू कोही ऋण तिर्न नसकेर राजावादी भएका छन्, कोही बाउपुर्खाको बिँडो थाम्न राजावादी भएका छन्† कोही शाही सत्तामा पुस्तौंदेखि खाइपाइ आए पनि गणतन्त्र आएपछि सत्ताको लाभबाट वञ्चित भएकाले गर्दा राजावादी भएका छन्, राष्ट्र जोगाउने र नेपाललाई स्वर्ग बनाउने गफ जति दिए पनि ।
राजा वीरेन्द्रको वंशनाश हुँदा नेपाली निकै विक्षिप्त र विह्वल भएका थिए । कतिपयले केशमुण्डन गरेका थिए किनभने तिनीहरूले राजालाई अभिभावक मानेका थिए र राजा वीरेन्द्रको व्यक्तित्वबाट पनि प्रभावित थिए । राजा वीरेन्द्र सज्जन र उदार, टोकियो, हार्वर्ड, क्याम्ब्रिज पढेका विद्वान् मानिएका थिए तर बिसबाइस वर्षपछि हामीले ठन्डा दिमागले राजा वीरेन्द्र र उनका कामको पनि तटस्थ भएर मूल्याङ्कन गर्न सक्नुपर्ने हुन्छ । राजा वीरेन्द्रकै पालामा काठमाडौँ ‘स्लम सिटी’ मा परिणत भएको होइन ?
त्यत्तिका देशविदेश घुमेका, पढेलेखेका राजाले मुलुकमा बढ्दै गएको सहरीकरणलाई टाउन प्लानिङ गरेर व्यवस्थित पार्न सक्दैनथे, सर्वसत्ता आफ्नो हातमा हुँदाहुँदै पनि ? आफ्नो परिवारलाई व्यवस्थित, अनुशासित र अग्रगामी बनाउन सक्दैनथे जसले गर्दा दरबार हत्याकाण्ड हुँदैनथ्यो ? वंशानुगत निरङ्कुश राजतन्त्रमा दरबारिया, आसेपासेले त जिहजुरी बजाउनुबाहेक केही गर्न नसक्ने अवस्था थियो भने सर्वसाधारण जनताको झन् हैसियत नै के थियो र वाक् स्वतन्त्रता नभएका बेला, तर शाह राजामा कुनै दोष नभएको भए पनि नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक मुलुकमा पुस्तैनी राजाभन्दा आम जनताका छोराछोरी राष्ट्राध्यक्ष हुनु नै विविधतालाई समायोजन गर्ने बाटो हुने थियो, जुन अहिले छ । नेपालमा सबै समान हौँ भन्ने बाटो खुलेको छ । मधेसीका छोरा, आम नेपालीकी छोरी र बाहुन राष्ट्रपति भइसकेका छन् । भोलि दलित, मधेसी–पहाडी मूलका आदिवासी जनजाति वा अरूको पालो आउँछ । जोकोही जनताका छोराछोरी एक वा दुई कार्यकालपछि सेवानिवृत्त हुने छन् ।
राज्यसत्तामा तिनको स्थायी पकड र वर्चस्व रहँदैन । नयाँ जत्था आउँछ, नयाँ विचार, नयाँ प्रयोग ल्याउँछ । निरङ्कुश राजतन्त्रमा त यस्तो हुँदै हुँदैन, संवैधानिक राजतन्त्रमा पनि सम्भव छैन, स्थायी सत्तामा हालीमुहाली गर्नेको वर्चस्व रहिरहन्छ । फेरि पुस्तैनी संवैधानिक राजा पनि बहुलाएका बेला, मन नपरेका बेला तानाशाह बन्ने सम्भावना बढी हुन्छ । राजनीतिक दलमा त केही शीर्ष नेता सत्तरी पुगिसके पनि कुर्सी छोड्न तयार छैनन् र मुलुकलाई नै भड्खालोतर्फ धकेल्न उद्यत छन् र झोलेको जमात खडा गरेका छन् भने पुस्तैनी राजतन्त्रले जे विगतमा गर्यो, त्यही गर्छ । राज्यको शिखरमा एउटै व्यक्ति र तिनका सन्तान सदासर्वदा रहिरहे भने नेपाल जस्तो मुलुकमा कति आसेपासे, भरौटे, पिछलग्गु स्थापित होलान् ? अतीतका उदाहरण नेपालीले बिर्सेका छैनन् ।
नेपालकै सन्दर्भमा भन्ने हो भने पञ्चायती व्यवस्थासम्म राणा र शाहका छोराबाहेक किन कोही पनि प्रधानसेनापति हुन सकेनन् ? गणतन्त्र आएपछिको यो छोटो अवधिमा कति जना सर्वसाधारण नेपालीका छोरा प्रधानसेनापति भइसके ? यी सब नेपाली जनताले बुझेका कुरा हुन् ।
फेरि कुरा हिन्दु राष्ट्रको पनि त छ नि । नेपालमा दलित, जनजाति, मधेसी वा बाहुनक्षेत्री थोरै राजा हुने हुन् ? शाह वंशका मानिसले त स्वत: हिन्दु जातव्यवस्थालाई संवैधानिक रूपमा नभए पनि व्यावहारिक रूपमा भित्र्याउने छन् । त्यसो नभएको भए रवीन्द्र शाह वीरेन्द्रका ठाउँमा राजा भइहाल्थे नि किनभने उनी महेन्द्रका जेठा पुत्र थिए । रूढिवादी हिन्दु उचनिचको ख्याल नभएको भए सायद नारायणहिटी दरबार हत्याकाण्ड नै हुने थिएन ।
गणतन्त्रमा दलको बेथिति र राजतन्त्रमा एउटा छान्नुपर्यो भने गणतन्त्रमा दलको तत्कालको बेथितिलाई नै बिनाहिचकिचाहट छान्नुपर्ने हुन्छ । यो शिशु गणतन्त्रको प्रारम्भिक पीडा हो किनभने यी दलका शीर्ष नेताहरू आज छन्, भोलि हुँदैनन् । आज या भोलि दलभित्र विद्रोह हुन सक्छ, जस्तो काङ्ग्रेसमा हुँदै छ । फेरि मृत्यु वा विद्रोहका कारण पदबाट फालिइसकेपछि यी शीर्ष नेताका छोराछोरीलाई क्षमता नभएका खण्डमा कसले पुछ्ने ?
राज्यको राजनीतिक पदमा आउन जनताको अभिमत लिनैपर्ने हुन्छ । दल नसुध्रेको खण्डमा अर्को दल जन्मिन्छ । जस्तो कि अहिले राष्ट्रिय स्वतन्त्र पार्टी जन्म्यो । भोलि त्यो सत्तामा आउन सक्छ । यस्तै बेथिति कायम रहिरह्यो भने आगामी चुनावमा स्थापित दलहरू हेरेका हेर्यै हुने छन् किनभने नेपालमा अहिले देशविदेशमा पढेकाको सङ्ख्या बढ्न थालेको छ । ती आज या भोलि नेतृत्वमा आउने छन्, नयाँ पार्टी खोल्ने छन्; नयाँ विचार, नयाँ जाँगरजोस, नयाँ सम्भावना बोकेर, यदि पुराना सुध्रेनन् भने ।
यसरी राजनीतिको, राजसत्ताको, त्यहाँ बस्नेहरूको निरन्तर नवीकरण भइराख्ने छ । यस्तो समयमा पनि घिसेपिटेको, मक्किएर सिद्धिएको राजा र राजतन्त्रको कुरा गर्नु उल्टो गङ्गा बगाउनु हो । राजा र राजतन्त्र फर्काउने कुरा गर्नु भनेको आइफोन–१५ को जमानामा घरघर घुमाइने डायल फोन फेरि फर्काउन खोज्नु जस्तै हो ।
(कान्तिपुर दैनिकमा २०८० मङ्सिर १२ गते प्रकाशित प्रस्तुत सामग्रीको शीर्षक परिवर्तन गरिएको छ : सम्पादक)