मोहनविक्रम सिंह ##
दाजी लेटरविक्रमले मलाई ‘गद्दार’ र ‘कातर’ भनेर धेरै नै गाली गर्नुहुन्थ्यो । ठाहिलो भाइ महेन्द्रले ठुल्दाइले उसमाथि अन्याय गरेको भनेपछि त्यसबारे मैले दाजीलाई सोध्दा उहाँ (दाजी) र मेराबिचमा धेरै झगडा भएको थियो । त्यही झगडाका कारणले ओखरकोटको उहाँको अंशमा परेको घरजग्गा मलाई नदिएर अर्कै मान्छेलाई बेचेको कुरा मैले पहिले नै उल्लेख गरिसकेको छु । त्यसको एउटा राम्रो परिणाम यो भयो कि ओखरकोटको दाजीको घरजग्गा किन्ने भनेको भ्गागुतेको खेत बेचेर आएको पैसाबाट नै टीकापुरको दुई बिगाहा जग्गा किनिएको थियो ।
शान्तासँग सम्बन्धविच्छेद हुँदा मैले त्यहाँको त्यो दुई बिगाहा जग्गा उनलाई नै दिएको थिएँ । सम्बन्धविच्छेद गर्दा मैले उनलाई लेखेको पत्र र टीकापुरको दुई बिगाह जग्गा उनलाई नै दिएको कुरासमेतको पत्र त्यो बेलाको “हाँक” साप्ताहिकमा प्रकाशित भएको थियो । त्यो जग्गामा छोरा समीर र छोरी पूर्वाको अंश सामेल थिएन । पछि मैले उनीहरूलाई प्युठान ओखरकोट मच्छीको जग्गाबाट अंश दिएको थिएँ ।
मच्छीको जग्गाको छोराछोरीसित अंशवण्डा भएपछि दुर्गा प्युठानको मालअड्डामा अंशवण्डाको पास गर्न जाँदा त्यहाँको हाकिमले उनलाई भनेका थिए : ‘तपाईंले कैलालीको जग्गामा पनि अंशदाबी गर्न सक्नुहुन्छ ।’ त्यसको जवाफमा उनले भनेकी थिइन् : ‘त्यहाँको जग्गा मेरो पतिले शान्दा दिदीलाई दिइसक्नुभएको हो । त्यसकारण त्यो जग्गामा मैले कुनै दाबी गर्दिनँ ।’
त्यसको केही वर्षपछि काठमाडौँको एउटा पत्रिकाले कैलालीको दुई बिगाहामध्ये एक बिगाहा जमिन शान्ताले दुर्गालाई दिएको भनेर समाचार छापेको थियो । बताइरहनुपर्ने आवश्यकता थिएन कि त्यो समाचार पूरै कपोलकल्पित र झुटा थियो र त्यो पत्रिका विरुद्ध मानहानीको मुद्दा चलाउने कुरा पनि उठ्यो । त्यसबारे अधिवक्ता पदम रोकासँग हामीले सल्लाह पनि गरेका थियौँ । अन्तमा त्यसबारे कुनै कारबाही नचलाउने ठेगान भयो र त्यसबारे हामीले कुनै मुद्दा चलाएनौँ ।
जस्तो कि मैले माथि नै लेखेँ, ठाहिलो भाइ महेन्द्रको विषयमा दाजीसँग झगडा परेपछि उहाँले वर्षौैंसम्म मलाई लगातार गाली गरिरहनुभयो । जहाँ पनि कुनै मान्छेसँग भेट हुन्थ्यो, उहाँले मेरा विरुद्ध धाराप्रवाह गाली गर्न थाल्नुहुन्थ्यो । त्यसरी गाली गर्दा उहाँले प्रयोग गर्ने सबैभन्दा ठुलो गाली थियो : ‘गद्दार’ र ‘कातर’ । त्यस प्रकारको गाली गर्नुका पछाडि उहाँको आफ्नै तर्क वा व्याख्या हुन्थ्यो ।
उहाँले भन्नुहुन्थ्यो : मैले आफ्ना भाइहरूसित गद्दारी गरेको थिएँ । उहाँको तर्क थियो : पञ्चायती व्यवस्था आएपछि पहिले पार्टीमा काम गरेका विभिन्न राजनीतिक पार्टीका धेरै नेता वा कार्यकर्ता पञ्चायती व्यवस्थालाई स्वीकार गरेर ठुला ठुला पदमा गएका थिए । कैयौँ जना प्रधानमन्त्री, मन्त्री वा अञ्चलाधीश पनि बनेका थिए । उहाँले भन्ने गर्नुहुन्थ्यो : म पनि पञ्चायती व्यवस्थामा लागेको भए कुनै न कुनै पद पाउन सक्दथेँ । त्यसो भएको भए मैले धेरै सम्पत्ति कमाउन सक्दथेँ र भाइहरूलाई पढाउन वा कुनै नोकरी लगाइदिन पनि सक्दथेँ । त्यसरी भाइहरूको जीवन राम्रो हुन्थ्यो ।
उहाँको दृष्टिकोणअनुसार उहाँको व्याख्या गलत थिएन । पञ्चायती व्यवस्थामा सामेल नभएको हुनाले म लामो समयसम्म जेलमा बस्नुपर्यो । जेलबाट छुटेपछि पनि भूमिगत हुनुपर्यो । लुक्दै र भाग्दै हिँड्नुपर्यो । त्यसले गर्दा छओटा भाइहरूमध्ये कसैको पनि पढाइ हुन सकेन । त्यसका लागि अहिले पनि मलाई पिर लाग्दछ ।
म जेलमा पर्दा भाइहरू ससाना थिए । बुबाको मृत्युपछि उनीहरूको संरक्षक कोही भएन । मभन्दा माथिको दाजी घरमा हुनुहुन्थ्यो तर सानै उमेरदेखि उहाँको घरपरिवारसँग कुनै खास सम्बन्ध थिएन भने पनि हुन्छ ।
सानो हुँदा बुबाले हामी दुवै भाइलाई पढाउनका लागि धेरै पिट्ने गर्नुहुन्थ्यो । उहाँले हामीलाई पढाउन भक्तिनाथ योगीलाई घरमा नै राख्नुभएको थियो । उहाँ पनि धेरै कडा हुनुहुन्थ्यो र हामीलाई हप्काउने वा पिट्ने गर्नुहुन्थ्यो । त्यसैले उहाँ भागेर धेरैजसो मावलतिर गइरहनुहुन्थ्यो । ठुलो भएपछि भागेर भारततिर जानुभयो ।
करिब आठ वर्षपछि भारतबाट फर्केर आएपछि पनि उहाँको बुबाआमा र भाइहरू समेतसित कुनै खास सम्बन्ध भएन तर मैले सबै आमा र भाइहरूलाई सानैदेखि नै धेरै माया र ख्याल पनि गर्थें । त्यसैले दाजुले भने जस्तो म पञ्चायतमा लागेको भए वा बुबाको मृत्युको बेलामा घरमा भएको भए भाइहरूको पढाइको राम्रो ख्याल गर्दथेँ र उनीहरू बिग्रने थिएनन् । यो कम दु:खको कुरा होइन कि मेरा छओटा भाइमध्ये एउटाले पनि राम्ररी पढाइ गर्न सकेनन् किनभने सानो र हुर्कने बेलामा उनीहरूको कुनै संरक्षक भएनन् । म राजनीतिक पार्टीमा लागेर जेलमा वा भूमिगत भएको हुनाले उनीहरूको कुनै संरक्षक भएनन् तर म पञ्चायतमा सामेल भएको भए भाइहरू त्यसरी बिग्रन पाउने थिएनन् । त्यही अर्थमा म पञ्चायतमा सामेल नभएको हुनाले दाजीले मलाई ‘गद्दार’ भन्ने गर्नुहुन्थ्यो । उहाँको दृष्टिकोणअनुसार ममाथि उहाँले लगाउनुभएको आरोप पनि सायद सही नै थियो ।
मलाई ‘कातर’ भन्नुको पछाडि पनि उहाँको आफ्नै व्याख्या थियो । मैले सानैदेखि स्वास्थ्यको ख्याल गर्दथेँ । स्वास्थ्यको ख्याल गर्ने भन्नुको अर्थ खानपिन, कसरत आदिमा धेरै ख्याल गर्थें । मैले कहिल्यै पनि रक्सी, चुरोट, बिडी, सुर्ती आदि खाने गरिनँ । रक्सी ता दाजीले पनि खाने गर्नुहुँदैनथ्यो ।
रक्सीको विषयमा पिताजी धेरै कडा हुनुहुन्थ्यो । कुनै दाजुभाइले रक्सी खाएको थाहा पाउनुभयो भने उहाँले उसको जनै चुँडाली दिनहुन्थ्यो । त्यसको असर दाजीमा पनि पर्यो र उहाँले पनि कहिल्यै रक्सी खानुभएन ।
रक्सीको कुरा नगरे पनि अरू खानपिन, स्वास्थ्य, कसरत आदिबारे मैले जसरी धेरै ख्याल गर्दथेँ । ती सबै देखेर उहाँले भन्ने गर्नुहुन्थ्यो : ‘यो मर्न डराउँछ । यो कातर छ । त्यसैले यस्ता धेरै कुराहरू (खानपिन, स्वास्थ्य, कसरत आदिको) ख्याल गर्ने गर्दछ ।’
उहाँले मलाई जति गाली गरे पनि मैले त्यसको कहिल्यै कुनै जवाफ दिँदैनथेँ । सायद त्यो मेरो सानैदेखि लागेको बानी थियो । त्यो बानी अहिले पनि कायम छ । अहिले पनि विभिन्न पार्टी, व्यक्ति वा सामाजिक सञ्जालमा जति गाली गरे पनि वा चरित्रहत्या गरे पनि मैले त्यसको कुनै जवाफ दिने गर्दिनँ । सैद्धान्तिक वा राजनीतिक प्रकारले आवश्यकताअनुसार जवाफ दिन्छु तर व्यक्तिगत रूपमा मैले कहिल्यै कसैलाई गाली गर्ने गरेको छैनँ । करिब सात दसकदेखिका मेरा पुस्तक, लेख वा वक्तव्यहरू पढ्ने हो भने पनि त्यो कुरा प्रष्ट हुने छ । दक्षिणपन्थी, उग्र “वामपन्थी”, “मध्यपन्थी”, ‘गद्दार’, ‘सिआइडी’, ‘दुस्मनको एजेन्ट’ आदि राजनीतिक शब्द हुन् । कैयौँ अन्तर्राष्ट्रिय माक्र्सवादी साहित्यमा पनि ती शब्दको उल्लेख गरेको पाइन्छ । ती व्यक्तिगत गालीगलौजका शब्द होइनन् ।
मेरो अर्को बानी के छ भने कसैले मप्रति जतिसुकै शत्रुभाव अपनाए पनि वा ममाथि जति हमला गरे पनि उनीहरूप्रति मेरो मनमा कुनै नराम्रो भावना वा शत्रुभाव पैदा हुन्न । कसैको मनमा अरूप्रति शत्रुभाव वा नराम्रो भाव पैदा भयो भने त्यसले विरोधीलाई भन्दा आफूलाई नै बढी नोक्सान पुर्याउँछ । आवश्यकताअनुसार सैद्धान्तिक वा राजनीतिक रूपले पनि सम्झौताहीन प्रकारले लड्नुपर्दछ र म त्यसरी लड्ने पनि गरेको छु तर त्यसरी लड्दा पनि मेरो मनमा ऊप्रति मैत्रिभाव नै रहेको हुन्छ र त्यस प्रकारको सोचाइले मलाई शारीरिक वा मानसिक रूपले स्वस्थ रहन मदत गरेको हुन्छ । त्यही प्रकारले दाजीले मलाई जति गाली गरे पनि मेरा मनमा कहिल्यै पनि उहाँमाथि रिस उठेन वा मैले उहाँलाई कहिल्यै पनि गाली गरिनँ ।
त्यही कुरा पिताजीसितको मेरो सम्बन्धबारे पनि सत्य थियो । उहाँ र मेराबिचमा धेरै सङ्घर्ष पनि भयो तैपनि उहाँप्रति मेरो मनमा सधैँ आदर र आत्मीयताको भाव रहिरह्यो । का. लामाको मृत्युपछि मैले लेखेको एउटा लेखमा मैले पिताजी र का. लामाप्रतिको मेरो त्यही प्रकारको भावना उल्लेख गरेको छु : सङ्घर्षका साथै उच्च प्रकारको आत्मीयता, आदर र गहिरो मैत्रिपूर्ण भावना ।
दाजीको मलाई गाली गर्ने क्रम करिब डेढ दसकपछि रोकियो । अब उहाँ बसाइँ सरेर बर्दिया जानुभएको थियो ।
एक पल्ट भाउजू सिकिस्त बिरामी हुनुभएछ । उहाँले भन्नुभएछ : ‘म अब धेरै बाँच्दिनँ । एक पल्ट जसरी भए पनि देवरको मुख हेर्न पाए हुन्थ्यो ।’
त्यो बेला मेरो नाममा वारेन्ट थियो । म भारतमा थिएँ । भाउजूको त्यो कुरा थाहा पाएपछि म तुरुन्त नै उहाँलाई भेट्न बर्दिया गएँ । मलाई देखेर उहाँ धेरै खुसी हुनुभयो र धेरै रुनु पनि भयो । त्यसको केही समयपछि उहाँको मृत्यु पनि भयो ।
म भाउजूलाई भेट्न बर्दिया गएपछि दाजीको मप्रतिको व्यवहार पूरै बदलियो । उहाँको मसित आत्मीय सम्बन्ध कायम भयो । अब उहाँ कोहलपुरमा छोराहरूसित बस्नुहुन्थ्यो र म प्रायश: उहाँलाई भेट्न गइरहन्थेँ । केही समयपछि उहाँको पनि मृत्यु भयो ।