• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

डेराको जीवन

"सङ्क्षिप्त संस्मरण शृङ्खला–१९ "

  •   बिहिबार, असार ०७, २०८० मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    म यही सालको वैशाखदेखि ८९ वर्षमा लागेँ । यो साललाई घटाउँदा मेरो ८८ वर्षको उमेर बितिसक्यो । त्यो सम्पूर्ण उमेरमध्ये करिब साढे छ दसकजति डेरामा नै बितेको छ । १० वर्षको उमेर हुँदा मलाई पढ्नका लागि बुबाले काठमाडौँ मगाउनुभएको थियो । मेरो सम्पूर्ण जीवनमध्ये करिब ११ वर्ष जेलमा नै बित्यो । त्यसरी बाँकी रहेको करिब साढे छ दसकको जीवन डेरामा नै बितेछ ।

    Advertisement

    पढाइमा छुट्टीको बेला कुनै कुनै बेला घरमा जान्थेँ । भूमिगत जीवनको बेलामा पनि म कुनै कुनै बेला घरमा जान्थेँ । अहिले ओखरकोटको घर बनेपछि म कुनै कुनै बेला त्यहाँ जाने गर्दछु तर त्यहाँ कुनै पनि बेला दुईतीन दिनभन्दा बढी बस्न पाउँदिन । त्यसरी मेरो जीवनको ठुलो भाग डेरामा नै बितेको छ भन्न सकिन्छ । त्यसरी डेराको जीवन नै मेरो जीवनको प्रधान पक्ष भएको छ भने पनि फरक पर्ने छैन ।

    मैले काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, बुटवल, बनारस, गोरखपुर, दिल्ली, आगरा, चेन्नै र केरलका विभिन्न स्थानमा नै डेरा गरेर बस्ने गरेको थिएँ । तिनीहरूमध्ये काठमाडौँमा नै म सबैभन्दा बढी डेरा गरेर बस्ने गरेको छु । ती विभिन्न स्थानमा पहिले पढाइको सिलसिलामा, पार्टीकामको सिलसिलामा र पछि पार्टीद्वारा कारबाही परेका बेलामा निर्वासित जीवनको सिलसिलामा नै म डेरा गरेर बस्ने गरेको छु । ती सबै डेरामा मेरा बेग्लाबेग्लै प्रकारका अनुभव रहेका छन् ।

    काठमाडौँमा म सम्वत् २००२ सालतिर लैनचौरको महेन्द्रबहादुर बस्नेतको घरमा डेरा गरेर बसेँ । उहाँ पछि सर्वोच्च अदालतको न्यायाधीश पनि बन्नुभएको थियो । त्योबेला म बुबासित नै बसेको थिएँ ।

    महेन्द्रबहादुर बस्नेतको घरमा डेरा गरेर बस्दाको अनुभव अत्यन्त सुखद थियो । त्यो बेला म बुबासित सँगै बस्दथेँ । लैनचौर गोल्पापाखाको शान्ति विद्यागृहमा गएर पढेर आउने गर्दथेँ । महेन्द्रबहादुर बस्नेतको परिवारसित बुबाको घनिष्ट र आत्मीय सम्बन्ध थियो । त्यसकारण त्यो बेला त्यो डेरामा बस्दा मलाई आफ्नै परिवारमा बसे जस्तो अनुभूति हुन्थ्यो ।

    पछि त्यहाँबाट डेरा सरेर हामी ठमेलमा बस्न गयौँ । अन्यत्र दुई ठाउँमा डेरा सरेपछि हामी ठमेलमा नै पण्डित सोमनाथ सिग्देलको घरमा डेरा गर्न गयौँ । उहाँको परिवारसित पनि हाम्रो घनिष्ट र पारिवारिक सम्बन्ध रहेको थियो ।

    पिताजी सधैँ काठमाडौँ बस्नु हुँदैनथ्यो र प्रायश: प्युठानको आफ्नो घरमा गइरहनुहुन्थ्यो । उहाँले मेरो खानपिनको व्यवस्था गर्न टीकाबहादुर भन्ने गाउँको एक जना मानिसलाई छाडिदिनुभएको थियो । पिताजी प्युठान गएको बेलामा मसित बसेका टीकाबहादुरको हाम्रो घरबेटी पण्डित सोमनाथको परिवारसित केही झगडा परेछ । के कुरामा झगडा परेको हो ? मलाई थाहा भएन । सायद उनको कुनै व्यवहारका लागि पण्डितकी पत्नीले उनलाई केही हप्काउनुभएको थियो । उनको त्यो व्यवहार के थियो ? त्यो पनि मलाई सम्झना छैन ।

    म स्कुलबाट फर्किंदा मैले देखेँ : उनी ठमेलका सडकमा धुमधामसित चिच्चाउँदै र पण्डित सोमनाथका परिवारका मानिसलाई ठुलो स्वरले तल्लोस्तरका गाली गर्दै सडकमा यता र उता उफ्रँदै हिँडिरहेका थिए । त्यो देखेर मलाई धेरै नराम्रो लाग्यो । पछि बुबा आएपछि टीकाबहादुरलाई हप्काएर घर पठाइदिनु भयो र पण्डितसित हाम्रो सामान्य सम्बन्ध बनिरह्यो ।

    पण्डित सोमनाथका तीनओटी पत्नी हुनुहुन्थ्यो । उनीहरूमध्ये कान्छी पत्नीले मलाई तिहारमा टीका लगाइदिने गर्नुहुन्थ्यो र मलाई भाइ भन्ने गर्नुहुन्थ्यो । पछि उहाँहरू ठमेलबाट सरेर घट्टेकुलातिर जानुभयो । कुनै कुनै बेला भूमिगत कालमा काठमाडौँ गएको बेलामा म दिदीलाई भेट्न जाने गर्दथे र उहाँका हातबाट टीका लगाउने गर्दथे । पछि उहाँहरू अमेरिकातिर जानुभयो भन्ने सुने ।

    पण्डित सोमनाथको घरमा बसेको बेलाका कतिपय कुरा मैले अहिले पनि सम्झन्छु । त्यो बेला २००६ सालतिर काङ्ग्रेसका कतिपय नेताहरू पिताजीलाई भेट्न आउने गर्नुहुन्थ्यो । तिनीहरूमध्ये काशिनाथ गौतमलाई मैले सम्झन्छु । उहाँहरूले बुबासित कोठा बन्द गरेर कुरा गर्नुहुन्थ्यो । उहाँहरूले के कुरा गर्नुहुन्थ्यो ? त्यो मलाई थाहा हुँदैनथ्यो । पछि २००७ सालको आन्दोलनपछि मेरो कैयौँपल्ट उहाँसित (काशिनाथसित) सम्पर्क भएको थियो ।

    सोमनाथ पण्डितको घरपछि बुबाले नघलमा डेरा लिनुभयो । त्यहाँ उहाँ केही दिन बसेर प्युठान जानुभयो र त्यहाँ म धेरैजसो एक्लै बस्नुपर्‍यो । केही महिना आनन्ददेव भट्ट र म सँगै नघलको डेरामा बसेका थियौँ । पछि ईश्वरीराज रेग्मी र म पनि सँगै बसेका थियौँ । केही समयपछि त्यहाँबाट डेरा सरेर म क्षेत्रपाटीको धोबिचौरमा गएको थिएँ । एउटा लामो समयसम्म त्यहाँ भारतप्रसाद धिताल, उनको भाइ विजयप्रसाद धिताल र म सँगै बसेका थियौँ ।

    एसएलसीको परीक्षा दिनका लागि २०१५ सालमा म पाल्पा तानसेनको मेहलधारामा डेरा गरेर बसेको थिएँ । त्यो डेरा कमलराज रेग्मीको घरको नजिकै थियो । उहाँको पूरै परिवार र केटाकेटीहरूसमेतसित मेरो घनिष्ट सम्बन्ध भएको थियो ।

    नेपालमा पञ्चायती शासन भएको बेलामा हामी बनारसमा नै पार्टीको कार्यालय बनाएर बस्ने गर्दथ्यो । त्यहाँ मेरो बेग्लै डेरा हुँदैनथ्यो तर पार्टीको कार्यालय नै मेरो डेरा हुन्थ्यो । बनारसमा पहिले आइएको परीक्षाको तयारी गर्न म दुधविनायकको नजिकैको एउटा घरमा डेरा गरेर बसेको थिएँ तर २०१७ सालको काण्डपछि, खास गरेर दरभङ्गा प्लेनमपछि पार्टी कार्यालय बनारसमा नै राख्ने ठेगान भयो । पहिले हामीले अरू कैयौँ ठाउँमा डेरा सर्‍यौँ । पार्टीका मान्छेहरू भन्ने थाहा भएपछि वा घरमा धेरै मानिस आउने जाने गरेपछि घरबेटीहरूले प्रायश: हामीलाई घरबाट निकालिदिन्थे तर पछिल्लोपल्ट धेरै वर्षसम्म हामी दुधविनायकको नजिकैको थापाकोटीमा नै बस्यौँ ।

    थापाकोटीको घरबेटी र परिवार धेरै राम्रा मान्छे हुनुहुन्थ्यो । त्यो परिवार नेपाली परिवार नै थियो । घरबेटी दाइ र उहाँकी पत्नी, जसलाई हामी सबैले दिदी भन्ने गर्दथ्यो, धेरै सहयोगी मान्छे हुनुहुन्थ्यो । उहाँका तीन भैना छोराछोरी थिए : रामु र हरि दुई भाइ छोरा र एउटी छोरी रमा । उनीहरूले पनि हाम्रो काममा धेरै मदत गर्दथे । त्यहाँ जति मानिस आए पनि वा बैठक बसे पनि कुनै आपत्ति हुँदैनथ्यो । हामी बस्ने कोठा पनि २०–२५ जना मान्छे अटाउने ठुलो थियो । त्यसकारण त्यो कोठा हाम्रा लागि धेरै उपयुक्त र सजिलो थियो । त्यो कोठाको एउटा अनुभव बताउनु सायद अप्रासङ्गिक हुने छैन ।

    म केरलमा भएको बेलामा एकपल्ट गर्मी महिनामा झ्याल खुला राखेर १०–१५ जना साथीहरू सुतिरहेको बेलामा एउटा चोर आएछ । चोर एउटा मात्र थियो वा दुईतीन जना थिए ? त्यो कुरा कसैलाई थाहा भएन । सबै सुतेको बेलामा त्यसले भित्तामा झुन्डाएका सबै जनाका कोटपाइन्ट लगेर गएछ । चोर आएको र चोरेर गएको कुरा कसैलाई थाहा भएनछ ।

    हाम्रो भूमिगत कालको थापाकोटीको त्यो कार्यालय नै सबैभन्दा महत्त्वपूर्ण थियो भने हुन्छ । हाम्रो कार्यालय वा डेरा जता सरे पनि हाम्रो सम्पर्क केन्द्र मडुवाडिहको शान्तिदेवीको घर नै थियो । नेपालबाट आउने सबै साथी वा हाम्रा सबै चिठीपत्र त्यहाँ नै आउने गर्दथे । शान्तिदेवीले कडा सोधपुछ गरेपछि मात्र हाम्रो कार्यालयमा कसैलाई पठाइदिने गर्नुहुन्थ्यो । उहाँका छोराछोरी, गोपाल, अम्बु र गीताले पनि हाम्रा काममा धेरै नै मदत गर्दथे ।

    बनारसमा कार्यालय भएको बेलामा नै हामीले नेपालतिर सम्पर्क गर्न सजिलो हुन्छ भनेर गोरखपुरको गोरखनाथ मन्दिरनजिकैको जमुनिहामा डेरा लिएका थियौँ । त्यो बेला त्यहाँ बिजुली गएको थिएन र त्यसैले त्यहाँ पङ्खा पनि थिएन । त्यो डेरामा करिब १० वर्षसम्म हाम्रो कार्यालय रह्यो । त्यो पूरै नै मुसलमानको बस्ती थियो । उनीहरूसित हाम्रो धेरै नै घनिष्ट सम्बन्ध थियो । उनीहरूले इद वा त्यही प्रकारका चार्डपर्वको बेलामा हामीलाई बोलाउने गर्दथे र त्यसरी उनीहरूसित हाम्रो धेरै नै हेलमेल र घनिष्टतासमेत रहेको थियो ।

    त्यो घरका घरबेटीले मिलिटरीमा काम गर्दथे । उनीहरूको क्याम्प सिलिगुडीनजिकैको बालडोगरामा थियो । उनीहरू उतै बस्दथे । पछि उनीहरू घरमा आएर बस्न थाले । उनीहरू बाहिरको कोठामा बस्दथे । घरबेटी दाइ धेरै सिधा मान्छे थिए तर उनकी पत्नी धेरै नै कडा वा झगडालु थिइन् । उनले ढोकामा बसेर हाम्रा बाहिरबाट आउने प्रत्येक साथीलाई कडा सोधपुछ गर्दथिन् र रुखो स्वरले हप्काउने पनि गर्दथिन् । त्यसपछि हामीले त्यो डेरा छाडिदियौँ र नजिकैको अर्को ठाउँमा डेरा लियौँ ।

    जमुनिहा पुग्नुभन्दा पहिले केही पहिले मछली दफ्तरको अफिस थियो । त्यहाँ भोलिलाले काम गर्नुहुन्थ्यो । त्यहाँकी पत्नीको नाम कुन्तीदेवी थियो । उहाँका दुईओटी छोरी थिए । जेठी छोरीको नाम मुन्नी थियो भने कान्छी छोरीको नाम उमा थियो । त्यो परिवार बनारसको शान्तिदेवीको घर जस्तै हाम्रो पार्टीको सम्पर्क केन्द्र थियो । हामीलाई भेट्ने साथीहरू पहिले त्यहीँ आउनुहुन्थ्यो । हाम्रो सबै चिठीपत्र पनि त्यहीँ आउने गर्दथे । दुवै जना हाम्रो पार्टीका सदस्य पनि बन्नुभएको थियो ।

    हामीले मछली दफ्तरको डेरा छाडेर जुन डेरामा सरेका थियौँ, त्यो अलि सानो र साघुँरो जस्तो भयो । त्यो डेरामा हाम्रा आएका सबै साथीलाई बस्न र बैठक गर्न पनि अप्ठ्यारो हुन्थ्यो । त्यसपछि हामीले गोरखनाथ मन्दिरभन्दा केही पर रसुलपुरको एउटा घरमा कोठा लियौँ । त्यो टायलले छाएको एकतले कच्ची घर थियो । त्यसपछि हामी त्यसको नजिकैको एक जना कामरेडको घरको उपल्लो तलामा बस्न गयौँ । त्यो घर पहिले भारतीय कम्युनिस्ट पार्टीको स्वामित्वमा थियो । पछि त्यही पार्टीका एक जना नेताले त्यो घर कब्जा गरेका थिए तैपनि उनी पहिले कम्युनिस्ट पार्टीको नेता भएको हुनाले सबैले उनलाई कामरेड नै भनेर बोलाउने गर्दथे ।

    कामरेडको घरपछि हामीले जमुनिहाको एउटा घरमा कोठा लियौँ । त्यही“ हामीले पार्टीस्कुल पनि खोलेका थियौँ । त्यहा“ धेरै प्रशिक्षण कार्यक्रम पनि सम्पन्न भएका थिए तैपनि त्यो घर हाम्रो आवश्यकताअनुसार केही सानो थियो । त्यसपछि हामीलाई जमुनिहामा नै पहिले भारतीय रेलमा काम गर्ने एक जना टिटीको सिङ्गै घर प्राप्त भयो र लामो समयसम्म हामी त्यही घरमा बस्यौँ । त्यो घरमा हाम्र धेरै महत्त्वपूर्ण बैठक वा कार्यक्रम सम्पन्न भएका थिए । केही ठुला कार्यक्रम गर्नुपर्‍यो भने हामी नजिकैको गोरखनाथ मन्दिरमा जान्थ्यौँ र त्यहाँको धर्मशालामा हल वा कोठा बुक गरेर कार्यक्रम सञ्चालन गर्दथ्यौँ । वास्तवमा गोरखनाथको त्यो मन्दिर र धर्मशाला लामो समयसम्म हाम्रा लागि धेरै नै उपयोगी रहेको थियो ।

    पार्टी कार्यक्रमको सिलसिलामा जाँदा म केही समय दिल्लीमा डेरा गरेर बसेको थिएँ । एकपल्ट मैले जवाहर लाल नेहरू विश्वविद्यालयनजिकैको एउटा कलोनीमा डेरा लिएर बसेको थिएँ । सायद अर्कोपल्ट मैले दिल्लीको अर्को कुनै एउटा ठाउँमा डेरा लिएर बसेको थिएँ । अहिले मलाई त्यो ठाउँको सम्झना छैन । पछि दिल्लीमा एकता समाजको कार्यालय बन्यो । त्यहाँ बदरपुर बोर्डरमा एकता समाजको आफ्नै घर पनि बन्यो । त्यसकारण त्यसपछि दिल्ली जाँदा कुनै डेरा लिनुपर्ने आवश्यकता भएन ।

    जलजला प्रेम प्रकरणमा मेरो महामन्त्री पद र केन्द्रीय समितिको सदस्य पदसमेत समाप्त भएपछि र मलाई तीन वर्षका लागि पार्टीको सदस्यताबाट निष्काशित गरेपछि म दक्षिण भारततिर लागेँ । त्यसपछि म करिब एक महिनाजति चेन्नैमा नै बसेँ । त्यो बेला मैले कहा“ र कुन डेरा लिएको थिएँ ? त्यो कुराको मलाई राम्रो सम्झना छैन ।

    त्यसपछि म केरलको त्रिभेन्द्रमतिर लागेँ । त्यहाँ मैले दुईओटा ठाउँमा डेरा लिएको थिएँ । एक ठाउँमा एउटा सानो कोठा थियो । त्यहाँ मुस्किलले एउटा खाट अटाउँथ्यो । मेरा सबै सामान, मुख्यत: मसित भएका पुस्तक पनि त्यहाँ मुस्किलले अटाउँथे । पछि केरलको एउटा ग्रामीण क्षेत्रमा चारओटा कोठा भएको सिङ्गो घर अत्यन्त कम किरायामा फेला पारेँ । त्यो घरको छिमेकमा मलायमका घर थिए । त्यो घरका सबै परिवार र केटाकेटीसमेतले मलाई धेरै माया गर्दथे । त्यहाँबाट त्रिभेन्द्रम सहरमा बसबाट जान मलाई धेरै समय लाग्दथ्यो र फर्केर आउँदा पनि धेरै रात पर्दथ्यो । त्यसैले म बेलुकाको खाना नखाइकन सुत्ने गर्दथेँ तर म बस्ने घरकी छिमेकी बुढिआमाले मैले खाना खायौँ कि खाइनौँ भनेर हेर्न पठाउनुहुन्थ्यो । मैले चुल्हा नबालेको देखेपछि थालमा खाना हालेर पठाइदिनुहुन्थ्यो । एक दिन वा दुई दिन होइन, कैयौँ दिनसम्म उहाँले त्यसै गर्नुहुन्थ्यो । त्यहाँका बासिन्दा वा बुढिआमाको त्यस प्रकारको आत्मीयता देखेर म धेरै नै अनुगृहीत भएको थिएँ ।

    म प्रत्येक दिन आफ्नो डेराबाट सहरतिर जान्थेँ र त्यहाँका पुस्तकालयमा बसेर पढ्ने गर्दथे । त्यो बेलाको मेरो मुख्य योजना कृषिक्रान्तिसम्बन्धी पुस्तक तयार पार्नुथियो । त्यसका लागि मैले पुस्तकालयबाट सामग्री जुटाउने प्रयत्न गरेको थिएँ तर पछि आगरामा एमएको परीक्षा दिन केरल छाडेर जानुपर्‍यो । त्यसैले मेरो त्यो पुस्तक लेख्ने योजना त पूरा हुन सकेन । त्यसको खालि पहिलो परिच्छेद मात्र तयार भयो, जो ‘धर्तीको पूर्वकथा’ शीर्षकले प्रकाशित भएको छ ।

    आगरा गएपछि म एमएको पहिलो वर्षको परीक्षा दिने बेलामा एउटा कोठामा र दोस्रो वर्षको परीक्षा दिने बेलामा अर्को कोठामा डेरा गरेर बसेको थिएँ । त्यो बेला आगराबाट नै एमएको परीक्षा दिन आउनु भएका बागलुङका महेश श्रेष्ठ र म पनि सँगै डेरामा बसेका थियौँ ।

    पहिले मलाई तीन वर्षका लागि पार्टी सदस्यताबाट निष्काशित गरिएको कुरा मैले माथि नै उल्लेख गरिसकेको छु । पछि पार्टीले मलाई मेरो सदस्यता पुनर्बहाली गर्ने निर्णय गर्‍यो तर मेरो सदस्यता पुनर्बहाली गरेपछि पनि लामो समयसम्म जलजलाको सदस्यता पुनर्बहाली गरिएको थिएन । पछि चितवनका खम्बासिंह काजीको जोडले उनको सदस्यता पनि पुनर्बहाली गरिएको थियो ।

    मेरो सदस्यता पुनर्बहाली भएपछि मछली दफ्तरमा नै भोलिलाल, कुन्तिदेवी र मसमेतको तीन जनाको सेल बनाइएको थियो । त्यसको सेक्रेटरी भोलिलाल नै हुनुहुन्थ्यो । त्यो सेलले मछली दफ्तरमा एउटा पुस्तक पसल र एउटा प्रेस पनि राख्ने निर्णय गरेको थियो । हामीले साथीहरूबाट सहयोग जुटाएर त्यो कार्य सम्पन्न गरेका थियौँ ।

    बहुदलीय व्यवस्था आएपछि म एकाध वर्ष बुटवलमा नै बसेँ । त्यो बेला मेरा नाममा पूरै वारेन्ट त थिएन तैपनि म पूरै खुला भएको थिइनँ । पार्टीको निर्णयअनुसार सकेसम्म भूमिगत रूपमा नै बस्ने मेरो प्रयत्न हुन्थ्यो । त्यहाँ कुनै डेरामा कैयौँ महिनासम्म कसैलाई परिचय नदिइकन बस्ने गर्दथे तर कतै त्यहाँ म बसेको कसैलाई थाहा भयो वा परिचय भयो भने म त्यो डेराबाट सर्ने गर्दथे ।

    पछि हामी काठमाडौँमा डेरा लिएर बस्न थाल्यौँ । त्यो बेला पार्टीको कार्यालय पनि काठमाडौँमा नै थियो तर पार्टी भूमिगत भएको हुनाले त्यो कार्यालय पनि भूमिगत नै हुन्थ्यो । सुरुमा म पार्टीको कार्यालयमा नै बस्ने गर्दथेँ । पछि बेग्लै डेरा लिएर बस्न थालेँ । त्यस बेला हामीले काठमाडौँ, ललितपुर र भक्तपुरसहित करिब एक दर्जन स्थानमा डेरा सर्नुपरेको थियो । त्यस सिलसिलामा हामीले काठमाडौँमा डिल्लीबजार (दुई ठाउँ), कुलेश्वर, ठैटी, स्वयम्भू, रातो पुल, ठमेल, वनस्थली ढुङ्गेधारा (चार ठाउँ), ललितपुरमा (दुई ठाउँ) र भक्तपुरको कौसलटारमा डेरा गरेर बसेका थियौँ ।

    हामीले बेग्लाबेग्लै कारण एक ठाउँबाट अर्को ठाउँमा डेरा सर्दै हिँड्नुपर्दथ्यो ।

    कुलेश्वरको कोठा र घरबेटी पनि धेरै राम्रा थिए तर त्यहाँ हाम्रो डेरा भुइँतलामा थियो । त्यहाँ कहिल्यै घाम लाग्दैनथ्यो । त्यसकारण हामीले त्यहाँको डेरा छाड्नुपरेको थियो ।

    स्वयम्भूनिरको एउटा डेरा धेरै नै राम्रो थियो र घाम पनि धेरै राम्रो लाग्दथ्यो । त्यहाँ सामान सारेर जाँदा हाम्रा पुस्तक कैयौँ बोरामा राखिएको थियो । त्यो देखेर त्यो घरकी घरबेटीले यस्ता कबाडीका सामान ल्याएर आउनेलाई घरमा बस्न दिन्न भनेर दिनदिनै झगडा गर्न थालिन् । त्यसकारण एक हप्तामा नै हामीले त्यो घर छोडेर हिँड्नुपरेको थियो ।

    ठैटीको एउटा डेरामा घरबेटीले कोठामा आउने मानिसका जुत्ता गन्दथे । धेरै मान्छे आएको भनेर कचकच गर्दथे । त्यसकारण एकदुई महिनामा नै हामीले त्यो डेरा छोड्नुपरेको थियो । त्यो बेला कुनै घरमा डेरा लिएर बसे पनि पार्टीका मान्छे भएको भन्ने कुरालाई हामीले लुकाउने प्रयत्न गर्दथ्यौँ ।

    भक्तपुरको कौसलटारको डेरामा हामी धेरै वर्ष बस्यौँ । त्यो डेरा गोप्य पनि थियो । त्यो घरको घरबेटी गोपाल र उहाँको परिवार धेरै राम्रो पनि हुनुहुन्थ्यो तर त्यो डेरा धेरै टाढा र अपायक परेको हुनाले हामी त्यहाँबाट सरेर ढुङ्गेधारा आयौँ । ढुङ्गेधारामा नै दुर्गाकी बहिनी गायत्री र तुफानको घर भएकाले त्यहाँ डेरा गरेर बस्दा धेरै मदत पुग्दछ भनेर हामी त्यही सरेर आयौँ । खास गरेर त्यो बेला हाम्रा दुईओटै छोरा साना भएकाले र दुर्गा र म दुवै जना प्रायश: बाहिर गइराख्नुपर्ने भएकाले हाम्रा छोराको हेरचाह, खानपिन र दु:खबिरामी हुँदा मदत पुग्दछ भनेर नै हामीले त्यही एरियामा बस्ने निर्णय गरेका थियौँ । ढुङ्गेधारामा हामीले चारओटा डेरा बदल्यौँ तर डेरा जति बदले पनि गायत्रीको आसपासमा नै डेरा खोज्ने हाम्रो प्रयत्न भइरह्यो र अहिले पनि हामी ढुङ्गेधारामा नै बसेका छौँ ।

    डेरा सर्दा हामीलाई सबैभन्दा ठुलो समस्या सामान र पुस्तक पनि सार्ने कुराको नै हुन्थ्यो । डेरा सर्दा कैयौँ पुस्तक हराउने गर्दथे । त्यसरी एकपल्ट मेरो एउटा उपन्यास “तारा” हराएको थियो भने एकपल्ट ‘कामरेड जलजला’ का सबै प्रति हराएका थिए । ‘तारा’ उपन्यास ता हस्तलिखितमा थियो र त्यसको कुनै प्रतिलिपि थिएन । त्यसकारण त्यो उपन्यास पुन: कहिल्यै भेटिएन तर ‘कामरेड जलजला’ उपन्यास कम्युटरमा भएको हुनाले त्यो सुरक्षित नै रह्यो । डेरा सर्दा सामान सार्नेभन्दा झन् ठुलो मुस्किलको काम ती सामान र पुस्तक मिलाउने नै हुन्थ्यो । कतिपय बेला मैले पुस्तक राख्नका लागि डेराभन्दा बाहिर बेग्लै कोठा पनि लिने गर्दथेँ ।

    मिति : २०८० असार ६ गते

    बिहिबार, असार ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.