काठमाडौँ । नेपाल मेडिसिटी अस्पताल नख्खु ललितपुरको बिलिङ सेक्सनमा काम गरेका तीन पूर्वकर्मचारीले अस्पतालबाट करोडौँ रकम ठगी गरेकोमा पक्राउ परेका छन् ।
आरोपितहरूलाई २०८० जेठ २४ गते बुधबार सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार बिरामीबाट लिएको शुल्कबाट अस्पतालमा दाखिला गर्नुपर्ने भन्दा कम रकम देखाएर ठगी गरेको पाइएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरूले बिरामीबाट लाग्ने शुल्क लिएर सफ्टवेयरको दुरुपयोग गरी कम शुल्क प्रविष्ट गरी ठगी गरेका हुन् ।
यसरी ठगी गरेको आरोप पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका–४ घर भई भक्तपुरको ठिमी बस्ने वर्ष ३४ का राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका– ११ चापागाउँ बस्ने वर्ष २९ का सनम देशार र काठमाडौँको बालुवाटार बस्ने ३४ वर्षे आशीष अर्याल छन् ।
उनीहरू विरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको कार्कीले जानकारी दिनुभयो ।
ती कर्मचारीले अस्पतालमा प्रयोग हुँदै आएको सफ्टवेयरको दुरुपयोग गरी बिरामीबाट शैया शुल्क, डाक्टर शुल्क र नर्सिङ शुल्कसमेतको वास्तविक शुल्क लिई निजहरूबाट लिएको शुल्कभन्दा कम शुल्क देखाए रु दुई करोड ६३ लाख ५५ हजार ठगी गरेको आरोप लागेको ललितपुर प्रहरीको भनाइ छ ।

