काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मसालको तीन ऐतिहासिक अभियान सुरु भएको बताउनुभएको छ ।
नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० वैशाख ९ गते शनिबार राजमो केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले सो जानकारी दिनुभएको हो ।
उहाँले वैशाख १८ गते उद्घाटन हुने उक्त कार्यक्रम आगामी एक वर्षसम्म सञ्चालन हुने बताउनुभयो ।
‘आजदेखि नेकपा स्थापनाको पचहत्तरौँ वर्ष अर्थात् हीरक अवधि सुरु भएको छ’ उहाँले भन्नुभयो– ‘त्यस्तै, यही साल लेनिनको मृत्यु भएको एक सय वर्ष पुग्दै छ । एवम् प्रकारले यही वर्ष हाम्रो पार्टीको नवौँ महाधिवेशन गर्ने समय पनि आइसकेको छ ।’
महामन्त्री सिंहले यी तीनओटै ऐतिहासिक कार्यक्रम सँगसँगै चल्ने बताउनुभयो ।
‘यी तीन ऐतिहासिक कार्यक्रमको सन्दर्भमा पार्टीले सङ्गठनात्मक कार्यक्रम अगाडि बढाउने छ’ उहाँले भन्नुभयो– ‘यस वर्ष हामीले लेनिनको योगदानसित सम्बन्धित विषयमा केही पुस्तकहरू समेत प्रकाशन गर्ने छौँ ।’
सम्बोधनको क्रममा उहाँले यसै अवधिमा नवौँ महाधिवेशनको तयारी पनि सँगसँगै बढ्ने बताउनुभयो ।
‘हामीले यस अवधिमा नवौँ महाधिवेशनको तयारी पनि गर्ने छौँ’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा हामीले पार्टीको विभिन्न आन्तरिक कार्यक्रम सम्पन्न गर्ने छौँ ।’
फरक प्रसङ्गमा महामन्त्री सिंहले नेकपा (मसाल) को संयुक्तमोर्चासम्बन्धी नीति माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि आधारित रहेको दाबी गर्नुभयो ।
‘हाम्रो पार्टीको संयुक्तमोर्चासम्बन्धी नीति माक्र्सवादी–लेनिनवादी नीतिमाथि आधारित छ’ उहाँले भन्नुभयो– ‘सोही नीतिअनुसार तात्कालिक राजनीतिमा प्रतिगमन विरोधी सहकार्यअनुसार अहिले काङ्ग्रेससित समेत सहकार्य भइरहेको छ ।’
महामन्त्री सिंहले कम्युनिस्ट कार्यनीति चौबिस घण्टामा फेरिन सक्ने बताउँदै तात्कालिक राजनीतिमा कार्यनीति एकैनासको नरहने पनि बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, वामपन्थी नेता आनन्द शर्मा, जातीय समता समाजका महासचिव भक्त विक र अखिल नेपाल बुद्धिजीवी सङ्घका कोषाध्यक्ष भोला ढकालले पनि मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा समता समाजका अध्यक्ष तथा राष्ट्रियसभाका सांसद राजेश विक, राजमो कोषाध्यक्ष मधु क्षेत्री, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्म, राजमो काठमाडौँका सचिव छवि खनाल, प्युठान स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानालगायतको आतिथ्य रहेको थियो ।
नेकपा (मसाल) बागमती प्रदेश ब्युरो प्रवक्ता समीर सिंहको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन मसालकै काठमाडौँ जिल्ला प्रवक्ता जगत्प्रसाद रेग्मीले गर्नुभएको थियो ।






