काठमाडौँ । राष्ट्रिय जनमोर्चा काठमाडौँ जिल्ला समितिले अमेरिकी साम्राज्यवादको विरोधमा सभा सम्पन्न गरेको छ ।
पछिल्लो समयमा नेपालको राष्ट्रियतासामु अमेरिकी साम्राज्यवादबाट खतरा बढ्दै गएको भन्दै २०८० वैशाख ७ गते बिहीबार देशव्यापी कार्यक्रमअन्तर्गत गोङ्गबुमा सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो केन्द्रीय सदस्य लालबहादुर थापाले पछिल्लो समयमा अमेरिकी साम्राज्यवादले नेपाललाई क्रिडास्थल बनाउन थालेको बताउनुभयो ।
नेपालमा बेग्लै राजनीतिक पार्टी खोल्ने मात्रै होइन, संसद्भित्रै आफूअनुकूलको राजनीतिक पार्टी खोल्न खोजेको बताउँदै उहाँले त्यसको विरोधमा राजमोले वैशाख ७ गते देशव्यापी कार्यक्रम गरिरहेको बताउनुभयो ।
पछिल्लो समयमा परिवर्तनका मुद्दासमेत ओझेलमा पर्न थालेको बताउँदै उहाँले अमेरिकी साम्राज्यवादको चलखेलले त राष्ट्रियता नै गम्भीर मोडमा पुगेकाले जनता सजग वा सतर्क हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
नेकपा (मसाल) बागमती प्रदेश ब्युरोका प्रवक्ता समीर सिंहले देशमा फोहोरो राजनीति भइरहेको बताउनुभयो ।
उहाँले धर्मको नाममा अमेरिकी साम्राज्यवादले घिनलाग्दो राजनीति गरिरहेको दाबीसमेत गर्नुभयो ।
देशमा इसाईकरणदेखि रवि लामिछाने नेतृत्वको कथित राष्ट्रिय स्वतन्त्र पार्टीलाई अकस्मात उठाउने काम अमेरिकी साम्राज्यवादबाट नै भएको उहाँको भनाइ थियो ।
कार्यक्रमको सञ्चालन जातीय समता समाजका महासचिव भक्त विकले गर्नुभएको थियो ।