काठमाडौं । अखिल नेपाल युवक संघले हालै सञ्चालन गरेको भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको मेची महाकाली अभियान उत्साहजनक रुपमा सफल भएको ठहर गरेको छ ।
अध्यक्ष अनिलकिशोर घिमिरेले बिहीबार एक विज्ञप्ति प्रकाशित गरी अभियानमा सहयोग गर्ने सबैलाई धन्यावाद दिनुभएको छ । अभियानका क्रममा २३ जिल्लाका ७० ठाउँमा जनसभाहरु, जनभेटघाट, अन्तक्रिया, पत्रकार भेटघाट तथा घरदैलो कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष घिमिरेले जनाउनुभएको छ ।
भ्रष्टाचार र खुकुलो नागरिकता नीतिले देशलाई भित्रभित्रै खोक्रो बनाउँदै लगेको भन्दै युवक संघले आगामी दिनमा अझै ब्यापक जनतालाई गोलवन्द पार्दै अझै ठुाल अभियान सञ्चालन गर्ने युवक संघले जनाएको छ ।
यस्तो छ, विज्ञप्तिः
अखिल नेपाल युवक संघ केन्द्रीय समितिले समृद्धिको बाधक भ्रष्टाचार र राष्ट्रघाती नागरिकता संशोधन विधेयकको विरुद्ध सञ्चालन गरेको मेची महाकाली खबरदारी अभियान माघ १५ गते महेन्द्रनगरमा उद्घाटन भइ माघ २९ गते काँकडभित्तामा पुगेर समापन भएको छ । हामीले यो अभियानमा अहोरात्र खट्नुभएका संगठनका नेता तथा कार्यकर्ताहरुलाइ बिशेष अभिनन्दन गर्न चाहन्छौँ।
हामीले राष्ट्रिय हितसँग जोडिएका सामाजिक बिषयबस्तुलाई केन्द्रमा राखी कैयौंपटक यस्ता अभियानहरु सञ्चालन गर्ने गरेका छौं । अहिले जनताको प्रत्यक्ष सरोकारको राष्ट्रिय बिषय भ्रस्टाचार बनेको छ । शासकदेखि प्रशासकसम्म, राज्यको माथिल्लो निकायदेखि तल्लो तहसम्म भ्रस्टाचारले भयावह रुप लिएको छ । यही अवस्था कायम रहिराख्ने हो भने मुलुकको आर्थिक अवस्था जर्जर बन्नेछ र मुलुक असफल राष्ट्र बन्ने छ । भ्रष्टाचारलाई संस्कृती बनाउने, संस्थागत रुपमै भ्रष्टाचारका आधारहरु खडा गर्ने र पुस्तौंपुस्ता सम्मको लागि अकुत सम्पत्ति आर्जन गर्ने, त्यसैलाई चुनाबको आधार गराउने, पैसाकै लोभमा ठुलाठुला राष्ट्रघाती सन्धिसम्झौता गरि देशको श्रोत साधनमाथि विदेशीहरुको एकाधिकार कायम गराउने लगाएतका प्रवृत्तिहरु बढ्दै गएका छन । त्यसैले भ्रष्टाचारको अन्त्य गर्नको लागि खबरदारी अभियान सञ्चालन गरिएको हो ।
पटकपटकको खुकुलो नागरिकता नीतिले जनसाङ्खिक आक्रमण भइ मुलुक विदेशीहरुको क्रीडास्थल बन्ने खतरा पैदा भएको छ । विदेशी शक्तिकेन्द्रहरुको विश्व शक्तिको आपसी होडबाजीमा नेपाललाई रणनीतिक मैदान बनाउने षडयन्त्र पनि भइरहेको छ । एमसीसी परियोजना त्यसैको पछिल्लो प्रकट रुप हो । यसैले खुकुलो नागरिकता नीतिको खारेजी हुनु अहिलेको मुख्य बिषय हो ।
साथै भारत र अमेरिका लगाएतका विश्व साम्राज्यवादी देशहरु र दलाल पुँजीवादी बहुराष्ट्रिय कम्पनीहरु विकासको नाममा देशमा पसेर आफ्नो स्वार्थ पूरा गर्ने र नेपालजस्ता देशमा आफ्ना सेना तैनाथ गरि स्वतन्त्र देशलाई आफ्नो सुरक्षा घेरा भित्र पार्ने रणनीतिको डटेर मुकाबिला गर्नु जरुरी छ ।
हामीले अभियानको दौडानमा यस बिषयमा देशका करिब ७० ठाउँमा जनसभाहरु, जनभेटघाटहरु, अन्तक्रियाहरु,पत्रकार भेटघाट, घरदैलो कार्यक्रमहरु सञ्चालन गरेका छौं । देशको सुदुरपश्चिम महेन्द्रनगरदेखि पूर्वको काँकडभिट्टासम्म २३ जिल्लामा कार्यक्रम सम्पन्न गरेका छौं । आम जनसमुदायबाट हामीलाई व्यापक सहयोग, समर्थन र ऐक्यबद्धता पनि प्राप्त भएको छ । यस प्रती खुसी व्यक्त गर्दछौं । यसले हामीलाई आगामी दिनमा अझ शशक्त कार्यक्रम सञ्चालन गर्न प्रेरणा प्राप्त भएको छ । आगामी दिनहरुमा अझ ब्यापक जनताहरुलाई गोलबन्द पार्दै हाम्रा अभियानहरु सञ्चालन गरिने समेत जानकारी गराउदछौं ।
यो पनि पढ्नुहोस्ः खबरदारी अभियानको सन्देशः अझै अघि बढ युवा !