विष्णु शर्मा ##
भोकको ज्वाला मेट्नैपर्ने नसकिने मर्न
जसले गर्दा बाध्य भयौँ देशको सीमा तर्न ।
परदेशको बाटो लाग्छौँ सुन्दर सपना बोकी
यहाँ आई रुनुपर्छ टाउको ठोकी ठोकी ।।
देशको सीमा तरेसँगै सुरु हुन्छ दसा
दिनहँुका अप्रिय घटनाले उडी जान्छ होस ।
बाटाबाटै समस्याले दस्तक दिन थाल्छन्
बिनाकसुर निर्दोषलाई जेलभित्र हाल्छन् ।।
चकनाचुर हुन पुग्छन् सुन्दर सपनाहरू
घरमा औला गनी बस्छन् कठै आफ्नाहरू ।
नझुल्किँदै अस्ताउँछ कठै झुल्के घाम
सन्तान खोज्दै विलाप गर्छन् घरमा बाबाआमा ।।
कोहीको ज्यान बाटामै जान्छ रेलबाट खसी
कोहीलाई मार्छन् घरैभित्र लगाएर फाँसी ।
सकेसम्म उम्काउँछन् आत्महत्या भनी
हत्यारालाई बचाउँछन् अनेकौँ तिकडम गरी ।।
एफआइआर दर्ता हुन्न हुँकार सानो भए
यसैगरी निर्दोषका कति ज्यान गए ।
कोहीलाई गाड्छन् खाल्टोभित्र बलात्कार गरी
यस्ता घटना परदेशमा घट्छन् घरी घरी ।।
कोही हुन्छन् लापत्ता नचिनेर ठाउँ
चिनुन पनि कसरी पराइको गाउँ ।
सरकारको कर्तव्य हुन्छ नागरिकको रक्षा
मरिरा’छन् दिनहुँजसो जनता निहत्था ।।
चुँसम्म पनि गर्दैन आफ्नो देशको सरकार
अरू देशले राख्छन् कुकुरको पनि दरकार ।
सरकारलाई घुम्ने कुर्ची बचाउन ठिक्क
नागरिकहरू परदेशमा परिसके दिक्क ।।
आन्दोलनमा जुट्नुपर्छ कामकाज छोडी
काम नगरे केही पाइँदैन रित्तो हुन्छ गोजी ।
आउँदैनन् यिनी मुद्दा देशमा संसद् चल्दा
थाह पाउँदैनन् प्रवासमा आन्दोलन बल्दा ।।
न्याय मिल्न गार्हो पर्छ सरकार कमजोर हुँदा
आफैलाई सुबिधा बढाउँदै छन् जनता रुँदा ।
प्रवासमा सङ्गठन नभए मिल्ने थिएन गुहार
अझै विकराल हुने थिए परदेशीका मुहार ।।
कहिलेसम्म देशका जनता अनाहकमा मर्ने ?
कैले होला देशैभित्र कलकारखाना खोल्ने ?
सङ्गठित हुनुपर्छ सबै नेपालीजन
एउटै मालामा उनी राखौँ हामी सबका मन ।।
एउटालाइ बिपत् पर्दा अर्कोको झरोस् आँसु
सामाजिक भावनाले गरोस् सबको मनमा बास ।
न्यायिक लडाइँ लड्न सबै एकै ठाउँमा आऊँ
सुतेको सरकारलाई उठाउन स्वदेश पनि जाऊँ ।।
जबसम्म न्याय मिल्दैन नगरौ कोही आराम
सङ्गठनमा तागत हुन्न भन्नेको चिर्नुपर्छ भ्रम ।
छिटोभन्दा छिटो अपराधीलाई दिलाएर दण्ड
पीडितलाइ न्याय दिलाई फहराऊँ देशको झन्डा ।।