काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले मासिक १२ हजार डलर तलब पाउने भएका छन् ।
नेपाल क्रिकेट संघले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा ओडिआई मान्यता जोगाएपछि पारिश्रमिक बढाउने तयारी गरेको हो ।
मुख्य प्रशिक्षक देसाइले अब १२ हजार डलर पारिश्रमिक पाउनेछन्। यसअघि उनले १० हजार डलर पारिश्रमिक पाउँदै आएका थिए। उनको पारिश्रमिक आगामी अप्रिलदेखि लागू हुनेछ ।
क्यानले मुख्य प्रशिक्षक देसाइलाई सबै खर्च कटाएर मासिक १२ हजार डलर दिनेछ । सो रकम हालको मूल्य अनुसार १५ लाख ८६ हजार ४० रुपैयाँ हुन्छ।
देसाइले नेपाली टोली सम्हाल्नुअघि नै उनले नेपालको ओडिआई मान्यता जोगाए पारिश्रमिक बढाउने सम्झौता भएको थियो ।
मोन्टीले नेपाली टोली सम्हालेयता १२ ओडिआई खेलमा ११ खेलमा जित निकालेको थियो। लिग २ सिरिजमा नेपालले पहिलो पटक स्कटल्यान्ड र युएईलाई पराजित गरेको थियो । नेपालले ओडिआई मान्यता जोगाउनुका साथै जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्थान बनाइसकेको छ।