धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका दलित समुदायको नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको छ ।
पाँचजनासम्मको परिवारलाई सरकारले तोकेको निश्चित रकम र सो सङ्ख्याभन्दा बढी भए प्रतिव्यक्ति थप बुझाउनुपर्ने सबै रकम पालिकाले तिरेकोे हो ।
हालसम्म पालिकाले एक सय २१ दलित समुदायको नि:शुल्क बीमा गरिदिएको पालिकाका स्वास्थ्य शाखाप्रमुख गणेशकुमार यादवले जानकारी दिनुभयो । दश वडा भएको पालिकाको वडा नं ८ बाहेक सबै वडाका दलित परवारको बीमा गरिएको उहाँको भनाइ थियो ।
गएको साउनदेखि पालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेर उक्त कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिनुभयो । ‘उत्पीडित र पछि परेका दलित समुदायलाई राज्यको उपस्थितिको प्रत्याभूति दिन यो सुविधा दिइएको हो, उहाँले भन्नुभयो ।
उक्त पालिकाले आफ्ना पालिकामा कार्यरत अन्य ५२ महिला स्वास्थ्य स्वयंसेवीकाहरुको पनि नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको थियो ।