• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

निराजन (कथा)


  •   शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
  • लक्ष्मण बेल्बासे ##
    फागुनको महिना । दिनमा तातो, बिहान साँझ झनै जाडो । तराईको बसाइ केही रमाइलो पक्कै भएको छ । थोरै भए पनि जाडो सकिएको अनुभूति हुन थालेको छ । राम मनोहर त्यहीका रैँथाने हुन् ।

    Advertisement

    उनको घरभन्दा केही पर आजभोलि पहाडबाट झरेका मान्छेका बस्ती पनि छन् । राम मनोहर सानै छँदा उनको गाउँमा पहाडिया थिएनन् । कोही आए पनि भाषा फरक, भूषा फरक र खास त छालाको रङ नै फरक । राम मनोहर अनौठो मान्दथे । हुन त उनी आफैलाई पनि पहाडिया कुरा आउँदैनथ्यो ।

    पुराना कुरा सम्झन्छन् । आज तिनै पहाडिया कुरा बोल्ने रैथाने मधेसीका जमिन्दार भएका छन् । उनीहरूका मालिक भएका छन् ।

    हुन त रैथाने मधेसी पनि जमिन्दार नभएका होइनन् । अझ हिँजो मात्रै पारीबाट आएका छालाको रङ एउटै भएका मान्छे पनि रातारात जमिन्दार नभएका होइनन् र पनि मनोहर जस्ता पहिलेदेखि नै नोकर थिए । मालिक पहाडिया हुन् या मधेसी, वारिका हुन या हिजो आएका पारिका, सबै उनलाई उस्तै लाग्छ ।

    यस्तै कुरा हेर्दै र झेल्दै मनोहर बुढा भइसकेका छन् । अब तराई पनि बदलिएको छ । उनको रङका मान्छेभन्दा धेरै रङका मान्छेले मधेस भरिएको छ ।

    अहिले त उनी पनि अलि अलि पहाडिया कुरा गर्न सक्ने भएका छन् । थुप्रै कथा र ब्यथासहितको समग्र भोगाइले कपाल सेतो र गाला चाउरी पारेका मनोहर अहिले झनै निराश भएका छन् । जिन्दगीको सहारा, भरोसा र सँगै जिउने सपनाको लौरो उनले हराएको थुप्रै भएको छ तर पनि पीडा अहिले झनै बल्झिँदै गएको छ । आँसु उति बेला नै सकिए पनि निद्रा पनि उनको आँखा नजिक आउन छोडेको त्यति बेलादेखि नै हो ।

    कुरा धेरै पुरानो भइसकेको छ । मनोहरको पुकार भगवानले सुनिदिएका थिए । सानोमा बिहे गरेको भए पनि ढिलै गरेर उनले पत्नीको मिठो माया पाएका थिए । यही खुसीमा कति बेला डढेलो लाग्छ ? पत्तै भएन ।

    उनीहरूको जीवनमा साँच्चिकै डढेलो लाग्यो । राम मनोहरको परिवार मालिकको घरमै काम गरेर गुजारा चलाउने पुख्र्यौली पेसा । एक रात उनको मालिकको गिद्दे नजर उनकी पत्नीमाथि पर्‍यो । राम मनोहरको सबै खुसी खोसियो । पहाडिया कुरा नजान्ने पत्नी चिच्याउँदा चिच्याउँदै उनको सर्वस्व लुटियो ।

    सबै गुमाएकी पत्नी निराश भएकी छिन् तर राम मनोहर बदला लिने कुरा सोच्न पनि सक्दैनन् । पुलिस प्रशासन मालिकको नै भयो । राम मनोहर जस्ताको लागि समाज पनि निरीह बनिदियो ।

    दिन बित्दै गए । अब त छोरा पनि टुकुर टुकुर हिँड्ने भएको छ ।

    राम मनोहर प्रण पूरा गर्न शिवरात्रीको मौका पारेर छोरालाई काँधमा राखेर बुढीलाई अगाडि लाएर निस्किएका छन् । दु:ख, कष्ट झेल्दै काठमाडौँ पुगेका राम पशुपति पुगेका छन् । त्यहीँको पाटीमा रात गुजारेर भोलि दर्शन गर्ने सुरमा लागेका छन् । पशुपतिको जात्रा मान्छेको घुइचो । राम मनोहरलाई कतै हराइएला कि ! छुट्टिएला कि भन्ने डर लागेको छ । चकचके बेटुवा कहाँ पुग्छ एकै छिनमा, थाहै हुँदैन ।
    अझै ठुलो समस्या त्यहाँबाट सुरु हुन्छ । उनलाई पहाडिया कुरा आउँदैन । नभन्दै भगवानको नजर उनकै पुत्रमाथि परे जस्तै भएको छ ।

    उनको छोरा उनको हातबाट छुटेको छ । हेर्दाहेर्दै उनको आँखाबाट अदृश्य भएको छ । उनी चिच्याएका छन् । सुनिदिने र बुझिदिने कोही थिएन । त्यहाँ सबैका आफ्नै धुन थिए । सबैले एकले अर्कोलाई ठेलेको जस्तो मात्रै लाग्ने । त्यहाँ कसले कसलाई सुन्ने ? आज दिनदहाडै भगवानकै अगाडि रामको परिवार लुटिएको छ । गुहार दिने कोही छैन ।

    यसै पनि काठमाडौँ मधेसप्रति उदार देखिँदैन । छालाको रङ कालो हुने सबैलाई मधेसी ठान्छ काठमाडौँ र यिनीहरूलाई मान्छेकै दर्जा दिन पनि तयार थिएन । तत्कालीन काठमाडौँ । भगवान शिवले त बुझ्न नखोजेको उनको वेदना काठमाडौँले बुझ्ने त झन् कुरै भएन । निरीह रामका बुढाबुढी फेरि पनि तिनै भगवानकै शरण पर्नुको विकल्प थिएन ।

    राम लाई लाग्छ, पहाडियाले सधैँ घेरिएका र हिमालबाट झरेका पशुपतिनाथ पनि मधेसी भाषा बुझ्दैनन् । त्यसैले उनको गुहार कसैले सुन्दैन ।

    रात निष्पट्ट भइसकेको छ । जाडो बढेको छ । निरीह रामको जोडीलाई सर्वस्व गुमाएर पनि त्यही जाडोसँग फेरि लड्नुपरेको छ । यहाँ त भगवान पनि एक्लै परेका छन् ।

    उनको पुकार कतै सुनिदिन्छन् कि ? जोडले चिच्याउँछन् । उनको अगाडि सहयोगी बनेर कोही आउँदैनन् । न त उनको मुटुको टुक्रा उफ्रिँदै उनको समीपमा आइपुग्छ । निराश राम निर्विकल्प हुन्छन् ।

    यसरी नै दुईतीन दिनको दौडधुप, चिच्याहट र रोदनले विक्षिप्त हुँदै पशुपतिकै अगाडि देहत्याग गरौँ जस्तो लाग्छ । विक्षिप्त पत्नीलाई सम्हाल्न या आफै सम्हालिऊँ केही उपाय देख्दैनन् ।

    यसरी बाउआमासँग बिछोडमा परेका पुत्र राम विनोद एउटा साधुको नजरमा पर्छन् । न त साधुको प्रयासले राम भेटिन्छन् । न त खोज्दै जाँदा राम साधुको नजिक पुग्दछन् । अन्तत: राम विनोद एक साधुको आश्रममा अनाथ बन्न पुग्दछन् ।

    आफ्नो सम्पूर्ण परिचय गुमाएका राम विनोद अब कुटीमै निराजन भएर हुर्किएका छन् । उनको नाम बदलिएको छ । सबैथोक बदलिएको छ । उनको रङ बदलिएको छैन । समय रोकिएको छैन । समयसँगै निराजन बनेका विनोद पनि केही हुर्किएका छन् । एक दिन भिक्षाटनमा निस्किएका योगी कुटी फर्किएका छैनन् । यिनै निराजनबाहेक योगी कहाँ पुगे र किन फर्केनन् ? सोध्ने खोज्ने कोही छैनन् ।

    अब निराजन सडक बालक बनेका छन् । उनी आफैसँग आफ्नो परिचय छैन । आफै को हुन् ? उनी आफैलाई थाहा छैन । योगीले चिनाएका अक्षरबाहेक उनको दिमागमा केही छैन । उनको रङका अरू नै भए पनि पहाडिया कुरा बोल्न भने सक्छन् र पनि निराजन अब सडक बालक भएका छन् । सडक नै उनको घरसंसार भएको छ ।

    धेरै हिउँदबर्खा गए । सडकमै निराजन जवान भएका छन् । सडकमै कैयौँ नाराजुलुस देखेँ । पड्किएको गोलीका खोका भेटे । आफैले ओढ्ने पत्रिका पढे । कहिले जँड्याहाको लात खाए, कति चोटि फालेको भात खाए । अब त नाराजुलुसमा आफै गए । सबै गर्दा पनि उनको परिचय कतै देखिएन । न त परिचय पत्र नै पाए ।

    अब उनको नयाँ परिचय थपिएको छ । खातेबाट माग्ने । अब उनको पेसा भएको छ माग्ने ।

    कहिले सडकमा गोली पड्कने । कहिले आन्दोलन भड्किने । आफैले पत्रिकामा भेटाउँछन् । धेरैको बलिदानपछि देशमा गणतन्त्र आयो । उनी बुझ्दैनन्, के हो देश ? के हो गणतन्त्र ? उनलाई एउटै डर छ, भोलिबाट मागेर पनि खान नपाइने हो कि ?

    उनले पत्रिकामा पढेअनुसार गणतन्त्र आएको पनि धेरै भइसकेछ । अबसम्म मागेरै बाँचेका निराजनको दारी पनि सेतो हुन थाले छ ।

    सम्झन्छन्, देशमा गणतन्त्र आएसँगै भुइँचालो पनि आयो । त्यही भुइँचालोले उनी सुत्ने फलचा र मन्दिर पनि भत्काइदियो । उनलाई दु:ख लाग्यो, त्यही एउटा छिडी पनि प्रकृतिले खोस्यो । त्यही सिँढीमा पनि को सुत्ने भनेर उनी जस्तै अरूसँग विवाद हुने नगरेको होइन तर पनि उनलाई लाग्थ्यो, यो सिँढी त उनकै हो । यसका लागि उनले धेरैसँग लडेका छन् । अरू धेरैका लडाइँ देखेका उनी यस्तै लडाइँ नै जीवन हो जस्तो लाग्छ तर पनि खासमा जीवन के हो ? उनलाई थाहा छैन ।

    आफ्नै बाआमा को हुन् ? थाहा नभएका उनी अरू थाह भएर पो के गर्नु जस्तो लाग्छ । आज पनि सहरका चोक चोकमा लडाइँ चलेको छ । अश्रुग्याँस फैलिएको छ । गोली पड्किएका छन् । राम्ररी नबुझेका उनलाई यो लडाइँ झनै जटिल लाग्दछ ।

    भएजतिका मान्छे चोकमा जम्मा भएका छन् । कार्यालय रित्याएर पुलिस सबै बाटोमा आएका छन् ।

    उनले थोरै सुनेका छन् । सर्वहारा भनेको बुझ्न थालेका छन् । गरिबी के हो ? थाहा पाउन थालेका छन् । विभेद के हो ? दिनदिनैको भाषण सुनेर केही थाहा पाएका छन् ।

    उनी सुन्छन्, यो लडाइँ सर्वहाराको मुक्तिका लागि हो । विभेदको अन्त्यका लागि हो ।

    उनलाई अचम्म लाग्छ, यो कस्तो लडाइँ हो ? जसलाई मुक्ति चाहिएको छ, ऊ गुमनाम छ । उसलाई केही थाहा छैन ।

    आज भारी बोक्न नपाइएला कि ! आज माग्न पनि नपाइएला कि भन्ने चिन्तामै रुमल्लिएका छन् तर अरू नै सुकिला मुकिला हुनेखानेहरू नै यिनै सर्वहाराको मुक्तिका लागि भनेर पुलिससँग दिनदिनै लडेका छन् । भारी बोकेको ज्याला दिनसमेत अफ्ठेरो मान्ने साहु र पाँच रुपैयाँ माग्दा गरेर खान सकिन्नँ भनेर हप्काउने साहु सर्वहाराको मुक्तिका लागि भनेर पुलिससँग लडेको देख्दा अचम्म लागेको छ ।

    उनको मनमा शङ्का उब्जिएको छ । हामी सर्वहाराको नाममा यिनीहरूले रजाइँ गर्न खोज्दै छन् । होइन भने यिनी साहुहरू हाम्रा लागि किन लड्छन् ? त्यही पनि भिडमा मिसिएर नारा लाउन थाल्छन् निराजन ।

    आज एक दिन भए पनि मासुभात खान पाइने भयो भनेर मख्ख पर्छन् । जहाँ गार्‍हो, त्यहीँ सार्‍हो भने जस्तै मच्चिएर उफ्रिएका निराजन पुलिसको गोली पनि उनैलाई खोज्दै आइपुग्छ । भिडमै पुक्लुक्क ढल्छन् । होस गुम हुँदै जान्छ । धेरै पछि पुलिसको घेरामा हस्पिटलको बेडमा आफूलाई पाउँछन् । जिन्दगीमा पहिलो चोटि बिस्तराको अनुभव गर्छन् । गोली निकालिसकिएको छ ।

    पुलिसको अनुसन्धान चलिरहन्छ । “एउटा आतङ्ककारी पुलिसको घेरामा” समाचार छापियो ।

    निराजन एकैछिनमा अब आतङ्ककारी भएका छन् । केरकार सकिन्छ । आखिर निराजन सडक मान्छे नै ठहहरिन्छन् । उनलाई बुझ्न चौकीसम्म आउने कोही छैन । अन्तत: सडकमै छोडिन्छन् ।

    उनलाई लाग्छ, पशुपतिको साँढे र उनमा केही फरक छैन । साँढेलाई त शिवरात्रीमा सबैले पुज्छन् । उनको दिन कहिल्यै आएन ।
    आज त्यही सिँढी पनि अब उनीबाट खोसिएको छ । उनी जस्तै धेरैका खोसिएका छन् । त्यही सिँढीमै बस्दाबस्दै धेरैका खुसी खोसिएको देखेका उनलाई यो पनि सामान्य नै लाग्छ ।

    केही वर्ष बिते । आज फेरि सहरमा चहल पहल बढेको छ । सहर सजिएको छ । साहु, ठुलाबड़ाको चुरीफुरी बढेको छ । झाँकी र ब्यानर हेर्छन् । आज गणतन्त्र दिवस रहेछ । मानिसको भिड लागेको छ । रत्नपार्क भरिएको छ । सडकको छेउमा टोलाई रहेका निराजनलाई पुलिस आएर धपाउँछन् । बाटो पूरै खाली भएको छ । भन्छन्, राष्ट्रपति आउँदै छन् । पुलिस दाइले भन्छन्– खुशीको दिन हो आज । हातमा फूल लिएर स्वागत गर महामहिमको र तिमी पनि खुसी हुनुपर्छ । अनुहार हँसिलो हुनुपर्छ ।

    निराजन अचम्म मान्छन् । उनले सुनेको र पढेको गणतन्त्र आएको त धेरै भइसक्यो । उनी खुलामञ्चमा सुत्दै गर्दा धेरैपटक यो पर्व मनाएको देखिसकेका छन् तर उनलाई अचम्म लाग्छ, उनी खुसी हुनुपर्ने कारण के छ ? पुलिस दाइलाई सोध्छन् ।

    निराजन आफै मनमनै भन्छन्– मलाई एक छाक मासुभात ख्वाउनुस् । अनि खुसी हुन्छु ।

    कालो वर्णको निराजनलाई छेउमै बसेका सज्जन जानी नजानी हिन्दीमै सोध्छन्– “तुम इन्डिया का हे कि नेपाल का ?”

    निराजन भन्छन्– “म नेपाली हो कि इन्डियन ? मलाई नै थाहा छैन । यति थाहा छ । गणतन्त्र ल्याउन मैले पनि गोली खाएको छु ।

    सज्जन भन्छन्– हट्टाकट्टा नै छौ । एक छाकका लागि के पैसा माग्छौ ? गरेर खान सक्दैनौँ ?”

    निराजन भन्छन्– “यहाँ मलाई कसले काम दिन्छ ? सरकार मलाई चिन्दैन । साहुको नजरमा म एउटा सडक मान्छे हो । भरोसा छैन । हजुर

    नै भन्नुस् म के गरौँ ?”

    सज्जन भन्छन्– “केही पेसा गर ।”

    निराजन भन्छन्– “हजुर मलाई लगानी जुटाई दिनुहुन्छ ? म चटपटे पसल चलाउँछु । कमाएर तिरौँला ।

    सज्जन झस्किन्छन्– “म को हो र तिम्रो ? तिम्रा लागि लगानी जुटाइदिने ?”

    निराजन भन्छन्– “महोदय ! उसो भए यो अवस्थामा मैले किन र केका लागि मुस्कुराउनुपर्ने ? गणतन्त्र आयो त तपाईं जस्तै सुकिला मुकिलाका लागि आयो । व्यवस्था बदलियो त तपाईंहरूकै लागि बदल्नुभयो । हामीले के पायौँ ? अहिले पनि तपाईंले भनेर मैले किन मुस्कुराउनुपर्ने ?”

    सज्जन झस्किन्छन् ।

    निराजन भन्छन्– “महाशय ! अब म केही गर्न हजुरको घरमा चोरी गरौँ ? तपाईं पुलिस बोलाएर कारबाही गराउनु हुन्छ ।”
    सज्जनको बोली बन्द हुन्छ ।

    निराजन प्रश्न गर्छन्– “सज्जन यो देशमा म जस्तैको खाने, बस्ने र बाँच्न पाउने अधिकार छ कि छैन ? यदि यो देशमा हामी जस्ताको केही अधिकार छैन भने । हामीले यो देशको नियम, कानुन किन मान्नुपर्ने ?”

    सज्जन जवाफविहीन भएका छन् ।

    निराजन भन्छन्– “हामीलाई मान्छेको दर्जा यो सुकिला मुकिलाको समाज ले दिँदैन भने बाँच्नका लागि पशुको व्यवहार देखाउन हामीलाई कसले रोक्ने ? हामी चोरेर खान्छौँ । खोसेर खान्छौँ । तिमी र तिम्रो समाज मिलेर हामीलाई लखेट्दै गर । छेउ लाउँदै गर । खासमा तपाईं जस्ताले बनाएको यो समाज हामी सर्वहारा भोकभोकै मरेको हेर्न मात्र चाहन्छ । बुझ्नु भयो महाशय ?”

    यत्तिकैमा स्टेजको आवाज बाटोसम्मै आइपुग्छ, भर्खरै बाटो खाली गराएर । महङ्गो गाडीमा सवार महाशय लालसलाम भन्दै गर्जिन्छन् । नारा लगाउँछन्– “सर्वहारा जिन्दावाद !”, “जनवादी क्रान्ति जिन्दाबाद !”

    निराजन भन्छन्– “सज्जन सुन्नुहोस् र भन्नुस् जिन्दावाद !”

    केही समय दुवै जना चुप रहन्छन् । निराजनलाई अझै धेरै कुरा बताउन मन लाग्छ ।

    सज्जनलाई देखाउँदै भन्छन्– “महाशय ! हजुर यहाँ जति देख्नुहुन्छ, ठुला ठुला भवन सबै प्रजातन्त्र र गणतन्त्रपछि नै बनेका हुन् । बाटोमा हेर्नुहोस्, यतिविघ्न महङ्गा गाडी गणतन्त्रपछि नै भित्रिएका हुन । अहिले खोजेर हेर्नुहोस् । यी सबै भवन र गाडी यिनै व्यवस्था बदल्नेहरूकै हुन् । त्यति मात्रै हैन, यी भवनले तानेर मापदण्ड विपरीत बनाएका यी टहारा र कोठीमा पसल गर्ने साना व्यापारी हुन् । ऋणधन गरेर मालिकलाई बुझाएका छन् । यिनै टहरामा भबिस्य खोजेका छन् । यिनीहरू पनि छोराछोरी पढाउन, हामी पनि सुखी हौँला, धेरै सपना देखेका छन् ।

    सडकबाट छाप्रोमा पुग्ने धेरै छन् । कुनै दिन नयाँ गर्छु भन्ने कोही आउने छ । सहरको सुन्दरता बिग्रियो भन्ने छ । डोजर डुलाउँदै यिनैलाई फेरि सडकमा पठाउने छ । बुझ्नु भयो महाशय ? भवन मालिकलाई कोही केही गर्न सक्दैन । किन भन्नु होला । यो व्यवस्था यिनै भवन मालिकको हो । यी नेता त उनैका कारिन्दा मात्रै हो । त्यसैले गरिबले सपना देख्न यहाँ मनाही छ ।”

    सज्जन गम्भीर हुँदै छुट्टिएका छन् । नाजवाफ भएका छन् । अब लालसलामले आफैलाई गिज्याए जस्तो लागेको छ ।

    यसरी नै गणतन्त्र, प्रजातन्त्र दिवस धेरै चोटि मनाएको निराजनले हेरिरहेका छन् । उनलाई लाग्छ, यी दिवस खुल्लामञ्चमा ल्याएर प्रजातन्त्र र

    गणतन्त्रको खिल्ली उडाउन मनाए जस्तो लाग्छ । मान्छेको झिनो सहभागितालाई हेरेर उनलाई लाग्छ, सबैले बुझे जस्तो लाग्छ । गणतन्त्र सीमित मान्छेको पेवा भइसकेको छ ।

    बाटोमा माग्ने र मन्दिरमा सुत्ने, पत्रिका ओढ्ने—यसरी नै निराजनको दिन बितिरहेको छ ।

    आज फेरि धेरै पछि उनको सहरका चोक र ठुला भवनका अगाडि भिड बढेको छ । रुवाबासी मच्चिएको छ । पुलिसको उपस्थिति बाक्लो रहेको छ । बोल्न खोज्नेका आवाज पुलिसले बन्द गराउन ठुलै मिहिनेत गरेको छ तर पनि आवाजबाहिर आएका छन् । निरीह आवाज न्यायका लागि भिख मागेका छन् । आफू लुटिएको ठगिएको भन्दै छन् । डोजर चलेको छ । भिडभित्रै आवाज हराएको छ ।

    संयोग भनौँ, तिनै सज्जन आज निराजनको छेउमै पुगेका छन् । निराजनलाई सञ्चोबिसन्चो सोध्छन् । धुलैमैलो निराजनको छेउमा उभिन सज्जनलाई अफ्ठेरो लागे झँै गर्छन् ।

    निराजन अझै उनको नजिक पुग्छन् र भन्छन्– “देख्नु भयो महाशय ! यी ठुला भवन हुनेहरूले वर्षौंदेखि गैरकानुनी रूपमा बनाएका टहराबाट थुप्रै आम्दानी बटुली सकेका छन् । पैसा कमाई सकेका छन् । यो पुलिस प्रशासन त्यहाँसम्म पुग्न सक्दैनन् किनभने तिनी मालिक हुन् ।

    अहिले आएर यिनै टहरा अनधिकृत पसल भए । डोजर तिनैमाथि डुल्यो । पुँजी तिनैको नाश भयो । सपना तिनैको तुहियो, जो हिँजो सडकबाट सटरमा जान चाहन्थे र जेनतेन टहरामा पुगेका थिए । सलामी बुझाएका छन् । भाडा पनि अग्रिम तिरेका छन् । मालिक मोटाई सकेका छन् ।”

    उनी अगाडि भन्छन्– “तिनलाई पेसा–व्यवसायविहीन बनाउनेले तिनका भविस्य हेर्नुपर्दैन ? कलेजस्कुल पढ्दै गरेका बच्चाको फी कसले तिरिदिन्छ ? जिम्मा तिनले लिनुपर्दैन ? अब तिनलाई न्याय कसले दिन्छ ? ती मालिकबाट क्षतिपूर्ति भराइदिने जिम्मा कसले लिने हो ? अब सडकको आवाज कसले सुन्छ र यहाँ ? त्यही भएर महोदय ! म गणतन्त्र दिवसमा पनि खुसी हुन सकिनँ । यो देशमा रैतीबाट नागरिक हुन सकिनँ ।”

    शनिबार, मङि्सर १०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.