• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

महाधिवेशन पछिका ६ महिना उत्साहजनक : मसाल (वक्तव्यसहित)


  •   शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालले महाधिवेशन पछिका ६ महिना उत्साहजनक रहेको ठहर गरेको छ । नेकपा (मसाल)को हालै सम्पन्न राष्ट्रिय परिषद बैठक तथा केन्द्रीय समितिको बैठकले ६ महिनाको अवधिमा पार्टी तथा विभिन्न जनवर्गीय संगठनले गरेका संघर्ष एवं संगठनात्मक सुधारको विश्लेषण गर्दै यो अवधि उत्साहजन रहेको ठहर गरेको हो ।

    Advertisement

    राष्ट्रिय परिषद बैठकले गरेका निर्णय एवं समसामयिक राजनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्न महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार एक वक्तव्य प्रकासित गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यको पुर्ण पाठः

    “नेकपा (मसाल) को केन्द्रीय समिति र राष्ट्रिय परिषद्का बैठकहरू हालै सम्पन्न भएका छन् । ती बैठकहरूमा भएका निर्णयहरूबारे प्रकाश हाल्न यो वक्तव्य जारी भएको छ ।

    १. का. शरदको अध्यक्षता, का. हुकुम बहादुरको सञ्चालन, का. रामप्रकाश पुरीको स्वागत भाषणमा पार्टीका महामन्त्री का. मोहनविक्रम सिंहले आठौँ महाधिवेशनपछिको पहिलो राष्ट्रिय परिषद्को बैठकको उद्घाटन गर्नुभयो । त्यो उद्घाटन समारोहमा बैधानिक मोर्चा तथा युवक, मजदुर, किसान, महिला, जनजाति, दलित, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, कानुन व्यवसायी, सांस्कृतिक, तराई मधेश, प्रवासी नेपाली मोर्चाका प्रतिनिधिहरूले शुभकामना दिनुभयो । उद्घाटन कार्यक्रमपछि का। विपुल, का. शिला, का. आकाश (भारत),को अध्यक्षता र का. विश्वासको सञ्चालनमा बन्दसत्र सुरु भयो । त्यो बैठकले राजनीतिक प्रतिवेदन, सङ्घर्षका कार्यक्रमहरू, बैधानिक मोर्चाको र किसान मोर्चाको सङ्गठनात्मक अभियान, आर्थिक अभियान आदिबारे विस्तृत छलफल गरी निर्णय गरिए । परिषद्को बैठकमा केन्द्रीय समितिको बैठकद्वारा गरिएका कतिपय निर्णयहरूबारे पनि जानकारी दिइएको थियो ।

    २. महाधिवेशनपछि ६ महिनाको अवधिमा पार्टीले गरेका कार्यहरू उत्साहजनक रहेका छन् । त्यस प्रकारको कार्यहरू मध्ये महाधिवेशनका दस्तावेजहरूको प्रकाशन, महाधिवेशनदेखि अहिलेसम्म केन्द्रीय समितिका ४ वटा पीवीका ६ वटा र केन्द्रीय कार्यालयका १९ वटा बैठकहरू सम्पन्न भएका छन् । महाधिवेशनमा पारित ५ वटै दस्तावेजहरू, राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रस्ताव, न्यूनतम कार्यक्रम, पार्टीको विधान, धर्म, जाति, भाषा र संस्कृतिसम्बन्धी प्रस्तावहरू तथा अन्य कतिपय सैद्धान्तिक कृतिहरू प्रकाशित भएका छन् । देश र प्रवासमा समेत प्रदेश र जिल्लास्तरका प्रशिक्षण कार्यक्रमहरू सम्पन्न भएका छन् । विभिन्न मोर्चा र जनवर्गीय सङ्गठनहरूकातर्फबाट देशव्यापी कार्यक्रम बनेका छन् । सबै मोर्चा र जनवर्गीय सङ्गठनहरूका केन्द्रीय सचिवालयको बैठक बसेर ती कार्यक्रमहरूलाई ठोस रूप दिने कार्य गरिएको छ । भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेतलाई आफ्नो भूमिमा देखाएर नक्सा प्रकाशित गरेपछि त्यसका विरुद्ध देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू सञ्चालित भएका छन् । केन्द्रीय सङ्गठनकर्ताहरूको विस्तारित बैठक सम्पन्न भएको छ । फागुनमा बैधानिक मोर्चा र चैत्रमा किसान मोर्चाका सङ्गठनात्मक विस्तार अभियानहरू सञ्चालन हुने ठेगान भएको छ । आगामी वैशाख र जेष्ठमा पार्टीको आर्थिक अभियान सञ्चालन गरिने छ । यस बीचमा नेपालको लिपुलेक, लिम्पियाधुरा भारतमा देखाएर नक्सा प्रकाशित गरेपछि त्यसका विरुद्ध देशव्यापी आन्दोलन भएका छन् । उक्त सङ्घर्षका कार्यक्रमलाई सफल पार्नका लागि देशव्यापी रूपमा पार्टी, बैधानिक मोर्चा वा विभिन्न जनवर्गीय सङ्गठनहरूकातर्फबाट भएका आन्तरिक कार्यक्रमहरूको लामो सूची छ, जसको हामी यहाँ चर्चा गर्नेपट्टि लाग्दैनौँ ।

    ३. थोरै समयमा भएका यी उपलब्धीहरू आठौं महाधिवेशनको सही राजनीतिक लाइन र सङ्गठनात्मक नीतिका कारणले पार्टीमा देखापरेको व्यापक उत्साह, अनुशासन, एकता र सक्रियताका परिणामहरू हुन् ।माथि उल्लेखित उपलब्धिहरू प्राप्त गर्नका लागि गत ६ महिनाको बीचमा बैधानिक मोर्चा र जनवर्गीय सङ्गठनहरूकातर्फबाट व्यापकरूपमा आन्तरिक सङ्गठनात्मक कार्यहरू भएका छन् ।

    ४. का. मोहनविक्रम सिंहद्वारा प्रस्तुत राजनीति प्रतिवेदनमा परिषद्को बैठकमा विस्तृत रूपले छलफल भयो । जसमा गतकालको मूल्याङ्कनका साथै तात्कालिक राजनीतिक अवस्था र भावी कार्यक्रमहरूबारे प्रकाश हालिएको छ ।

    ५. भारतीय साम्राज्यवादको नेपालमाथिको बढ्दो अतिक्रमण, देशको सबैभन्दा गम्भीर समस्या भएको छ । त्यस सन्दर्भमा भारतद्वारा प्रकाशित नयाँ नक्साका विरुद्ध सरकार समेत देशका सबै राजनीतिक पार्टीहरूमा जुन ऐक्यवद्धता देखापरेको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिन्छौँ । सरकारले कालापानीबाट भारतीय सेना हट्नु पर्दछ भनेर जुन अभिव्यक्ति दिएको छ, त्यसलाई पनि हामीले सकारात्मक रूपमा लिएका छौँ । तर, त्यति मात्र पर्याप्त छैन । त्यस सिलसिलामा हामीले यी कार्यहरूमा विशेष जोड दिन्छौँ : प्रथम, भारतीय नक्सामा देखाइएका उक्त भूभागहरूलाई नेपालमा देखाएर नेपाल सरकारकातर्फबाट नयाँ नक्साको प्रकाशन । द्वितीय, भारतसित उच्च र सशक्त प्रकारले वार्ताका लागि कुटनीतिक पहलकदमी । तृतीय, उक्त मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न पहलकदमी । चतुर्थ, राष्ट्रियताका पक्षमा नेपाली जनतालाई गोलबन्द गर्नका लागि ठोस पहलकदमी । तर, उक्त विषयहरूमा सरकारले आवश्यक दृढता देखाएको देखिन्न र त्यसका लागि हामीले त्यसको आलोचना गर्दछौँ ।

    ६. मधेशवादीहरूले भारतीय साम्राज्यवादको विस्तारवादी स्वार्थ पूरा गर्नका लागि जुन अभियान चलाउँदै आएको छ, त्यो राष्ट्रघाती कार्य हो । हामीले यो कुरामा पनि जोड दिन्छौँ कि मधेशवादीहरूको त्यस प्रकारको राष्ट्रघाती वा पृथकतावादी गतिविधिलाई तराईका सबै जनता, थारु, मधेशी, मुस्लिम, आदिवासी आदिबाट अलग गरेर हेर्नुपर्दछ, जसमा उच्च प्रकारको देशभक्तिको भावना छ । भारतीय साम्राज्यवादको सेवा गर्नका लागि मधेशवादीहरूले संविधानमा संशोधन गर्न जोड दिंदै आएका छन् । संविधानमा आवश्यकतानुसार संशोधन गर्नुपर्ने आवश्यकतासित हाम्रो मतभेद छैन । तर, मधेशवादीहरूले संविधानमा जुन प्रकारका संशोधन गर्न चाहन्छन्, ती राष्ट्रघाती प्रकारका छन् र हामीले सुरुदेखि नै तिनीहरूको विरोध गर्दै आएका छौँ । जब ओली सरकारले राजपा वा उपेन्द्रको नेतृत्वको तात्कालिक फोरमसित संविधानमा संशोधन गर्ने सहमति गर्‍यो, हामीले त्यसको कडा विरोध गरेका थियौँ । तर, ओली सरकारले त्यस प्रकारको संशोधन नगरेको कारणले राजपाले आफ्नो समर्थन फिर्ता लिएको छ भने उपेन्द्र यादव सरकारबाट हटेका छन् । उक्त प्रश्नमा ओली सरकारले देखाएको अडान स्वागतयोग्य छ । तर, भविष्यमा मधेशवादीहरूले त्यो दिशातिर प्रयत्न गरिरहने वा उनीहरूको दवावमा ओली सरकारले संविधान संशोधन गर्ने सम्भावनालाई पनि पूरै अस्वीकार गर्न सकिन्न । त्यस प्रकारको कुनै कार्य गरेमा त्यसको कडा विरोध गर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ ।

    ७. हाम्रो राष्ट्रिय परिषद्को बैठकमा पारित राजनीतिक प्रतिवेदनले नेकपा वा त्यसको सरकारप्रतिको दृष्टिकोणबारे पनि स्पष्ट रूपले प्रकाश हालेको छ । वर्तमान नेकपा कम्युनिष्ट पार्टी होइन र त्यसले नेतृत्व गरेको सरकार पनि कम्युनिष्ट सरकार होइन भन्ने हाम्रो स्पष्ट र दृढ मत छ । तर, त्यसलाई प्रतिक्रियावादीका रूपमा व्याख्या गर्ने सोचाइलाई पनि हामीले गलत मान्दछौँ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले त्यसलाई निम्नपुँजीपति वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक सङ्गठनका रूपमा विश्लेषण गरेको छ । त्यस कारण त्यो देशभक्त र जनतान्त्रिक, वामपन्थी र मित्रशक्ति हो भन्ने हाम्रो ठहर छ । तर, जस्तो कि निम्नपुँजीपति वर्गको विशेषता हुन्छ, आफ्नो त्यस प्रकारको वर्गीय चरित्रका कारणले त्यो ढुलमुल, अवसरवादी र सम्झौतापरस्त पनि हुन्छ । त्यसले सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्ग तथा भारतीय र अमेरिकी साम्राज्यवादप्रति देखाएको सम्झौतापरस्त दृष्टिकोणबाट त्यो कुरामा कुनै शङ्का रहन्न । तर, त्यो त्यसको सम्झौतापरस्त प्रवृत्ति नै हो र त्यो ती प्रतिक्रियावादी शक्तिहरूको दलाल भइसकेको छ भन्ने होइन । वर्गीय र राजनीतिक रूपमा त्यस प्रकारका दुवै प्रवृत्तिहरूका बीचमा अन्तर छ र हामीले त्यो अन्तरमाथि ध्यान दिंदै त्यस प्रति (नेकपा प्रति) आफ्नो दृष्टिकोण स्पष्ट गरेका छौँ ।

    ८. नेकपा प्रतिक्रियावादी देशी वा विदेशी शक्तिहरूको दलाल नभएको हुनाले नै त्यसले मधेशवादीहरूले उठाएका राष्ट्रघाती प्रकारका संशोधनहरूलाई कार्यान्वयन गरेन । कालापानीबाट भारतीय सेना हट्नुपर्ने अभिव्यक्ति दिएको छ । गणतन्त्र र धर्मनिरपेक्षताबारे त्यसले लगातार अडान लिने गरेको छ । भेनेजुएलामा अमेरिकी साम्राज्यवादले गरेको हस्तक्षेपको विरोध गरेको थियो । बीचबीचमा एक वा अर्को प्रकारले इण्डोप्यासेफिक रणनीतिको विषयमा पनि आवाज उठाउने गरेको छ । उक्त कुराहरूमाथि ध्यान दिएर नै हामीले नेकपा वा त्यसको सरकारका ढुलमुल, अवसरवादी वा सम्झौतापरस्त प्रवृत्तिहरूको विरोध गर्दै वा तिनीहरूका विरुद्ध सङ्घर्ष गर्दै वर्तमान सरकारलाई समर्थन गर्ने नीति पनि अपनाएका छौँ । त्यसरी त्यसको चरित्र अनुरूप हाम्रो त्यस प्रतिको नीति एकता र सङ्घर्षको हो । अर्काशब्दमा त्यस प्रतिको हाम्रो नीति एकता–सङ्घर्ष–एकताको हो र हामीले त्यसअनुसार नै त्यस प्रतिका आफ्ना नीतिहरू निश्चित गरेका छौँ ।

    ९. सरकारको साम्राज्यवाद प्रतिको सम्झौतापरस्त प्रवृत्ति एमसीसी (मेलेनियम च्यालेन्ज कर्पोरेशन)का सन्दर्भमा स्पष्ट रूपले अगाडि आएको छ । एमसीसी वास्तवमा इण्डोप्यासिफक रणनीतिको नै अङ्ग हो र इण्डोप्यासिफिसक क्षेत्रमा आफ्नो प्रभुत्व कायम गर्नका लागि नै त्यसले त्यो रणनीति अगाडि ल्याएको छ र एमसीसीको उद्देश्य त्यो साम्राज्यवादी रणनीतिको सेवा गर्नु नै हो । यसको लागि हामीलाई खुसी लागेको छ कि नेकपाभित्रको नेतृत्व पंक्तिमा पनि त्यसका विरुद्ध चर्को आवाज उठेको छ । अमेरिकी राजदुतावासले नै त्यसलाई (एमसीसीलाई) इण्डोप्यासिफिक रणनीतिको अङ्ग भएको कुरा सार्वजनिक रूपले नै बाहिर ल्याइसकेको छ । त्यो अवस्थामा त्यसलाई संसदद्वारा पारित गराउने कुनै पनि प्रयत्नले नेपाललाई अमेरिकी साम्राज्यवादको क्याम्पमा लैजाने छ । त्यसकारण सरकारको त्यो नीतिको हामीले कडा शब्दमा विरोध र भ्रत्सना गर्दछौँ । उत्तरकोरियाको लगानी फिर्ता गर्ने वा त्यहाँका नागरिकहरूलाई निस्कासित गर्ने सरकारको निर्णय गम्भीर प्रकारले आपत्तिजनक छ । त्यसरी सरकारले अमेरिकाको दवावमा उत्तरकोरियाका विरुद्धको नाकाबन्दीलाई नै अनुशरण गर्ने कार्य गरेको छ । त्यसले पनि सरकारको अमेरिकी साम्राज्यवाद प्रतिको बढ्दो साम्राज्यवादपरस्त चरित्रलाई नै बताउँछ ।

    १०. आन्तरिक रूपमा पनि विभिन्न विषयहरूमा सरकारका नीतिहरू असफल हुँदै गइरहेका छन् । केही उदाहरणहरूबाट त्यो कुरा प्रष्ट हुन्छ । देशमा भ्रष्टाचार निकै बढ्दै गइरहेको छ । त्यससम्बन्धी एकपछि अर्को गर्दै कैयौँ काण्डहरू बाहिर आइरहेका छन् । सरकारले स्वयं आफ्नै कैयौँ प्रतिबद्धता र घोषणाहरूको लागू गर्न सकिरहेको छैन । यातायातमा सिन्डिकेट वा समयमा काम पूरा नगर्ने ठेकेदारहरूमाथि कारवाहीका घोषणा त्यस प्रकारका केही उदाहरण हुन् । देशमा महिलामाथिको बलात्कार र हत्याका घटनाहरू बढ्दै गइरहेका छन् । निर्मला पन्तको बलात्कार र हत्याको मुद्दालाई सुल्झाउन नसक्नु पनि सरकारको ठूलो असफलता हो । त्यो घटनाको गम्भीरता यो कुरामा छ कि त्यहाँ स्वयं प्रशासन र पुलिसहरूले नै त्यो अपराधमाथि पर्दा हाल्ने, प्रमाण नष्ट गर्ने वा त्यसरी अपराधीलाई जोगाउने प्रयत्न गरेका छन् । विकास कार्यहरूमा पनि सरकार झन्‌पछि झन् असफल हुँदै गइरहेको छ । प्रथमतः विकासको ठूलो बजेट खर्च नै हुँदैन वा त्यससम्बन्धी रकमको ठूलो अंशमा भ्रष्टाचार हुन्छ । गोकर्ण रिसोर्टबारे यति समूहसित गरेको सम्झौताले पनि सरकारको अत्यन्त गैरजिम्मेवार कार्यप्रणालीलाई अगाडि ल्याएको छ । जो अत्यन्त गम्भीर र आपत्तिजनक कार्य हो ।

    ११. देशको आर्थिक प्रणाली पनि झन्‌पछि झन् विग्रदै वा दिवालिया हुँदै गइरहेको छ । ठूलो मात्रामा भएको व्यापार घाटा त्यसको एउटा उदाहरण हो । कृषिको अवस्था पनि झन्‌पछि झन् विग्रदै गइरहेको छ । वर्षौसम्म उखु किसानहरूले मिल मालिकहरूबाट एक अर्बभन्दा बढी रकम नपाउनु अत्यन्त गम्भीर कुरा हो ।

    १२. नेकपा वा सरकारले समाजवाद उन्मुख नीति प्रति प्रतिबद्धता प्रकट गरेका छन् । तर, सरकारका नीति र बजेटहरू यथास्थितिवादी र पुँजीवादी प्रकारका नै छन् ।

    १३. हाम्रो पार्टीले दशकौँदेखि विदेशस्थित नेपाली नागरिकहरूलाई उनीहरूले वसोवास गरेका ठाउँमा नै मतदानको अधिकार हुनुपर्दछ भनेर माग गर्दै आएको छ र त्यसरी आवाज उठाउने हाम्रो पार्टी नै देशको एकमात्र राजनीतिक पार्टी हो । निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि विदेश स्थित नेपाली नागरिकहरूको पक्षमा आफ्नो मत वा फैसला दिइरहेका छन् । तर, सरकारले त्यो दिशामा अहिलेसम्म कुनै ध्यान दिएको छैन । सरकारको त्यस प्रकारको कार्यप्रणालीप्रति हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ र हामीले भारत अन्य सबै देशहरूमा बस्ने विदेशस्थित नेपालीहरूलाई शीघ्राधी शीघ्र त्यस प्रकारको अधिकार प्राप्त हुनुपर्दछ भन्ने कुरामा जोड दिन्छौँ ।

    १४. आज गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध देशी वा विदेशी प्रतिक्रियावादी शक्तिहरूले चौतर्फी रूपमा आक्रमण गरिरहेका छन् । यहाँसम्म कि कतिपय वामपन्थी शक्तिहरू, खास गरेर क्रान्तिकारी माओवादी र विप्लब समूहहरूले पनि वामपन्थी कोणबाट गणतन्त्र वा वर्तमान संविधानलाई प्रतिक्रियावादी बताउँदै तिनीहरूका विरुद्ध आक्रमण गर्ने नीति अपनाएका छन् । हामीले जुनसुकै दिशाबाट पनि गणतन्त्र, धर्मनिरपेक्षता वा संविधानमाथि भएको त्यस प्रकारको आक्रमणको कडा शब्दमा विरोध गर्दछौँ र तिनीहरूको रक्षा गर्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

    १५. वर्तमान गणतन्त्र वा संविधानको रक्षामा जोड दिनुको अर्थ सैद्धान्तिक र रणनीतिक रूपले नै तिनीहरूको रक्षा गर्नु अवश्य पनि होइन । सैद्धान्तिक र रणनीतिक रूपले हाम्रो यो दृढ मान्यता छ कि अहिलेको गणतन्त्र वा संविधानको अन्त भएर नयाँ जनवादी गणतन्त्र र संविधानको निर्माण हुनुपर्दछ । तर, कार्यनीतिक दृष्टिकोणले नै हामीले विद्यमान गणतन्त्र र संविधानको रक्षामा जोड दिन्छौँ । हामीले विद्यमान संसदीय प्रणाली वा त्यसअन्तर्गतको चुनावलाई उपयोग गर्ने नीति अपनाएका छौँ । तर, त्यस प्रकारको उपयोगमा जोड दिनुका साथै तिनीहरूको भण्डाफोर गर्नुपर्ने आवश्यकतामा पनि हामीले जोड दिन्छौँ ।माथि उल्लेखित कतिपय विषयहरू तथा देशको राजनीतिक अवस्थाले यो कुरा छलङ्ग पार्दै लगिरहेको छ कि विद्यमान संसदीय प्रणालीअन्तर्गत जनताका आधारभूत समस्याहरूको समाधान सम्भव छैन र त्यसका लागि नयाँ जनवादी क्रान्ति निर्णयात्मक आवश्यकता हो । नयाँ जनवादी क्रान्ति दीर्घकालिन जनयुद्धद्वारा सम्भव छ भन्ने पनि हाम्रो स्पष्ट मत छ । तर, तत्काल त्यसका लागि परिस्थिति तयार नभएको हुनाले हामीले शान्तिपूर्ण जनआन्दोलनलाई नै सङ्घर्षको प्रधान रूपमा लिएका छौँ । त्यसका साथै नयाँ जनवादी क्रान्तिका लागि परिस्थिति र आधार तयार पार्ने पनि हाम्रो नीति हुनेछ ।

    १६. वर्तमान संविधानलाई समर्थन गर्नुका साथै हामीले सुरुदेखि नै सङ्घीयताको विरोधमा जोड दिंदै आएका छौँ । त्यसका साथै त्यसको प्रधान रूप, प्रादेशिक संरचनालाई पनि समाप्त गर्नुपर्ने आवश्यकतामा हामीले जोड दिंदै आएका छौँ । हाम्रो जोड यो कुरामा छ कि वर्तमान सङ्घीय प्रणाली सम्पूर्ण रूपले खारेज गरेर प्रजातान्त्रिक विकेन्द्रियता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक प्रणाली कायम हुनुपर्दछ ।

    १७. हामीले नेकपालाई मित्र शक्तिको रूपमा लिएका छौं । तर, त्यो अविश्वसनीय मित्रशक्ति हो भन्ने कुरा पनि हामीले लगातार स्पष्ट गर्दै आएका छौँ । अहिलेको उपनिर्वाचनले पनि त्यो कुरा स्पष्ट गरेको छ । नेकपाको केन्द्रीय नेतृत्वसित उनीहरूले बाग्लुङ बुर्तिवाङको प्रदेशसभा तथा प्यूठानको वरौलाको वडा अध्यक्षको चुनावमा हामीलाई समर्थन गर्ने र हामीले अन्यत्र सबैतिर उनीहरूका उम्मेदवारका विरुद्ध कुनै उम्मेदवारी नदिने सहमति भएको थियो । बाग्लुङमा उनीहरूले त्यो प्रतिबद्धतालाई इमान्दारितापूर्वक पालना गरे । तर, प्युठानमा उनीहरूले आफ्नो प्रतिबद्धता तोड्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवारका विरुद्ध उठेको वागी उम्मेदवारलाई जिताउने खुला रूपले नै प्रयत्न गरे । त्यसका लागि प्यूठानको उनीहरूको जिल्ला समिति मात्र जिम्मेवार छैन । केन्द्रले पनि केन्द्रीय स्तरको त्यस प्रकारको सहमतिको प्यूठान जिल्लाले गरेको उल्लङ्घनलाई रोक्न कुनै पहलकदमी गरेन । उनीहरूको त्यस प्रकारको कार्यप्रणालीको हामीले तीव्र शब्दमा आलोचना र भ्रत्सना गर्दछौँ ।

    १८. जहाँसम्म हाम्रो सम्बन्ध छ, हामीले उपनिर्वाचनमा उनीहरूसित भएको प्रतिबद्धतालाई देशव्यापी रूपमा नै पालना गर्‍यौँ । त्यसअनुसार प्यूठानका अन्य गाउँपालिकाहरूका चुनावहरूमा पनि हामीले उनीहरूका विरुद्ध कुनै उम्मेदवार खडा गरेनौँ । हामीले कुनैपनि बेला कुनैपनि सङ्गठनप्रतिको समर्थन वा विरोधको नीति कुनै पनि प्रकारको पूर्वाग्रह वा उत्तेजनाका आधारमा गर्दैनौँ र कुनै बेलाको राजनीतिक परिस्थितिको ठोस विश्लेषण वा आवश्यकतामाथि विचार गरेर नै आफ्ना नीतिहरू निश्चित गर्दछौँ । त्यसअनुसार ने।का।लाई हामीले प्रतिक्रियावादी शक्ति मानेको भएपनि गतकालमा कैयौँपल्ट त्यससित कार्यगत एकता वा सहकार्य गर्ने गरेका छौँ र भविष्यमा पनि आवश्यकतानुसार त्यस प्रकारको नीति अपनाउन सक्ने छौँ । अहिले प्यूठानको वरौलामा उनीहरूले विश्वासघातको जुन नीति अपनाए, त्यसका आधारमा नै हाम्रो उनीहरूप्रतिको सबै नीति निर्धारित हुने छैन । त्यसको अर्थ यो हुन्छ, अहिले हामीले जुन आधारमा उनीहरूको सरकारलाई समर्थन गरेका छौँ, प्यूठानको घटनाका कारणले हाम्रो त्यो नीतिमा एकाएक परिवर्तन हुँदैन र आउने दिनहरूमा पनि राजनीतिक आवश्यकतानुसार उनीहरूसित तालमेल गर्ने नीतिलाई हामीले सधैँको लागि बन्द गर्ने छैनौँ । तर, त्यसका साथै जुन नीतिहरूका आधारमा हामीहरूले उनीहरूको विरोध वा सङ्घर्ष गर्ने कुरामा जोड दिएका छौँ, त्यो पनि यथावत् कायम रहने छ । समग्ररूपमा भन्नुपर्दा आउने दिनहरूमा उनीहरू प्रतिको समर्थन वा विरोधको नीति कुनै खास बेलाको राजनीतिक परिस्थिति वा आवश्यकताअनुसार नै निर्धारित हुँदै जानेछ ।

    १९. राजनीतिक प्रतिवेदनमा आजको कम्युनिष्ट आन्दोलन र त्यस प्रकारको पृष्ठभूमिमा नेपालको कम्युनिष्ट आन्दोलनको अवस्थाबारे पनि विस्तृत रूपले चर्चा गरिएको छ । आजको विश्वको कम्युनिष्ट आन्दोलनमा खाली सैद्धान्तिक र राजनीतिक रूपले मात्र विचलन आएको छैन, सङ्गठनात्मक प्रणालीसम्बन्धी लेनिनवादी सिद्धान्तहरूको पनि व्यापक रूपले अतिक्रमण वा भ्रष्टिकरण हुँदै गइरहेको छ । त्यसको असर हाम्रो पार्टीमा पनि परेको छ । त्यसैले एकातिर माक्र्सवादी–लेनिनवादी सिद्धान्त, क्रान्तिकारी राजनीतिक लाइनका साथै, अर्कातिर, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका आधारमा पार्टीको सङ्गठन वा अनुशासनलाई व्यवस्थित वा सुदृढ पार्नु पनि अत्यन्त कठिन कार्य भएको छ । तर, आज विश्व र नेपालको पनि अत्यन्त प्रतिकूल परिस्थितिमा पनि हामीले त्यस प्रकारको पार्टीको निर्माणका लागि पूरै प्रयत्न वा सङ्घर्ष गरिरहेका छौँ । एउटा मिलिटेन्ट, अनुशासित पार्टीको अभावमा दीर्घकालिन रूपमा क्रान्तिकारी आन्दोलन वा तात्कालिक रूपमा राजनीतिक भूमिकालाई पनि सशक्त प्रकारले अगाडि बाउनु सम्भव छैन । त्यसैले पार्टीमा देखापर्ने सैद्धान्तिक, राजनीतिक वा सङ्गठनात्मक प्रकारका सबै समस्याहरूको समाधान गर्दै हामीले त्यस प्रकारको पार्टीको निर्माण गर्ने प्रयत्न गरिरहेका छौँ । आठौँ महाधिवेशनले दिएको सही निर्देशनका आधारमा त्यो उद्देश्य पूरा गर्न सफल हुने छौँ भन्ने कुरामा हामीलाई पूरा विश्वास छ ।

    २०. जस्तो किमाथि भनियो, आज हाम्रो पार्टीले देशव्यापी रूपमा सङ्घर्षका कार्यक्रमहरू निर्धारित गरेको छ । त्यस सिलसिलामा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा, सङ्घीयताको विरोध, नागरिकतासम्बन्धी राष्ट्रघाती कानुनहरू, भ्रष्टाचार, मजदुरहरूको न्यायपूर्ण मागहरू, ग्रामीण वर्गसङ्घर्ष वा किसान आन्दोलन, महिलाहरूमाथि हुने बलात्कार र घरेलु हिंसा तथा जनजाति, दलित, प्रवासी नेपालीहरूको मताधिकारको अधिकार आदि समेतबारे व्यापक रूपले आन्दोलन सङ्गठित गर्ने हाम्रो कार्यक्रम बनेको छ । सम्भव भएसम्म त्यस प्रकारको आन्दोलनलाई हामीले पारस्पारिक समझदारीका आधारमा कार्यगत एकता वा सहकार्य गरेर पनि जाने हाम्रो प्रयत्न हुनेछ । सङ्घर्षका उक्त सबै कार्यक्रममा व्यापक समर्थनका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।

    २१.केन्द्रीय समितिले कैयौँ महत्वपूर्ण निर्णयहरू पनि गरेको छ । केन्द्रीय समितिले महामन्त्री मोहनविक्रम सिंहलाई टिभी वा विभिन्न दृश्य समाचारहरूमा जानसक्ने निर्णय गरेको छ । राष्ट्रिय सभाको आगामी चुनावमा गण्डकी प्रदेश र ५ नं. प्रदेशमा भाग लिने निर्णय भएको छ । त्यस प्रकारले सङ्गठनात्मक वा कतिपय आन्तरिक विषयमा महत्वपूर्ण निर्णय पनि गरिएका छन् ।

    २२. अन्त्यमा अध्यक्ष मण्डलकातर्फबाट का. शीलाले राष्ट्रिय परिषद्को समापन गर्नुभएको थियो ।”

    शुक्रबार, पुष १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.