काठमाडौं । नेपालमा डेंगुबाट संक्रमितको संख्या १३ हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको बुलेटिनअनुसार हालसम्म १३ हजार सात जनामा डेंगुको संक्रमण देखिएको छ ।
डेंगुबाट सबैभन्दा बढी ललितपुरमा चार हजार ९८, काठमाडौँमा तीन हजार ५२ र मकवानपुरमा एक हजार चार सय २२ जना संक्रमित छन् ।
यस्तै रुपन्देहीमा छ सय ४१, भक्तपुरमा चार सय ८२, दाङमा तीन सय ७८, चितवनमा तीन सय ४३, धादिङ एक सय ४५, काभ्रेपलाञ्चोकमा एक सय ३४ र दार्चुलामा एक सय २१ जनामा डेंगुको संक्रमण देखिएको छ ।
डेंगुका बिरामी सबैभन्दा बढी बागमती प्रदेशमा नौ हजार नौ सय ७१ जना रहेका छन् । हालसम्म डेंगुको संक्रमणबाट १३ जनाको निधन भइसकेको छ ।
विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने, सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगु सर्ने गर्छ । रासस

