रवि पौडेल
म सानै थिएँ
घरमा एक हल गोरु
र, एउटा गाई
अनि सानो बाच्छो थियो
म भर्खर स्कुल भर्ना भएको थिएँ
यी गाई र गोरु चराउन
म बाबासँग जान्थे
घरनजिक बाटोको छेउछाउमा
खरबारीका डिलहरूमा
मात्रै चराउने चलन थियो
धेरै वर्ष भयो
यो नियमित प्रक्रिया जस्तै थियो
म स्कुलबाट आउथे
र, खुसी हुँदै गाईगोरु चराउने ठाउँमा जान्थेँ
बाबाले गोरुका नजिक नजा भन्नुहुन्थ्यो
गोरुले घचेट्ला वा लात्ताले हान्ला भन्ने डरले
आमाबाबुको मन
प्यारो छोराछोरी माथि हुन्छ नै
म अलिक ठुलो भैसकेको थिएँ
घरपारि भिर थियो खरबारी
घरमा आमाले पनि गाई चराउन
नजा भन्दै हुनुहुन्थ्यो
बाबाले पनि एकछिन पर्खी हतार नगर
भन्नुभएकै हो
तर म कति मूर्ख ?
स्वयम् जन्म दिने आमाबाबाले
हतार नगर भन्दाभन्दै पनि मैले हतार गर्नुपर्ने
ती गाई, बाच्छा र गोरु फुकाएर
म हिँडे
मैले किन मान्थे र अब ?
बाटोको छेउछाउ, खरवारिका डिल
र, बारीका छेउछाउमा चराउदै बस्तुहरू
म अघि बढेँ
पुच्छर हल्लाउँदै गाई र गोरु चरिरहेकै थिए
सधैँ हिड्ने र चर्ने गरेको बाटो थियो
करिब साँझपखको समय थियो
त्यो समय खराब थियो
खराब भएर आयो
वा गोरुले ठिकसँग टेक्न जानेन
एउटा खुट्टा बाटोबाट चिप्लियो
नियत उसको राम्रै थियो होला
घाँस खाने र पेट भर्ने
तर पनि चिप्लिएको खुट्टा उसले
निकाल्न सकेन कोसिस गर्दा पनि
बरु दोस्रो खुट्टाले टेकेको जमिन पनि भासियो
फलस्वरूप त्यो गोरु भिरबाट खस्यो
खस्दै गयो, पल्टदै गयो
म कति रोएँ, कराएँ
कति राम्रो र सुन्दर थियो त्यो गोरु
सबैले मन पराउथे
अपसोच ¤
मेरा आँसुले वा म रोएर
अब मैले जोगाउन सक्ने समय सकियो
गाउँलेहरू सबै जम्मा भए
पछुताए, मलाई गाली पनि गरे
किनकि मैले गोठबाट फुकाएर लगेँ
र, अहिले गोठ रित्तो भयो
अथवा गोठ रित्तो बनाउने
आखिर म नै दोषी भएँ
तर बुढापाकाहरूले सुझाव दिए ः
भिरबाट लडिरहेको गोरुलाई
“राम राम भन्न सकिन्छ
तर काँध थाप्न सकिँदैन”
त्यस दिनको खरबारीको दुखद घटनाले
आजसम्म पनि चिन्तित बनाएको छ मलाई
खरबारीको त्यो दुखद् घटना ।
जुन ११, २०२२, पान्डिचेरी (भारत)