रवि पौडेल ##
तत्कालीन अखिल भारत नेपाली एकता समाज अथवा अहिलेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको निम्न मिति र स्थानमा अखिल भारत सम्मेलन सम्पन्न भएका थिए :
प्रथम : १९८२ सेप्टेम्बर ५–७ गते, दिल्ली
दोस्रो : १९८५ डिसेम्बर २०–१४, नयाँदिल्ली
तेस्रो : १९८९ नोभेम्बर १३–१७, कानपुर
चौथो : १९९५ फेब्रअरी १५–१९ नयाँदिल्ली
पाँचौँ : २००२ फेब्रुअरी १०–१३, हैदरावाद (यो सम्मेलनले नाममा सबैभन्दा अगाडि “मूल प्रवाह” थप्ने निर्णय गरेको थियो)
छैटौँ : २००९ सेप्टेम्बर १३–१५, फरिदाबाद
सातौँ : २०१४ सेप्टेम्बर २१–२३, लखनऊ
आठौँ : २०२२ फेबु्रअरी २७–मार्च १, फरिदावाद
यसरी अहिलेसम्म मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहासमा आठओटा अखिल भारत स्तरका सम्मेलन सफल भए ।
मूल प्रवाह अखिल भारत नेपाली एकताको ४२ वर्ष लामो इतिहास छ । विगतका चारओटा सम्मेलनमा मैले देख्न र सुन्न पनि पाइनँ किनकि म नेपालमै थिए । सन् १९९८ मा म भारतमा आएँ । त्यसपछि २००२ फेबु्रअरी १० देखि १३ सम्म समाजको पाँचौँ अखिल भारत सम्मेलन हैदरावादमा सम्पन्न भयो । म त्यहाँ हाम्रो पाण्डेचेरी नगर समितिबाट स्वयम्सेवकको रूपमा उपस्थित थिएँ । त्यो मेरो उपस्थिति रहेको पहिलो सम्मेलन थियो । त्यसपछि छैटौँ र सातौँ सम्मेलन भए समयको अभावका कारण सम्मेलन हेर्न उपस्थित हुन र अनुभव बटुल्न पाइनँ तर आठौँ सम्मेलनमा भने समयले साथ दियो । यसपालि प्रतिनिधिको रूपमा सम्मेलनमा सहभागी हुन पाँए । यो एक सुनौलो अवसर थियो ।
गत डिसेम्बर ११–१२, २०२१ मा मूल प्रवाहको भोपालमा विस्तारित बैठक सम्पन्न भएको थियो । त्यो बैठकले फेबु्रअरी २७, २८ र मार्च १ मा आठौँ अखिल भारत सम्मेलन गर्ने निर्णय गर्यो । सर्कुलरहरू आए । अब कार्यावन्यन गर्ने कुरा थियो ।
विगतका सम्मेलनमा पाँच महिना, आठ महिना समय राखेर सम्मेलनको मिति तोकेको इतिहास छ तर आठौँ सम्मेलनका लागि तयारीका दिनहरू निकै थोरै थिए । भोपाल बैठकपछि आआफ्नो स्थानमा फर्किन दुईतीन दिन लाग्थ्यो । त्यसपछि सर्कुलर कार्यावन्यन र आठौँ अखिल भारत सम्मेलनको तयारीमा लाग्दा हामीसँग करिब ७०÷७२ दिनको छोटो समय बचेको थियो । यो अवधिमा सम्पूर्ण समितिका भेला, बैठक, समिति गठन/पुनर्गठन, पर्चा, सहयोग अभियान जनतासामु लिएर जानु थियो । त्यसैअनुसार रातदिन नभनेर सम्मेलनको तयारीमा लागियो ।
दक्षिण भारत क्षेत्रअन्तर्गत पाण्डिचेरी नगर समितिबाट हामीले करिब १६ देखि २० जनासम्म प्रतिनिधि, पर्यवेक्षक र दर्शक लैजाने योजना बनायौँ । आर्थिक कोटा कसरी पूर्ति गर्ने भन्ने समस्या हामीलाई थियो । हामी सिङ्गो नगर समिति सम्मेलनको तयारीमा लागियो । हामीलाई चुनौती थियो, कोटा कसरी पूर्ति गर्ने ? हामीलाई चुनौती थियो, प्रतिनिधिहरू सम्मेलन हलसम्म कसरी पुर्याउने ? तर त्यति मात्र होइन, कतिपय फुटपरस्त गतिविधि सञ्चालन गरेका केही साथीहरूले हामीलाई मैदानमा आउन चुनौती पनि दिनुभएको थियो । यी सबै गतिविधिहरू पन्छाउँदै व्यापक रूपमा स्थानीय जनतासम्म गएर चन्दा सङ्कलन गरियो; प्रचार प्रसार गरियो र केन्द्रीय प्रतिनिधिसहित हाम्रो पाण्डिचेरी नगरबाट १२ जनाको उपस्थित भयो ।
छुट्टीको समस्या थियो । सरकारी अफिसमा काम गर्ने साथीहरूलाई समस्या थिएन । तर प्राइभेट कम्पनीका गेटहरूमा काम गर्ने साथीहरूको समस्या पनि हल भयो । कतै छुट्टी, कतै आफू आउन्जेल अर्को साथीलाई सट्टामा राखेर, कतै एक जना साथीले त नोकरी छोडेर सम्मेलनमा उपस्थित हुनुभयो भने यो पङ्क्तिकारले साथिहरूलाई डबल ड्युटी गरिदिनू, म पछि मिलाउने छु भनेर पनि एडजस्मेन्ट गर्ने काम भयो । त्यति मात्रै होइन, ती साथीहरूले पहिलो कुरा सम्मेलनलाई चन्दा सहयोग दिनुभयो । दोस्रो कुरा, डबल ड्युटी गरेर मलाई छुट्टी दिनुभयो । म आठौँ सम्मेलनमा सहभागी हुन पाए । ती साथीहरूलाई आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छु । यदि ती मेरा सँगै ड्युटी गर्ने साथीहरूले मेरो ड्युटी नगरिदिएको भए मेरो आठौँ सम्मेलन हेर्ने योजना अधुरो हुने थियो ।
हामीले आठौँ अखिल भारत सम्मेलनको सम्पूर्ण तयारी पूरा गरियो । अब त्यहाँ उपस्थित हुने कुरा थियो । भौतिक रूपमा हामीलाई सम्मेलन हलमा पुग्न दुई दिनको समय चाहिन्थ्यो । केन्द्रीय समितिका साथीहरू पहिले नै जानुभयो । बाँकी रहेका हामी २५ फेब्रुअरी १० बजेको तमिलनाडु एक्सप्रेस पक्डनुथियो । त्यसकाण हामी पाण्डिचेरीको बसस्टपबाट दिउसो ४ बजे को बसमा बसियो । साँझ ९ बजे चेन्नै रेल्वेस्टेसन पुग्दा पाण्डिचेरी कारेकालका साथीहरूले पर्खिरहनुभएको थियो । साँझको खानाको जोहो गर्दागर्दै दक्षिण भारतका चेन्नैका साथिहरू पनि उपस्थित हुनुभयो । हामी चेन्नै, पाण्डिचेरी र कारेकालका करिब ४० जना साथीहरू एउटै रेलमा रातको १० बजे चेन्नैबाट दिल्लीका लागि रेलमा चढियो । रेलले हर्न लगायो । रेल अघि बढ्न थाल्यो । साथीहरूले गफगाफ, राजनीति कुराकानीहरू गर्दै सफर अघि बढायौँ ।
दोस्रो दिन रेल आफ्नो गतिमा थियो । साथीहरू पनि आआफ्नो सिटमा गफगाफ चलाउनुभएको थियो । तर मेरो मनमा एउटा शङ्का उत्पन्न भयो । मनमा कुराहरू खेल्न थाले । एकातिर, यति छोटो समयमा तयारी कति पूरा होला ? दोस्रो पक्ष, यति लामो दुरी, कोरोनाको समय, जनमानस कति आउने हुन् ? प्रतिनिधि, पर्यवेक्षेक कति आउने हुन् । अर्को पक्ष, सङ्गठनभित्रकै केही साथीहरूले फैलाएको भाइरस अर्थात् फुटपरस्त गतिविधिका कारण केही असर हुन्छ कि वा पर्छ कि भन्ने मनमा शङ्का, उपशङ्का र प्रश्नहरू उब्जिए ।
यिनै प्रश्नहरू खेल्दै गर्दा २६ फेब्रुअरी पनि सकियो । बिहान ठिक ७ः१५ बजे दिल्ली निजामुद्दिन रेल्वे स्टेसनमा उत्रियौँ । त्यपिछि करिब एकदुई किलोमिटर पैदलमार्गपछि दिल्लीदेखि पलवलका लागि बस चढियो । हाम्रो ठुलो गु्रप भएकाले खचाखच बस भरियो । २७ फेब्रुअरीका दिन सम्मेलन उद्घाटनको दिन करिब ९ः३० बजे हाम्रो टिम सम्मेलन हलमा प्रवेश ग¥यो ।
हल प्रवेशसँगै रातारात झन्डा, ब्यानर प्रवेशद्वारमा प्रतिनिधि, पर्यवेक्षक, अतिथि, आमन्त्रिक दर्शक र कलाकारको भिड र लावालस्करले गुन्जायमान थियो । मार्चपाससहितको जुलुसपछि उद्घाटन हुने भएकाले आठौँ अखिल भारत सम्मेलनको मिति लेखिएका टिसर्टहरू स्वयम्सेवक साथीहरूले वितरण गर्नुभयो । त्यसको लगत्तै मार्चपास सुरु भयो ।
नेपालबाट पनि विभिन्न भाइचारा सङ्गठनका प्रतिनिधिहरूको राम्रै उपस्थिति थियो । दिनको करिब १ः३० बजेदेखि रोडमार्च सुरु गरियो । जनसहभागिता सोचेभन्दा निकै धेरै थियो । यदि हामीले पहिलेका सम्मेलनहरूमा झैँ लाइन व्यवस्थित गरेको भए हामीले प्रमिसन मागेको रोड मार्चपास वा जुलुस गर्न पुग्ने थिएन । यति ठुलो र धेरै जनमानिस जुटेको र देखेको मेरो लागि पहिलो हो । त्यहाँ जुलुस परिक्रमामा कुनै लाईन व्यवस्थित थिएन । हजारौँहजारको सङ्ख्यामा रहेका जनताको उपस्थितिलाई स्वयम्सेवकहरूले धान्नै सक्ने स्थिति थिएन ।
“एम.सी.सी. खारेज गर” जस्ता का नाराहरू घन्काउदै जुलुसले बजार परिक्रमापछि उद्घाटन समारोहमा परिणत भयो । तर खाना खाने समय भएकाले खानापछि उद्घाटन सुरु गरियो । करिब ४ बजेदेखि उद्घाटन कार्यक्रम सुरु भयो । खचाखच भरिएको हल, राता राता झन्डा, ब्यानरले सजिएको हल, मन्चमा बोलाइएका अतिथि, आमन्त्रित अतिथि, प्रमुख अतिथिहरू आसन ग्रहणले बताइरहेको थियो । विभिन्न भ्रमजाल गरेर राजनीति गर्नेहरूका लागि त्यहाँ राम्रै प्रमाण थियो । मेरा मनमा लागेका सबै प्रश्न र शङ्काको जवाफ पनि मलाई मिलिसकेको थियो । म निकै खुसी थिएँ ।
उद्घाटन समारोह सकिएपछि मन्च कलाकारहरूलाई सुम्पियो । सांस्कृतिक कार्यक्रमले हल गुन्जियो । कलाकारहरूको प्रस्तुतिले असाध्यै रमाइलो महसुस भयो ।
दोस्रो दिन बन्दशत्रको कार्यक्रम बिहान ९ बजेबाट सुरु भयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका ११ ओटा क्षेत्रीय समिति र दुईओटा राज्य समितिका पदाधिकारीले आआफ्नो रिपोर्ट पेस गर्नुभयो । सबै क्षेत्रबाट रिपोर्टिङ राम्रो आएको थियो ।
बन्दशत्रमा तात्कालिक साङ्गठनिक प्रस्तावका साथै विधान र घोषणापत्रमाथि संशोधन प्रस्ताव हलमा पेस गरियो । छलफलका लागि विभिन्न ११ ओटा गुप विभाजन भयो । त्यो दिन मेरा लागि ऐतिहासिक दिन रह्यो किनकि प्रतिनिधि, पर्यवेक्षकको आठौँ टिमबाट मलाई ग्रुप लिडर बनाए साथीहरूले ४० जनाको टिमको राय लिएर यति ठुलो मञ्चमा बोल्न पाएको यो मेरो पहिलो क्षण थियो । भारतभरि छरिएका नेपालीहरूलाई हामी सबैलाई राम्रोसँग पनि चिनिँदैन । दुई दिनको बसाइँ र ग्रुपमा छलफल गर्दागर्दै ती साथीहरूले मलाई लिडर चयन गर्नुभयो । म ती साथीहरूलाई पुनः धन्यवाद दिन चाहन्छु ।
क्रमशः तात्कालिक साङ्गठनिक प्रस्ताव, विधान र घोषणापत्रमाथि व्यापक छलफलपछि पारित गरियो । एउटा प्रकाशनसम्बन्धी प्रस्ताव धनवीर पुनले प्रस्तुत गर्नुभयो । त्यसपछि अर्को एउटा विशेष प्रस्ताव पनि पारित गरियो । बन्दशत्रले ७७ जनाको केन्द्रीय समिति र २१६ जनाको केन्द्रीय पार्षद चयन ग¥यो । बन्दशत्रमा पूर्ण लोकतान्त्रिक पद्धति अपनाउँदै बन्दशत्र सकियो ।
कार्यक्रमको तेस्रो दिन घोषणासभा सम्पन्न भयो । ठाकुर खनाल अध्यक्ष र कुलबहादुर थापा महासचिवमा चयन हुनुभयो । करिब करिब दुईतीन जना साथीहरूबाहेक अरू नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको दमदार उपस्थिति थियो । ४७ पूर्ण, १५ वैकल्पिक र १५ सल्लाहकार तथा २१५ सदस्यीय केन्द्रीय पार्षद चयन भयो । यो नेतृत्व अब्वल र जुझारु सावित हुने छ भन्ने पूर्ण विश्वास छ ।
आठौँ अखिल भारत सम्मेलन सकेर हामी अब आआफ्नो ठाउँमा फर्केका छौँ । यो सम्मेलनले कतिपय साथीहरू थर्कमान भएका छन् । यो उपस्थितिले प्रतिक्रियावादी राज्यव्यवस्था थर्कमान् भएको छ । गोरखपुरमा ३० जना साथी जम्मा भएर ६० जनाको नाम घोषणा गर्ने फुटपरस्त हाम्रा साथीहरूले भन्दै आएको कथित टिके समितिले अब वैधानिकता र सफलता पाएको छ । को टिके थियो ? आठौँ अखिल भारत सम्मेलनले प्रमाणित गरेको छ । त्यो उपस्थिति देखेर ती साथिहरूले “कथित सम्मेलन”, “राता दलालहरू”, “जिउँदा लासहरू”, “ब्रोइलर कुखुरा”, “चैतेहरू”—यसरी आलोचना, त्यो पनि सामाजिक सञ्जालमामा गर्नुभएको छ । यसबाट थाहा हुन्छ– ती साथीहरूलाई सम्मेलनको उपस्थितिले कति जलाएको छ ? आठौँ सम्मेलनले सबै चुनौतीहरू पार गरेको छ र सबै चुनौतीहरूको प्रमाण पेस गरेको छ ।
अब भारतभरि सन्देशसभा हुने छन् र कतिपय स्थानमा भई पनि सकेका छन् । त्यसका साथै साङ्गठनिक गतिविधि अघि बढ्ने छन् । ज्वारभाटाका विरुद्धको सङ्घर्ष अघि बढ्ने छ । इमानदारहरू निरन्तर अघि बढिरहने छन् । लक्ष्य प्राप्तिको अभियान क्रमशः चलिरहने छ ।
अन्त्यमा, हल व्यवस्थापनमा कतिपय कमी–कमजोरी जस्तो पानी, ट्वाइलेटहरू थोरै थिए । फेरि पनि यति धेरै जनमानस उपस्थिति भएको ठाउँमा साना झिनामसिना समस्या कुनै ठुलो कुरा होइन । सम्मेलन भव्य र सभ्य रूपमा सानदार रूपले सम्पन्न भएको छ । आयोजक समिति, प्रतिनिधि, पर्यवेक्षक, दर्शक, कलाकार, आमन्त्रित, अतिथिका साथै दर्शक र स्वयम्सेवक साथी र सम्पूर्ण जनसमुदायलाई एकपटक हार्दिक धन्यवाद ।