नयाँ दिल्ली (भारत) ।
भारतको सिलोङमा मजदुरी गर्न गएका १८ जना नेपाली लखेटिएको घटनाबारे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासको ध्यानाकर्षण गराएको छ । समाजका महासचिव ठाकुर खनाल र उपाध्यक्ष कपिल खनाल रहेको दुई सदस्यीय प्रतिनिधिमण्डलले दूतावासमा कार्यबाहक राजदूत राम प्रसाद सुवेदीलाई भेटि ध्यानाकर्षण पत्र बुझाएको हो ।
पूर्वोत्तर राज्य मेघालयको राजधानीदेखि करिब ६०/६५ किलोमिटर टाढा रहेको ज्वाई बजारमा मजदुरी गर्न गएका १८ जना नेपालीलाई १५ नोवेम्बरका दिन खासी स्टुडेन्ट युनियन (केएसयू) ले वर्कपर्मिट नभएको भन्दै भगाएको थियो ।
घटनाबारे दूतावासको ध्यानाकर्षण गराउँदै मूल प्रवाहले आगामी दिनमा त्यसप्रकारका घटनाहरूको पुनरावृत्ति हुन नदिन आवश्यक पहल गर्न माग गरेको छ ।
सो भेटघाटमा मूलप्रवाहका नेताद्वयले पूर्वोत्तर क्षेत्रका समस्याका साथै हिमाचल–चण्डीगढ यात्रामा लुटपाटका घटना, नेपाल जाने क्रममा सीमा नाकामा भारतीय सुरक्षाकर्मीले चेकजाँचको नाममा जेब तलासी गरि १०/२० हजार भारतीय रूपैयाँ पनि लैजान रोकटोक गर्ने तथा त्यसको बहानामा सिधा साधालाई परेसान गरेका घटनाहरूलाई लगायत अन्य समस्याबारे पनि दूतावासको ध्यानाकर्षण गराउनुभएको थियो ।
यस्तो छ, मूल प्रवाहको ध्यानाकर्षण पत्र
विषयः ध्यानाकर्षण पत्र ।
महमहिम ज्यू,
उपरोक्त सन्दर्भमा १९५० को नेपाल भारत शान्ती तथा मैत्री सन्धीको प्रावधान अनुसार नेपालका नागरिकहरू भारतमा रोजगारको लागि नोकरी, व्यापार लगायत विभिन्न प्रकारका पेशा गर्न पाउने यहाँसम्म की सम्पत्ति खरिद गर्न पाउने प्रवधान छ । तर व्यवहारमा त्यो लागू भएको हुँदैन ।
कहिले काहीं सामान्य मजदुरी गरेर जीविकोपार्जन गर्नसमेत निषेध गरिएको हुन्छ । त्यसप्रकारका घटनामा स्थानीय प्रशासनको मिलिभगत या मौन स्वीकृति जस्तो देखिन्छ । त्यसप्रकारका घटनाहरूबारे समय–समयमा हामी नेपाल सरकारका साथै विभिन्न सरोकारवाला निकायलाई अवगत गराउँदै आएका छौँ । त्यसै क्रममा दिनांक १५ नोवेम्बर २०२१, तदनुसार २०७८ कात्तिक २९ गते पूर्वोत्तर भारतको मेघालय राज्यको ज्वाईमा घटेको घटनाप्रति महामहिमको ध्यानाकषर्ण गराउन चाहन्छौं ।
उक्त दिन पूर्वोत्तरमा मेघालय राज्यको ज्वाई बजारमा कुल्ली काम गर्दै आएका नेपाली श्रमीकहरूलाई खासी स्टुडेण्ट युनियन (केएसयू) ले जबरजस्ती गरि मेघालयको सिमाबाट बाहिर निस्काशन गर्ने काम गरे । त्यो अत्यन्त निन्दनीय र अमानवीय कार्य हो । उनीहरूलाई मात्र एक घण्टाको अल्टिमेटम दिइएको थियो ।
एक घण्टे अल्टिमेटमको चेतावनी गैरकानुनी भएको भनि संगठनका क्षेत्रीय सदस्य मधु शर्माले स्थानीय प्रहरी प्रशासनलाई सूचित गरी रोक्न माग गर्दा प्रशासनले सहयोग नगरी उल्टै नेपालीहरूलाई अनाधिकृत रूपमा काम गरेको भनि खासी स्टुडेण्ट युनियन (केएसयू) लाई सहयोग गरेको थियो । प्रशासनको उक्त क्रियाकलापले सो घटना प्रशासनकै मिलिभगतमा भएको कुरा छर्लङग हुन्छ ।
सो घटनामा बाग्लुङ जिल्लाका तोयनाथ कडेल (गोपाल), तोयनाथ केडेल (कृष्ण), चुरामणी कडेल, उमेश परियार, हरि खत्री क्षेत्री, लेखनाथ शर्मा, ललित दमै, गुल्मी जिल्लाका धन बहादुर घर्ती, झगर घर्ती, कपिलवस्तु जिल्लाका दिल बहादुर पौडेल लगायत १८–२० जना नेपाली श्रमिकहरू अनेकन दुःख कस्ट झेल्दै नेपाल पुगेका छन् । आफ्नो परिश्रम बेचेर जीविकोपार्जन गर्न नपाउनु अमानवीय तथा १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धीको घोर उल्लंघन हो ।
अतः हामी नेपाली राजदूतावास मार्फत नेपाल सरकार समक्ष यस प्रकारका घटनाहरूको पुनरावृत्ति रोक्न आवश्यक पहलको माग गर्दछौं ।
धन्यवाद ।
प्रतिनिधिमण्डल
ठाकुर खनाल, महासचिव, केन्द्रीय समिति
कपिल खनाल, उपाध्यक्ष, केन्द्रीय समिति
यो पनि :भारतको सिलोङबाट लखेटिए १८ नेपाली, मूल प्रवाहको आपत्ति

